२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

कथा : किनार बाहिरको मौन

shivam cement
रञ्जना बास्ताकोटी
२०८२ माघ ३ गते ०६:१०
Shares
कथा : किनार बाहिरको मौन

उसले बिहानै इमेल खोल्यो । सिर्फ एक लाइन थियो– आज मौसम सफा छ, तिमीलाई आकाश देख्न मन छ ?

उसले तुरुन्त उत्तर लेखेन । कफी बनायो । झ्याल खोलेर बाहिर हेर्‍यो । सहर अझै ब्युँझिसकेको थिएन । त्यो मौनता उसलाई खुब मन पथ्र्यो । मौनले प्रश्न गर्दैन, जवाफ पनि माग्दैन ।

केही बेरपछि उसले लेख्यो– आकाश होइन, आज मलाई खाली ठाउँ चाहिएको छ ।

उत्तर आयो– ठीक छ । खाली ठाउँमै भेटौँ ।

अनिता पाँच वर्षपछि काठमाडौं फर्केकी थिई । जापानको व्यस्त जीवन, समयको कडाइ, सम्बन्धको गणित– सबैबाट थाकेर । उसको विवाह अझै कागजमै थियो । पति टोकियोमै थियो र सम्बन्ध भिडियो कलमा सीमित । उसँग खालीपन चाहिँ पर्याप्त थियो ।

समीर भने यतै थियो । पत्रकार । तर समाचारभन्दा बढी उसलाई मान्छेका मौनता रुच्थे । ऊ प्रश्न सोध्थ्यो, तर जवाफ टिप्थेन । सुन्ने मान्छे कम थिए, समीर त्यही कममध्ये एक थियो ।

दिउँसो तीन बजे उनीहरू भेटिए– नगरको छेउमा रहेको पुरानो पुलमुनि । नदी ठूलो थिएन । तर बगेको आवाज पर्याप्त थियो ।

अनिताले भनिन्– तिमीले खाली ठाउँ भनेको के हो बुझ्यौ ?

समीर हाँसेर भन्यो– जहाँ कसैले ‘किन’ सोध्दैन ।

दुवै नदी किनारै किनार हिँडे । हावाले पानीमा स–साना तरङ्ग बनाइरहेको थियो । तर ती तरङ्ग कतै ठोक्किँदैनथे । बन्थे र हराउँथे ।

अनिताले अचानक सोधिन– तिमी खुसी छौ ?

समीरले केही बेर ढुंगातिर हेर्‍यो । ढुंगा स्थिर थियो । पानी चलायमान ।

‘खुसी स्थिर हुँदैन,’ उसले भन्यो, ‘म त अहिले सन्तुलनमा छु ।’

अनिताले टाउको हल्लाइन् । उनले सन्तुलन खोजिरहेकी थिइन् । उनी बीचमै कतै अड्किएकी थिइन् । 

साँझ पर्न थालेको थियो । पुलमाथि बत्ती बल्यो । छायाँहरू लामो भए ।

‘आज यत्तिकै बसौँ न,’ अनिताले भनिन्, ‘कतै पुग्नै नपर्ने गरी ।’

समीरले घडी हेर्‍यो । उसलाई भोलि बिहानै अफिस जानु थियो । समाचार लेख्नु थियो– अरूको कथा ।

उसले घडी खल्तीमा हाल्यो । ‘आज समाचार बिना पनि संसार चल्ला ?’ उसले भन्यो ।

रात पर्‍यो । उनीहरू नजिकैको सानो होमस्टेमा बसे । कोठा साधारण थियो । झ्यालबाट नदीको आवाज सुनिन्थ्यो । अनिताले ऐनामा आफूलाई हेरिन । अनुहारमा थकान थियो । तर आँखामा हल्का उज्यालो । समीर ओछ्यानको छेउमा बसेको थियो । दुवै मौन थिए । तर मौन भारी थिएन ।

अनिताले बिस्तारै भनिन्– के हामी गलत गर्दैछौं ?

समीरले उत्तर दिएन । उसले बत्ती निभायो । अँध्यारोमा उसले भन्यो–  केही कुरा सही–गलतभन्दा बाहिर हुन्छन् ।

बिहान उज्यालो भयो । नदी उस्तै बगिरहेको थियो । तर रातको मौनता त्यहाँ थिएन ।

अनिता झ्यालछेउ उभिएर सोचिरहेकी थिई– फर्कने दिन नजिकिँदै थियो । जापान, समय, जिम्मेवारी ।

समीर मोबाइल खोल्दै थियो । सम्पादकको मेसेज आयो– आजको स्टोरी के हो ?

उसले केही बेर टाइप गर्‍यो । मेटायो । फेरि लेख्यो– आज म रिपोर्टिङमा छैन ।

मोबाइल बन्द गर्‍यो । अनिता झ्यालतिरै हेर्दै भनिन्– के यो क्षण पूरा भयो ?

समीर मुस्कुरायो । ‘केही क्षण पूरा हुँदैनन्,’ उसले भन्यो, ‘तिनले हामीलाई पूरा बनाउँछन् ।’

अनिता केही बोलिनन् । उनले झोला उठाइन् । ढोका बन्द हुँदा कोठा फेरि खाली भयो । तर, खालीपन यसपटक डरलाग्दो थिएन । समीर एक्लै बसेर सोच्दै थियो– आज साँझ घर फर्कँदा ऊ उस्तै रहनेछ, तर भित्र कतै नदी बगिरहनेछ ।

ताजा खबर

सम्बन्धित खबर