– त्रिपुरा खरेल, सिक्किम
धेरै दिनदेखि कथा लेख्ने विचारमा छ कथाकार । ऊ आफूले लेख्ने कथा संरचनाको लागि विषयवस्तु खोज्ने धुनमा लागेको पनि धेरै वर्ष बितिसकेको थियोे । कथाभित्रको कथाको रहस्य खोज्दै जाने क्रममा उसले कयांै सुखका बसन्त र दुःखका गृष्महरू पार गर्दै गरेको ऊ अहिले जीवनको उत्तराद्र्धको नेटो काट्ने सुरमा छ । यतिबेला जीवन साथी बिनाको ऊ पानी बिनाको माछा जत्तिकै भएको छ । यस्तो अवस्थामा पनि ऊ अर्थात् कृष्ण कथाभित्रको कथा खोज्ने अभिलाषामा बाँचेको छ । धुइँपत्ताल लगाएर कथा खोज्दा पनि अहिलेसम्म कथा भेटेको छैन उसले । हुन पनि उसलाई कथाहरुले झुक्याइरहेका छन् ।
कथाकारलाई स्वर्गका देवता र अप्सराहरुलाई मुख्य पात्र बनाएर कथा लेखेर कथाको रहस्य खोल्ने लहड पनि चलेके थियो । त्यो बेला उसले मसक्क आँट गर्दै फोटोमा झुण्डिएको आफ्नो दाजुलाई भनेको थियो, “दाजु, मेरो कथामा म उर्मिलालाई नायिका बनाएर कथा लेख्छु बुझ्नुभयो ! भरत चौध वर्ष वनबास गएको बेला तिनले भोगेका कठिनाइहरुलाई मेरो कथामा ओगट्छु ।” कयौं वर्षदेखि आफूले खोजेको असली पात्रहरू भेट्टाए जस्तो लाग्यो कथाकारलाई । उसको कलमले उर्मिलाले भोगेका पीडाकर अवस्थालाई लिएर कथा लेख्ने मसक्क आँट गर्यो ।
आशुतोष भित्ताको ठूलो फ्रेमभित्र मुस्कुराइरहेको थियो । उसको अनुहारको भावले उसलाई भनिरहेको थियो, “कृष्ण ! पौराणिक कथाहरूका पात्रहलाई तेरो कथाको पात्रहरूका रुपमा समावेश नगर । उही राम, इन्द्र, परशुरामका कथा लेखिस् भने तेरो कथाले के मान्यता पाउला र ? तेरो कथालाई मूर्तरूप दिनुछ भने तैंले तेरै परिवेशलाई समेटेर एउटा जीवित कथा लेख् ।” भित्तामा झुन्डिएको तस्वीर जोड्ले हाँस्दा झण्डै झरेको, उसले हत्तपत्त समातेर झर्न दिएन ।
“भाइ ! तेरो दाजुलाई एकपल्ट हेर् त, तँबाट केही अपेक्षा राख्दै तेरो अनुहारमा याचनाको भिख माग्ने तेरो एक आँठको दाजु पनि तेरो लागि एउटा सिङ्गो कथा होइन र !”
कृष्णले फोटोको हँसिलो अनुहारलाई पुलुक्क हेर्यो, उसको प्रेरणाको स्रोत, उसको आत्मीय दाजु आशुतोष उसलाई एकटक लगाएर हेरिरहेका थिए । तिनीहरुबीच दुई वर्षको मात्र फरक थियो । दुई दाजुभाई एकअर्कालाई धेरै माया गर्थे । दुबैले स्नातकसम्मको शिक्षा बनारसको वि.एच.यु.बाट एकैसाथ हासिल गरेका थिए । बनारसमा उनीहरु दूधविनायक स्थित नथुनी सरदारको घरमा बस्थे । कलेज डेरादेखि धेरै टाढा भएकोले उनीहरु हिँडेर बाँसफाटक चौखम्बा हुँदै गुदोलिया बजारसम्म पुग्थ्ये त्यसपछि, त्यहाँबाट रिक्सा वा बग्गी चढेर कलेज जान्थे । गुदोलिया बजार गंगाको किनारामा बसेको थियो, वर्षायाममा गंगा नदीमा बाढी आएको बेला बजार डुबाउने गर्थ्यो । त्यसबेला भने उनीहरुलाई कलेज जान निकै मुश्किल पर्थ्यो ।
कृष्ण मेधावी छात्र थियो, आशुतोष भने पढाइमा सामान्य थियो, ऊ पाठलाई घोकेको भरमा परीक्षामा जेनतेन पास चाहिँ हुनेगर्थ्यो । बौद्धिकताको हिसाबले दुबैमा धेरै फरक थियो । बि.ए.मा दुबैले एउटै विषय लिएपनि, आशुतोष हिन्दी माध्यमबाट पढ्थ्यो कृष्णले चाहिँ अंग्रेजी माध्यमलाई रोजेको थियो ।
आशुतोषले डल्लै किताबलाई पानीपानी बनाएर घोक्नसक्थ्यो, कृष्ण आफूले पढेका किताबहरुलाई बुझेर लेख्न सक्थ्यो । किताबदेखि बाहेक ऊ साहित्यिक कार्यक्रममा जाने गथ्र्यो । फुर्सदको बेलामा ऊ साथीभाइसँग भेटघाट गर्न जगदम्बा धर्मशाला, मंगलागौरी, ठठोरी गल्ली आदि ठाउँहरुमा जाने गथ्र्यो । छुट्टीको दिन आशुतोष बिहानैदेखि डेराबाट बाहिरिने गथ्र्यो । ऊ कता र कसकोमा जान्थ्यो कृष्णले खोजखबर गर्दैनथ्यो । अरू विषयलाई लिएर दाजुसित मतभेद नभएपनि आशुतोषको बरालिने स्वभावलाई लिएर भने दुई दाजुभाइमा अलिअलि मतभेद थियो ।
बि.ए.परीक्षाको फाइनल शुरु हुने दिन दुबै दाजुभाइ रिक्सामा चढेर परीक्षा हलतिर लागे । तिनीहरु बसेको ठाउँदेखि परीक्षा हल पुग्न रिक्सालाई एक घण्टा जति लाग्थ्यो ।
“भाइ ! राजनीति शास्त्रको सिद्धान्तको अर्थ र यसका पिता कसलाई भनिन्छ ? यसको परिभाषासहित विस्तृतरूपमा मलाई बुझा त ।”, आशुतोषले भाइतिर हेर्दै प्रश्न गर्यो ।
कृष्ण दाजुको प्रश्नले आत्तियो । उसले राति भोलि पढ्छु भनेर राजनीति शास्त्रको किताब थन्काएको थियो, बिहान घरबेटीले पानीको निहुँमा किचकिच गरेकोले पढ्नुपर्ने विषयलाई छुन पनि भ्याएको थिएन । उसले अँध्यारो मुख लगाएको देखेर आशुतोषले आफूले रटेर कण्ठस्थ पारेको विषय भाइलाई हिन्दीमा सुनाउँदै गयो । विश्व हिन्दु महाविद्यालयको गेटमा आएपछि दुबै दाजुभाइ आ–आफ्नो परीक्षा हलतिर लागे ।
परीक्षा दिएर फर्किदा आशुतोषको अनुहार अँध्यारो देखेर कृष्णले सोध्यो, “दाजुलाई सन्चो भएन कि क्या हो ?”
आशुतोष मौन थियो । दाजु नबोलेको देखेर कृष्णले उसलाई फेरि पनि प्रश्न गर्यो तर उसले कुनै उत्तर दिएन । ऊ धमाधम किताब, गाइड बुक, र कपीहरु पल्टाउँदै थियो । बाटोभरि नै दुबै भाइ चुपचाप थिए । गर्मीले गर्दा पसिनाले भिजेर लतपत भएको रिक्सावालाले रिक्सा चलाउँदाको चुइँचुइँको ध्वनिमात्र आउँदै थियो । हुनपनि गृष्म ऋतुमा बनारसको भीषण गर्मीको कल्पना पनि गर्न सकिदैन । आशुतोषले राजनीति सिद्धान्तबारे परीक्षाको उत्तर न त गाइडमा भेट्यो न किताबमै भेट्यो ।
“भाइ, हामीलाई नपढाएको प्रश्न सोधिएको रहेछ, अब परीक्षा बोर्डलाई उजुरी दिनुपर्छ ।” आशुतोषले आफ्नो काखको किताबलाई बजार्यो । रिक्सा चालकले पछाडि फर्केर दुबै दाजुभाइलाई एकपल्ट पुलुक्क हेर्यो । डेरामा पुगेर दुबै दाजुभाइले नुहाइधुवाइ सकेपछि खाजा खाएर आ–आफ्नो टेबुलमा कपी र किताबहरु सजाए । आशुतोष अहिलेसम्म पनि चुपचाप बसिरहेको थियो । कृष्ण दाजु बसेको कुर्सीको छेउमा बस्यो । दाजु चाहिँले भाइलाई कर्के नजरले हेर्यो । उसको अनुहारमा अझैसम्म पनि असन्तुष्टि छल्किरहेको थियो ।
“दाजु परीक्षा सकेर निस्केदेखि तपाईंको अनुहार चुकघोप्टे जत्तिकै अँध्यारो छ, कि फेरि केटीहरुको कारणले गर्दा लफडामा पर्नुभयो । अस्तिको महिनामा पनि केटीसितकै काण्डमा पर्नुभयो मैले नबचाएको भए तपाईंलाई केटीको दाजुले माथ्र्योे पनि होला । छुट्याउन जाँदा त्यतिखेर मैले पो कुटाइ खाएँ । एकजना बिराउने शाखा पिराउने भने जत्तिकै भयो ।”
“त्यस्तो होइन भाइ, आजको परीक्षामा मैले भनेजस्तो उत्तर लेख्नै सकिनँ । झन् राजनीतिको सिद्धान्तलाई् मैले रटेर पानी बनाएको थिएँ । तिमीलाई बाटोभरि पढाउँदै गएँ, त्यही पो आएन छ । पाससम्म चाहिँ हुन्छु कि !” आशुतोष आजको परीक्षाबाट सन्तुष्ट थिएन । परीक्षामा प्रतिस्पर्धा हुन्छ । एउटै आँतका दाजुभाइ पनि एकअर्काका प्रतिस्पर्धी हुन्छन् । आशुतोष र कृष्ण पनि पढाइ र परीक्षाका लागि मात्र प्रतिद्वन्द्वी थिए । परीक्षाबाट निस्किएपछि तिनीहरुको सम्बन्ध नङ्ग र मासु जत्तिकै थियो ।
उसको कुराले कृष्ण छक्क पर्यो । हिजो दाजुले सुनाएकै प्रश्न आएको थियो, तर प्रश्न भने घुमाएर सोधिएको थियो ।” घोकन्ते विद्या र धावन्ती खेती काम लाग्दैन भन्थे हो रहेछ ।” उसको मुखबाट अस्पष्ट वाक्य निस्कियो । चिन्ताजनक अवस्थामा रहेको आशुतोषले भाइको कुरा बुझेन ।
“दाजु हिजो मलाई रिक्सामा पढाउनु भएको कुरालाई प्रश्नपत्रमा घुमाएर सोधिएको थियो, मैले तपाईंले बुझाएको भरमा उत्तरपुस्तिका भरेर आएँ ।” भाइले बताएपछि उसले प्रश्नपत्र फेरि दोहोर्याएर पढ्यो, प्रश्न घुमाएर सोधिएको रहेछ । उसले आफ्नो धैर्य धारण नगर्ने र कुनै पनि कुरालाई गहन तरीकाले अध्ययन नगरी अतालिने बानीलाई सराप्नसम्म सराप्यो ।
आशुतोष राति ओछ्यानमा पल्टिँदा पनि थकथक मानिरह्यो । भाइले अंग्रेजी माध्यम रोज्दापनि उसले सजिलैसँग उतीर्ण हुने लोभमा हिन्दी भाषालाई पढाइको माध्यम बनाएको थियो । पढाइमा दुबैको स्तर आकाश र पातालबीचको भिन्नता भए झैं चरित्रमा पनि तिनीहरु बीचमा भिन्नता थियो । दाजु चाहिँको झुकाउ मोजमज्जा, ऐश आराममा थियो । उसलाई लुगा, रक्सी र केटी बदल्नमा उत्तिकै सौख थियो । ऊ कहिलेकाहीँ आफूलाई देवदास भन्दै रक्सी भरिएको गिलाससँगै नाच्ने गथ्र्यो । उसका साथीहरू उसको बावुको रुपियाँमा मोज गर्थे ।
बि.ए.को परीक्षा सकिएपछि दुबै दाजुभाइले रिजल्ट पर्खिएर अरु तीन महीना बनारसमै बस्ने निधो गरे । कृष्णले यो समयलाई भाषा साहित्यका लागि खर्च गर्ने निश्चय गर्यो । आशुतोषले भने तीन महीनाको खाली समयलाई मनोरञ्जनका लागि खर्चने निर्णय गर्यो । आशुतोषको चारित्रिक पाटोलाई हेरेर उसलाई नराम्रो र बरालाको संज्ञा दिन भने मिल्दैन थियो । उसमा मानवीय गुणहरु प्रशस्तै थिए । ऊ दाजुको रुपमा कलियुगको राम थियो, आज्ञाकारी छोरा थियो अनि समाजको लागि असल र इमानदार पुरुष थियो । उसको कमजोरी भनेको चाहिँ ऊ पत्नीको लागि असल पति कहिले बन्न सकेन । कृष्णले हातको कलमलाई मुखले टोकेर आफ्नो दाजुको फोटोलाई गौरसित हेर्यो ।
त्यतिबेलाको समयमा छोराछोरीको कम्ति उमेरमै बिहे गरिदिने चलन थियो । अशुतोषका पिताले पनि अठार वर्षको उमेरमा उसको विवाहा पहाडकी कान्तिसँग गरिदिएका थिए । तिनको रङ्ग रुपको प्रसंशा नगर्ने कोही थिएनन् तर तिनले आफ्नो रुपले वंशीकृत गरेर पतिको मायालाई जित्न सकिनन् । नपढ्नु नै तिनको वैवाहिक जीवनमा अभिशाप भइदियो । दुई नव दम्पतीबीचको शारीरिक सम्बन्धलाई आशुतोषले तृष्णा मेटाउने तत्वमात्र ठान्यो । उनीहरुका तीन सन्तान जन्मिदा पनि उसले पत्नी धर्म निभाउन सकेको थिएन । उसलाई बावुआमाको करकापमा परेर बिहे गरेकी पत्नीसँग घरमा बस्नु थिएन, त्यसैले भाइ कृष्णसँग बनारसतिर हानियो । उसको पिताले छोरोलाई रोक्न सकेनन् । उता गएर उसले पढेका केटीहरुमा आफ्नो आत्मसन्तुष्टि खोज्नथाल्यो ।
कृष्णले झुन्डिएको फोटोमा हेर्यो, आशुतोषको निधारमा लामो खत प्रष्ट देखिन्थ्यो । परीक्षा सकेको चौथो दिनको साँझमा ऊ कोठामा बसेर आफूले लेख्दै गरेको कथालाई अन्तिम चरणमा लाने विषयमा सोच्दै थियो, उसको ढोकामा कसैले लात्तीले हानेको जस्तो आवाज आयो । कृष्णले ढोका खोल्ने बित्तिकै प्रायः अचेत अवस्थामा रहेको आशुतोषलाई बोकेका मान्छेहरू उसको कोठामा ह्वात्तै पसे । तिनीहरुले उसको दाजुलाई ओछ्यानमा फ्याक्दै भने, “तेरो दाजुले अर्काकी चेलीबेटीलाई फेरि पनि हातपात गर्यो भने उसको लास भेट्ने छैनस् । तेरो दाजुलाई सम्झाउनु ।”
तिनीहरु गइसकेपछि कृष्णले दाजुको निधारबाट बग्दै गरेको रगत पुछपाछ गरिदियो । उसको होश आएपछि अपरिचित मान्छेहरुले धमास दिएर गएको कुराको वृतान्त सुनायो । उसले कुनै प्रतिक्रिया बिना भाइको कुरा सुनिरह्यो । कृष्णले आशुतोषलाई अस्पताल लगेर उपचार गराइसकेपछि तुरुन्तै दाजुलाई लिएर घरतिर हानियो । घर फर्किएपछि आशुतोष जागिरको खोजीमा राजधानीतिर लाग्यो । “दाजुले जागिरको बहानामा मलाई छोडेर किन गएका होलान् ?” कृष्णलाई दाजुसँग बस्ने बानी बसिसकेको थियो । दाजु राजधानी लागेपछि उसलाई पट्यार लाग्न थाल्यो । उता कृष्णको दाजु भने जागिरको बहानामा काठमाडौँमा बसेर आफ्नो तृष्णा मेटाउनका लागि कुवा खोज्ने काममा व्यस्त थियो ।
कृष्णलाई उसका साथीहरुले चिट्ठीमार्फत उसको दाजुको खबर नबिराइकन पठाउने गर्थे । राजधानीमा ऊ भाडामा बसेको घरमा घरबेटीकी एम.ए. पास गरेकी एउटै छोरी रहिछिन् । तिनलाई बिहान बेलुका साइकल सिकाउने काम आशुतोषको रहेछ । चिठी पढ्दै गर्दा ऊ एक्लै बोल्यो, “दाजु कहिले नसुध्रिने रहेछन्, फेरि कसको हातबाट कुटाइ खाने हुन् ।” उसलाई आफू बसेको कुर्सीसँगै आफूपनि भासिएको जत्तिकै भयो ।
यता कृष्ण भने बि.ए. परीक्षाको नतिजा कुर्दै आफ्नै पुख्र्यौली थलोमा बसेर प्रगतिशील समाजको गठन गर्न लाग्यो । उसले यता आएर पनि साहित्य लेखन कार्यलाई द्रुतगतिमा अघि बढाइरह्यो । यसैबीच परीक्षाको परिणाम पनि निस्कियो । आशुतोष पासमात्र भयो, कृष्ण भने प्रथम दर्जामा उत्तिर्ण भयो ।
आशुतोषले आफ्नो पढाइमा पूर्णविराम लगाउने निर्णय गर्यो भने कृष्ण भारतको कलकत्तामा गएर एम.ए. पढ्ने भयो । यही बीचमा कृष्णले पनि बिहे गर्यो ।
कलकत्ता जाने बेलामा पनि दाजुभाइको भेट भएन । आफ्नो घर परिवारको मायालाई हृदयमा बोकेर ऊ कलकत्तातिर लाग्यो । त्यतिबेला फोन आदिको सुविधा थिएन । उसले घरको हालखबर चिठीमार्फत मात्र थाहा पाउँथ्यो । उसको हातमा चिठी पुग्दा त्यो खबर पुरानो भइसक्थ्यो । दाजुले साइकल विद्या सिकाउँदा सिकाउँदै तिनै युवतीलाई कान्छी स्वास्नी बनाएर घरमा भित्र्याएछन् । अहिले तिनी राजधानीदेखि बाहिरको ठाउँमा सरकारी नोकरी गर्दैछन् रे । कान्छी स्वास्नी पनि उसकै साथमा छ रे ! कृष्णले चिठीबाट यी सबै कुराहरुको जानकारी पायो । उसलाई आफ्नी भाउजूको माया लाग्यो, बाबुको मायाको लागि तड्पिएका भतिजीहरुको बेहाल भएको कल्पनाले उसलाई धुरुधुरु रुवायो ।
कृष्ण एम.ए.को परीक्षा सकेर आफ्नो घर फर्कियो । बृद्ध अवस्थाले गर्दा अशक्त रहेका बुवाको कारण कृष्णलाई पनि नोकरी गर्ने बाध्यता पर्यो । ऊ पनि आफ्नो पुख्र्याैली घर छोडेर सपरिवार शहर भासियो । ऊ चाडपर्व र कुनै विशेष काममा घर आउने गथ्र्यो । बुवा आमाको उदास अनुहार र भाउजूको फुङ्ग उडेको अनुहार देख्दा विचलित हुन्थ्यो । भतिजीहरुले बावुलाई भुलिसकेका थिए । केटाकेटीहरुलाई कुनै घटना भुल्नमा केही समय लाग्दैन । सायद समयले उनीहरूलाई यसो गर्न सिकाएको होला ।
छुट्टीमा घर आउँदा भाउजूको आँशु रित्तिएको आँखामा असंख्य वेदनाहरु कृष्णले देख्थ्यो । उसलाई भाउजूको घाउ कोट्याउन उचित लाग्दैनथ्यो । दुई हप्तासम्म घर बसेर ऊ फेरि आफ्नो कर्मस्थलतिर लाग्थ्यो । छुट्टीको समयमा बाबुआमा र दाजुका परिवारका लागि घर नआई उसको चित्त बुझ्दैन थियो ।
कृष्ण कलेजबाट फर्किएर पसिना ओभाउन कुर्सीमा बसेको मात्र थियो, उसकी पत्नीले हातमा उसको दाजुले लेखेको चिट्ठी थमाइ दिई । चिट्ठीमा उसले लेखेको रहेछ, “मेरो भाइ, आफ्नी विवाहित स्वास्नीको पवित्र प्रेमलाई लत्याएर कान्छी स्वास्नी भित्र्याउने तिम्रो दाजुलाई क्षमा गर । तिम्री भाउजूको मप्रतिको विश्वासलाई मैले घात गरेको छु । भाइ म विश्वासघातक हुँ । भाइ, मेरो जीवनमा आएको उतारचढावले मेरो दैनन्दिनीमा परिवर्तन आएको कुराको अनुभव म आफैं महसुस गर्दैछु । तिम्री भाउजू र छोराछोरीलाई बिल्लिबाठ पारेर पढेकी तरुनीलाई अवैधानिक रुपमा मेरो जीवनमा भित्र्याउनु नै ठूलो भूल गरेछु । यसको पाप मलाई अवश्य लाग्नेछ । मैले आफ्नो परिवार र भरत जस्तो प्यारो भाइलाई मन दुखाएँ, त्यसको लागि क्षमा चहान्छु । भाइ, मे ....री ..कान्छी स्वास्नी भनाउँदी आफ्नो पूर्व प्रेमी डक्टर उदय प्रसादसँग गई । मैले पारपाचुकेको लागि अदालतमा कागजपत्र पेश गरिसकेको छु । हिजोदेखि म तेरी भाउजू र छोरीहरूसँग छु । मलाई माफ गरिदिनु । मेरो प्यारो भाइ ! अब म परिवारलाई कहिले धोका दिनेछैन ।” कृष्णले चिट्ठी पूरा गर्न सकेन । उसका आँखाबाट आँसुको अविरल वर्षा हुन थाल्यो ।
“ढिलै भएपनि दाजुले प्रायश्चित गर्नुभयो ।” ऊ स्वास्नीको काँधमा टाउको अड्याएर केटाकेटी सरह धेरै बेरसम्म रोइरह्यो । मन अलि हलुको भएपछि मुखधुन धारातिर लाग्यो । कृष्ण कलेजको काम र साहित्यिक कार्यक्रममा व्यस्त भएकोले गर्दा घर जान पाएको थिएन ।
शनिबारको दिन बिहानैदेखि घरमा मान्छेहरूको आवतजावत चल्दैथियो । “कस्तो मान्छे ! एकदिनको छुट्टीमा पनि आफ्ना परिवारलाई समय नदिने ।” स्नेहलताभित्र भान्सामा भकभक उम्लेको चियाको ध्वनिसित आफ्नो रिस पोख्दै थिइन् । तिनले कृष्णलाई हप्तामा शनिबारको दिन परिवारको लागि माग्दै आएकी थिइन् तर, उसले आफ्नी पत्नीको मागलाई पूरा गरिदिन सकेको थिएन ।
टिन...टिन..टिन... बाहिर कान खाने गरेर साइकलको घण्टी बज्यो । कृष्ण पाहुनासँग गफ गर्दै थियो । स्नेहलता बाहिर निस्किन्, हुलाकी रहेछ । उसले तिनको हातमा आवा थमाइदियो । आवामा तिनको जेठाजु मरेको खबर रहेछ । तिनलाई रिङ्टा छुट्यो । दाजु मरेको खबरले कृष्ण धेरै दुःखी भयो । उसलाई संगीतमय जीवन पनि उराठ लाग्न थाल्यो । बिछोडपछिको मिलन के हो भन्ने आनन्दलाई बुझ्न नपाउँदै तिनकी भाउजू विधवा भइन् । छोरीहरू बाल्यकालमै टुहुरी भए । उताबाट हुलाकीले आवा ल्याएको केही घण्टामै आशुतोषको मृत्युको खबर लिएर भान्दाइ आएका थिए । उनले घटनाको एकएक कुराको विवरण कृष्णलाई दिएका थिए ।
प्रजातन्त्र दिवसको दिन घरमा ममबत्ती बालेर रात्रि भोजमा गएका आशुतोषलाई अपरिचित मान्छेहरूले बेहोसीको हालतमा बोकेर घर ल्याएका रहेछन् । भाउजू त्यतिबेला एक्लै भएकीले लोग्नेलाई ल्याउने मान्छेहरूलाई कुनै प्रश्न गर्न सकिन छिन् । उनको दाजुको मृत्युको विषयलाई लिएर पनि व्यक्तिपिच्छे बेग्लाबेग्लै कुरा थिए । कसैले सानेबाबु हो कि, ठूले बाबुले खानामा विष दिएको कुरा गर्छन् । कसैले उनैका आफन्तले रक्सी बेसी खान्छ अलि टहलाइदिनु भन्दा तिनै पहुँचवाला साने बाबु र ठूलेबाबुले बेसी नै टहलाउने हुँदा मर्म पर्ने ठाउँमा लागेर मरेको भन्छन् । तर उसको दाजुको मृत्युमा पक्कै पनि सानेबाबु र ठूलेबाबुको हात छ भन्ने कुराचाहिँ पक्का थियो । दसी प्रमाणको अभावमा हत्यारा यही हो भनेर समाउन सकेनन् । प्रमाण नभेटेपछि उसको अप्राकृतिक मृत्यु पनि प्राकृतिक बन्न गयो ।
भित्ताको फोटो जोडले हल्लीरहेको थियो । फोटोमा आशुतोषको अनुहारमा सन्तोषको झलक देखिन्थ्यो । कृष्णलाई, आफूलाई कसैले बोलाइएको भान भइरहेको थियो । कृष्णले आफूले लेख्दै गरेको “फ्रेमभित्रको कथा”को पन्नाहरू टेबुलभरि फिँजाएको थियो । अब कथा चरमोत्कर्षमा पुगेर सकिने तरखरमा थियो ।
“भाइ, आज म तिमीदेखि अत्यन्तै खुशी छु । मलाई विष खुवाएर मार्ने सानेबाबु र ठूलेबाबु दसी प्रमाण नहुँदा जेल पर्न सकेनन् । उनीहरूले सजाय नपाएकाले मेरो दुखी आत्मा अहिलेसम्म स्वर्ग जान सकेको छैन । तिमी लेखक भएको हुनाले तिमीले हत्याराको नाम आफ्नो कथामा लेखिदिने छौ भन्ने आशामा थिएँ । आज सानेबाबु र ठूलेबाबु माटोमा मिलिसके तर, तिमीले आफ्नो कथामा तिनीहरू नै मेरा हत्यारा हुन भनेर लेखिदियौ । भड्किएको मेरो आत्माले अब स्वर्गमा बास पाउने भयो । भाइ आजदेखि तिमीसँग सधैँको लागि विदा भएँ ।” एक्कासी झ्याल बाहिरबाट आएको हावाको झोक्काले भित्तामा झुण्डाएको फोटो भुइँमा झारिदियो । सिसाको फ्रेम चकनाचुर भयो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies