–अच्युतप्रसाद पौडेल ‘चिन्तन’
शिवरात्रि महान पर्व हो हाम्रो । हाम्रो मात्र नभएर विश्वकै वैदिक सनातनीहरूको पनि । आ–आफ्ना धर्मअनुसार जेरुसेलम, मक्का, मदिना जाने गर्छन् भने विश्वका तमाम हिन्दु अनुयायीहरू जीवनमा एक पटक भए पनि पावन पशुपतिमा आउन रुचाउँछन् ।
फागुन कृष्ण त्रयोदशी शिवरात्रि पर्व हो । यो रात्रिमा भगवान् शिवको ४ प्रहर विशेष पूजा हुन्छ । विश्वको शिरो भाग पशुपतिनाथको पञ्चमुखी स्वयम्भू ज्योतिर्लिंग अन्यत्र कतै छैन, छ यहीँ मात्र । तमाम धाम र तीर्थ यात्राको पूर्णता तब मात्र हुन्छ, जब पशुपतिनाथमा पुगिन्छ ।
देशकै उत्कृष्ट स्थल पाशुपत क्षेत्रलाई सुरम्य बनाउने हो भने, वैदिक सनातनीहरूले नै हाम्रो पर्यटन क्षेत्रको अधिक विकासको गति दिन सक्छन् । अहिले नास्तिकता फैलाउने, धर्म परिवर्तन गराउने भ्रष्टहरूको नामले अंकित छ देश ।
अमेरिकाका राष्ट्रपतिले नेपालका नेताहरूलाई भ्रष्ट नेता भनिसकेका छन् । हामी अरूको धर्मको विरोध गर्दैनौं तर धर्मान्तरण असह्य हुन्छ । धर्मान्तरणका लागि अतीतमा जसले मलजल गरेको छ, अब प्रायश्चित गर्नुपर्छ, सायद अब दाताहरू पनि घट्लान्, त्यसको संकेत आइसकेको छ । सिद्धान्त एउटा राखेर काम अरू नै गर्नेहरूकोे मुखुण्डो पनि अब खुलिसकेको छ ।
जसले देशलाई यति ठूलो सम्भावना हुँदा पनि धर्मनिरपेक्ष गरायो, त्यसको प्रायश्चित, पाप धुने काम गर्दै कुम्भतिर हानिएको देखिएको छ । ‘स्व धर्मे निधनं श्रेय, परधर्मो भयावहः’ भन्ने गीताको अंशलाई लत्याइयो त्यहाँ । सत्ता टिकाउन शिवलिंगभित्र सुनको नाम लेखाउन उद्यत् हुने क्विन्टलको सुन अर्पण गर्नेहरूले अब बुझ्न जरुरी छ कि यो देश एक मात्र दैवी भूमिको हो भनेर ।
मूल शिवलिंग मात्र होइन, यहाँ १० जिल्लाहरूमा ६४ ज्योतिर्लिंगहरू पनि छन् । शिव र शक्तिको संयुक्त पीठ हो नेपाल । सिन्धुलीको कुशेश्वरदेखि ६४औं ज्योतिर्लिंग पशुपति कैलाश मुनिको रूद्रगारेश्वर यहीँ छन् र हरेक क्षेत्रमा शिवका मन्दिरहरू छन् ।
इतिहासले भनेको छ– नेपालमा बस्तीका घरभन्दा बढी मन्दिरहरू छन् । यति ख्याल नै नगरी राजनीतिकर्मीहरूले सस्तो लोकप्रियता प्राप्त गर्न धर्मनिरपेक्ष गराए तर नेपालीहरूको मनबाट भने गएको छैन यो । अब तुरन्तै सच्याउनुपर्छ, होमिएर प्रयाग पुग्नेहरूले, पण्डा बन्नेहरूले सोच्नुपर्छ– विगतमा ठूलो गल्ती भयो भनेर ।
वर्षभरमा प्रमुख ४ रात्रिहरू छन् । श्रीकृष्णाष्टमीको रात्रि मोहरात्रि हो, देवीको दसैं कालरात्रि हो भने लक्ष्मीपूजाको सुख रात्रि अनि शिव आराधनाको फाल्गुण कृष्ण त्रयोदशीको रात्रि भने शिवरात्रि हो ।
अन्यान्य देवहरूलाई देवता मात्र भनिने र जहिले अजन्मा रहने ठूला देवतालाई महादेव भनिन्छ । पञ्चमुखी स्वप्राकाट्य शिवलिंगको प्रतीक पशुपतिनाथ विश्वमा अन्यत्र छैन, केवल हाम्रो भूमि काठमाडौंमा छ र सबै हिन्दुहरूका लागि हाम्रो भूमि एक मात्र पवित्र तीर्थस्थल, गन्तव्यस्थल र मुक्तिस्थल बनेको छ । यहाँ शिवरात्रि पर्व बडो धुमधामका साथ मनाइन्छ । यो पर्व यसपालि १४ फागुनमा परेको छ ।
त्यसो त पशुपतिमा दर्शन गर्नेहरू शिवरात्रि मात्र होइन, हरेक सोमबार, शनिबार, तीज, बालाचतुर्दशी, जनै पूर्णिमा, श्रावणमा पूरै भीड हुने गर्छ । आर्यघाट, जहाँ शवदाह गरिन्छ, पुनर्जन्म हुन्न र क्रूर पापी भए पनि यहाँ शवदाह गरेपछि मोक्ष, मुक्ति पाउँछ भनिएको छ ।
सुख र दुःख दुवै समय हाम्रा लागि पशुपति नै हो, अन्तिम आश्रयस्थल हो त्यो । अघिपछि आफैं जाने मानिसहरू मृत्युपछि बोकिएर त्यहीँ पुग्छन् । अन्तिम संस्कार राम्रो भयो भने तमाम कुलको समेत रक्षा हुने विधानशास्त्रले बताएको छ भने हिजोआजको परिवेश नास्तिकतासँगै अविश्वास बढ्न गएको देखिन्छ । त्यहीँ देवताका नाममा ब्रह्मलुट गर्नेहरूको पनि कमी छैन । वास्तवमा शिवस्व खानु हुँदैन, त्यो फलामको चिउरा सरह हुन्छ र अपच हुने गर्छ ।
शिवलाई मनपर्ने बेलपत्र, धतुरो, शुद्ध जल, पिताम्बर, रुद्राक्ष, पञ्चामृत हो, रुद्राभिषेक हो, वेद हो, असल भक्तहरू हुन् । लोटा लिएर काठमाडौं छिर्नेहरू आज उनको सेवाकै कारण धनाढ्य बनेका छन् । भोग, ऐश्वर्य, भुक्ति, मुक्ति, भनौं, मानिसका अभीष्ट पूरा गरिदिने महादेव आफू घाटमा रहेर अरूलाई आलिशान महल दिलाउने गर्छन् । आपूm भस्म लेपन गरेर अरूलाई शृंगारिक बनाउँछन् ।
एकपल्ट नाम लिनासाथ भक्तले मुक्ति पाउँछ भने २ पल्ट शिवको नाम लिँदा शिव स्वयं ऋणी बन्छन् । शिवका ४ मुख ४ वेद हुन् भने पाँचौं मुख ईशानेश्वर आकाशको प्रतीक हो, बाँकी ४ मुख ४ दिशा हुन् । शिवले नदेखेको कुनै स्थान हुन्न, उनी अन्तरयामी हुन् ।
शिव पुराण कोटी रुद्र संहितामा श्री शिव स्वयंको भनाइ छ– ‘भूरि व्रतानि मे सन्ति भुक्ति मुक्ति प्रदानि च । मुख्यानि तत्र ज्ञेयानि दश संख्यानि तानि वै ।। अष्टमी सोमबारे च कृष्णपक्षे चतुर्दशी । शिवतुष्टिकरे चैतेनात्रकार्या विचारिणा ।। चतुष्र्वपि बलिष्टं हि शिवरात्रिव्रतं हरे । तस्मात्तदेवकर्तव्यं भुक्तिमुक्तिफलेप्सुभि ।।’
अर्थात्, मानव जीवन भुक्ति र मुक्तिका अनेकौं व्रतहरू छन् । मेरो पूजा प्रार्थनाका लागि अष्टमी, सोमबार, कृष्णपक्षको चतुर्दशी अझ बढी महत्त्वपूर्ण छन् । त्यसमा पनि शिवरात्रि पर्वको महत्त्वबारे स्वयं शिवबाहेक अरूले बताउनै सक्दैनन् । अक्षय पुण्य चाहनेले केवल १ दिनको सो पूजाले पनि अमरताको बल प्राप्त गर्न सक्छ ।
प्रथमतः स्नान, संकल्प, दीप, कलश, गणेशको पूजा, त्रिपुण्डक वा रुद्राक्षको माला धारण, ४ प्रहरको पूजामा सके ब्राह्मण, कन्या, भोजनादि विषय, ज्योतिर्लिंग, शिवालय वा पार्थिव शिवलिंग स्थापना गरेर प्राण प्रतिष्ठासहित सगुण वा निर्गुण शिवको प्रतिमा पूजा गर्नुपर्छ । ॐ नमः शिवायको मन्त्र घटीमा १०८ पल्ट जप्दै पश्चिममा सद्योजात, उत्तरमा वामदेव, पूर्वमा तत्पुरुष, दक्षिणमा अघोर अनि ऊध्र्व मुख ईशानेश्वरको पूजा गर्ने, जे अर्पण गरिन्छ, त्यसका अलग मन्त्रसहित चढाउने गरिन्छ ।
अखण्डित अक्षता, सुगन्धित चन्दन, अगरु, बेलपत्र, तिल, करबीर, अर्कपुष्पलगायत अन्य फूलमालाहरू चढाउनुपर्छ । शिवका प्यारा वस्तु गाँजा, भाङ अर्पण गरिए पनि आफूले प्रयोग गर्नु हुन्न, हामीलाई त्यो पचाउने शक्ति छैन ।
पहिलो प्रहरको पूजा साँझ ६ बजेतिर हुन्छ भने दोस्रो प्रहरको समय रातको ९, तेस्रो प्रहरको समय रातको १२ बजे र चौथो प्रहर भनेको बिहानीपखको ३ बजे हुन्छ । पहिलो प्रहरमा शिवजीको पूजामा पान, नरिवल, अघ्र्य, श्रीफल, सेल, पुरी पक्वान्न हुन् भने शिवका प्रमुख ८ नामहरू भव, शर्व, रुद्र, पशुपति, उग्र, महत, भीम र ईशानको स्मरण गर्दै अंकुश मुद्रा, मत्स्य, धेनु, शंख, योनी, लिंग, ध्यान, ज्ञान, शाम्भवी, वर, अभय, नमस्कार, खट्वांग, धनु, पद्म, महामुद्रा तथा साष्टांग मुद्रा देखाउनुपर्छ र सकेसम्म भजन कीर्तन पनि जरुरी हुन्छ । निर्मल जलले पूर्णता दिइन्छ ।