
काठमाडौं : कुरा २०७९को चुनावताकाको हो । निर्वाचन अभियानका क्रममा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेका थिए । झन्डै एक दशकदेखि सामाजिक क्षेत्रमा सक्रिय सीता बादीको ‘प्रचण्ड’सँग भेट भयो । भेटमा प्रचण्डले सीताको सामाजिक सक्रियताबारे चासो राखे । उनकाबारे थाहा पाएपछि प्रचण्डले राजनीतिमा आउन सल्लाह दिए । ‘तपाईंजत्तिको मान्छे राजनीतिमा आउनुपर्छ, आवाज उठाउनुपर्छ’ प्रचण्डले भनेको यो वाक्यले सीताको मनमा झन् उत्साह थपियो ।
देशका लागि केही गर्ने हुटहुटी बोकेकी सीता सामाजिक क्षेत्रमा क्रियाशील भइरहिन् । १२ वर्षको उमेरमा एउटा संस्थाले दिएको अवसरको जगमा उनले राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छिन् । एक दशकभन्दा बढी समय उनले बादी समुदायको पीडामा मल्हम बनेर प्रत्यक्ष रूपमा काम गरिन् । ‘सुन्दर सहज नेपाल’ नामक संस्था स्थापना गरी बाल संरक्षण, शिक्षा र महिला आर्थिक सशक्तीकरणका क्षेत्रमा पहल गरिन् । नागरिक शिक्षा र अधिकार सचेतनामार्फत सयौं परिवारलाई उत्प्रेरित गरिन् । ‘बादी सस्टेन कम्पनी’ स्थापना गरेर आर्थिक रूपमा पछाडि पारिएका समुदायका लागि दिगो जीविकोपार्जनको बाटो खोल्ने प्रयास गरिन् ।
तर, देशका प्रमुख राजनीतिक दलको नजरमा उनी परिनन् । नाता र दाताको प्रभावमा परेका दलहरूको रोजाइमा पर्न नसक्दा सीता मात्र होइन बादी समुदायका कसैले पनि संसद् भवन छिर्ने अवसर पाएनन् । ‘प्रचण्डले मलाई राजनीतिमा आउनुपर्छ भनेर प्रेरित गर्नुभयो, तर, टिकट दिनेबेला उहाँले सम्झिनुभएन,’ त्यसवेलाको स्मृति ताजा बनाउँदै सीता भन्छिन्, ‘त्यसपछि उहाँसँग मेरो सम्पर्क भएन ।’
उनले राम्रोसँग बुझिसकेकी थिइन्– दलित महिला र वञ्चित समुदायले भोग्ने समस्या केवल सामाजिक होइन । ‘हामीलाई सधैं भोट बैंक बनाइन्छ, तर निर्णय गर्ने ठाउँमा पुग्न दिइँदैन ।’
सीताले भित्रभित्रै २०८४को निर्वाचन लड्ने तयारी गरिरहेकी थिइन् । ‘रास्वपा टिमसँग २०७९कै निर्वाचनदेखि नजिक थिएँ,’ उनले भनिन्, ‘जेनजी आन्दोलनले ८४मा हुने निर्वाचन ८२ मै भयो, परिवर्तन लिएर आएको पार्टीले अवसर दियो ।’
२०८२को निर्वाचनबाट बल्ल बादी समुदायले आफ्नो प्रतिनिधि सांसद पाएको छ । नेपालको इतिहासमा पहिलोपटक बादी समुदायबाट संघीय संसद्मा प्रतिनिधित्व गर्दै छिन्, सीता । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनाएर दलित महिला कोटाबाट संसद्मा पु¥याएको हो । सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका–१४ की बादीले निर्वाचन आयोगबाट प्रमाणपत्रसमेत बुझिसकिन् ।
सुुर्खेतको झुप्राखोलामा बालुवा संकलन गर्दै हुर्किएकी सीता अभाव, गरिबी, लाञ्छना, बहिष्कार सहँदै आइन् । संघर्ष, असमानता, चेतना र परिवर्तनसँग उनको गहिरो साक्षात्कार छ । उनी कुनै पारिवारिक विरासतबाट राजनीतिमा आएकी होइनन् । संविधानले बराबरी हक दिए पनि उनले त्यसको प्रत्यक्ष महसुस गर्न पाएकी थिइनन् । समुदायको माग त छँदै थियो, अब समयको मागले उनलाई जनप्रतिनिधि बनाएको छ ।
‘
म केवल बादी समुदायको प्रतिनिधि भएर सीमित हुने छैन,’ उनले भनिन्, ‘म ती सबैको आवाज बन्न चाहन्छु जसका मुद्दा अझै किनारामा छन् ।’ शिक्षा, स्वास्थ्य, रोजगार उनको विशेष प्राथमिकतामा छ । बादी समुदाय मात्र होइन, महिला र दलितको आवाज संसद्मा उठाउने उनको प्रण छ ।