२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

‘महिलाहरू गर्भमा अग्निको बिउ बोकेर हिँडेका हुन्छन्’

shivam cement
भावना पाठक
२०८२ फागुन २ गते ०६:३०
Shares
‘महिलाहरू गर्भमा अग्निको बिउ बोकेर हिँडेका हुन्छन्’

२०७४ सालमा कठपुतला कथा संग्रहमार्फत नेपाली साहित्यको क्षेत्रमा डा. अर्चना थापाको कथाकारका रूपमा परिचय थपियो । त्यसभन्दा पहिले उनले विभिन्न लेख, समालोचना र सम्पादित पुस्तकमार्फत आफ्नो उपस्थिति देखाउँदै आएकी थिइन् । समकालीन नेपाली साहित्यमा नारीवादी लेखकको रूपमा उनको भूमिका सशक्त छ । उनले सम्पादन गरेका स्वअस्तित्वको खोज, स्मृति कथामा सत्व गरी दुई पुस्तक प्रकाशित छन् । कठपुतला कथासंग्रह र अग्निगर्भा उपन्यास उनले लेखेको पुस्तक हो भने कोभिड–१९ का कथाहरू उनी र अन्य कथाकारहरूको कथा समेटिएको पुस्तक हो । कठपुतला कथामार्फत कथाको परम्परागत परिभाषालाई बदल्ने कोसिस गरेकी साहित्यकार थापाको पछिल्लो पुस्तक अग्निगर्भामा भान्साभित्रको राजनीतिका बारेमा लेखिएको छ । उनी आफ्नो कथा आफैं भन्नुपर्छ भन्ने लेखक हुन् । पीडा, बेदना, अनुभव, अनुभूतिरू व्यक्ति स्वयंको हुन्छ । ति भावनाहरू आफूले व्यक्त गर्दा मात्र त्यो प्राकृतिक देखिन्छ अर्थात् प्रभावकारी हुन्छ भन्ने उनको मान्यता छ । लेखन यात्रा, सामाजिक रूपमा उनको सक्रिय भूमिका र किनारीकृत समुदायप्रति उनको योगदानका साथै कठपुतला र अग्निगर्भा पुस्तकको वरिपरी रहेर साहित्यकार डा. अर्चना थापासँग मध्यान्ह राष्ट्रिय दैनिकका लागि जानकी पाठकले गरेको कुराकानीको सम्पादित अंश :

सर्वप्रथम ‘अग्निगर्भा’ उपन्यासका लागि शुभकामना, कस्तो पुस्तक हो यो ?

धन्यवाद । यो उपन्यास हो । यसको पात्र नायिका हो । पात्रकै वरिपरि कथा घुमेको छ । कथा आफैंमा रोचक छ । महिला पात्र भनेपछि महिलाका अनुभूतिहरू, भोगाइहरू, महिलालाई जीवनमा छोएका विषयहरू हुने नै भयो । महिलाहरू घरभित्र काम गर्छन्, विशेषगरी भान्सामा काम गर्ने महिलाका कथा यस उपन्यासमा छ । आफूले जानेका कामहरू, आफ्ना आमाबाट सिकेर पनि कतिपय महिलाहरू भान्सामा काम गर्ने गर्छन्, ति दिनदिनका कुराहरू हुन् जुन बाहिरबाट हेर्दा सामान्य लाग्छ । यसका बारेमा कुरै गर्नुपर्दैन, घरबाहिरका कुरा पो महत्वपूर्ण हुन्छ, राजनीति र प्रशासनका कुरालाई मात्र महत्व दिएर घरभित्र महिलाले गरेका श्रम, खर्च गरेको समयलाई केही होइन भन्ने प्रवित्तिविरुद्ध यो उपन्यास केन्द्रित छ । 

आजभोलि धेरै लेख, समालोचनामा भान्साको राजनीतिको प्रसंग आउँछ, भान्साको राजनीति भनेको के हो ?

फरक–फरक महिलाका फरक–फरक अनुभूति होलान् । पश्चिमा मुलुकको कुरा गर्ने हो भने भान्साबारेका सिद्धान्तहरू बनिसकेका छन् । त्यहाँ भान्सामा अथवा महिलालाई घरभित्र कैद गरिएको भनेर नारीवादीहरूले ६० को दशकमै कुरा उठाइसकेका छन् । महिलालाई घरभित्र राखेर महिलाका अनुभवलाई खुम्च्याउन खोजेको भन्ने कुरा उठिसकेको छ, तर हाम्रो दक्षिण एसियातिर महिलाका जे जस्ता किसिमका ज्ञान छन्, त्यो ज्ञानहरू किताबी र प्राज्ञिक ज्ञानभन्दा फरक ज्ञान हुन्, त्यो ज्ञान कुनै अर्थमा कम छैन । भान्साबाट निस्केका ज्ञानको महत्व पनि छ भन्ने कुरा मैले अग्निगर्भामा देखाउन खोजेको छु ।

हो, भान्साको राजनीति हुन्छ ।  भान्सामा आर्थिक राजनीति हुन्छ । भान्साभित्र लैंगिक राजनीति हुन्छ । भान्सामा कसले काम गर्ने भनेर श्रमविभाजन हुन्छ । जब पुरुषले आफ्नो स्वादको खाना आफैं बनाउन खोज्दैन । जबसम्म भान्सामा महिलाको मात्र उपस्थिति अपेक्षा गरिन्छ त्यसले भान्सालाई दास बनाउँछ । त्यसलाई गहिरोसँग हेरियो भने भान्साभित्र ठुलो राजनीति छ । त्यसलाई हामी कहिले हेर्दैनौं, पाठकको ध्यान त्यतातिर जान्छ कि भनेर मैले यो उपन्यासमा यो विषय उठाएको हो । 

महिलालाई कस्तो प्रकारको आगोले पोल्छ ?

हाम्रो समाजमा महिलाको आदर्शलाई मापन गर्ने सूचक बनाइएको छ । महिला शान्त हुनुपर्छ । महिला सहनशील हुनुपर्छ । धर्तीजस्तो हुनुपर्छ भन्ने हुन्छ, तर महिलाभित्र पनि आगोको ज्वाला हुन्छ । त्यो मौनतामा पनि प्रतिरोध हुन्छ । महिलाले व्यक्त गर्न नसके पनि मनभित्र आगोका झिल्काहरू हुन्छन् । उनीहरू आफ्नो गर्भमा अग्निको बिउहरू बोकेर हिँडेका हुन्छन् । 

आगो प्रकाशको पुञ्ज पनि हो । यो उज्यालोको रूपमा पनि हुन्छ । आगो सिर्जनाको सुरुवात पनि हो । इतिहास हेर्ने हो भने जब आगोको सिर्जना भयो तबमात्र मानवको विकास भयो भन्ने कुरा पनि छ । आगो लागेर खरानी भएर फेरि त्यहाँ सिर्जना हुन्छ । मैले सिर्जना गरेको ब्वारी पात्र पनि आगोमा परेकी छ, पछि उसको भान्सामा पनि आगो लागेको छ । भान्सा खरानी भएपछि ऊ फेरि नयाँ रूपमा आएकी पनि छ । आगो आफैंमा नकारात्मक होइन, तर महिलाभित्र हुने मानसिक द्वन्द्वको आगोले उसलाई बढी पोल्ने गर्छ । मनमा ज्वालामुखी बोकेर बाहिर समाजले निर्धारण गरेको आदर्श महिला बन्नुपर्दा त्यो रापले महिला प्रताडित हुन्छन् । 

आफ्नो कथा आफैंले भन्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ, यो किन जरुरी छ ?

साहित्यको इतिहास हेर्ने हो भने यो नयाँ होइन । साहित्य त वर्षौंदेखि लेखिँदै आइएको छ । हामीले धेरै किताब पढेका पनि छौं । तर जसको कथा लेख्नुपथ्र्यो उसले कथा लेख्न पाएको छैन । जस्तो महिलालाई केन्द्रमा राखेर उसका दुःख, पीडाका भोगाइका कथा लेखिएको छ, तर अरूले लेखिदिएर उसको कथा जस्ताको त्यस्तै आउन सक्दैन । महिलाको मात्र नभनौं एउटा मधेशी महिलाको मैले काठमाडौंमा बसेर लेखें भने उसको भोगाइ, उसको जीवनका अनुभव मैले लेख्न सक्दिनँ । मैले कल्पनामात्र गर्ने हो । एउटा दलितवर्गको मान्छेले उसले भोगेका कुरा आफैं लेख्न सक्यो भने सायद मान्छेले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन होला । 

पहिला पनि महिलाका बारेमा थुप्रै कथाहरू लेखिएको छ । एउटा महिला रोएर बसेको, कसैले आएर उसलाई उद्धार नगरेसम्म, उसको उद्धार नै नहुने त्यस्ता खालका कथाहरू हामीले पढेका छौं । मलाई लाग्छ महिलाले आफैं पनि कथा लेख्ने हो भने उसले मलाई कसैले आएर उद्धार गर्छ भनेर कुर्दिन होला । उसले आफ्नो कथा, आफ्नो भोगाइअनुसार पाइला चाल्छे होला । त्यसैले विभिन्न क्षेत्रका भूगोलका जातजातिका मान्छेहरूले आफ्ना कथा आफैं लेखे भने हामी पाठकले पनि फरक समुदायका कुराहरू बुझ्न सहज हुन्थ्यो होला । काठमाडौंमा बसेर लेखेर समग्र नेपालको प्रतिनिधित्व हुँदैन भन्ने लाग्छ ।  

पितृसत्ताको विरोधमा तपाईंको आवाज सशक्त छ, यसको स्थापना र निरन्तरतामा पुरुषको भूमिका त छँदै छ, महिलाहरू यसमा कसरी सहभागी हुन्छन् ?

पितृसत्ता अहिले पछिल्लो समय अलि सजिलो भएको छ । पितृसत्ता भनेको पुरुषको मात्रै अस्तित्व स्वीकार गर्नुपर्छ भन्ने मान्यताबाट पछाडि हटेको छ । यो एक प्रकारको सत्ता हो, स्थापनाको इतिहास जे सुकै भए पनि निरन्तरतामा महिलाको पनि सहभागिता रहन्छ । सत्ता भनेको शक्ति हो । सत्ता जसको हातमा छ अथवा जो बलियो छ उसैले त्यसलाई चलाउने नै भयो । मैले लेखेको अग्निगर्भा उपन्यासमा पनि हजुरी भन्ने महिला पात्र हो, तर उसले सत्ता चलाएकी छ । अरूलाई नियन्त्रण गर्न खोजेकी छ । अहिले यसमा अर्कै खालको समिश्रण देखिएको छ त्यसको बारेमा पर्याप्त बहस गरेको छैन ।

अहिले पितृसत्ता मात्रै छैन । समाजमा पुँजीवादको आधिपत्य देखिरहेको छ, सामाजिक सञ्जालमा देखिन्छ त्यो पनि हो । अहिले फरक स्वरुप भएको छ । ठम्याउन एकदम गाह्रो बनाएको छ । पितृसत्तामात्र हुँदा सजिलो थियो । यहाँ त पितृसत्ता छ, यस्तो भयो, दमन भयो, विभेद भयो भन्न सजिलो थियो । अहिले पुँजीवादले म्यानुप्लेट गरेको छ । हामीले आफ्नो रोजाइ त प्रयोग गरिरहेका छौं, मेरो इच्छा मैले गरिरहेको छु भन्ने लाग्छ, तर यो रोजाइ हाम्रो नभएर कतैबाट जबरजस्ती निर्माण गरिएका छन् । जस्तै अहिले प्लास्टिक सर्जरी जत्ति पनि आइरहेका छन्, जुन प्रकारबाट हामीलाई देखाइन्छ त्यो हाम्रो रोजाइ जस्तो भए पनि हामीलाई रोज्न बाध्य पारिएको हुन्छ । छाला चाउरी पर्नु भएन, बाटोमा हिँड्दा ओ आन्टी, ए हजुरआमा भनेर अपमानित गर्न खोजिन्छ । बुढो हुनु भनेको लाजको विषय भएको छ । चाउरी हटाउन प्रोत्साहित गरिन्छ । तपाईंले आफूमाथि पैसा खर्च गरिरहनुप¥यो के जहिले पनि । म राम्री छु, मैले जानेको छु भन्ने अनुभव नै गर्न नपाउने अवस्था छ । म राम्री हुन कहाँ जाउँ, कपाल कस्तो पारौं भन्नेमै भुल्नु परेको छ । आफूभित्र कमीमात्रै देखाउने पुँजीवादको जुन स्वरुप छ त्यसलाई भन्न एकदमै गाह्रो छ । यसले महिलालाई मात्र होइन पुरुषलाई, उमेर समूह सबैलाई अप्ठ्यारो बनाएको छ ।

सम्पादन र अन्य लेख समालोचनालाई छोड्ने हो भने ‘कठपुतला’ तपाईंको पहिलो पुस्तक, पहिलो पुस्तकले नै पहिचान दिलाउन सफल भयो । के थियो यसमा त्यस्तो ?

पहिचान त थाहा छैन, तर मैले चलिआएको कथा परम्पराभन्दा फरक गर्ने प्रयास गरेको छु । म आफूलाई लेखकको रूपमा चुनौती दिन मन पराउँछु । कथा भन्नेबित्तिकै सानो हुनुपर्छ, चुटुक्क परेको हुनुपर्छ भन्ने छ । कथा भनेको एउटा आँखीझ्याल हो, त्यसले संसार देखाउँछ भन्ने थियो । मलाई लाग्छ समयसँगै परिभाषा परिवर्तन हुँदै जानुपर्छ । सधैं कथा सानो किन हुनुपर्छ त ? लामो ठुलो आकारको पनि त हुन सक्छ नि भनेर मैले लामो–लामो कथा लेखें । सुरुवात सामान्य हुने, उठानमा द्वन्द्व हुने, अन्त्यमा समाधान हुने कथाको परिभाषा छ, तर मलाई यस्ता कथा मन पर्दैनन् । मलाई टुंग्याएको कथा मन पर्दैन । सबै राम्रो भयो कथा टुंगियो, तर जीवन त चलिरहेको हुन्छ ।

कथा चाहीँ उठान भएर समाधानतिर जानुपर्ने हुन्छ कुनै कथा मैले त्यहीँ ठ्याकै छोडेको छु । पाठकले त्यहाँबाट अगाडि लिएर जानुहुन्छ भनेर । मेरो कथामा रैखिक रूपमा एकै रेखामा नगएर उपकथाहरूलाई मुख्य कथाका रूपमा आएका छन् । मैले पहिला मुख्य कथा लेख्न थालेपछि त्यसलाई छाडेर उपकथालई बलियो बनाएर लेखेको छु । मैले कथालाई जुत्ता लगाएपछि तुना बाँधे जसरी टपक्क पारेर टुंग्याएको छैन । अरू कथाभन्दा अथवा लेखिँदै आएको कथाभन्दा अलि फरक विषय र शैली भएर पनि सबैको नजरमा परेको हो कि भन्ने लाग्छ ।

‘कठपुतला’मा ८ वटा कथा छन्, ति सबैले परम्परालाई भत्काउने प्रयास गरेको छ, कत्तिको गाली खानुभयो ?

हजुर कठपुतलामा ८ वटा कथा छन् । ति सबै फरक–फरक विषय र सन्दर्भसँग जोडिएका छन् ।  कठपुतली शब्द महिलाका लागि प्रयोग गरिने शब्द हो । कठपुतला शब्द मैले पुरुषका लागि प्रयोग गरिदिएँ । यो शब्दकोषमा भएको शब्द होइन ।  महिलालाई केही गर्न नसक्ने, अरूको इशारामा नाँच्ने भन्ने अर्थ लगाउनुप¥यो भने प्रयोग गरिने शब्द हो कठपुतली । राजनीतिमा यो शब्द धेरै प्रयोग गरिन्छ । काम गर्न नसक्नेबित्तिकै यो कठपुतली हो भनिनुले समग्र महिला जातिको अस्तित्वमाथि प्रहार गरे जस्तो लागेर मैले कठपुतला कथा लेखें । पुरुष पात्र राखेर कठपुतला लेख्नुप¥यो जस्तो लागेर मैले कथा सिर्जना गरें । 

मैले यो कथा धेरै बिक्री हुने कथा बन्छ भन्ने सोचेको थिइनँ । मलाई यसबाट धेरै माया पाउँछु भन्ने पनि थिएन । मलाई मुखैमा आएर कसैले गाली गर्नुभएको पनि छैन । मैले जति गाली खान्छु भन्ने सोचेको थिएँ, त्यति गाली पनि खानुपरेन । मलाई धेरै प्रश्न गर्नुभएको छ के हो त यो कठपुतला भनेर । जिज्ञासा आउनु राम्रो पनि हो । किताब पढेर राखिदिनुभयो पाठकले पछ्याउन खोजेनन् भने मज्जा हुँदैन । पाठकले प्रश्न सोधिराख्दामात्र आफू अझ खारिने अवसर मिल्छ । प्रश्न सोध्ने ठाउँ आउनु भनेको पाठकलाई कथाले छुनु हो जस्तो लाग्छ । जहाँसम्म परम्परा भत्काउने प्रयासको कुरा छ, त्यो मैले गरेकै हो । कथाको सीमित परिभाषाभन्दा बाहिर गएर लेखेको कथाले एक प्रकारको बहस गर्ने वातावरण बनेको पनि देखिन्छ । 

कठपुतलाभित्रको सेतो वासनाबाट मलाई धेरै प्रश्न आएको थियो । विवस्त्र रामायणबाट पनि प्रश्न आयो । नियम कानुनभन्दा बाहिर गएको मानसिक अवस्थाको चित्रण सेतो वासनामा थियो । विवस्त्र रामायणमा पनि धेरै कुरा आयो । समाजले रामलाई ओडाएको आदर्शको वस्त्र खोलिदिँदा प्रश्न नआउने भन्ने कुरै भएन । समयसँगै दृष्टिकोण र सोचाइ पनि परिवर्तन हुँदै जान्छन् । त्यही परिवर्तन साहित्यमा पनि देखिनुपर्छ । फरक गर्न खोज्दा गाली आउँछ भनेर डराउनु भएन ।

अन्त्यमा ?

म बोल्नुपर्छ भन्ने स्वभावको मान्छे हुँ । कुनै समयमा समाजको आदर्शले मलाई पनि रोक्यो होला दुई छोरी हुर्काउँदै, समाजमा महिलाका लागि बनाइएका केही नियमसँग असहमति राख्दै आएँ पनि । बोल्न नमिल्ने, नबोल भन्ने परिवेशमा मेरो जन्म नभएपनि कहिलेकाहीँ बोल्नुपर्ने ठाउँमा बोलिएन होला, तर म दबिएर बसिनँ । म सबैलाई बोल्नुपर्छ, आफ्ना लागि आफूले बोल्दा मात्र आफ्नो अस्तित्व जीवित रहन्छ भन्ने मान्यता राख्छु । 

अन्त्यमा, पाठकमाझ मेरो पुस्तक अग्निगर्भा लिएर आएको छु । कठपुतला कथालाई जसरी स्वीकार गर्नुभएको थियो, अग्निगर्भालाई पनि त्यसैगरी स्वीकार गर्नुहुने छ भन्ने आशा राख्छु । म प्रश्न गरेको एकदमै मन पराउने मान्छे, पढेर किताब थन्क्याउनुभन्दा पहिले पाठकले लेखकलाई प्रश्न गर्नुपर्छ भन्ने लाग्छ, म प्रश्नको अपेक्षा गर्छु ।

सम्बन्धित खबर