
“जसका लागि
चेतनाको झिल्कोले
सारा बस्तीलाई
बनाउनु छ उज्यालो
त्यसैले हिँड्नु छ अब
आगो लिएर गाउँ गाउँमा
(आगो लिएर गाउँगाउँमा, पृ. १४)
कवि गणेश श्रमण (२०३०) पचासको दशकदेखि नेपाली काव्यको क्षेत्रमा सक्रिय स्रष्टा हुन् । उनका शब्दहरू अविराम यात्रामा (संयुक्त कविता संग्रह – २०५७), शब्दक्रान्ति (कवितासंग्रह – २०६३), गुलियो काठमाडौं (लघुकथासंग्रह – २०७७) र आगो लिएर गाउँगाउँमा (२०८०) कवितासंग्रह प्रकाशित छन् । शालीन स्वभाव भएका चितवन कविडाँडाका स्रष्टा श्रमण यस पटक कविताको फिलिङ्गो बोकेर गाउँ छिरेका छन् ।
फिनिक्स बुक्स प्रकाशक रहेको यस संग्रहमा गाउँ शीर्षकमा ६ वटा, प्रतिपक्ष शीर्षकमा २१ वटा, प्रकृति शीर्षकमा १२ वटा र अनन्त शीर्षकमा १६ वटा गरी जम्मा ५५ वटा कविताहरू समेटिएका छन् ।
कविता चिन्तन यात्रासँग जोडिएका कवि श्रमण चाहन्छन् कि उनको कविताले वर्तमानसँग संवाद गरोस् । ‘कवितामा समाज, कला र जीवन देखियोस् भन्ने चिन्तन राख्छन् । नदीले आफ्नो फैलावट आफैँ बनाएजस्तै, सागरले आफ्नो आयतन आफैँ तय गरेजस्तै, कविताले आफ्नो राजमार्ग आफैँ निर्माण गर्छ भन्ने विश्वास गर्छन् ।’ (लेखकका कुरा)
कवि गाउँमा बस्छन् । गाउँ दुब्लाउँदै र सहर मोटाउँदै गएकोमा कविको तीव्र असन्तुष्टि देखिन्छ । सुखको खोजीमा आफू गाउँ नबस्ने अनि गाउँमा बस्नुपर्छ भन्नेहरूप्रति कवि रुष्ट देखिन्छन् । यस खण्डमा गाउँको विकास, गाउँमा जेल हुँदैन, आगो लिएर गाउँगाउँमा जस्ता कविताहरू राखिएका छन् । यस खण्डमा संग्रहीत कविताहरूको मूल स्वर ग्राम्य जीवनप्रतिको स्नेह हो ।
साक्ष्य १
‘आफू नै नबसेपछि
कसरी हुन्छ त
गाउँको विकास
हामी सबै झर्यौँ
तलतल
गाउँकै खोला झरेझैँ र
थपरियौँ सहरमा ।’
(गाउँको विकास, पृ. ३)
प्रतिपक्षी स्वभाव कविको मूल प्रवृत्ति हो । यसो त नेपाली साहित्यमा स्तुतिकविहरू पनि प्रशस्त पाइन्छन् । कविले आफूलाई जिम्मेवार प्रतिपक्षको रूपमा यस संग्रहमा प्रस्तुत गरेका छन् । यस खण्डका कविताहरूमा अस्तित्व, देश कसलाई चाहिन्छ, डमी ट्राफिक, अँध्यारामा काम जस्ता कविताहरू छन् । यस खण्डका अधिकांश कविताहरूमा मानवीय जीवनसँग जोडिएका अस्तित्विक चेतनालाई प्रकट गरेका छन् । कवि विसंगत राजनीतिका अन्तर्तहमा पुगेका छन् । सैद्धान्तिक रूपमा जनता सामु मिठा कुरा गर्ने अनि व्यवहारमा ठीक त्यसको उल्टो कार्यमा प्रवृत्त हुने ढोँगी प्रवृत्तिको कविले यस खण्डका कविताहरूमा उछितो काढेका छन् ।
साक्ष्य २
‘झुक्याउनु सबैभन्दा
सजिलो काम हो अँध्यारोमा
जस्तो कि कुकुरको मासुलाई
खसीको भनी बेच्नु
सामन्ती सरकारको विरोधस्वरुप
दिनहुँ ब्ल्याक आउट हुन्छ
अचेल यो सहरमा’
(अँध्यारोमा काम, पृ. ४८)
साक्ष्य ३
‘यो सहरमा फोहोरको के कुरा गर्नु
सधैँ नाक थुनेर हिँड्नु पर्ने
दलाली र नेतामा फरक नभएपछि
राजनीति बदनाम भएको हो’
(बदनाम, पृ. ७२)
काव्यको तेस्रो खण्डमा प्रकृति शीर्षकमा कविताहरू राखिएका छन् । डेरा सर्नेहरू, खोइलाको घर, सौन्दर्य, र मौसम जस्ता कविताहरू यस खण्डमा राखिएका छन् । अधिकांश कविताहरूमा प्राकृतिक जीवनप्रतिको आकर्षण पाइन्छ । आफ्नोपनको खोजीको कुरा छ । बाँस र तामाजस्ता बिम्बहरूको माध्यमबाट प्राकृतिकताप्रतिको मोहभाव प्रस्तुत गरिएको छ ।
साक्ष्य ४
‘आकाशको पेट
कटक्क काटेर गडगडाएजस्तो
घरि पानी दरर्र दर्किरहेछ
घरि हावा हुइय्य हुइँकिरहेछ’
(मौसम, पृ. ९२)
यस संग्रहको अन्तिम खण्ड अनन्त रहेको छ । यस खण्डमा बोध, निर्वाण, ईश्वर, दुःख र रक्सी, जन्ती जाने घाटहरू जस्ता कविताहरू समाविष्ट छन् । यस खण्डका अधिकांश कविताहरूमा दार्शनिक चेत घनीभूत रूपमा आएको देखिन्छ । सरल भावविन्यासमा कविले आफ्ना जीवनका दृष्टिकोण प्रस्तुत गरेका छन् ।
साक्ष्य ५
‘दुःखमा रक्सी मिसिए
दुःख अझ गाढा हुन्छ
रक्सीमा दुःख मिसिए
रक्सी अझ कडा हुन्छ’
(दुःख र रक्सी, पृ. १३७)
साक्ष्य ६
‘कविहरूले जन्माइदिए
कल्पनामा ईश्वर
ईश्वरलाई मानिसले
कहाँ कहाँ खोज्छ
ईश्वर आफू बाठो भई
ढुङ्गा बनी बस्छ’
(ईश्वर, पृ. १४६)
समग्रमा कवि श्रमणको यस कविता संग्रहको प्राप्ति भनेको सरल शब्दमा हृदयपक्षलाई छुने शैलीशिल्पमा कविता लेख्नु हो । सरल शब्दमा गम्भीर प्रकृतिका कविता लेख्नु दुष्कर कार्य हो । यो एक किसिमको जोखिम पनि हो । कवि जोखिम उठाएर ‘वाह !’ का पात्र बनेका छन् । संग्रहका अधिकांश कविता हृदयपक्षले पढिने र बुझिने खालका छन् । सामान्य पाठकहरू श्रमणका कविताभित्र आफ्नो न्यानोपन भेट्छन् भने बौद्धिक पाठकहरूले उनका केही कविताहरूमा टाउको दायाँबायाँ हल्लाउन सक्छन् । सरलता कवि श्रमणको कवितात्मक प्राप्ति र सीमा दुवै हो ।