२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

सग्लो एनआरएनए बनाउने सवाल

hardik ivf
२०८१ फागुन २५ गते ०६:१०
सग्लो एनआरएनए बनाउने सवाल

–सागर नेपाल

गैरआवासीय नेपाली संघ (एनआरएनए) आफैंमा एकताको प्रतीक थियो, प्रवासीहरूका लागि एक आशा बनेको थियो । विभिन्न कारणले बिदेसिएका नेपालीहरूको भावनात्मक रूपमै भए पनि घर फर्कन्छन् भन्ने विश्वासको आधार बनेको थियो । 

तर, आज संस्थाको नाम लिँदा पनि कुनचाहिँ एनआरएनए ? भनेर प्रश्न गर्ने अवस्थामा पुगेको छ । यहाँ कोहीभन्दा कोही कमी छैनन् र भन्छन्, ‘गल्ती कसैले गरेकै छैन ।’

यो दयनीय अवस्थामा आउने थिएन होला, आज विभाजन मात्र होइन, संस्था नै एक गाली जस्तो बन्ने थिएन होला । नेतृत्वबाट कमजोरी भएको छ र गल्ती भएका छन् ।

पूर्वअध्यक्षहरूले आफूलाई ऐनामा हेरेर होइन, अगेनामा उभिएर महसुस गर्न जरुरी छ । व्यक्तिगत इगो र झुन्डको स्वार्थमा लीन हुँदै एउटा सामाजिक संस्थालाई अदालती झमेलामा होमेर संस्थाको मान्यता–उद्देश्यलाई नै अपमानित र गाली गराउनेहरू पनि लाज पचाएर अभियन्ताको तक्मा भिरेर कसरी रमाउन सक्छन् ? आज संस्था जुन हालतमा, जहाँ पुगेको छ, त्यो सबैको कारण केवल पूर्वअध्यक्षहरू नै हुन् । पूर्वअध्यक्षहरू सबैका आ–आफ्ना झुन्ड छन् र तिनै झुन्डलाई नै पूर्ण समाज सम्झन्छन् । 

स्मरण गरौं, सन् २००३ देखि २००९ सम्म खासै काम पनि भएन होला र विवाद पनि रहेन । संस्थालाई एनआरएनएहरूका बीचमा पुर्‍याउनु र परिचित गराउनु नै पहिलो काम थियो । नेपाल सरकारदेखि विभिन्न देशका निकायहरूसँगको सहकार्यको सुरुवात, विश्वभर प्रचारप्रसार र शाखाका रूपमा एनसीसीहरूको गठन, केही परोपकारी काममै केन्द्रित रहेको हुनुपर्छ । ३ कार्यकालसम्म एउटै अध्यक्ष हुँदा कता–कता सांगठनिक रूपमा केही साथीहरूले प्रश्न उठाउन सुरु गरेकै हुन् तर दोस्रो कार्यकालपछि आफू अध्यक्ष नहुने घोषणा नै गरिसके तापनि उपस्थित एनआरएनएहरूको दबाबमा संस्थापक अध्यक्षले तेस्रो कार्यकालको नेतृत्व गरेकै हुन् ।

कहीँ न कहीँ कार्यकालको अन्त्यसम्म पुग्दा अध्यक्षबाट आफ्नो सफलता पाउन नसकेको वा बनाउन नसकेको हो कि भन्ने देखिन्छ । त्यसैले होला राम थापा र भीम उदास जस्ता व्यक्तित्वहरू सधैं दोस्रो बेन्चमा बस्न बाध्य भए ।

सन् २००९–०११ का लागि घनीभूत छलफल र सहमतिको निर्णयलाई लात हान्दै जब सिंगो एनआरएन होइन, व्यक्तिगत समूहको खोजी गरियो, समस्या त्यहीँबाट सुरु भयो । यहीँदेखि नै एनआरएनएमा सहमति भन्ने शब्दको कुनै स्थान र अर्थ वा मान्यता नरहेको हो कि जस्तो लाग्छ । जटिल परिस्थितिमा संस्थाको साख जोगाउन राम थापाबाट देखाएको समझदारीलाई सम्मानसाथ हेर्न आवश्यक छ ।

सन् २०११/०१३ को कार्यकालमा संस्थामा अर्को बज्रपात भएकै हो । तत्कालीन कार्यसमिति के–कस्ता राम्रा काम गरे भन्ने कुरा सायद संस्थाको सामाजिक र आर्थिक प्रतिवेदनमा उल्लेख गरेको होला तर सन् २००३ देखि ९० प्रतिशतभन्दा बढी एनआरएनएहरूले मान्दै आएको र अन्तर्राष्ट्रिय रूपमा पनि अनुसरण भएको संस्थाको मुख्य परिचय– संस्थाको अस्तित्व वा भनौं संस्थाको परिभाषा नै परिवर्तन गरेर संस्था दर्ता भयो । के परिभाषा नै परिवर्तन गरेर १८२ दिनको ठाउँमा २ वर्ष बनाएर संस्था दर्ता गराउनु जरुरी थियो र ?

नेपाल सरकारले सहकार्य गर्दै आएकै थियो । संस्था दर्ता भयो र फरक मत राख्नेको आवाज दबियो र बोल्न छोडियो तर त्यसै कारणले गर्दा मध्यपूर्व र मलेसियामा कार्यरत लाखौं सच्चा र सही अर्थमा एनआरएनएहरूलाई टाढा राख्ने काम भयो । यस्तो भाष्य निर्माण गरियो कि मध्यपूर्व र मलेसिया वा कामदार भिसामा जानेहरू एनआरएनए होइनन् । 

सही अर्थमा त्यो नागरिक, जसले आफ्नो नागरिकता छाडेको छैन तर एक आर्थिक वर्षमा १८२ दिनभन्दा बढी विदेश (विधानमा सार्क मुलुकबाहेक) बसेको छ भने त्यस्तो नागरिकलाई गैरआवासीय भन्ने वा मान्ने गरेको प्रस्ट लेखिएको छ । अनि, कामदार भिसामा कार्यरत नेपालीहरू कसरी एनआरएनए भएनन् ? जसले नागरिकता त्यागे, ती हाम्रा दाजुभाइ, दिदीबहिनीहरू मात्र एनआरएनए हुन् भन्ने गलत भाष्य निर्माण हुनुको कारण संस्थाको परिभाषा परिवर्तन नै हो र स्वार्थीहरूले जानीजानी फैलाएको प्रपोगन्डा हो ।

‘संसारका मजदुर एक हौं’ भन्ने नारा लगाउनेहरू आज संसारभर फैलिएका हामी नेपालीहरू एक हौं भन्न किन सक्दैनन् ?

सन् २०१३–०१५ कार्यकालको अध्यक्ष को बन्ने भन्ने कर्ममा निकै रस्साकस्सी भएकै हो, कतिपय अग्रजहरूलाई अपमानित हुनेगरी बयानबाजी गर्न सुरु भएकै हो र संस्थाको विधानविपरीत गएर अध्यक्ष बनाउने र बन्ने काम सही थियो त ?

विधानलाई आफूखुसी व्याख्या गर्ने गलत कार्यको सुरुवात भएकै हो । व्यक्तिलाई नराम्रो भन्न खोजेको पटक्कै होइन तर विधान मिचेर अध्यक्ष बनाउनु गलत थियो, गर्नु हुँदैन थियो । सन् २०१३–०१५ र सन् २०१५–०१७ कार्यकालका अध्यक्षलगायत कार्यसमितिको कार्य गजबको थियो, सम्मानयोग्य थियो, चुनौतीपूर्ण तर सफल थियो । त्यसैले, ती कार्यकालमा हरेक आग्रहलाई सम्पूर्ण एनआरएनएहरूले आदेश मानेर पालना गर्ने गरेकै हुन् । साथै, नेपालमा त्यति ठूलो भूकम्पले पारेको क्षतिमा मह्लम बनेर एनआरएनए खडा हुन सकेको थियो र हजारौं भत्केका घरहरू निर्माण गर्न सकेको थियो । भोकाहरूले पेट भर्न पाएका थिए अनि कतिपयले शरीर ढाक्ने वस्त्र पाएका थिए ।

सन् २०१७–०१९ कार्यकालका लागि एनआरएनएहरूको साझा आमा बन्न सक्ने एक सबल र सक्षम नारी खोई ? कस्तो दबाबमा पर्ने अवस्था बन्यो र रातारात अध्यक्ष बन्ने दौडमा सरिक हुने अवस्था बन्यो ? त्यो बेला चुनावी माहोल अनि युवाहरूलाई कसले कसरी प्रयोग गरे ? त्यो बेलाका भिडियोहरू हेरेर बुझ्न सकिन्छ । युवाको जितमा धेरै रमाए र केहीले आशा पनि राखेकै हुन् तर मत कम आउने भनौं वा महिलाको हारमा एउटा पक्ष निराश मात्र होइन, संस्थामाथि नै प्रश्न गर्न थाल्यो र त्यसको असर नराम्रोसँग सन् २०१९–०२१ कार्यकालसम्म परिरह्यो । त्यतिबेलादेखि नै संस्थामा जातीय र क्षेत्रीय कुराहरूले पनि ठाउँ लिन थाले । सन् २०१९–०२१ सम्म आइपुग्दा इगो संस्थाभन्दा धेरै ठूलो भैसकेको थियो । 

तत्कालीन अवस्थासम्म पूर्वअध्यक्षमध्ये कतिपय बोलचाल नै बन्द भइसकेको थियो । सन् २०१९–०२१ कार्यकालका अध्यक्षका प्रत्याशीहरूको लामै लाइन रहे तापनि अन्त्यमा १ अध्यक्ष बन्न सफल भए । कार्यकालमा काम कति भयो÷भएन, त्यो आलेख हेर्न सकिएला तर कार्यकालको अन्त्य दुःखद हुन पुग्यो । 

विगतका सम्पूर्ण इगो, ईष्र्या र असमझदारीले यो कार्यकालको अन्त्यलाई राम्रैसँग असर गरेको थियो । अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले कहीँ कतै आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको कुरा प्रस्ट देखिन्छ तर यो विगतदेखिकै लामो नालीबाट आएको कालो–मैलो, फोहोर सबै थिग्रेर बनेको कुवा जस्तै हुन पुगेको हो । यो कार्यकालमै मुद्दा–मामिला सुरु भयो, स्वार्थीहरूले राम्रैसँग खेले र संस्थालाई विभाजनसम्म पुर्‍याउन सफल भए, अधिवेशन नै दुइटा भए । एनआरएनए विधिवत् रूपमै २ चिरामा बाँडियो । यहाँ कस–कसलाई दोष दिन मिल्छ अब ?

सन् २०२१–२०२३ कार्यकालको सुरुवात नै गलत थियो भने यो कार्यकालबाट आमएनआरएनएहरूले खासै धेरै अपेक्षा गरेकै थिएनन् । एउटा संस्था र त्यो संस्थाको एक कार्यकालका लागि ३÷३ जना अध्यक्ष बन्ने कुरा स्वाभाविक थिएन । मिलाउने नाममा संस्थालाई मजाक बनाए । राजनीतिक नेताहरूलाई डाइरेक्ट समावेश गराउन पुगे । नेताहरूको दौडधुप गजबको थियो र सबैतिर भ्याएकै थियो ।

३ अध्यक्षको कार्यकालमा ३ नयाँ काम भए कि भएनन्, थाहा भएन तर यो कार्यकालका पदीय जिम्मेवारी बोकेका नेताहरूबीचमा त्यति धेरै विवादास्पद अभिव्यक्तिहरू सुन्नुपरेन कि जस्तो देखिन्छ ।

अहिले चलिरहेको कार्यकालको अधिवेशन हेर्दा ठीकै होला जस्तो देखिन्छ । अध्यक्षका प्रत्याशी जति जना भए पनि अब त इतर पक्षको एनआरएनए अलि दह्रो होला किनकि चुनावबाट एउटा राम्रो टिम बन्ने छ । सबैतिरबाट सबल नेताहरू टिमभित्र आउलान् र संस्थाले नयाँ गति लेला भन्ने आशा गरेकै हो । कताको बहानामा एनआरएनएलाई अरू दलदलमा फसाए, कसले के–के हतकण्डा अपनाए, थाहा छैन तर दुर्भाग्यपूर्ण बन्यो । 

अझै समय छ– एकताको नाममा मजाक नगरी सबैले आ–आफ्नो व्यक्तिगत वा झुन्डगत इगो र ईष्र्यालाई कम गर्ने र अदालती विषय नबनाउने प्रण गनुपर्छ । तिथि र मिति तोकेर विश्वभरका एनसीसी र एनआरएनएहरूलाई फेरि एक पटक खुसी मात्र होइन, समुदाय र देश हितमा काम गर्न हौसला प्रदान गर्ने आँट गर्नुपर्छ । अन्यथा, एनआरएनएको अन्त्यको दोष सबैमाथि लाग्ने छ ।

पैसाले किनेको अतिमहँगो फेस वासले रगड्दा पनि आ–आफ्नो अनुहारको दाग मेटिने छैन । बुझ्न धेरै ढिला भइसकेको छ ।

ADV

सम्बन्धित खबर

Advertise