
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शक्ति विस्तार गर्दै मुलुकको निर्णायक पार्टी बन्ने ध्याउन्नमा छ । यसका लागि उसले वैकल्पिक राजनीतिमा सम्भावना खोजिरहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई पार्टीमा मिलाएको छ । मुलुकको निर्णायक शक्ति बन्ने प्रयासमा रहेको रास्वपाको वैचारिक धार के हो ? यसबारे आम चासो प्रकट भइरहेका बेला पार्टीभित्रै यो बहस उठेको छ । खासगरी कुलमान पक्षधरले संघीयता, पहिचान, गणतन्त्र र धर्मनिरपेक्षतासहित वैचारिक धारमा लिखित स्पष्टता खोजेको छ । उनीहरूको तर्क छ– अहिले वैचारिक स्पष्टता भए भविष्यमा विचारकै कारण बेमेल आउने छैन ।
रास्वपा २०७९ को चुनावको चार महिना अगाडि जन्मिएको पार्टी हो । जसले प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिएन । यसका शीर्ष नेताहरूले प्रदेश सभा सदस्यतर्फ मतदानसमेत गरेनन् । रास्वपाका सभापति रवि लामिछाने र हाल रास्वपामै पुगेका बालेन शाहले पनि २०७९ को चुनावमा प्रदेश सभा सदस्यका लागि मतदान गरेनन् । रास्वपाले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा समेत भाग लिएको छैन । आगामी ११ माघमा राष्ट्रिय सभा सदस्यको १८ सिटका लागि निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा भाग लिने भनेर रास्वपाले दल दर्ता गरेको छैन । संघीयता, पहिचान, गणतन्त्र र धर्मनिरपेक्षताका विषयमा पनि रास्वपाले प्रष्ट केही भनेको छैन । अहिलेको प्रदेश संरचना बदल्ने रास्वपाले बताउँदै आएको छ । बाँकी विषयमा मौन छ । बालेन शाहले अगाडि बढाउन खोजेको देश विकास पार्टीको नीति योग्यताको आधारमा अगाडि बढ्ने भन्ने थियो । जहाँ समावेशी प्रतिनिधित्वको विषय गौण थियो । नेपाल जस्तो बहुलतायुक्त समाज र सदिऔंदेखि पछाडि पारेका समुदाय रहेको समाजमा कस्तो नीति उपयुक्त हो ? यो प्रष्ट गर्नु आम नागरिकका लागि त आवश्यक छ नै स्वयम रास्वपाको भविष्यका लागि समेत यो जरुर चाहिन्छ ।
पार्टी बनाउँछु र देश चलाउँछु भन्नु लहडको विषय होइन । नेपालको भविष्य कस्तो बनाउने र कसरी बनाउने भन्ने प्रष्ट गर्न नसक्दा त्यस्तो शक्ति क्षणिक रूपमा उदाएता पनि दिगो हुँदैन । किनभने जनताले पार्टीसँग प्रतिबद्धता मात्रै होइन, एजेन्डा खोज्दछन् । भारतको नयाँ दिल्लीमा शिक्षा र स्वास्थ्यमा सहुलियतको नारा दिएर उदाएका केजरीवालले सोहीअनुसार काम गरे । थप अगाडि बढ्न धार्मिक एजेन्डाको सहायता लिन खोजे, तर उक्त एजेन्डा बोक्ने भारतीय जनता पार्टी पहिले नै शक्तिको रूपमा थियो । परिणाममा केजरीवाल कमजोर हुन पुगे । छिमेकको यो उदाहरणले पनि रास्वपालाई भन्छ– वैचारिक स्पष्टता चाहिन्छ । लामो समय राजनीति गर्न भावना होइन एजेन्डा आवश्यक छ । यसबारे रास्वपा समयमै घोत्लियोस् ।