२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

संवेदना हराउँदै गएको समय

hardik ivf
२०८१ फागुन १३ गते ०६:१०
संवेदना हराउँदै गएको समय

–रत्न प्रजापति

बैतडी जिल्लाको सिगास गाउँपालिका– १, अङ्डेगाडाका प्रकाश दमाईं गाउँकै भूमिराज आधारभूत विद्यालयका शिक्षक हुन् । तर, गाउँका सयौं बालबालिकाको उज्ज्वल भविष्यका लागि सधैं साथ र सहयोग गर्दै आएका उनै प्रकाशकी आमाको मृत्यु हुँदा भने मलामी जाने पनि कोही भएनन् ।
मलामीकै अभावमा उनले आमाको लाससमेत समयमा उठाउन सकेनन् । लास उठाउन पनि टाढाका आफन्तको प्रतीक्षामा १ दिन कुर्नुपर्‍यो । ३ माघमा शनिबार बिहानै दिवंगत भएकी आमाको लास उनले आफन्त आएपछि ४ माघ आइतबार मात्र उठाउन सके । उनी कथित ‘तल्लो जात’को भएकैले उनले यो स्थिति बेहोर्नुपर्‍यो । मृत्युको संवेदनशील घडीमा पनि साथ नदिने कति क्रूर छ, जातको तगारो ।

जातभन्दा मानवीयता महान हो । जातभन्दा संवेदना ठूलो हो । तर, आमाको मृत्युको शोकले गलेको एउटा शिक्षकप्रति पनि सहानुभूति र संवेदना प्रकट नगर्ने यो समाजको हृदयमा अरू गरिब र दलितप्रति कहिले सहानुभूति र संवेदना जाग्ला ? जातलाई छाडेर मानवता र संवेदनाकै आधारमा लास उठाउन साथ दिनुपर्ने र मलामी बनिदिनुपर्ने समाज उल्टै तमासे बनिदिँदा प्रकाश दमाईंको मनमा कति पीडा भयो होला ? कति घोच्यो होला, त्यो उपेक्षा र अपमानको सुइरोले प्रकाशको छातीमा ? हामी अन्दाज मात्र गर्न सक्छौं ।

जातले मान्छेभित्रको संवेदनालाई पनि कमजोर बनाइदिँदो रहेछ । कति बलियोसँग जरो गाडेको रहेछ त यो जातले मान्छेको मनमा !

प्रेममा जातको तगारो । सम्बन्धमा जातको तगारो । धर्ममा जातको तगारो । संस्कृतिमा जातको तगारो । हुँदा–हुँदा अब मृत्युको शोकमा पनि जातकै तगारो ? उफ्... यो जात । कहिले तोडिन्छ यो जातको तगारो ?

जातीय विभेद र छुवाछुतविरोधी अभियानका अभियन्ता र तिनै अभियन्ताले चलाएका हजारौं गैरसरकारी संघसंस्थाहरू यही देश र देशका सबै जिल्ला र सबै गाउँ पनि छन् । गैरसरकारी संघसंस्थाहरू नपुगेको कुनै ठाउँ बाँकी छैन । तर, तिनले जनचेतनाका के अभियान चलाएछन् त ? मान्छेहरूमा जातीय विभेद र छुवाछुतविरुद्ध के–कति चेतना र जागरण जगाएछन् त ? अङ्डेगाडा घटनापछि यस्ता प्रश्न खडा भएका छन् । 

सामाजिक चेतना फैलाउन खुलेका हजारौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरू छन् । तर, गैरसरकारी संघसंस्थाका नाउँमा केही टाठाबाठा मान्छे मात्र पोस्ने काम भइरहेको अवस्था छ ।

यस्तो अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारभर दिँदै आएको सहायता तत्कालका लागि रोक लगाउने आदेश दिएसँगै नेपालमा पनि अमेरिकी सहयोग नियोगमार्फत पाइरहेको सहयोग रोकिँदा दुःखी हुनुपर्ने कुनै कारण देखिँदैन । आखिर गैरसरकारी संघसंस्था भनेका केही टाठाबाठाहरूको कमाई खाने भाँडो मात्र रहेछ भन्ने कुरालाई प्रकाश दमाईंले भोग्नुपरेको जात(ीय विभेद र समाजको संवेदनहीनताले पुष्टि गरेको छ ।

जातसँगसँगै जोडिएर आउने अविच्छिन्न विषय मानवीय संवेदना पनि हो । मानवीय संवेदना प्रखर भएको अवस्थामा जातको विषय झिनो र कमजोर भइदिन्छ । तर, मानवीय संवेदना नै कमजोर भइदियो भने जातले आफ्नो शिर उठाउने अवसर पाउँछ । प्रकाश दमाईंको हकमा यही भएको हो । 

यद्यपि, मानवीय संवेदना कमजोर भइदिँदा गैरदलितले पनि उपेक्षित हुनुपरेका घटना पनि छन् । यस्तै, एउटा ताजा घटना हो, गत २३ माघमा कमलपोखरीस्थित शानदार मःम पसलमा ग्यास लिक भई भएको आगलागी । सो आगलागीमा परी ११ जना सख्त घाइते भएका थिए । यो आलेख तयार गर्दासम्म घाइतेमध्ये ४ जनाको मृत्यु नै भइसकेको छ भने अन्यको अस्पतालमा उपचार भइरहेको छ ।

मृत्युको खबर पत्रपत्रिका र सामाजिक संजालमार्फत सार्वजनिक भएका थिए । तर, सो घटनाप्रति चासो राख्ने र मृतकप्रति दुःख, सहानुभूति र संवेदना व्यक्त गर्नेहरू खोइ ? समाचार पढे, बिर्से । २ पैसा कमाएर घरपरिवारको छाक टार्ने उद्देश्यले त्यहाँ काम गरिरहेका गरिब घर परिवारका ४ जना कामदारले ज्यान गुमाउँदा पनि सहानुभूति र संवेदनासम्म व्यक्त नगर्ने हाम्रो समाज र हाम्रो सरकार कति संवेदनहीन रहेछ त ? 

उता, पोखरामा एउटा भव्य कार्यक्रममा बेलुन पड्केर आगोले पोलेका देशका उपप्रधान एवं अर्थमन्त्री र पोखरा नगरका मेयरलाई तत्काल हेलिकोप्टरबाट काठमाडौं ल्याएर उपचारको व्यवस्था यही राज्यले गर्न सक्यो ।

तर, राजधानीको मुटुमै भएको आगलागीका पीडितलाई समयमै उद्धार गर्ने संयन्त्रसम्म पनि राज्यले परिचालन गर्न सकेन । एउटा एम्बुलेन्ससम्म नपाएर घाइतेलाई सामान बोक्ने गाडीको छतमा राखेर अस्पताल पुर्‍याउनुपर्‍यो । यस्तो स्थितिको लज्जाबोध राज्यलाई कहिले हुन्छ ?

शक्तिशाली नेतालाई आगोले पोल्दा त्यति धेरै संवेदनशील हुने राज्यले निरीह जनता आगोमा जल्दा पनि त्यति संवेदनशील बन्न सकेन । शक्तिशाली नेता र निरीह जनताबीच राज्यले नै यस्तो विभेदको पर्खाल खडा गर्न मिल्छ ? के नेताको जीवन अमूल्य र जनताको जीवन मूल्यहीन हो ?

आगलागीमा परी मृत्यु भएका उदयपुरको उदयपुरगढी– ७ का २२ वर्षीय प्रदीप तामाङ, मकवानपुरको मनहरि गाउँपालिका– ५ डिल्लीपुरका १८ वर्षीय रविन राई, उदयपुर कटारी नगरपालिका– ८ गालटारका २५ वर्षीय भीमबहादुर घले मगर र काभ्रे बेथानचोक गाउँपालिका धुनखर्कका २५ वर्षीय छिरिङ लामाको आत्माले यस्तै सोचिरहेको होला । तिनका परिवारले पनि यस्तै सोचिरहेका होलान् । कठै ! गरिब र असहायप्रति कति संवेदनहीन छ हाम्रो राज्य !

देशका उपप्रधान एवं अर्थमन्त्रीलाई सामान्य आगोले पोल्दा तत्काल हेलिकोप्टरबाट अस्पताल पुर्‍याउने अनि देशका राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्यमन्त्रीलगायतको लस्कर अस्पतालमा उपचाररत घाइतेलाई भेट्न र घाइतेको अवस्था बुझ्न जाने तर निरीह जनता आगोमा जलेर सिकिस्त हुँदा र मर्दा पनि राज्य बेखबर भएर बस्ने ?

तिनै निरीह जनताले खाई नखाई तिरेको करको गुन तिर्नुपर्दैन राज्यले ? घाइतेको उपचारसँगसँगै मृतकको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न राज्यले के पहल गरेको छ ? जो मरेर गए, तिनको सहारामा बाँच्नेहरूको वर्तमान र भविष्य अब के हुन्छ ? यसमा राज्यको कुनै दायित्व छैन ? राज्य मौन बसेको देख्दा मनमा यस्तै प्रश्न उठ्छन् ।

नागरिकको जस्तै राज्यको पनि सामाजिक दायित्व हुन्छ । नागरिकले आफ्नो दायित्व निर्वाह गर्नुपर्छ भने राज्यले पनि गर्नुपर्छ । सामाजिक दायित्व निर्वाहमा राज्य चुक्यो भने विशेषगरी राज्यका गरिब, निमुखा र निरीह जनताको जीवन कष्टकर हुन्छ । पोखराको बेलुन विस्फोट र राजधानीको ग्यास सिलिन्डर विस्फोटको घटनालाई तुलनात्मक रूपमा हेर्ने जोसुकैले राज्यले वर्गीय विभेद गरेको र आफ्नो सामाजिक दायित्व निर्वाहमा चुकेको देख्ने छन् ।

नेपालको संविधान, २०७२ को धारा १८(३) मा राज्यले नागरिकहरूका बिच उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिंग, आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्ने छैन भनिएको छ । तर, राज्य स्वयंले नागरिकको आर्थिक अवस्थालाई हेरेर भेदभाव गरेको उदाहरण हुन् शानदार मःम पसलका आगलागीपीडितहरू ।

जुन अस्पतालमा देशका राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्यमन्त्रीले आगोले पोलेका घाइतेलाई भेट्न गए, त्यही अस्पतालमा आगोले जलेका घाइते पनि उपचाररत थिए । के तिनलाई भेटे हाम्रा राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्यमन्त्रीले ? संवेदनामा पनि राजनीतिको रङ देखियो । यदि भेटेकै भए खोइ त्यसको समाचार ? हाम्रो मिडिया पनि शक्तिकै मात्र पछि लागेको हो ? जनताको दुःख, पीर र मर्कामा मिडियाको साथ खोइ ?

पोखरामा बेलुन विस्फोट घटनाको छानबिन गर्न मन्त्रीस्तरीय निर्णयबाट छानबिन समिति बन्यो । तर, ४ जनाको ज्यानै जानेगरी भएको ग्यास सिलिन्डर विस्फोट घटनाको छानबिन गर्ने आवश्यकता राज्यले किन देखेन ? गरिब जनताको सवालमा राज्यले गर्ने यस्तो बेवास्ताले जनतामा कस्तो सन्देश जान्छ ? यसको प्रभाव जनताको मनमा कस्तो पर्छ ? राज्यका सम्बन्धित निकायले सोचेको देखिएन । उता, बैतडीको सिगास गाउँपालिकामा समाज संवेदनहीन बन्यो । यता, राजधानीमा राज्य नै संवेदनहीन बनेको देखियो । उता, मान्छेले जातीय विभेद गरे । यता, राज्यले नै वर्गीय विभेद गर्‍यो । यो विभेदको संस्कृति र संवेदनहीन राजनीतिले मुलुकलाई कता लान्छ ? सोचनीय भएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise