
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ अहिले घुँडाको गम्भीर चोटका कारण मैदानबाहिर छिन् । एसिएल र एमसिएलमा पहिल्यै शल्यक्रिया भइसकेको भए पनि जटिल पुनः शल्यक्रिया गर्नुपर्ने अवस्था छ । तर उपचार प्रक्रिया ढिला भएपछि उनले व्यक्तिगत सहयोगका लागि अपिल गरेकी छिन् । ख्यातिप्राप्त खेलाडी एवं राष्ट्रिय टोलीको कप्तानलाई यस्तो अवस्था आउनु आफैंमा दुःखद् छ । यसले नेपाली खेलकुदको व्यवस्थापकीय कमजोरीलाई पनि उजागर गरेको छ । अघिल्लो चोटमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले समयमै उपचारको व्यवस्था गरेर साम्बालाई मैदानमा फर्काएको थियो । यसपटक भने क्लब र संघमध्ये कसले उपचार गर्ने भन्ने बेलैमा टुंगो लागेन । प्रशासनिक ढिलाइ र आर्थिक व्यवस्थापनका कारण अहिले उपचार प्रक्रिया नै रोकिएको छ । उपचारका लागि अनुमानित ८० हजार अमेरिकी डलर आवश्यक हुने अनुमान छ । एन्फा र सरकारी निकायबाट अपेक्षित गम्भीरता नदेखाइएपछि मन दुखाएर साम्बाले समर्थकहरूसमक्ष सहयोग माग्न थालेकी छिन् । राष्ट्रका लागि वर्षौं योगदान गरेका खेलाडीले उपचारका लागि सार्वजनिक सहायता माग्नुपर्ने स्थिति आएको छ ।
साम्बाले खेल क्षेत्रमा पुर्याएको योगदान अतुलनीय छ । किशोरावस्थामै राष्ट्रिय टोलीमा प्रवेश, भारतको लिग जित, अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व— यी सबैले उनलाई राष्ट्रिय गौरवको खेलाडी बनाएका छन् । उनीजस्तो खेलाडीको घाइते अवस्था व्यक्तिगत समस्या मात्र पक्कै होइन । उनी खेल्दाखेल्दै घाइते भएकी हुन् । क्लबमा खेल्दा घाइते भएको तर्क गर्दै एन्फा आफ्नो दायित्वबाट पन्छिन मिल्दैन । आधुनिक फुटबलमा क्लब र राष्ट्रिय टोलीलाई अलग गरेर हेर्न मिल्दैन । क्लबमा खेलेको अनुभवले नै खेलाडीलाई विश्वस्तरका प्रतिस्पर्धाका लागि तयार बनाउँछ, जुन राष्ट्रिय टोलीका लागि लाभदायी हुन्छ ।
साम्बाको उपचार ढिलाइले केही प्रश्न उठाएको छ । यदि राष्ट्रिय टोलीकै कप्तानले व्यक्तिगत प्रयास र सार्वजनिक सहयोगमा निर्भर हुनुपर्छ भने घरेलु लिगका अन्य खेलाडीको अवस्था के होला ? स्वास्थ्य उपचारजस्तो संवेदनशील विषयमा सम्बद्ध निकायले कुनै पनि बाहनामा लापरबाही गर्न मिल्दैन । राष्ट्रिय टोलीका सबै खेलाडीको स्वास्थ्य र पुनस्र्थापना राज्यको प्राथमिकतामा हुनुपर्छ । खेलाडीको चोट र उपचारप्रति एन्फा र सरकारी निकायले तुरुन्तै समन्वय र आर्थिक व्यवस्थापन गरेर प्रक्रिया अघि बढाउनुपर्छ । फेरि मैदान फर्कन सक्ने साम्बाको दृढता र आत्मविश्वास प्रशंसायोग्य छ । तर उनको पुनरागमन अब उनको व्यक्तिगत इच्छाशक्तिबाट मात्र सम्भव छैन । त्यसका लागि एन्फाको प्रतिबद्धता, सरकारी उत्तरदायित्व र खेलकुद व्यवस्थापनको संवेदनशीलता आवश्यक छ ।