
कम्युनिस्ट पार्टीको सार केवल चुनाव जित्ने वा सत्तामा सहभागी हुने सामान्य राजनीतिक अभ्यासमा सीमित हुँदैन । यसको ऐतिहासिक भूमिका शोषित–उत्पीडित वर्गलाई चेतनासहित संगठित गर्दै उनीहरूको मुक्ति सुनिश्चित गर्ने क्रान्तिकारी साधनका रूपमा विकसित भएको छ । त्यसैले कम्युनिस्ट पार्टीको अस्तित्वको आधार नै वैज्ञानिक विचार, स्पष्ट राजनीतिक दृष्टि र दृढ संगठनात्मक चरित्रमा टेकेर मात्र सम्भव हुन्छ । विचार, नीति र व्यवहारबीचको एकता बिना कुनै पनि पार्टीले आफूलाई कम्युनिस्ट भन्नु केवल औपचारिकता मात्र हुन्छ ।
कम्युनिस्ट पार्टीको वैचारिक आधार द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण हो । यस दृष्टिकोणले संसारलाई स्थिर र अपरिवर्तनशील वस्तुका रूपमा होइन, निरन्तर परिवर्तन, विकास र अन्तर्विरोधको प्रक्रियाका रूपमा बुझ्छ । प्रकृति, समाज र मानव चेतनाको विकास कुनै दैवी शक्ति वा कल्पनामा आधारित होइन, भौतिक अवस्था, उत्पादन सम्बन्ध र वर्गीय संघर्षबाट निर्देशित हुन्छ भन्ने सत्य यसले उद्घाटित गर्छ । आदर्शवादी सोचले चेतनालाई प्राथमिक मान्दै वास्तविक सामाजिक अवस्थालाई ओझेलमा पार्छ भने द्वन्द्वात्मक भौतिकवादले भौतिक जीवनका यथार्थलाई बुझेर त्यसलाई परिवर्तन गर्ने वैज्ञानिक उपाय दिन्छ । यदि कम्युनिस्ट पार्टी धार्मिक अन्धविश्वास, सुधारवादी भ्रम वा अस्पष्ट वैचारिक धारमा अल्झियो भने उसले समाज परिवर्तनको नेतृत्व गर्न सक्दैन । नेपालजस्तो समाजमा सामन्ती अवशेष, जातीय विभाजन, पितृसत्तात्मक सोच र पुँजीवादी भ्रमविरुद्ध संघर्ष गर्न यस्तो वैज्ञानिक चेतना झनै अपरिहार्य हुन्छ ।
राजनीतिक रूपमा कम्युनिस्ट पार्टीले राज्यसत्तालाई तटस्थ वा सबैको साझा संस्थाका रूपमा बुझ्ने भूल गर्न सक्दैन । राज्य इतिहासभरि नै एक वर्गले अर्को वर्गमाथि शासन गर्ने दमनको औजारका रूपमा प्रयोग हुँदै आएको छ । पुँजीवादी समाजमा राज्य पुँजीपति वर्गको हित संरक्षण गर्ने संयन्त्र हुन्छ । त्यसैले वैज्ञानिक समाजवादले पुँजीवादी राज्यलाई क्रमिक सुधारमार्फत जनमुखी बनाउने कल्पनालाई अस्वीकार गर्छ । यसको सट्टा पुरानो राज्य संरचनालाई भङ्ग गर्दै श्रमिक वर्गको नेतृत्वमा नयाँ प्रकारको राज्यसत्ता स्थापना गर्नु नै समाज रूपान्तरणको आधार हो । नेपालको वर्तमान राज्य संरचना दलाल पुँजीपति, सामन्ती शक्तिहरू र बाह्य साम्राज्यवादी प्रभावको गठजोडमा आधारित रहेको यथार्थलाई नदेखी ‘सुधार’ को नारामा सीमित हुनु आत्मवञ्चना मात्र हुन्छ । कम्युनिस्ट पार्टीले नयाँ जनवादी क्रान्तिको कार्यभारलाई गम्भीरतापूर्वक लिँदै वैज्ञानिक समाजवादी राज्यसत्तातर्फको स्पष्ट मार्गचित्र तयार गर्नुपर्छ ।
वर्गसंघर्ष कम्युनिस्ट आन्दोलनको आत्मा हो । इतिहास वर्गसंघर्षकै निरन्तरता हो भन्ने माक्र्सवादी निष्कर्ष कुनै सैद्धान्तिक वाक्य मात्र होइन, व्यवहारिक सत्य हो । श्रमिक, किसान, सुकुम्बासी, उत्पीडित जाति, महिला र निम्न मध्यम वर्गमाथि हुने शोषणको मूल कारण पुँजीवादी उत्पादन सम्बन्धमै निहित छ । सुधारवाद, वर्ग समन्वय र तथाकथित शान्तिपूर्ण सहअस्तित्वका नारा पुँजीवादी व्यवस्थालाई थप मजबुत बनाउने माध्यम मात्र बन्छन् । वर्गसंघर्षलाई क्रान्तिकारी दिशामा विकास गर्नु भनेको जनतालाई वर्गीय रूपमा सचेत बनाउनु, उनीहरूको संगठन र संघर्षलाई निरन्तर उचाइमा पु¥याउनु र अन्ततः सत्ता परिवर्तनको आधार तयार गर्नु हो । नेपालमा सहकारीको नाममा हुने शोषण, माइक्रोफाइनान्सको चक्रव्यूह, मिटरब्याज, भूमि र श्रमको लुट सबै पुँजीवादी शोषणका फरक–फरक रूप हुन् । यी विरुद्धको संघर्ष तब मात्र सार्थक हुन्छ जब यसले आमूल परिवर्तनको दिशातर्फ बाटो खोल्छ ।
क्रान्ति स्वतःस्फूर्त रूपमा सम्पन्न हुँदैन । सचेत, अनुशासित र सुदृढ संगठन बिना आन्दोलन दिशाहीन हुन्छ । कम्युनिस्ट पार्टीले लोकतान्त्रिक केन्द्रीयता, आलोचना–आत्मालोचना र जनतासँगको गहिरो सम्बन्धलाई आफ्नो जीवनरेखा बनाउनुपर्छ । व्यक्तिवाद, गुटबन्दी, अवसरवाद र पदलोलुपता पार्टीका आन्तरिक शत्रु हुन्, जसले आन्दोलनलाई भित्रैबाट कमजोर बनाउँछन् । नेपालको कम्युनिस्ट आन्दोलनले भोग्दै आएको वैचारिक विचलन, संसदीय दलदल र संगठनात्मक ढिलासुस्तीबाट पाठ सिक्दै सचेत र सु–संगठित पार्टी निर्माण गर्नु आजको अनिवार्य आवश्यकता हो ।
पुँजीवादी सत्ता पल्टिएपछि पनि वर्गसंघर्ष समाप्त हुँदैन । पुरानो शोषक वर्ग नयाँ समाजको विरोधमा उत्रिन्छ, त्यसैले सर्वहारावर्गीय अधिनायकत्व आवश्यक हुन्छ । यसको अर्थ कुनै व्यक्तिको तानाशाही होइन, बहुसंख्यक श्रमिक जनताको सत्ता स्थापना गर्नु हो । यस प्रक्रियामा शोषक वर्गमाथि नियन्त्रण, प्रतिक्रान्तिको दमन, उत्पादनका साधनहरूको समाजीकरण र नयाँ समाजवादी चेतनाको विकास गरिन्छ । वर्ग भिन्नता क्रमशः घट्दै जान्छ र अन्ततः राज्य स्वयं क्षीण हुँदै वर्गहीन, शोषणमुक्त समाजतर्फ समाज अग्रसर हुन्छ ।
कम्युनिस्ट पार्टी हुनु भनेको नाम, झण्डा वा घोषणापत्रमा सीमित कुरा होइन । यो वैचारिक दृढता, राजनीतिक स्पष्टता, संगठनात्मक मजबुती र क्रान्तिकारी साहसको संयोजन हो । नेपालजस्तो जटिल समाजमा यो कार्य कठिन अवश्य छ, तर वैज्ञानिक समाजवाद बाहेक शोषण अन्त्यको अर्को विकल्प छैन । आजको आवश्यकता सिद्धान्त र व्यवहारको एकता कायम गर्दै, जनताको बीचबाट उठेको र जनताकै लागि लड्ने साँचो कम्युनिस्ट पार्टी निर्माण गर्नु नै हो ।