२०८१ फागुन २० गते मङ्गलवार / Mar 04 , 2025 , Tuesday
२०८१ फागुन २० गते मङ्गलवार
Ads

प्रहरीले चाहेक सुशासन ल्याउन सक्छ

hardik ivf
२०८१ फागुन १५ गते ०६:१०
प्रहरीले चाहेक सुशासन ल्याउन सक्छ

–गोविन्द पन्थी

काम विशेषले दाङ जानुपर्ने थियो । बाटो खराब छ भन्ने जानकारी हुँदा पनि कस्तो भएको रहेछ, धेरै भयो नहिँडेको भनी यात्रा तय गरियो । साथमा एक संचारकर्मी पनि हुनुहुन्थ्यो । 

आफूले लामो समय काम गरेको संस्था भएकाले बाटोमा पर्ने प्रहरी इकाईहरू र कर्मचारीका कामकारबाही र उनीहरूको जनतासँगको व्यवहार मूल्यांकनका विषय हुने नै भए ।

अझ साथमा खोज पत्रकारिता गरिरहनुभएका संचारकर्मी मित्र साथमै हुँदा झनै हेर्दै गयौं । कतिपय स्थानका प्रहरी कर्मचारीले मलाई चिन्दा उनीहरूका मप्रतिका प्रतिक्रिया सुन्दा संचारकर्मी मित्रका थप जिज्ञासा गज्जबका रहन्थे किनकि उहाँले त्यसै मौकामा आफ्नो खोज पत्रकारितामा मसला ल्याउने प्रयास गर्नु हुन्थ्यो ।

हामीले दाङको यात्रा तय गर्नु १ दिनअघि मात्र प्रधानमन्त्रीले ‘५ वर्षमा ६० प्रतिशत सम्पन्न भएको काम १ वर्षमा ४० प्रतिशत कसरी सम्भव छ ? ठेक्का तोड्नुको विकल्पै छैन’ भनेको भनाइको राम्रै प्रभाव परेको देखियो ।

नारायणगढ–बुटवल सडकखण्डमा सयौं स्काभेटर कामदारसहित तल्लीन हुँदा यसरी काम भए पो विकास देखिनेगरी हुन्छ भन्दै दाउन्ने पुगियो । केही समय धुलाम्यै बाटोमा रोकिनुपर्‍यो । तर, त्यो कामकै क्रममा रहेछ । रोकिँदा पनि दुखित हुनुपरेन । कति(पय स्थानका प्रहरी र जनता, चालक र प्रहरीका कामकारबाही अवलोकन गर्दै कतिपय स्थानमा आफूले लामो समय काम गरेको संस्थाका कर्मचारीको क्रियाकलापमा जनताले तेर्स्याएको प्रश्न सुन्दा दुःख लाग्थ्यो ।

यस यात्रामा ३ वटा प्रदेश प्रहरीका काम कारबाही अवलोकन गर्ने, भोग्ने र महसुस गर्ने मौका पनि जुर्‍यो । पश्चिम नवलपरासीबाट दाङसम्म पुग्दा भने प्रहरीका कामकारबाहीमा धेरै भिन्नता महसुस भयो । गाडी रोक्दा, जाँच गर्दा सबैले नमस्कारसहित मुस्कानका साथ सेवा दिइरहेका थिए । यत्तिकैमा चन्द्रौटा पुग्दा एउटा सडक बालकलाई नम्बर नखुलेको गाडीले हान्दा दुर्घटना बालकको मृत्यु भयो । गाडी खोज्ने क्रममा प्रहरीले सबै गाडी रोकेको रहेछ । संख्या धेरै हुँदा प्रहरीले जबाफ दिनै हम्मे परेको देखियो ।

त्यहाँको प्रहरी कामकारबाही चाहिँ गैरव्यावसायिक नै लाग्यो तर पनि मैले प्रेसरमा भएर होला भनी सामान्य रूपमा लिँदै अघि बढियो । दाङमा एउटा कार्यक्रममा पुग्दा संयोगले भन्सारका एक कर्मचारी भेट भए । परिचय गर्दा गुल्मी घर भन्नासाथ लुम्बिनी प्रदेश प्रहरी प्रमुख दानबहादुर कार्की सरको नाम लिँदै एउटा कहानी सुनाए । बेवारिसे गोरु पक्राउ गरेर प्रहरीले भन्सार पठाएकामा सीडीओ सा’ब र हाम्रा हाकिम सा’बबीच कुरा भएछ ।

कागजात मिलेर आएकाले गोरु प्रक्रिया मिलाएर लिलाम गरिदिएको बताउनुभएछ हाकिम सा’बले । 

डीआजी सर काठमाडौं जानुभएकामा सीडीओ सा’बसँग ‘के कुन कानुनअनुसार बेवारिसे गोरु २ दिनमै लिलामी भए ? अब बाटोमा भेटिएका सबै बेवारिसे चिज वस्तु लिलाम गर्नुस्, म सब प्रहरी इकाईलाई पठाउन लगाउँछु’ भनेर गम्भीर असहमति जनाएपछि उहाँले मलाई फोन गर्न भन्नुभएको रहेछ । मैले के फोन गरेको थिएँ, सरले फोनमै १० मिनेट लेक्चर हान्नुभयो र मैले लिलाम भएसकेका गोरु का कागजात च्यातेर फालें सर !’ उनले सुनाए । थपे, ‘पछि गोरु किसानलाई वितरण गरिएछ । धन्न ! डीआइजी सरले मेरो जागिर धरापमा पारिदिनुभएन ! उहाँ त डेन्जर हुनु हुदो रहेछ !’

यो सुन्दा सामान्य लागे पनि प्रहरीका हाकिमहरू प्रायः गृह मन्त्रालयका सुब्बासम्मलाई एसएसपीसम्मले जय नेपाल गरेर चाकडी गर्ने गरेका देखिएकै थियो तर त्यहाँ त सीडीओ सा’बलाई नै कानुन सिकाएर कानुनबमोजिम मात्र चल्ने र भइसकेको काम पनि च्यातेर बदल्ने बनाउनु भनेको चानचुने कुरा थिएन ।

त्यो आफू नचुकेको र कुनै हालतमा जस्तोसुकै जोखिम मोलेर भए पनि कानुन कार्यान्वयन गरेरै छाड्छु भन्ने प्रतिज्ञाको परिणाम नै हो । संचारकर्मी मित्रले ‘ल न सर, त्यस्तो हिम्मतवाला डीआईजीलाई भेटौं । उहाँलाई धन्यवाद भन्नुपर्छ । त्यस्ताको पछि त तस्कर सरुवा पनि गराउन पक्कै लागेका होलान्’ भन्दै गर्दा भेट्न खोज्दा उहाँ बुटवल झर्नुभएको सूचना मिल्यो ।

फर्कदा राजनीतिकर्मी, व्यावसायीहरू भेट्दै फर्कने निधो गरियो । तस्करीको अवस्था, प्रहरी कामकारबाहीमा जिज्ञासा राख्दै आउँदा राम्रो गरेका राजनीतिकर्मी, जो जनताको माझमा लोकप्रिय छन्, उनीहरूबाट डीआईजी दान कार्कीप्रति सकारात्मक जबाफ मिल्यो भने अनियमिततामा रमाउने राजनीतिकर्मीले भने ‘डीआईजी घमन्डी छन्, हामीले भनेको टेर्दैनन्’ भने ।

जाँदा अलि रात परेकामा फर्कंदा कपिलवस्तु, जुन ठाउँ गोरु तस्करीको पहिल्यैदेखिको मूल थलो थियो, त्यस ठाउँका प्रहरी कर्मचारीको कामकारबाही र व्यावहार नियाल्दै फर्कने सल्लाह भयो । कतिपय बाटोमा चिनजान भएका प्रहरीलाई तस्करीको लाइन खुल्यो रे, के छ त ? भन्दै सोध्यौं पनि ! उनीहरूको जबाफ ‘हामी त कसैले चिया खान जाऔं भन्यो भने पनि डीआईजी सरले पठाएको मानिस हो कि जस्तो लाग्छ सर ! हाम्रो कार्यालय प्रमुख सरको पनि प्रत्येक साता र महिनामा मूल्यांकन गर्न कार्ड पठाउनुभएको छ । प्रत्येक कार्यालयमा १० बुँदे नागरिक प्रतिज्ञापत्र टाँसिएका छन् । कसले, कुन युनिटले जित्ने भनेर विभिन्न सिलिङ तोक्नुभएको छ । यस्ता प्रदेश प्रमुख त आजसम्म देखिएको र भोगिएको थिएन हजुर !’

हाकिमले पनि आफूहरूसँग नमाग्ने हुँदा आफूहरूले पनि ढुक्कसँग ड्युटी गर्न पाएको उनीहरूले बताए । काठमाडौंको धुलो धुँवा त खानुपरेको छैन भन्ने जबाफ मिल्यो । नचिनेका स्थानमा समेत आफू सेवाग्राही भएर जाँदा ‘नमस्कार ! के चाहियो सेवा ? कहाँबाट कहाँ जाने ? कागजपत्र त पक्कै ल्याउनुभएको होला । सिट बेल्ट बाँध्नु होला । हाइवेमा स्पिड धेरै हुँदा दुर्घटना हुन सक्छ’ भनेर सन्देशमूलक उपदेश दिँदै नमस्ते गरेर पठाइँदा साँच्चिकै आनन्द पनि आयो । 

जब बुटवल आइपुग्न लागियो, संचारकर्मी मित्रले ‘यस्ता प्रहरी प्रमुख त भेटेरै जाऔं सर ! उहाँलाई धन्यवाद दिनुपर्छ । हामी नागरिक अझ संचारकर्मीको त राम्रो काम गर्नेको प्रशंसा गर्ने र नराम्रो गर्नेको उजागर गर्ने धर्मै हो’ भनेपछि फोन गरियो । 

तालिम केन्द्रमा नयाँ नियुक्ति प्रक्रिया चल्दै रहेछ । केही समय कुराकानी गर्‍यौं । कुराकानीकै क्रममा दान कार्की सरलाई मैले ‘राजस्व पनि हजुर आएपछि पक्कै फरक परेको होला । कति फरक आयो ?’ भनी सोध्दा आर्थिक वर्ष २०८०/०८१ को माघ महिनामा ४ करोड ८९ लाख ५५ हजार ४५० राजस्व छली पक्राउ गरिएको रहेछ भने आ. व. २०८१/०८२ को माघ महिनामा सत प्रतिशत वृद्धि भई ९ करोड ४ लाख ६५ हजार ३५० अवैध राजस्व छलीमा पक्राउ गरी कारबाही भएको रहेछ । यो मात्र १ महिनामा भएको फरक हो, जुन सत प्रतिशत वृद्धि देखिन्छ ।

फरार अभियुक्त ५७१ जना एकै महिनामा समातिएको जानकारी मिल्यो, जुन कुराले हामी आश्चर्यचकित भयौं । नेतृत्वले चाहँदा भएको ठूलो सफलता हो यो । ‘सरलाई यस्तै राम्रा र सृजनात्मक कामको निरन्तरताको र सफलताको शुभकामना’ भनेर फर्कियौं ।

फर्कदा २ दिनमै बाटोको प्रगति देख्दा गरे के नहुने रहेछ ? भन्दै आइयो । यसका लागि प्रधानमन्त्रीले १ शब्द बोल्दा त आखिर हुने रहेछ त ! मिलिभगत हुँदा नै हो काम नहुने भन्दै आइयो । बाटोमा गन्डकी प्रदेश र बाग्मती प्रदेशका प्रहरी कर्मचारीको व्यवहार र लुम्बिनी प्रदेशका प्रहरीको व्यवहार दाँज्दै फर्कियौं । आखिर एउटै व्यक्तिले परिवर्तन गर्न खोज्दा एउटै तालिम गरेका प्रहरीमा कस्तो फरक पर्दो रहेछ !

‘राइट मेन इन राइट प्लेस’ हुँदा त्यसले परिणाम पनि राम्रो दिन्छ नै । प्रहरी मात्र सच्चियो भने ६० प्रतिशत सुशासन आउँछ, जुन कुरा लुम्बिनी प्रदेशको मात्र २ महिनाको तथ्यांकले प्रस्ट पार्छ ।

वर्तमान प्रधानमन्त्रीज्यूलाई मेरो सुझाव छ कि १४ वर्ष लामो जेल जीवन बिताउनुभएका तपाईं, पटकपटक अप्रेसन गरेर नयाँ जीवन पाउनुभएका तपाईंलाई जीवनको उत्तराद्र्धमा पक्कै देशका लागि केही गरेर जाने इच्छा छ । त्यो तपाईंले बेलाबेला व्यक्त गर्ने गरेका कुराबाटै बुझ्न सकिन्छ ।

त्यसैले, तपाईंले बोल्ड निर्णय गर्नुहोस् ताकि ६० प्रतिशत सुशासन दिन सक्ने प्रहरी संगठनलाई मजबुत र भरपर्दो अनि जनसेवामा समर्पित तुल्याउन सक्नु हुने छ र तपाईंले चाहेको र देखिनेगरी परिवर्तन हुने छ । त्यसका लागि प्रहरीका ७ राम्रा व्यावसायिक डीआईजीपी छनोट गर्नुहोस् र प्रदेशमा पठाउनुहोस् । आन्तरिक कम्पिटिसन (कामको) गराएर नम्बरिङ गर्नुहोस् र त्यसरी नै प्रहरीको प्रमुख नेतृत्व छनोट गर्नुहोस् । कुनै एस म्यानलाई प्रहरी नेतृत्वमा पुर्‍याउनुभयो भने तपाईंहरूले भनेको कुरा त तामेल गर्छ तर त्यस्तो कार्यले जनता भने तपाईंप्रति अर्थात् सरकारप्रति नै दिन प्रतिदिन रुष्ट हुँदै जाने छन् । राजनीतिक दलप्रतिको वितृष्णाले सुन्दर लोकतान्त्रिक व्यवस्था नै धर्मराउने छ । त्यतिखेर सुधार गर्छु भन्दा पनि तपाईंलाई समय अभाव हुने छ ।

(लेखक पूर्व प्रहरी नायब उपरीक्षक, हाल अधिवक्ता हुनुहुन्छ ।)

ADV

सम्बन्धित खबर

Advertise