–राजेश झा
साउन २२ गते समाचार संकलनका लागि सप्तरीको राजगढ गाउँपालिका पुगेका पत्रकारहरूमाथि त्यस गाउँपालिकाका अध्यक्षले दुर्व्यवहार गर्दै कोठामा थुनेको समाचारले तरङ्ग नै ल्यायो । गैरकानुनीरूपमा गाउँसभा गरेको भन्दै केही जनप्रतिनिधि र स्थानीयले मंगलबार २२ गते गाउँपालिका अध्यक्ष ओम प्रकाश मण्डललाई ज्ञापन पत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि पत्रकारहरू गएका थिए । समाचार संकलनका लागि गएका पत्रकारहरू आर.एन. विश्वास, नवीनकुमार गुप्ता र विद्यानन्द रामसँग गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले पत्रकारको माइक खोस्दै प्रमुख प्रशासकीय अधिकृतको कोठामा थुनेर दुर्व्यवहार गरे । विश्वास नेपाल पत्रकार महासंघ सप्तरीका सचिव तथा कान्तिपुर टेलिभिजनका उपसम्पादक समेत हुन् भने गुप्ता महासंघका कोषाध्यक्षसँगै राजविराज दैनिक पत्रिकासँग आबद्ध छन् । यसैगरी विद्यानन्द नेपाल समाचारपत्रका जिल्ला संवाददाता हुन् । घटनापछि नेपाल पत्रकार महासंघ सप्तरी आन्दोलित भएको छ ।
राजगढ गाउँपालिकाका अध्यक्ष मण्डलले विधि, पद्धति र ऐन विपरीत १३औं गाउँसभा गरेको भन्दै उपाध्यक्षसहित १७ जना गाउँसभा सदस्यहरू पुनः गाउँसभा गर्नुपर्नेलगायतका विभिन्न मागसहितको ज्ञापन पत्र साउन २० गते प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीलाई बुझाएका थिए । उक्त ज्ञापन पत्रको बोधार्थ सोही दिन मधेस प्रदेश सरकारका मुख्यमन्त्री र संघ सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत पठाएको थियो । सो ज्ञापनपत्रको मागसहितको बोधार्थ पत्रगाउँपालिकाअध्यक्ष मण्डललाई बुझाउने कार्यक्रमको समाचार संकलनका लागि तीनै जना पत्रकारहरू त्यहाँ पुगेका थिए ।
....
यसैगरी गत ११ साउनमा नवीनकुमार गुप्ताले राजविराज दैनिकमा “महादेवामा काम नगरी करोडौँको भुक्तानी” शीर्षकको समाचार लेखेपछि गुप्तालाई ज्यान मार्ने धम्की आयो । तथ्यको आधारमा समाचार लेखेकै कारण पत्रकार गुप्तालाई महादेवा गाउँपालिकाका अभिषेक मण्डलले फोन गरेर समाचारमा मेरो नाम किन जोडेको भन्दै ज्यान मार्ने धम्की दिएका थिए । मण्डलले माफी माग्दै गल्ती भएको स्वीकार गरेपछि पत्रकारहरूको आन्दोलन स्थगित भएको थियो । धम्की दिने मण्डललाई पनि पत्रकार महासंघको समन्वयमा जिल्ला प्रहरी कार्यालयले २४ घण्टापछि रिहा गरेको थियो ।
...
समाचारकै कारण पत्रकार मनोहर पोखरेलसँग प्रहरीले गरेको अभद्र व्यवहार र त्यसपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको अभिव्यक्ति र व्यवहारका कारण सप्तरीका पत्रकारहरू आन्दोलित नै भएका थिए । विभिन्न चरणमा भएको आन्दोलनपछि प्रजिअ थापाले आफ्नो गल्ती स्वीकारेपछि आन्दोलन स्थगित भएको थियो ।
...
माथि उल्लेखित घटनाहरू प्रतिनिधिमूलक मात्र हुन् । यस्ता खाले थुप्रै घटनाहरूको सप्तरीका पत्रकारहरूले सामना गर्दै आएका छन् । भोग्दै आएका छन् । पछिल्ला केही वर्षदेखि पत्रकारमाथि यस्ता खालका घटनाहरूले सप्तरीका जनप्रतिनिधि तथा समाज असहिष्णु बन्दै गएको देखिन्छ ।
सञ्चार भनेको सूचना र विचारको आदान–प्रदान हुने सामाजिक प्रक्रिया हो । मानिसलाई सामाजिकीकरण गर्ने मूल माध्यम पनि सञ्चार हो । मानिसभित्र रहेका विचार, भावना र सोचलाई एक–आपसमा आदानप्रदान गर्न सहयोग पुर्याउने भएकाले सञ्चार र समाजको अन्तरनिर्भरतापूर्ण सम्बन्ध रहेको छ ।
मानव सभ्यताको विकास क्रमसँगै मानिसहरूमा स्वार्थपूर्ण सम्बन्ध बढ्दै गएको देखिन्छ । जब मानिसले सूचना र सन्देश प्राप्त गर्नका लागि सञ्चारमाध्यममा निर्भरता बढाउँदै गयो, त्यसले अन्तरनिर्भरताको पक्षलाई मलजल गरेको देखिन्छ । पछिल्ला दिनहरूमा आएर मानिसहरूले सञ्चारमाध्यमलाई आवश्यकताअनुसार उपभोग गरेको पाइन्छ । सूचना प्राप्तिदेखि मनोरञ्जनका लागि मात्र होइन, सामाजिक सम्बन्धहरूको सुरुवातदेखि सुधार गर्नसमेत सञ्चारमाध्यमको प्रयोग गरिएका उदाहरणहरू प्रशस्तै छन् । पछिल्ला दिनहरूमा पत्रकार तथा सञ्चारमाध्यमहरूलाई आफ्नो स्वार्थ अनुसार उपभोग मात्र हैन उपयोग गर्न लागिपरेको देखिन्छ । तर, सञ्चारमाध्यमबाट यस्ता स्वार्थ पूरा नहुँदा यस्तै आक्रमणको घटनाहरू सिर्जना हुन्छन् ।
सामाजिक सम्बन्धहरू व्यक्तिको स्वभाव र व्यवहारले निर्धारण गर्ने गर्दछ । समाजले नरुचाउने सम्बन्धहरूले समाज नै विकृत बनाउँछ । व्यक्तिको आचरण, व्यवहार तथा अभ्यास नै समुदायको दर्पण भएकाले समाज त्यसबाट अछुतो रहन सक्दैन । व्यक्ति, समुदाय हुँदै समाजमा पर्ने प्रभावले सामाजिक अन्तरक्रियाहरूलाई सकारात्मक वा नकारात्मक दिशानिर्देश गरेको हुन्छ । सञ्चार जगतमा पनि त्यसको प्रभाव पर्दै गएको छ । व्यक्तिको आचरण र व्यवहारले हरेक क्षेत्रका मानिसको व्यक्तित्व झल्काउने गर्दछ । पत्रकारिता जगतमा यस कुराले अझ धेरै प्रभाव पारेको छ । अनियमितता, भ्रष्टाचार, अनैतिक क्रियाकलाप, सामाजिक कुरीति जस्ता घटना तथा विषयवस्तुहरूलाई उजागर गर्न थालिएपछि पछिल्ला केही वर्षदेखि सप्तरीमा पत्रकारितालाई नरुचाउने जमात बढ्दै गएको देखिन्छ । सप्तरीमा करिब २० वर्ष पत्रकारिता गर्दाको मेरो अनुभवले पनि विगतमा यस्ता खालका घटनाहरू अत्यन्तै न्यून रहेको देखाउँछ ।
पछिल्लो समयमा सामाजिक सञ्जालहरूको प्रयोग गर्ने युवाहरूको संख्या बढिरहेको छ । सञ्चारमाध्यम भनेको समाचार, जानकारी मात्रै होइन, विचारसमेत प्रवाह गरिने माध्यम पनि हो । तर, सामाजिक सञ्जालहरूलाई सावधानीपूर्वक प्रयोग नगरिएकै कारण विभिन्न सामाजिक अपराधका घटनाहरू बढिरहेका छन् । सामाजिक सञ्जाललाई आफ्नो स्वार्थ पूर्ति गर्ने थलो, अरूलाई बदनाम गर्ने, लाञ्छना लगाउने, चरित्रहत्या गर्ने थलोको रूपमा प्रयोग गर्न थालिएको छ । जसलाई नियमन गर्नु पनि त्यत्तिकै जरुरी छ ।
मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेपछिको परिवर्तित परिवेशमा स्थानीय तहहरूमा विभिन्न किसिमले बेथिति मौलाउँदै गएको छ । एकातिर अनियमितता, भ्रष्टाचार, बेथिति मौलाउँदै गएको छ भने कतै कतै जनप्रतिनिधिहरूमा तानाशाही प्रवृत्ति समेत हाबी हुँदै गएको आरोप लाग्ने गरेको छ । राजनीतिक तथा सामाजिक क्षेत्रका अगुवाहरूले स्थानीय तहका नेतृत्व वर्गप्रति लक्षित गर्दै समय समयमा प्रयोग गर्ने व्यङ्ग्यात्मक शब्द ‘छोटे राजा’ वास्तवमा साबित पनि हुँदै गएको छ । “विधि, प्रक्रिया, नीति, नियम केही पनि होइन, मैले भनेपछि सबै हुनुपर्छ” भन्ने मानसिकताले जरो गाडेको छ । जसले गर्दा त्यस्ता मानसिकता भएका जनप्रतिनिधि तानासाह बन्दै गएको आरोप लाग्ने गरेको छ ।
त्यस्तै, वास्तविकता बुझ्न जाँदा भएको दुर्व्यवहार सम्बन्धी राजगढ गाउँपालिकाको समाचार आएपछि त्यसमाथि प्रतिक्रिया जनाउनेहरूले सञ्चारकर्मीहरूको खेदो नै खने । कुनै खोजमूलक समाचार वा अनियमितता, भ्रष्टाचार वा कुनै सामाजिक विषयवस्तुसँग जोडिएका विषयमा लेखिएको समाचारप्रतिको प्रतिक्रियाले नै हाम्रो समाज कतातिर गइरहेको छ भन्ने स्पष्ट हुन्छ । समाचारले उठान गरेको विषयवस्तु, पत्रकारिताको धर्म, सिद्धान्त र सीमा के हो त्यस बारेमा जानकारी हासिल नगरी अनावश्यक टीकाटिप्पणी, लाञ्छना लगाउने कार्यहरू हुँदै आएको छ । थोरै मात्र अध्ययन गरेर आफ्नो धारणा बनाउने प्रवृत्तिको सिकार बन्दै गएको छ पत्रकारिता । समाचार वा आलेख सामाजिक सञ्जालमा पोष्टिएपछिको प्रतिक्रियाले त झन् कहिलेकाहीँ विरक्त लाग्ने गर्छ भने रिस पनि त्यत्तिकै उठेर आउँछ । तर,समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात् गर्दै त्यसलाई नियन्त्रण गरी आफ्नो कर्मप्रति सञ्चारकर्मीहरूले ध्यान पुर्याउनुपर्ने हुन्छ ।
पत्रकारिताको पनि आफ्नै धर्म हुन्छ । आचार संहिता हुन्छ । सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरू त्यसमा बाँधिनु पर्ने हुन्छ । पालना गर्नुपर्ने हुन्छ । समाजमा रहेको सकारात्मक तथा सुधार गर्नुपर्ने पक्षहरूमाथि निष्पक्ष रूपले कमल चलाउनु पत्रकारिताको धर्म तथा सिद्धान्त हो । पत्रकारिता पनि त्यसै धर्ममाथि अडिग रहँदै आएको छ । तर, समाजले यस कुरालाई नबुझीकनै पत्रकारिता जगतमाथि नकारात्मक धारणा तय गर्न तम्सिन्छ । अन्य ठाउँको तुलनामा सप्तरीको पत्रकारिता समाजप्रति विगतदेखि नै संवेदनशील, उत्तरदायी र अनुशासित रहँदै आएको छ ।
हरेक कुराको सकारात्मक र नकारात्मक गरी दुइटा पाटो हुन्छ । पत्रकारितामा पनि केही व्यक्ति तथा संस्थाका कारण आम समुदायमा नकारात्मक धारणा बनेको होला । तर, एक दुई जनाको कारण सिङ्गो पत्रकारितामाथि गाली गर्नु न्यायोचित होइन । पत्रकारिता अन्य पेसाको तुलनामा संवेदनशील पेसा भएकोले एक दुई जनालाई पनि बिग्रिने छुट छैन । पत्रकारिताको सिद्धान्त तथा आचार संहिताको पालना गर्नु सबैको दायित्व हो ।
समाज परिवर्तनका लागि विगतमा भएका हरेक आन्दोलनमा पत्रकारिता जगतले साथ र सहयोग गर्दै आएको छ । प्रजातान्त्रिक आन्दोलन होस्, गणतन्त्र प्राप्तिको आन्दोलन होस् या मधेस आन्दोलन होस्, पत्रकार तथा सञ्चारमाध्यमले भरमग्दुर सहयोग गरेको कसैबाट लुकेको छैन । विगतमा पत्रकारको हरेक सुखदुःखमा साथ दिएका पेसागत महासंघ तथा राजनीतिक दलहरू पछिल्लो केही वर्षदेखि पत्रकारिता जगतसँग मुख मोडेका छन् । पत्रकारहरूमाथि भएका आक्रमण, दुर्व्यवहार जस्ता घटनाहरूमा राजनीतिक दल तथा पेसागत महासंघ चुप लागेर बसेको देखिन्छ । समाजको सबै वर्ग, तह तप्का, निकायका लागि सञ्चारकर्मी तथा सञ्चारमाध्यमले बोली दिनुपर्ने, लेखिदिनु पर्ने तर पत्रकारितामाथि संकट आइपर्दा समाजका कुनै वर्ग वा निकायले पत्रकारिता जगतलाई साथ दिँदैनन् । कुनै व्यक्ति, संस्था वा समाजमाथि कुनै समस्या आएमा सहयोग तथा समाधानका लागि पत्रकारलाई खोज्ने गरिन्छ तर पत्रकारमाथि समस्या÷संकट आएपछि कोही पनि अगाडि आएर सहयोग गर्न चाहँदैनन् । चाहे त्यो पेसागत संगठन होस् या राजनीतिक संगठन ।
राजगढ गाउँपालिकामा भएको दुर्व्यवहार होस् या महादेवा गाउँपालिकाको ज्यान मार्ने धम्कीपछिको आन्दोलनको कार्यक्रम होस् पत्रकारको आन्दोलनमा पत्रकार बाहेक कसैले सहानुभूति समेत प्रकट भएको छैन । पत्रकारिताप्रतिको समाजको दृष्टिकोण र धारणा यसबाट पनि प्रष्ट हुन जान्छ । पत्रकारिता बिनाको समाजको कल्पना पनि गर्न सकिँदैन । पटक–पटक पत्रकार र पत्रकारितामाथिको आक्रमणले अन्ततः समाज नै कमजोर हुन जान्छ । तसर्थ, समयमै यसतर्फ सोच्नु सबै पक्षको दायित्व हुन जान्छ । अस्तु ।