२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

कविता : सपना

Nada
२०८१ असार १ गते ०६:२५
Shares
कविता : सपना

– राजनारायण राई

ncell

कति दिन रातहरूले
मेरो नयन भरि सुन्दर
सपनाहरू जन्माइ दिन्थ्यो
हरेक पल्ट चुक्दै भए पनि
म सपनासँगै उडीरहन्थे ।
मन प्रफुल्लित भई एकान्तमा
थुप्रै इच्छा–आकांक्षाहरू बटुलेर
आफ्नै दुःख–पीडा सबै सबै बिर्सी
डोको जस्तै चुहुने
मनको डोकोमा सपनाहरू बुन्दै
आँखा चिम्म गरी रमाउँथे ।
कहिले
चिसो रातको वास्ता नगरी
मनको पखेटाले आकाशमा उडि
जुन र ताराहरू छुन्थे
छोएर फेरी धरती तिरै चिहाउँदा
आफ्नै घर भग्न देखि
खुब रुन्थे ... खुब रुन्थे ।
अनि
पसिनाले सिँचेका भाग्यको बारीमा
सपनाको खेती लहलह 
हुर्कंदै गरेका ती
मेरो सुन्दर फुलहरूलाई
निर्मोही बैशाखे हुरीले
सोहरेर नलैजाओस् भगवान भनी ढोग्थे ।
कतिबेला 
रातहरूको निमन्त्रणमा
आगमन भएका मेरा सपना
पाहुना जस्तै रातको बास बसी
क्षणिक आनन्दमय जीवनको
पाठ दिँदै भुकभुके बिहानै
चिसो भुईँमा आफूलाई छोडी जान्थ्यो ।
कहिले त
सपनाहरू पनि भयपूर्ण 
रातलाई नै ऐठन बनाई राख्थ्यो
अनि
मेरो दुई नयनको
मिठो मिठो सपनाहरूलाई
महानिन्द्रा छरपष्ट पारी
मलाई चिसो भुइँको ओछ्यानमै
अलमललाई राख्थ्यो
तब बिपनाले पनि
सधैँ जस्तो गरी
मलाई बेस्मारी बेस्मारी
गिजाइरहन्थ्यो गिजाइरहन्थ्यो ।।

ताजा खबर

सम्बन्धित खबर