२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

यात्रा–संस्मरण सुपा देउराली र कालेश्वरको

ADV
२०८१ असार ८ गते ०६:४०
यात्रा–संस्मरण सुपा देउराली र कालेश्वरको

–अच्युतप्रसाद पौडेल ‘चिन्तन’

यसैपालिको वसन्त हो, पानी ट्याँकी युवा समाज बौद्धको आह्वानमा अर्घाखाँचीतिर हान्निएको म, सन्धिखर्कको सुपा देउराली, प्यूठानको स्वर्गद्धारी दर्शनकै क्रममा । काठमाडौँ बर्दघाटको कठिन यात्रा सकेर भोलिपल्ट हाम्रो समूह गोरुसिंगेतिर लागेको थियो । बैँसको प्रकृति कामुक थियो । जताततै नयाँ पालुवाहरू, उही लालिगुराँस फाट्टफूटरूपमा देखिएका । गोरुसिँगेबाट के उकाली लागेथ्यो गाडी एक तले टिनका छाना, भूकम्पपछिका स–साना घरहरू, कतै घना जंगल कतै धुले कतै कालोपत्रे जस्तो लाग्ने खाल्टाखुल्टी मेरा हजूरबाका साना धोती जत्रा सडकबाट निसास्सिँदै सुपा पुगेथ्यो हाम्रो गाडी ।

सुपादेवीको दर्शनपछि झमक्क साँझ ढल्दै थियो भालुवाङबाट रोल्पातिर हान्निदा । राप्ती भालुवाँग भिँग्री सडकमा त “मरे पनि गाडी चढ्दिन’” भन्थे कोही सहयात्री मित्र ।  पटक–पटक गाडीले भूँइतिर सम्धी सम्धेलो गर्ने एक, दुई, तीन चोटि हो र वर्षमा दर्जनौँपल्ट । कति यात्रु स्वर्गद्वारी जान्छु भनी हिँड्छन् फर्केर नआइपुग्दा रहेछन् । “बाटो पनि साह्रै साँघुरो छ है स्वर्गद्वारी जाने” अर्का मित्रले ठेउल्याउँदै थिए ।

म पनि के कम थिएँ र थालिहाल्थेँ, “हिँडेरै पनि गएको हो पहिले” । सँगैका साथीले थपे “उहिलेका कुरा खुइले क्या गाडी जान्छ हिजोआज” ।

रातको नौ बजे ठ्यास्स गाडी रोकियो भिङ्ग्रीमा । साहुनीहरूको निम्तो “खालि छ हजुर टिक टक होटल, यतै बसौँ बास, भोलि बिहानै आँखा मिच्दै उक्लनु के माथि धाममा, जम्मा १५ कि मि जति त छ बाटो” । बस् थकाइले चुर हामी भिँग्रीको टिकटक होटलमा बास बस्ने निधो गर्‍यौँ ।

एउटै कोठामा छ जना, ऊ माथि ऊ, ऊ माथि, ऊ जस्तो ओछ्यान त तीन वटा थियो, तर के गर्नु बिहान तीन बजे नै गुण्टा कस्ने आदेश छ, बाघ कराएर हैरान, आँखाले घूम ओढ्नै पाएन । दिउँसोको खाजामा चना परेछ, बस् भित्री कोठालाई पनि रातभरिको रोजगारी मिलिहाल्यो त, जीउ लखतरान छ, तैपनि नुहाएर तयारी साँढे तीनतिरै । पाँच÷दश मिनेट ढिला भएको भए हाम्रो लामो गाडीलाई पुलिसका आँखा लाग्ने रहेछ, बाटो घुम्ती सानो गाडी लग्नु पर्ने प्रहरीको भनाइ आउँदो रहेछ । सानो गाडी कहाँ खोज्ने ? काठमाडौँबाटै रिजर्भ गएको गाडी आफ्नो छोडेर ।

कम्मर मर्काइ मर्काइ विद्यार्थीले ब्याक पेपर दिए जस्तै गरी सबै घुम्ती ब्याक पेपर दिएर गाडी माथि पुग्यो पार्कमा । अब त ११ नम्बरको गाडी ठेल्ने हो, सके पनि नसके पनि, “सिँढीहरू पन्ध्र सय बढी छन् हजूर”स्थानीय एक व्यक्तिको भनाइ ।

सुस्केरा हाल्दै कठिनतापूर्वक पुगियो स्वर्गद्वारी, दायाँ बायाँ डेढ हजार बढी सिँढी उक्लँदै, न्वारनदेखिको बल प्रयोग गर्दै बारहरूको आड लिएर । अघि पाण्डवहरू त्यही बाटो भएर स्वर्ग गएका रे ! महाभारत पर्वत शृंखला प्यूठानको अग्लो चुचुरो जहाँबाट हामीले वसन्तको सुर्याेदय हेरिरह्यौँ, हेरिरह्यौँ, थरिथरीका लालिगुराँसहरूले पच्छ्याइरहे हामीलाई ।

यो क्षेत्र मलाई नौलो थिएन तर, थप अध्ययन त आवश्यक छ नै । यज्ञस्थलको दर्शनपछि म भने यहाँका विषयमा खोजबीनतिर लागेँ । महाभारतको पर्वत श्रृंखलामा पर्छ यो । रोल्पा रुम्टी गाउँमा श्रावण शुक्ल एकादशीमा जन्मिएका अनिरुद्ध गौतम जसलाई स्वर्गद्वारी महाप्रभु भनियो उनी यहाँका सस्थापक हुन् । तीन सय बढी गाईहरू हाल पनि रहेको योक्षेत्र निकै मनमोहक छ र हामीले लालीगुराँसको सुगन्ध लिँदै उकाली चढेका थियौँ । वि.सं. १९१६ मा जन्मिएका गौतम पछि महाप्रभु भए । जन्मकै बेलामा रातमा आकाशबाट पुष्पवृष्टि भएथ्यो रे उनी जन्मदै गर्दा । भिक्षुकहरू आई दर्शन गरे रे, चार वर्षकै उमेरदेखि उनी एकान्त बास बसे रे ढुँगाका मूर्तिहरू बनाई तपस्वीहरूको प्रार्थनामा लागे रे ! १३ वर्षदेखि २५ वर्षसम्मकै उमेरमा जनसम्पर्क बाहिर रहे रे ! सप्तऋषि लगायत सनातनी धर्मका अनुयायीहरूले तपोभूमि बनाएको यो डाँडामा उनले आफ्नो आश्रम रचेछन् । पौराणिक कालदेखि अष्टचिरन्जीवि समेतले यज्ञक्षेत्र बनाएको यो स्थानलाई उनले आश्रमस्थल बनाएछन् । साँच्चै यहाँ पुग्दा सूर्य होचिएको डाँडाकाँडाहरू अग्लिएका देखिन्छन्, हाम्रो समूह पनि आश्रमको दर्शन, चरु हवनपछि सामूहिक फोटोतिर लाग्यो, पङ्क्तिकारले यहाँको महत्व माथि प्रकाश पार्दै मित्रहरू अब तल झर्नुपर्छ, स्वर्गमा आउने प्रयास गर्ने हो घरै बनाएर बस्न मिल्दैन भन्दै साथीहरूलाई बस पार्कतिर झार्न अग्रसर भयो । 

गाडी ब्याक गर्दै झर्न धेरै बेर लाग्यो, भिँग्रीमा हाम्रो खाना तयार भइसकेको र खानापछि हामी भालुबाङ हुँदै बर्दघाट बास बस्ने गरी यात्रा तय गरिहाल्यौँ । वर्दघाट पुग्दा रात परिसकेको थियो । साथीहरूको सल्लाह भयो जसोतसो यो सातो लिने बाटो छिचोल्दै गैँडाकोट पुगेर मौलाकालीको दर्शन गर्ने तर केबलकारको टिकटको व्यवस्था आफैँले गर्ने भनेर । 

राति नै हामीले बर्दघाट डेरा छोड्यौँ उही पहिलेका रुमहरू र बाटो ततायौँ, निकै सकसका साथ गैँडाकोट पुगी केवलकार परिसरतिर हामी अडियौँ । खुल्ला चउरमा गाडी रोकियो र जग्गा धनी भने भाडा माग्न तम्सिए, “वार्षिक पाँच लाखमा यो जग्गा भाडामा लिएको हो तपाइँहरू नआए त हाम्रो व्यवस्था नै राम्रो हुन्न नि”, अब कुरो स्पष्टै भयो, धर्म गर्न पनि खल्ती बलियो हुनै पर्छ ।

म धार्मिक र पर्यटकीय स्थलहरूको पारखी हो । विश्वमा अब्बल भनिएको संघीयता र लोकतन्त्र अनि गणतन्त्र भने हाम्रो देशमा मौलाकाली मुनि निदाएको देखियो । नारायणघाटदेखि बुटवलसम्मको ओहोर–दोहरमा देशको मुटु पूर्वाधारको अवस्था जे छ त्यसले स्पष्ट गर्छ कि नेपालमा लोकतन्त्र कस्तो छ भनेर ।

परासीको मौलाकालीसमेतको दर्शनपछि लगत्तै अर्को यात्रा तय भयो ललितपुरको दूर्गमक्षेत्र गोटिखेलको वैतरणी र कालेश्वरतिर । ललितपुरको चापागाउँ हुँदै अघि रोडा गिट्टीको राजधानी भनिएको टिका भैरवस्थललाई पच्छ्याउँदै हामीले ६४ ज्योतिर्लिङ्गको एक शिवस्थल रामेश्वरको दर्शन गर्न भ्याइहाल्यो । प्रभावती नदी र सरस्वती नदीको संगम भैरवको दर्शन अनि सामूहिक फोटो खिचीवरि हामी लेलेको तिलेश्वर पुग्यौँ र त्यहाँको पूजाआजा सकेर भारदेउतिर लाग्यौँ । बाटामा डोजर देखिनु लोकतन्त्रको सुन्दर रूप मानिन्छ । सायद विकासको अर्को रूप सडक र सवारी यातायात नै हुनुपर्छ । लेलेमाथि नल्लु पुगुन्जेल र त्यसभन्दा अगाडि बढुन्जेल बन कोतर्न सिपालु डोजरको लर्को नै बढी देखिए । धूलोले आँखा हेर्ने अवस्था रहेन र सास फेर्ने अवस्था पनि रहेन । दिउँसै अँधेरी लाग्थ्यो उकालो कुइरीमण्डल धूलैधूलोले हाम्रो यात्रा सहज भएन । बाहिरको प्रकृतिमा हरियाली थिएन ।

मुस्किलले हामी गोटिखेलको वैतरणी पुग्यौँ र त्यहाँको स्नानपछि हामी महाभारतको पर्वत शृंखला देउराली भन्ज्याँगतिर उकाली लाग्यौँ कसान्द पर्वत भनिने यसको शिखरसम्म गाडी नजाने भयो, उकाली सकेर हाम्रो गाडी रोकियो देउरालीमा । अब त “हिँड्नु पर्छ नि” साथीहरूको भनाइ आयो । बाटो त एक मान्छे बढीमा कतै दुई मान्छे मात्रै पास हुने खुट्किला साना साना भिरालो कतै सिँढीहरू भरेँग जस्ता कतै । तर, मनमोहक लालिगुराँसको मज्जा छुट्टै छ यहाँ । सबैजसो साथीहरू लालिगुराँस तिरै झुम्मिए म भने गुराँसको अध्ययनतिर लागेँ । एक्लै गुन्गुनाइरहेँ, मित्रहरू फोटो हान्दै थिए ।

देश धनी थियो कृषिमा, धर्ममा, संस्कृतिमा संस्कारमा पनि र पर्यटन क्षेत्रमा अब्बल नै थियो । वन, जंगल, वन्यजन्तु, जडिबुटी हराभरा तराई अनि सिँगा हिमाल सेतो सुनको राशि कति थिए राम्रा दृश्यहरू । विश्वमै दुर्लभ लुण्डेसी र क्वानियम प्रजातिको रैथाने गुराँस यहीँ पाइन्छ । मुस्ताङ, मनाङ, डोल्पादेखि रसुवा लाङटाङसम्म भरिभराउ नै छन् यी । देशका ४३ जिल्लाहरूमा थरिथरिका लालिगुराँस पाइन्छन् जसबाट मनमोहक प्रकृति देखाएर यहाँ पर्यटन क्षेत्रको विकास गर्न सकिन्थ्यो । जैविक विविधताले चिनिएको देशमा पाटेबाघहरू छन्, गैँडा, अर्ना, हात्ती, डाँफे, मुनाल कति छन् र यहाँ ६ हजार बढी पहिचान भएका वनस्पतिहरू छन्, सुनपाती, कालो गुराँस, सेतो, रातो थरिथरिका गुराँस पाइन्छन् वसन्त ऋतुमा । पूर्वको तेह्रथुम बा सङ्खुवासभामा घुमौँ बा, ताप्लेजुङ नै पुगौँ ढपक्कै देखिन्छन् बन लालीगुराँसले । इलामको श्रीअन्तु बा फिक्कल, आइतबारे पुगौँ बा झापाको बुधबारे बा शनिश्चरे या पुगौँ महेशपुरको किच्चक्बध क्षेत्र, देशको इतिहास पाइन्छ, मौलिकता र महाभारतकालीन अवशेषहरू ।

कति सुन्दर छ हाम्रो ग्रामीण पर्यटन, कति रमाइलो छ होम स्टे, बस् छ लाख ९२ हजार हेक्टर जमिनको वनले ढाकेको क्षेत्र हाम्रो जसमा १० प्रतिशत त लालिगुराँस नै पाइन्छन् । विश्वको चर्चा गर्नु पर्दा गुराँस नै एक हजार १५७ प्रजातिका रहेका छन्, एसिया, उत्तर अमेरिका, युरोप, अष्ट्रेलियामा पनि छन् गुराँस र ९० प्रतिशत नेपाल चिन, भारत, भुटान, थाइल्याण्ड, म्यान्मार, भियतनाम, इन्डोनेसिया, फिलिपिन्समा भेटिन्छन् । समुद्र सतहबाट एक हजारदेखि छ हजार मिटरसम्मको उचाइमा गुराँसको सम्भावना रहने वैज्ञानिकहरूको तर्क छ । करिब छ हजार मिटरको उचाइमा उक्लदै गर्दा पंक्तिकार महाभारतको वन जंगलबाट मोहित भएको हो । कालेश्वरको डाँडाभरि लालिगुराँसमा भुल्नेहरू धेरै देखिन्थे । 

पर्वत शिखरबाट उत्तर हिमाली दृश्य र दक्षिण मकवानपुर तराई क्षेत्र बडो मजाले दृश्यावलोकन गर्दागर्दै कुहिरोले ढाकेकाले दृश्यावलोकन अधुरै रह्यो हाम्रो । गर्मी महसूस गरिरहेका हामीले क्षणभरमै जाडो महसूस गर्नु परेको थियो । अरु देशको जस्तो निरस बालुवा ५५ डि.से.को तापक्रम त्यसमै हाम्रा संगी साथीहरू भेडा चराउँदैछन् खाडीमा, कम से कम यो देशमा यति कठोरता कतै छैन । बुझ्नेलाई यो देश श्रीखण्ड नै हो तर संघीयता, र लोभतन्त्र रूपी गलगाँडले देशलाई हरिबिजोग गराएको छ, अझै सपना बाँड्न छोडिएको छैन । पहाड आफैं संसारको अग्लो भ्यूटावरभन्दा कम छैन, कमिसनको लोभमा कंक्रीटका भ्यूटावरहरूले देशलाई हरिबिजोग गराएको छ, व्यापारघाटा र आन्तरिक अनि बाह्य ऋणमा डुबाएको छ । 

कालेश्वर शिव क्षेत्रको रुद्राभिषेक र पूजापछि हामी देउराली झर्न थाल्यौँ । तल फेदीमा वैतरणी, माथि शिखरमा स्वयम् यमराज अर्थात् कलस्वरूप यमले शिवजीलाई गुहारेको स्थान कालेश्वरको दर्शनले मानिसमा दुर्घटनाको डर नहुने चर्चा छ पुराणहरूमा । स्कन्द पुराणअनुसार अघि ने मुनिले कलिरूप विरूपाक्षलाई पवित्र पार्दै ६४ ज्योतिर्लिङ्गको दर्शन गराएको प्रसँगले नेपालका हाल १० जिल्लाहरूमा ती ज्योतिर्लिंगहरू रहेका छन् । पहिलो स्वरूप सिन्धुलीको कुशेश्वर अनि पशुपतिको रुद्रगारेश्वर हुन् । वैतरणीघाटमा खाना खाएर हामी अघिकै बाटो पच्छ्याउँदै चापागाउँ अनि काठमाडौँ आइपुग्दा हाम्रा कपडा चिन्न नसक्ने भइसकेका थिए धुलोले, अनि झण्डै सास रोकिएको अवस्था थियो । लेलेका केही भाग मात्रै र चापागाउँका केही भाग राम्रो बाटो बाँकी बाटाघाटाहरू दुरुह थिए, धन्न यो देशको लोकतन्त्र, संघीयता र गणतन्त्र त्यता गुडेर नगएकाले देखेको रहेनछ यसले ।

ADVADV

सम्बन्धित खबर

Advertise