
काठमाडौं : मस– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा–५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका–७ बस्ने बर्दिया घर भएका ३६ वर्षीय अर्जुनबहादुर पौडेल, ललितपुर महालक्ष्मी नगरपालिका–७ बस्ने सर्लाही घर भएका ४६ वर्षीय डिल्लीराम भुजेल, काठमाडौं महानगरपालिका–१६ बस्ने ४३ वर्षीया उमा गुरुङ, ललितपुर महानगरपालिका–७ बस्ने कास्की घर भएका ३३ वर्षीय आशिष महत र भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ बस्ने रामेछाप घर भएकी ३५ वर्षीया संगीता श्रेष्ठ रहेका छन् ।
पक्राउ परेकामध्ये अर्जुनले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ३० हजार रुपैयाँ, डिल्लीले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ९९ हजार रुपैयाँ, उमाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ, आशिषले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २३ लाख रुपैयाँ र संगीताले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ६८ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए ।
सोही आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उमा र संगीतालाई काठमाडौं महानगरपालिका–१२ बाट तथा आशिषलाई काठमाडौं महानगरपालिका–१० बाट आइतबार पक्राउ गरेको हो । साथै अर्जुनलाई काठमाडौं महानगरपालिका–४ बाट र डिल्लीलाई काठमाडौं महानगरपालिका–९ बाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।