–रचना बयलकोटी
सामाजिक संजाल विधेयक, २०८१ को दफा २७ को उपदफा २ को १ मा उल्लेख छ– सामाजिक संजालमा आफ्नो प्रोफाइल नखुलाए ३ महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुने छ । छद्मभेषी, स्थायी वा अस्थायी समूह, पेज वा अन्य कुनै पनि प्रकारको आईडी खोली नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा खलल पुग्ने वा राष्ट्रिय हित प्रतिकूल हुनेगरी गलत वा भ्रामक सूचना सम्प्रेषण गरे प्रचलित कानुनबमोजिम ५ वर्षसम्म कैद वा १५ लाखसम्म जरिमाना वा दुवै सजाय हुने व्यवस्था विधेयकमा छ ।
गत १५ माघमा संसद्मा पेस गरिएको यो सामाजिक संजाल विधेयक, २०८१ ले साइबर बुलिङ, डिजिटल ठगी र भ्रामक प्रचार नियन्त्रण गर्न केही कठोर उपायहरू प्रस्ताव गरेको छ, जसको प्रत्यक्ष प्रभाव ‘जेन–जी’ (सन् १९९७ देखि २०१२ सम्म जन्मेका पुस्ता)लाई पर्ने छ ।
जेन–जी एउटा यस्तो पुस्ता हो, जुन सबैभन्दा धेरै सामाजिक र सशक्त छ । यो पुस्ता डिजिटल प्लेटर्फम, सामाजिक संजाल र अनलाइन अभिव्यक्तिमा अत्यधिक निर्भर छ । ‘जेन–जी’ले सामाजिक संजाललाई आफ्ना विचारहरू अभिव्यक्त गर्न, राजनीतिक बहस गर्न, आफ्नो आवाज उठाउन प्रयोग गर्दै आएको छ ।
ब्लग, भिडियो, मिम्स, पडकास्ट बनाउने काममा निकै सक्रिय रहेको यो पुस्तालाई यो विधेयकले भने खुम्च्याउन खोजेको देखिन्छ । यस्ता सामग्रीलाई नियन्त्रण गर्न खोज्दा जेन जीको स्वतन्त्र सिर्जनात्मकता घट्न सक्छ ।
आफ्नो प्रोफाइल लुकाएर भए पनि आफ्नो आवाज उठाइरहेका पुस्तालाई त यो विधेयकले आवाजविहीन नै बनाउने तयारी छ । सामाजिक संजालको प्रयोग गर्न पनि डरको माहोल बन्ने छ । अझै भनौं, डिजिटल प्लेटफर्ममा आफ्नो भविष्य बनाउँदै गरेको वा बनाउने सोचेको यो पुस्तालाई अंकुश लगाउने तयारीमा रहेको सरकारको कदमले ‘जेन–जी’लाई तर्साउन थालेको छ ।
आफैंमा अन्योल रहेको योे विधेयकले सर्वसाधारणलाई झन् अन्योलमा पारेको छ । विधेयकले झूटो वा भ्रामक सूचना फैलाउनेलाई कारबाही गर्ने उल्लेख गरेको छ । तर, सत्य निर्धारण कसरी हुन्छ भन्ने स्पष्ट छैन ।
सामाजिक संजाललाई सूचनाको प्रमख स्रोत मान्दै आएको जेन–जीले कुनै पनि खबर सबैभन्दा पहिले फेसबुक वा इन्स्टाग्रामबाट थाहा पाउँछन् । तर, सामाजिक संजाल विधेयकले यसलाई पनि असर पर्ने नै भयो । यदि सूचना दिने सामाजिक संजाललाई नै खुम्च्याउने, प्रयोगकर्तालाई पनि प्रयोग गर्न रोक्ने भए अरू सबै समाचार माध्यम पनि बन्द गर्दा हुने देखिन्छ ।
यो पुस्ता परिवर्तन चाहन्छ । ‘जेन–जी’ आधुनिक प्रविधि बुझ्छन् । सामाजिक संजाललाई आफूलाई प्रस्तुत गर्र्ने, आफ्नो आवाज उठाउने माध्यमको रूपमा प्रयोग गर्दै आएका जेन–जीलाई यस्ता विधेयकले दोधारमा पार्ने छ । त्यसैले, नीति निर्माण गर्दा युवा पुस्ताको डिजिटल जीवनशैलीलाई मध्यनजर गर्न आवश्यक छ । तर, यसको मतलब ‘जेन–जी’ जे–जति गर्दै छन्, सामाजिक संजाललाई जसरी प्रयोग गर्दै छन्, त्यो सबै ठीक छ भन्न पनि मिल्दैन ।
कसैले सामाजिक संजालको दुरुपयोग गरी विभिन्न अपराध पनि गरिरहेका छन् । त्यस्ता कार्य रोक्न सरकारले चालेको कदमलाई गलत भन्न मिल्दैन ।
यो विधेयकमा राम्रा पक्षहरू पनि छन् । यो विधेयकले प्रयोगकर्ताहरूको व्यक्तिगत डाटा संरक्षण गर्ने उद्देश्य राख्छ । विधेयकले हानिकारक, मिथ्या र अश्लील सामग्रीहरू नियन्त्रण गर्ने प्रावधान गर्न सक्छ । यसले गलत सूचना फैलाउने र अभद्र व्यवहारलाई रोक्न मदत गर्छ ।
विधेयकले प्रयोगकर्ताहरूलाई आफ्नो डाटा र सामग्रीको नियन्त्रण दिने अधिकार दिन सक्छ, सामाजिक संजाल प्लेटफर्महरूले सरकारलाई आवश्यक जानकारी उपलब्ध गराउनुपर्ने र कानुनी प्रक्रियाहरूमा सहयोग गर्नुपर्ने नियमहरू लागू गर्न सक्छ । यो विधेयकले सामाजिक संजालको दुरुपयोग रोक्न र प्लेटफर्महरूलाई नियमन गर्न महत्त्वपूर्ण कदम चालेको छ ।
यदि सही तरिकाले कार्यान्वयन गरियो भने ‘जेन–जी’का लागि सुरक्षित डिजिटल वातावरण सिर्जना गर्न मदत हुन सक्छ । विधेयकले साइबर अपराध र गलत सूचनाको समस्या समाधान गर्न सक्छ तर यदि नियमहरू अस्पष्ट र कठोर भए भने यसले ‘जेन–जी’को अभिव्यक्ति स्वतन्त्रता, डिजिटल करियरमा नकारात्मक असर पार्न सक्छ । त्यसैले, नीति निर्माण गर्दा युवाहरूको विचारलाई समेत ध्यानमा राख्न आवश्यक छ ।
साथै, सामाजिक संजाल प्रयोग गर्ने ‘जेन–जी’हरूले पनि मैले सामाजिक संजालमा के लेख्दै छु, कसको बारेमा लेख्दै छु, के पोस्ट गर्दै छु र यसले अरूलाई कस्तो असर गर्छ भन्नेबारे सोच्न आवश्यक छ ।
आफ्नो अधिकार र अवसरको उचित प्रयोग गर्न ‘जेन–जी’ आफैं पनि सजग हुनुपर्छ । अरूले दिएका सूचनालाई छानेर लिई कसले, कस्तो सूचना दिँदै छन्, मैले कुन लिने र अरूलाई कुन दिने भन्नेबारेमा पनि उत्तिकै सचेत रहनुपर्छ ।
आफ्ना सामाजिक प्लेटफर्ममा प्रकाशित सामग्रीका लागि आफैं जबाफदेही हुनुपर्छ । यसरी, ‘जेन–जी’ले पनि सामाजिक संजालको प्रयोग र व्यवस्थापनमा ध्यान दिनुपर्छ ।