
नेपाल एक कृषिप्रधान, सांस्कृतिक रूपमा सम्पन्न, प्राकृतिक रूपमा विविधतायुक्त अनि मानवीय संवेदनामा धनी र सम्पन्न राष्ट्र हो । यहाँका पहाड, तराई, हिमाल, खोल्साहरू मात्र सुन्दर छैनन्, यी भूमि मानिसका गाथाले, पसिनाले र परम्पराले सिँचिएका छन् । तर दुःखको कुरा– देशको यही आत्मा, गाउँबस्तीहरू आज रित्तिँदै गएका छन्, विस्थापनको क्रम दिनप्रतिदिन बढ्दो छ । मानिस बाँचिरहे पनि गाउँ बाँचिरहेको छैन । चौतारी खाली छन्, आँगनमा बालबालिकाको कोलाहल छैन, खेतमा झार उमारिएको छ र साँझपख आगो ताप्ने बूढाबूढीको भीड छैन । मानौं गाउँ मृत्युको मौनतामा बाँचेको छ ।
यो परिदृश्य केवल एक–दुई गाउँको होइन । देशभरका हजारौं गाउँ आज यही नियतिको साक्षी छन् । कतै घर मात्र छन्, मान्छे छैनन् । घरका ढोका बन्द छन्, आँगन भत्किएका छन् । कतै बारी मात्र छन्, जोत्नेको अभाव छ । कतै त पूरा गाउँ नै सुनसान छ – जहाँ घाम लाग्छ, तर त्यस ठाउँमा घाम ताप्ने मान्छे छैन । के हामी यसलाई ‘विकासको नाममा त्यागिएको आत्मा’ भन्न सक्दैनौं ?
गाउँ रित्तिँदै जानुका कारणहरू छन् । एकातर्फ वैदेशिक रोजगारीको प्रभाव छ, जसले ग्रामीण युवा शक्तिलाई देशबाहिर धकेलिरहेको छ । अर्कोतर्फ, गाउँमा आवश्यक पर्ने पूर्वाधार, सेवा–सुविधा, अवसर र सम्मान नहुनु पनि ठूलो समस्या हो । आजका युवाहरू गाउँलाई मात्र होइन, गाउँसँग जोडिएको जीवनशैलीलाई नै परित्याग गर्न थालेका छन् । उनीहरूको नजरमा गाउँ ‘आफ्नो ठाउँ’ भएर पनि, ‘छाड्नुपर्ने बाध्यता’ भएको छ । यो केवल आर्थिक कारण होइन, सामाजिक र भावनात्मक बिछोड पनि हो ।
विगतमा एउटा परिवारका चार पुस्ता एउटै छानामुनि बस्ने गर्थे । अहिले, छोराले विदेश रोजेको छ, छोरीले सहर । घरमा बा–आमाले छोरा–बुहारीको पर्खाइमा समय बिताइरहेका छन् । उनीहरूका लागि गाउँ फेरि ‘घर’ बनेको छैन । बाल्यकाल त्यहीँ बिते पनि प्रौढ जीवन सहरतिर मोडिएको छ । यो केवल बसाइँसराइ होइन, समाजको ‘स्मृति–विस्मृति’ पनि हो ।
सहरको आकर्षण यसमा अर्को ठूलो कारक हो । सहरमा हुने शिक्षा, स्वास्थ्य, यातायात, इन्टरनेट, मोबाइल, मनोरञ्जन र रोजगारीको उपलब्धताले गाउँले जीवनलाई पिछडिएको, असहज र अप्रिय लाग्न थालेको छ । सहरले दिने सुविधासँग गाउँ तुलना गर्न नसक्ने अवस्थामा पुगिसकेको छ । गाउँमा बिजुली छ, तर चार घण्टा मात्रै । इन्टरनेट छ तर घण्टामा पाँचपटक बन्द हुन्छ । स्वास्थ्यचौकी छ, तर डाक्टर कहिले आउँछन् थाहा छैन । स्कुल छ, तर शिक्षक चाहिएको संख्याभन्दा आधा मात्र छन् । यस्तो अवस्थाले गाउँको अर्थतन्त्र मात्र होइन, आत्मबल नै कमजोर भएको छ । त्यसैले ग्रामीण युवाले विकल्प खोज्छन् । वैदेशिक रोजगारी पहिलो प्राथमिकता बन्छ । खेतको जोताइभन्दा दुबईको प्लास्टिक कारखानाको दुःख सहन उनीहरू तयार हुन्छन् । किनभने त्यो दुःखले पैसा दिन्छ, भविष्य दिन्छ भन्ने भ्रम पलाइसकेको हुन्छ ।
कृषिप्रतिको दृष्टिकोण परिवर्तन हुनु अर्को समस्या हो । आधुनिक समाजले खेतमा पसिना बगाउनेलाई सानो आँखा लगाउन थालेको छ । हामीले ‘कमाउने’लाई मात्रै सफल मान्न थाल्यौं, ‘पसिना बगाउने’लाई होइन । अनि गाउँका युवाले कुटो, कोदालो होइन, की–बोर्ड रोज्न थाले । त्यसैले गाउँका पाखापखेरा बाँझिएका छन्, झार अनि बुट्यानले जंगल फस्टाएका छन् । त्यति मात्रै होइन, जंगलमा बस्ने जनावरहरू गाउँघरतर्फ सोझिएका छन् । बाँदर अनि बँदेलले खेतीपाती नष्ट गर्ने अभियान चलाइरहेका छन् ।
अझ विडम्बनापूर्ण कुरा के छ भने यो सबै हुनुमा सरकारले पनि पर्याप्त जिम्मेवारी लिएको देखिँदैन । विकास योजना सहरकेन्द्रित छन् । ग्रामीण योजनाहरू कागजमा सीमित छन् । गाउँ विकासको नारा दिनु र त्यो कार्यान्वयन नगर्नुबीचको अन्तरले गाउँलाई विस्थापित गरिरहेको छ । ग्रामीण जनताले धेरै कुराहरू ‘भए पनि नभएकोजस्तो’ महसुस गरेका छन् । जस्तो– बाटो छ, तर सवारी पुग्दैन; स्कुल छ, तर शिक्षक कहिले आउँछन् थाहा छैन; अस्पताल छ, तर औषधि छैन ।
अब समाधानको कुरा गरौं । हामीलाई भावुक भएर ‘गाउँ बचाऔं’ भन्ने मात्र होइन, प्राविधिक, योजनाबद्ध र सामाजिक हिसाबले व्यावहारिक उपाय अपनाउन जरुरी छ । सबैभन्दा पहिले, गाउँमा आधुनिक, प्रविधियुक्त कृषि प्रणालीको विकास गर्नुपर्छ । आजको युवा केवल कुटो, कोदालो चलाउने होइन, ड्रोनमार्फत सिँचाइ गर्ने सोच राख्दछ । त्यसैले कृषि र प्रविधिको आधुनिक विकास गरिनुपर्छ । सरकारी स्तरबाट सहुलियत ऋण, अनुदान, तालिम र उत्पादनको मूल्य सुनिश्चितता गर्न सकियो भने युवालाई गाउँमै व्यवसाय गर्न प्रोत्साहन गर्न सकिन्छ । साथै, गाउँमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पु¥याउनु पनि अत्यावश्यक छ । यदि गाउँमा राम्रो विद्यालय भयो भने बच्चाहरू सहर जानुपर्दैन । राम्रो स्वास्थ्य सेवा भयो भने बिरामीलाई उपचारका लागि सहर पु¥याउनुपर्दैन । सडक, इन्टरनेट र सञ्चारको सुदृढीकरणले गाउँलाई सहरसँग जोड्न अत्यन्तै जरुरी छ ।
अर्को महत्वपूर्ण कुरा हो, सामाजिक दृष्टिकोणको परिवर्तन । हामीले आफ्ना सन्तानलाई ‘सहर जानु नै सफल हुनु हो’ भन्ने सोच सिकाएका छौं । अब यो सोच उल्टाउनुपर्छ । ‘गाउँमै रहेर ठूलो कुरा गर्न सकिन्छ’ भन्ने भावना रोप्नुपर्छ । यसका लागि सफल ग्रामीण उद्यमीहरूको उदाहरण प्रस्तुत गर्न सकिन्छ । उनीहरूको कथाहरूलाई विद्यालयका पाठ्यक्रम, सञ्चारमाध्यम, फिल्म वा साहित्यमा समेत प्रस्तुत गर्न सकिन्छ ।
‘गाउँ फर्कौं’ भन्ने अभियान केवल नारामा सीमित हुनुहुँदैन । सरकारले यसलाई व्यावसायिक, रचनात्मक र कार्यान्वयनमुखी बनाउनुपर्छ । वैदेशिक रोजगारबाट फर्किएका युवालाई गाउँमा व्यवसाय गर्नका लागि आवश्यक पुँजी, तालिम र बजारको व्यवस्था मिलाउन आवश्यक छ । यदि उनीहरूले गाउँमै सम्मान, सुरक्षाको भावना र लाभ देखे भने फर्कन कुनै कारण बाँकी रहँदैन ।
गाउँ रित्तिँदै जानु भनेको केवल बसाइँसराइको परिणाम होइन, त्यो आत्मीयताको विछोड हो । गाउँले केवल जीवन बिताउने ठाउँ होइन, त्यो त संस्कार बनाउने थलो हो । गाउँ बाँच्दा मात्र देश बाँच्नेछ । सहर जतिसुकै झिलिमिली होस्, सहरले कहिल्यै पनि त्यो साँचो ‘घर’ दिन सक्दैन । त्यसैले, अब पनि हामीले गाउँ फर्कने बाटो समाएनौं भने भविष्यमा आफ्ना सन्तानलाई फोटो देखाउँदै भन्नुपर्नेछ – यो ठाउँ कहिल्यै मौन थिएन, त्यहाँ कहिल्यै मानिसको अभाव थिएन । त्यो दिन नआओस् भनेर, आज नै निर्णय गरौं, गाउँ फर्कौं, गाउँ बचाऔं ।
(लेखक शैक्षिक, धार्मिक एवं सामाजिक अभियन्ताका रूपमा सक्रिय रहेका छन् ।)