– डा. माला खरेल
वागमती नदी काठमाडौं राजधानीको बीच भागबाट बग्ने धार्मिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेको महत्वपूर्ण नदी हो । यो बागद्वार, शिवपुरी, चोभार, हुँदै भारतमा गएर मिसिएको छ । यो नदीले पर्यटकीय महत्व पनि बोकेको छ । संसारको शहर निर्माणको इतिहास हेर्दा बस्ती र शहर नदीको किनारमा अवस्थित भएको पाइन्छ । यसले सम्पूर्ण देश र त्यस शहरको परिचय र पहिचान बनाएको छ ।
हाम्रो वागमती नदीले धार्मिक महत्व पनि बोकेको छ । यस नदीलाई आमा, भगवान् मान्ने प्रचलन छ । यस नदीमा थुक्ने, दिसा–पिशाव गर्नाले पाप लाग्दछ भन्ने धार्मिक मान्यता रहेको छ । यस नदीको किनारामा मानव सभ्यताको विकास भइरहेको छ । शहरीकरण र औद्योगिकीकरणको विकासको साथै मानव बस्ती पनि बस्ने क्रम दिनानुदिन बढिरहेको छ । जसको कारणले गर्दा नदीको किनारमा घर, पसल, उद्योगधन्दा, हस्पिटल, कलकारखाना, विद्यालय, कलेजहरूको स्थापना भैरहेको छ । जसले गर्दा काठमाडौंबीच भएर बग्ने नदीमा ढल मिसिने, फोहरमैला थुपार्ने, निर्माणका सामाग्री थुपार्न, फ्याँक्ने, नदीको जग्गा अतिक्रमण गर्ने, बालुवा चोरी गर्ने, सरकारी जग्गा अक्रिमण गरेर बस्ने, नदीको दोहन गर्ने आदि क्रम बढिरहेको छ । जसको कारणले गर्दा नदी साँघुरो हुने, पानीलाई पिउन र सिँचाइको लागि प्रयोग गर्ने गर्दा पानीको बहावमा कमी आएको छ । नदी किनारमा जमिनको पानीलाई निकाल्ने र ट्यांकरमा राखेर बिक्री वितरण गर्नाले पनि खोलाको पानीको बहाव कम भई खोलाभित्रको फोहरहरू कुहिएर दुर्गन्ध फैलिएको छ । यिनै कारणहरूले गर्दा वागमती नदीलाई कुरूप फोहोर र अतिक्रमण बढिरहेको छ ।
यिनै समस्याको समाधानको निमित्त नेपाल सरकारले अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको स्थापना वि.सं.२०५२ सालमा गरेको हो । स्थापना कालदेखि नै उक्त कार्यालयले जग्गा, ढल, सडक, हरितक्षेत्र निर्माण गर्ने, जनचेतना जगाउने कार्यक्रमहरू गर्दै आइरहेको छ । तथापी पनि नदीलाई पूर्व अवस्थामा ल्याउन नसकिएकोले अभियन्ताहरूद्वारा २०६९÷०२÷०५ गते वागमती सरसफाइ महा–अभियान शुरूवात भएको हो । यो अभियानमा विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरू, नागरिक समाज, आ.स.वा.स., महानगरपालिका, कलाकारहरू, पत्रकारहरू, खेलाडीहरू, स्वतन्त्र अभियन्ताहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, र नेपाली सेनाको पनि उपस्थिति रहेको थियो ।
यस अभियानले वागमतीमा मात्र लगातार चार सय ६५ हप्ता सरसफाइ गरिसकेको छ । हप्ताको लागि दुई घण्टा स्वयम् सेवा भन्ने नाराका साथ प्रत्येक शनिबार अभियन्ताहरूले स्वयम् सेवा सम्झेर वागमती नदी भित्रको र दायाँ–बायाँको फोहर टिपेर सफा गर्ने गरेका छन् । यस अभियानमा सबैजना स्वतःस्पूmर्त आउने र काम गर्ने गरेका छन् । कसैलाई प्रभाव र दबाबमा पार्ने गरिएको छैन । प्रचार–प्रसारको लागि आधुनिक सामाजिक सञ्जालको प्रयोग गर्ने गरिएको छ । यसैलाई सूचना मानेर स्थान र समय हेरेर सबै आउने गरेका छन् ।
वागमती अभियानमा जति पनि अभियन्ताहरू आउनुहुन्छ, स्वयम् सेवाको भावनाले आउनुहुन्छ । उहाँहरू वर्षौदेखि निरन्तर खटिरहनुभएको छ । यो नौ वर्षको बीचमा कति वर्षा, हिउँद, चिसो तातो आयो गयो, भूकम्प, कोभिड–१९ जस्ता प्राकृतिक प्रकोप र महामारीजस्ता डरलाग्दा रोग आयो । यस्तो बेलामा पनि अभियन्ताहरू निरन्तर खोलाभित्र पसेर फोहर टिपिरहे र अभियानलाई निरन्तरता दिइराखे । नेपालीहरूको महान् चाड दशैं, तिहार, तीज जस्ता पर्वहरूमा पनि दुई घण्टाको यो सरसफाइ रोकिएको छैन । भनिन्छ नि जो कोहीको पनि लत लागेपछि त्यसलाई सजिलै छोडन सकिँदैन प्रयोग गरिरहन्छन् । स्वयम् सेवा गर्दै जाँदा यो पनि अभियन्ताहरूको लागि मिठो नशा समान बन्दै गएको छ । यिनै अभियन्ताहरूले शुरूका दिनहरूमा फोहर उठाउँदै गर्दा मानिसहरूले गिज्याउने, खिल्ली उडाउने गर्दथे ।
के होला र निरन्तर भनेर विश्वास गरेका थिएनन् । तर, निरन्तर लागिरहँदा अहिले सबैले गरे के नहुने रहेछ र भनेर विश्वास पैदा भएको छ । अभियन्ताहरूले पनि यसलाई पुष्ट्याइँ गरिसक्नुभएको छ । यस महा–अभियानका आधारभूत सिद्धान्तहरू छन् जसमा नगद संकलन नगर्ने, सीमित नबनाउने, सभापति÷संयोजक नतोक्ने, सफाइका लागि आवश्यक औजार र सामग्री संकलन गर्ने, हरेक शनिबार राष्ट्रको लागि दुई घण्टा स्वयम् सेवा गर्ने, आफैंले श्रम गर्ने, अरूलाई नअह्राउने । यस अभियानले ५० आंै हप्तामा गुह्येश्वरीसम्मको नदी सफा गरी नुहाउन योग्य बनाई नुहाइएको थियो भने १००आंै हप्तासम्म पुग्दा एक लाख पचास हजार जना खोलामा उपस्थिति भई हातेसाङ्लो बनाएर खोला सफा गरिएको थियो ।
अब अभियन्ताहरू उपत्यकाको नदीहरू, टोलहरू, मठ मन्दिरहरू, सार्वजनिक बाटोघाटो, सम्पदाहरू सफा गर्न लाग्नुभयो । उपत्यकाभित्र सहायक नदीहरू जस्तै विष्णुमति, रूद्रमति, मनोहरा, धोबीखोला, गोदावरी, हनुमन्तेलगायत अन्य नदीहरू पनि सफा गर्ने अभियान सुरू भयो । देशभरिका अन्य स्थानहरू जस्तो–पोखरा, नेपालगञज, दैलेख, मेची–महाकाली अभियान जस्ता अभियानहरू वागमती सफाइकै प्रेरणाबाट प्रेरित भएका छन् ।
पहिला मानिसहरूले आफ्नो घर, कार्यालय, उद्योगधन्दाबाट निस्किएको फोहरहरूलाई निस्फिक्री तरिकाले सार्वजनिक बाटोघाटो र नदीमा लगेर फ्याँक्ने गर्थे, खोलाको किनारा डम्पिङ साइट नै भएको थियो, खोला बग्न छाडेको थियो । दायाँ–बायाँ दुर्गन्धले गर्दा बस्ती बस्न सकिरहेको थिएन तर, यो महाअभियान सुरू भएपछि खोलामा फोहर फाल्ने क्रम न्यून भएको छ । हजारौं मेट्रिक टन फोहर खोलाबाट बाहिर निकालेर व्यवस्थापन गरिसकिएको छ । खोलाको किनारमा फोहरको पहाड नै हुने ठाउँमा अहिले पार्कहरू बन्न थालेका छन् । खोला कै किनारमा ठूला–ठूला कम्प्लेक्सहरू, विद्यालयहरू, कलेजहरू, अस्पतालहरू बनेका छन् । सडक ढलको व्यवस्था भएको छ । पार्क बनेका ठाउँमा अव्यवस्थित बस्तीहरू बस्न सकेका छैनन् ।
यो देशको सबैभन्दा लामो अभियान हो । जसमा देशका राष्ट्र प्रमुखहरू जस्तो राष्ट्रपतिज्यूहरू, प्रधानमन्त्रीज्यूहरू, प्रधानन्यायाधीशज्यूहरू मन्त्रीज्यूहरू, सम्पूर्ण सुरक्षा निकायका प्रमुखज्यूहरू, कुटनीतिक आयोगका प्रमुखज्यूहरू, स्थानीय निकायका प्रमुखज्यूहरू, बुद्धिजीवि, समाजसेवी, पत्रकार, राजनीतिकर्मीहरू, संघ÷संस्थाका सदस्यहरू, नागरिक समाज एकै ठाउँमा उपस्थित भएर सफा गरेको र प्रतिबद्धता जनाएको यो पहिलो महा–अभियान हो । विश्वको पनि यस किसिमको सम्भवत पहिलो नै अभियान हो ।
जतिसुकै धार्मिक ग्रन्थ पढे पनि नैतिकताको कुरा गरे पनि पढाइका डिग्रीहरू हातमा लिए पनि यदि त्यो जीवनको क्रिया बनेन भने जिन्दगीमा केही उपलब्धि गरेनौँ भन्ने सम्झनु पर्दछ । एउटा दियोले हजारौँ दियो प्रज्वलित पार्न सक्दछ र उसको प्रकाश पनि घटदैन, बरू झन बढ्छ । यसरी नै वागमती सरसफाइ अभियानले शुरु गरेको सफाइको सन्देशले एकदिन देशभरि नै फैलिनेछ र देश सफा सन्दर हुनेछ । आगामी दिनमा स्थानीय तहलाई नै सक्रिय गराई सरसफाइको जिम्मा दिँदै जाने र अभियन्ताले सहयोग गर्दै जाने योजना रहेको छ । वागमती सभ्यताबाट
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies