२०८१ फागुन २२ गते बिहिवार / Mar 06 , 2025 , Thursday
२०८१ फागुन २२ गते बिहिवार
Ads

विज्ञान र मानव सभ्यता

hardik ivf
२०८१ फागुन २१ गते ०६:०५
विज्ञान र मानव सभ्यता

–राजन तिमिल्सिना

मानव सभ्यताको इतिहासलाई हेर्दा विज्ञान सधैं विकासको मूल प्रेरक शक्तिका रूपमा देखापरेको छ । करिब २६ लाख वर्ष पहिले, जब मानव पुर्खाले सिकार खेल्न ढुंगाका हतियार बनाएका थिए, त्यस समयमा त्यो एक अत्यन्त ठूलो आविष्कार थियो ।

आज हामी अन्तरिक्ष अनुसन्धानका लागि स्याटलाइट बनाउँछौं तर त्यतिबेलाको मानवका लागि ढुंगाको हतियार बनाउन सक्नु नै स्याटलाइट निर्माण बराबरको उपलब्धि थियो । जसरी आजका वैज्ञानिकहरू महान छन्, त्यस्तै ढुंगाको हतियार बनाउने ती प्रथम आविष्कारक पनि उत्तिकै महान थिए ।

मानव पुर्खाले करिब १४ लाख २० हजार वर्ष पहिले अफ्रिकामा आगोको आविष्कार गरे । आगोले मानव जीवनमा क्रान्तिकारी परिवर्तन ल्यायो । यसले जंगली जनावरहरूबाट सुरक्षा दियो । खानालाई पकाउन सहयोग गर्‍यो । रातमा उज्यालो दियो र चिसो मौसममा ताप प्रदान गर्‍यो । त्यसपछि ४ लाख वर्षअघि मात्र मानिसले छाप्रोमा बस्न थाले ।

यससँगै, रूखका बोक्रा र जनावरका छालालाई वस्त्रका रूपमा प्रयोग गर्न थालियो । आधुनिक वस्त्र उद्योगको जग त्यतिबेलै बसेको थियो । जसरी आज वस्त्र डिजाइन गर्ने वैज्ञानिकहरू छन्, त्यसरी नै पहिलो पटक आफ्नो शरीरलाई ढाक्ने उपाय निकालेका ती मानव पनि वैज्ञानिक नै थिए ।

मानव जातिले लाखौं वर्षदेखि थालेको आविष्कारको शृंखलाले नै आजको वैज्ञानिक उन्नति सम्भव बनाएको हो । यदि वैज्ञानिक चेतनाको विकास नभएको भए हाम्रो जीवन अत्यन्तै कठिन, अन्धकारमय र कहालीलाग्दो हुने थियो । विज्ञानकै कारणले ढुंगाका हतियार, ओत लाग्ने छाप्राहरू, आगोको नियन्त्रण, औषधि तथा मानव शरीर संरचनाको ज्ञान सम्भव भयो । यी सबै आविष्कारहरूबिना मानव जीवन कठिनतम् अवस्थामा रहने थियो ।

विद्युत्को आविष्कारले अन्धकारमाथि विजय प्राप्त गर्‍यो । यसकै कारण औद्योगिक क्रान्ति सम्भव बन्यो । गाडी, रेल, हवाईजहाजको विकासले भूगोललाई साँघुरो बनाइदियो । संसारलाई ‘ग्लोबल भिलेज’मा परिणत गर्‍यो ।

रकेट र स्याटलाइटको निर्माणले पृथ्वीबाहेक अन्य ग्रहहरूको खोजीलाई सम्भव बनायो । सूर्य र चन्द्रमालाई पूज्य देवता ठान्ने धार्मिक अन्धविश्वास अन्त्य गर्दै वैज्ञानिक अनुसन्धानको नयाँ युग सुरु गरियो । संचार प्रविधिको विकासले मानव समाजलाई जोड्यो । रेडियो, टेलिभिजन, इन्टरनेटले सूचना प्रवाह सहज बनाए ।

बेहोस पार्ने औषधि (एनेस्थेसिया)को विकासले शल्यक्रियालाई सुरक्षित बनायो । खोपको आविष्कारले महामारी नियन्त्रण गर्‍यो, लाखौंको ज्यान बचायो । मानव अंग प्रत्यारोपण विज्ञानकै कारण सम्भव भयो, जसले जीवन लम्ब्याउने नयाँ सम्भावनाहरू खोल्यो । 

प्राचीन समयमा मानिसले डोको, डालो, हलो, कुटो, कोदालो, जाँतो, घट्ट जस्ता उपकरणहरू आविष्कार गरेका थिए । यी आविष्कार नगरेको भए, आधुनिक वैज्ञानिक प्रविधिको जग बस्ने थिएन । कसैले विज्ञान पढ्यो भने मात्र वैज्ञानिक बन्छ भन्ने सोच संकुचित हो । हाम्रा पुर्खाहरू पनि वैज्ञानिक नै थिए । उनीहरूले आफ्नो अनुभव र प्रयोगका आधारमा ज्ञान आर्जन गरे, जसको परिणामस्वरूप हामी आजको विकसित मानव सभ्यतासम्म आइपुगेका छौं ।

विज्ञानले सभ्यतालाई निर्माण मात्र गरेको छैन, यसलाई निरन्तर परिमार्जन गर्दै अघि बढाइरहेको छ । अतीतका आविष्कारकहरूप्रति सम्मान गर्दै, वर्तमान वैज्ञानिक उपलब्धिहरूको सही उपयोग गर्दै, भविष्यका लागि विज्ञानलाई अझ उन्नत बनाउनु हाम्रो कर्तव्य हो । विज्ञानको सम्मान गरौं, नवप्रवर्तनलाई आत्मसात् गरौं । अन्धविश्वास त्यागौं, उज्ज्वल भविष्य निर्माण गरौं ।

ADV

सम्बन्धित खबर

Advertise