२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

पत्रकारितामा एआई : समाचार कक्षमा भित्रिएको रोचक बहस

shivam cement
शर्मिला न्यौपाने
२०८२ माघ ३ गते ०६:१५
Shares
पत्रकारितामा एआई : समाचार कक्षमा भित्रिएको रोचक बहस

कल्पना गर्नुहोस्, तपाईं एक व्यस्त समाचार कक्षमा हुनुहुन्छ । हातमा कफीको कप छ । भोलिको लागि तपाईंलाई तत्काल एउटा रोचक समाचार बनाउनुछ । पत्रिकाको डिजाइन हुने बेला भइसक्यो । अचानक तपाईं मोबाइलको स्क्रिनमा एउटा एआई उपकरणलाई आफूले लेखेको समाचार पठाउनुहुन्छ । एआई टुल्स भन्छ– म यो समाचारको तुरुन्तै तथ्य जाँच गर्छु र तपाईंलाई नयाँ कोणबाट पनि सुझाव दिन सक्छु !

यो कुनै विज्ञान चलचित्रको दृश्य होइन । नेपालका समाचार कक्षहरूमा अहिले एआईले प्रवेश गरिरहेको सन्दर्भमा यो एउटा सानो प्रतिनिधिमूलक उदाहरण मात्र हो ।

यसै सन्दर्भमा अजय शर्मा र शिव पुरीद्वारा लिखित ‘पत्रकारितामा एआई’ नामक पुस्तक प्रकाशनमा आएको छ । यस पुस्तकले पत्रकारिता क्षेत्रमा एआई प्रविधिसँग जोडिएका अनेकौँ विषयलाई उजागर गरेको छ । यो नेपाली पत्रकारहरूको लागि एक महत्वपूर्ण पुस्तक र सन्दर्भ सामग्री बनेको छ, किनभने यो युग कृत्रिम बौद्धिकताको युग हो । कृत्रिम बौद्धिकताले पत्रकारिता जगतलाई प्रभावित पार्न थालिसकेको छ ।

यदि तपाईं पत्रकारिता जगतमा प्रविधिको प्रभावलाई बुझ्न चाहनुहुन्छ भने, यो पुस्तक अवश्य पढ्नुस् ।

एआईको तीव्र विकास र पत्रकारितामा यसले खेल्ने भूमिकालाई मध्यनजर गर्दै, एआईलाई अवसर र चुनौतीको रूपमा व्याख्या गर्दै लेखिएको यो पुस्तक आठ भागमा विभाजित छ । ‘पत्रकारितामा एआई’ पुस्तकले पत्रकारितामा यसको प्रभावका अनेकन पक्षलाई रोचक र खोजमूलक शैलीमा प्रस्तुत गरेको छ ।

पहिलो अध्यायले एआईको इतिहास र विकासको चर्चा गर्छ । भनिन्छ, सन् १९५० को दशकबाटै कृत्रिम बौद्धिकताबारे चर्चा हुन थाल्यो । विद्वानहरूले एआईलाई ‘के मान्छेले झैँ सोच्ने मेसिनको विकास सम्भव छ ?’ भन्दै बहस थाले । यही क्रममा विकसित प्रविधि अर्थात् एआई आज समाचार कक्षको अभिन्न अंग बन्दैछ । पहिलो अध्यायले यस सन्दर्भलाई पर्याप्त रूपमा चर्चा गरेको छ ।

दोस्रो अध्यायले पत्रकारितामा एआईको आवश्यकता र सम्भावित चुनौतीहरूलाई स्पष्ट रूपमा देखाउने प्रयास गरेको छ । लेखकद्वयको दृष्टिकोण अनुसार, एआई पत्रकारिताको समग्र विकल्प होइन, एक सहयोगी साधक मात्र हो । जसरी विज्ञान चलचित्रहरूमा सुपरहिरोको साथी काममा आउँछ, किनकि विज्ञान चलचित्रमा सुपरहिरोकै भूमिका मुख्य हुन्छ । यस्तै, पत्रकारितामा एआईको भूमिका हुने कुरालाई यस अध्यायमा स्पष्ट पारिएको छ ।

विकसित केही एआई प्रविधिले डाटा विश्लेषण र तथ्य जाँचमा पत्रकारलाई सहयोग पुर्‍याउँदै मिथ्या सूचनाको प्रवाहलाई रोक्न महत्वपूर्ण भूमिका खेल्न सक्नेमा लेखकद्वय विश्वास गर्छन् । विश्वका प्रतिष्ठित मिडिया हाउसहरूमा एआईको प्रयोगका उदाहरण पुस्तकमा समावेश गरिएको छ । आवश्यक र सान्दर्भिक उदाहरणले पुस्तकलाई रोचक बनाएको छ ।

बीबीसी जस्ता समाचार संस्थाहरूले समेत एआईबाट समाचारको प्रारम्भिक मस्यौदा तयार गर्न प्रयोग गर्दै पत्रकारलाई सिर्जनात्मक समाचार बनाउन पनि प्रोत्साहित गराइरहेका छन् । नेपालमा पनि यो प्रविधि सूचनाको क्रान्तिको रूपमा सुरु हुँदैछ । थुप्रै मूलधारका मिडियाले एआईलाई समाचारजन्य सामग्रीको पुनर्संरचना र सम्पादनमा प्रयोग गर्दै आएका छन् । यस सन्दर्भलाई उदाहरणको रूपमा पुस्तकमा समावेश गरिएको छ ।

पुस्तकको सबैभन्दा आकर्षक पक्ष भनेको यसभित्र रहेका व्यावहारिक सुझावहरू हुन् । तपाईं एक रिपोर्टर हुनुहुन्छ र एआईले केही सिर्जनात्मक सूचना दिन्छ, जसले समाचारलाई अझ राम्रो बनाउन सक्छ । तर लेखकद्वय तथ्य जाँच, समाचारको सन्तुलन र मानवीय चेत कायम गर्न पत्रकारलाई यस पुस्तकमार्फत सुझाव दिन्छन् ।

डिजिटल सुरक्षाको सन्दर्भमा पुस्तकले पासवर्ड व्यवस्थापन गर्ने तरिका लगायतलाई पनि सिकाएको छ । प्राविधिक शब्दावलीलाई सरल भाषामा व्याख्या गरिएको छ ।

पुस्तकले एआईसँग जोडिएर पत्रकारिता गर्दा उत्पन्न हुन सक्ने चुनौतीहरू पनि उजागर गरेको छ । एआईमा भर परेर समाचार निर्माण गर्दा मानवीय संवेदनशीलता हराउन सक्छ र समाचार केवल यान्त्रिक बन्न सक्छ । लेखकद्वयले पत्रकारहरूलाई समाचार लेख्दा आफ्नो सिर्जनात्मकता र मौलिकता कायम गर्न सुझाव दिएका छन् ।

नेपालमा एआई प्रविधिमार्फत बनेका नक्कली अडियो र भिडियोहरूले विवाद सिर्जना गरेका उदाहरणसमेत छन् । लेखकद्वयले समाचारसँग अनिवार्य जोडिने दायित्व र नैतिकताको महत्वलाई पुस्तकमार्फत जोड दिएका छन् ।

यदि तपाईं पत्रकार, विद्यार्थी वा प्रविधि प्रयोगमा उत्साही हुनुहुन्छ भने, ‘पत्रकारितामा एआई’ तपाईंको लागि सहयोगी पुस्तक हो । सम्भवतः यति व्यवस्थित ढङ्गले एआईसँग पत्रकारितालाई जोडेर तयार पारिएको अर्को पुस्तक नेपाली भाषामा छैन । उपयोगी सामग्रीले भरिपूर्ण यो पुस्तकले नेपाली समाजमा नयाँ बहसको थालनी गरेको छ । म लेखकद्वयलाई हार्दिक बधाई र शुभकामना दिन्छु ।

बागमती प्रदेश सरकार अन्तर्गत प्रेस रजिस्ट्रार कार्यालयले पत्रकारितासँग सम्बन्धित केही महत्वपूर्ण पुस्तक प्रकाशन गरेको छ । शर्मा र पुरीको यस पुस्तक पनि प्रेस रजिस्ट्रार कार्यालयले प्रकाशन गरेको छ । यस्ता पुस्तक प्रकाशन गर्न आर्थिक सहयोग उपलब्ध गराउन भूमिका खेल्ने प्रेस रजिस्ट्रार रेवतीप्रसाद सापकोटा पनि बधाईका पात्र हुन् ।

यो पुस्तकले नेपाली पत्रकारितालाई आधुनिक, गुणस्तरीय, प्रविधिमैत्री र सुरक्षित बनाउने दिशामा लैजान महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

एआईले कलम चलाउँछ तर समाचारलाई सन्तुलनमा लेख्ने तपाईं नै हो । एआई कलम हो, विचार दिने तपाईं पत्रकार नै हो । यस कुरामा लेखकद्वयले पनि जोड दिएका छन् । यो पुस्तक पढेर तपाईंको समाचार निर्माण दृष्टिकोण बदलिन सक्छ; अब तपाईंको पालो– यसलाई पढ्नुहोस् र अनुभव साटासाट गर्नुहोस् ।

ताजा खबर

सम्बन्धित खबर