–रत्न प्रजापति
ऋतुहरूमध्ये अत्यन्तै मनोहर ऋतु हो वसन्त । वासन्ती हावाले छोएर जाँदा वैंसालु मनमा काउकुती लाग्छ । यस्तै काउकुती लगाउने वसन्त ऋतुमा मनाइन्छ रंगीन पर्व होली ।
जीवन रंगीन छ भन्ने संकेत पनि होली पर्वले दिन्छ । होली पर्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व पनि बोकेको पाइन्छ । धार्मिक र आध्यात्मिक कथनबाट सुरु भएको यो पर्वले कालान्तरमा सांस्कृतिक पक्षलाई अँगाल्न पुग्यो र यो सांस्कृतिक पर्व बन्न पुग्यो । अहिले त होली पर्व एउटा मिथक नै बनेको छ, जुन नेपालीहरूको संस्कृतिको रूपमा कायम छ ।
सत्यको विजय हुन्छ भन्ने मान्यतालाई मूल आधार मान्दै होली पर्व मनाउने गरिएको छ । विशेषतः होलिका दहनसँग सम्बन्धित कथालाई होली पर्वसँग जोडेर व्याख्या तथा विश्लेषण गर्ने गरिएको छ । नेपाली संस्कृतिको अभिन्न अंगको रूपमा विकसित भएको यो पर्वमा बिस्तारै सामाजिक महत्त्वलाई पनि प्रश्रय दिइँदै आएको पाइन्छ । यो पर्वले धार्मिक तथा सांस्कृतिक सद्भाव बढाउँछ भन्ने मान्यता रहिआएको छ ।
धार्मिक र सांस्कृतिक पर्वका रूपमा मनाइने होलीलाई पछिल्लो समय सामाजिक उत्सवका रूपमा मनाउन थालिएको छ । सामाजिक उत्सवको रूपमा होली मनाउने क्रम सुरु भएसँगै यसमा विकृति पनि भित्रिएको छ । पर्वको परम्परा निर्वाह र मिथकलाई पछ्याउने भन्दा पनि युवापुस्ताको मनोरञ्जनका लागि होली मनाउने प्रवृत्ति विकसित भएको छ । यस्तो प्रवृत्तिको विकाससँगै होली पर्वमा विकृतिको आयतन पनि बढेको छ । यस्तै भइरहे भोलि होली पर्वले अर्कै रूप लिने सम्भावना पनि बढेको छ ।
विशेषगरी युवापुस्ताले होली पर्व मनाउने क्रममा विकृतिलाई प्रश्रय दिँदै आएका छन् । युवापुस्ता होलीको सांस्कृतिक पक्ष र सांगीतिक माधुर्यलाई छाडेर ‘होली हंगामा’ भन्दै उच्छृंखल गतिविधिमा संलग्न हुने गरेको छ । होलीमा गाइने ‘जोगिरा सररर...’ अथवा ‘होलिया मेला...’ गाउनेहरूको अभाव छ बरु हिन्दी र अंग्रेजी गीतमा झुम्ने र पप र रक गीतमा रमाउनेहरूको बाहुल्य छ ।
यसले गर्दा होलीमा उच्छृंखलता सँगसँगै विकृति पनि बढ्दै गएको छ । यस्तो विकृतिको सिकार भने स्वयं युवा वर्ग नै हुँदै आएका छन् । झैझगडा, ईष्र्या, द्वेष, वैमनस्य र बदलाको भाव यही विकृतिका परिणाम हुन् । यस्तो विकृत भावनाले युवा शक्तिलाई कमजोर पार्नुका साथै युवा शक्तिको दुरुपयोगसमेत भइरहेको छ ।
होली पर्व के हो ? यो पर्व किन मनाउन थालियो ? किन मनाइँदै छ ? होली पर्वसँग कस्तो धार्मिक मिथक अथवा किंवदन्ती जोडिएको छ भन्ने कुरामा युवापुस्ता अनभिज्ञ छ । युवापुस्ताले धेरै यस्ता चाड र पर्वलाई रमाइलो गर्ने अवसरका रूपमा मात्र लिन थालेको छ । त्यसैले, मौलिक नेपाली संस्कृति लोप हुने क्रम बढेको हो । यसप्रति अग्रज पुस्ता चिन्तित छ ।
पुर्खाले पर्वहरूलाई पनि संस्कृतिका रूपमा स्थापित गरेका छन् । तर, नयाँपुस्ताले त्यही संस्कृतिमा विकृति भित्र्याउँदै गर्दा अग्रज पुस्तालाई चिन्ता लाग्नु स्वाभाविक हो ।
होली पर्वसँग रङको विशेष सम्बन्ध रहिआएको छ । होलीका विविध रङ जस्तै जीवन पनि रंगीन छ भन्ने सन्देश होलीले दिन खोजेको देखिन्छ । नयाँ र पुराना पुस्ताले आ–आफ्नै ढंगले होली मनाउने गरेका छन् । जसरी मनाए पनि होलीको धार्मिक तथा सांस्कृतिक पक्षलाई चाहिँ भुल्नु हुँदैन ।
केही हदसम्म पुरानो पुस्ताले होलीको मिथकलाई संरक्षण गर्दै आफ्नो संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्ने प्रयास गर्दै आएको छ । नयाँपुस्ताले भने होलीको मिथकलाई त बेवास्ता गरेको छ, संस्कृति संरक्षणको दायित्वलाई पनि बेवास्ता गरेको छ ।
वर्तमान समयमा युवापुस्ताका लागि जात्रा, मेला, पर्व आदि रमाइलोका बहाना मात्र बनेका छन् । त्यसमा मौलिक संस्कृति संरक्षणको दायित्व छ भन्ने यथार्थलाई अहिलेका युवाले बिर्सेका छन् । केवल रमाइलोका लागि होली खेल्ने युवाले होलीको मिथकलाई बुझेका छैनन् र बुझ्ने चेष्टा पनि कसैले गरेका छैनन् ।
खायो, पियो, नाच्यो, गायो र रमायो । यस्तैमा चाडपर्व मनाउनुको अभीष्ट सीमित भएको छ । हाम्रा हरेक चाडपर्वसँग कुनै न कुनै प्रकारको मिथक जोडिएको पाइन्छ । त्यस्तो मिथकलाई पाकाहरूले पनि नयाँपुस्तालाई बुझाउन सकेका छैनन् वा बुझाउन चाहेका छैनन् । कतिपय अवस्थामा नया(ँपुस्ताले त्यस्तो मिथकलाई बुझ्न चाहेको पनि छैन र बुझ्ने आवश्यकता पनि ठानेको छैन ।
नयाँपुस्ताले होली जस्तै अन्य सबै प्रकारका सांस्कृतिक पर्वहरूका मिथकलाई बुझिदिए त्यस्ता चाड पर्वहरूको महत्त्व अझ बढ्ने थियो । यसले हाम्रो संस्कृतिलाई अझ सुदृढ बनाउने थियो र हाम्रो संस्कृति संसारभर फैलाउन मदत गर्ने थियो ।
विगतमा होलीको दिन टोल तथा समुदायका मान्छेहरू उन्मुक्त रूपमा भेला हुन्थे । एकआपसमा खुसी र हार्दिक प्रसन्नता व्यक्त गर्थे । वसन्त राग, ख्याली, टप्पा आदि गाएर रमाउँदै नाच्दै आपसमा रङ तथा अबीर छ्यापाछ्याप गरी रमाइलो वातावरणमा होली पर्व मनाउँथे । यसो गर्दा होली पर्वले समाजमा आपसी मित्रता, भाइचारा र मेलमिलापको सम्बन्ध कायम राख्न प्रेरणा दिन्छ भन्ने मान्यता पनि छ ।
यसरी सामाजिक सम्बन्धलाई समेत सुदृढ गर्न मदत गर्ने सभ्य र सु–संस्कृत पर्व मनाउने प्रक्रियामा देखिएको विकृतिले यो पर्वको महत्त्वलाई नै घटाएको महसुस हुँदै छ । होली पर्वलाई मनोरञ्जनको अवसरको रूपमा लिने परिपाटीले गर्दा यो पर्वमा सभ्यता र संस्कृतिले भन्दा पनि आडम्बर र विकृतिले स्थान लिन थालेको छ । विशेषगरी युवापुस्ताले यस्तो विकृतिलाई प्रश्रय दिएको छ । विकृतिको सिकार पनि स्वयं युवापुस्ता नै भएको छ । रमाइलोको नाउँमा होहल्लादेखि झैझगडासम्म हुँदा सामाजिक वातावरणमै खलल पुग्ने गरेको छ ।
अचेल होलीको प्रमुख लक्ष्य नै महिलाहरूलाई प्रताडित गरी अन्य पुरुषहरूले आनन्द लिनु रहेको देखिएको छ । त्यसैले, होली पर्वमा महिला दिदीबहिनीहरू भयभीत र आतंकित हुन्छन् । होली पर्वको वास्तविक रमाइलोको अनुभव पनि उनीहरूले गर्न पाउँदैनन् । होली पर्व पुरुषहरूकै मात्र पर्व जस्तो भएको छ । यसरी आफ्नो चाड र पर्वमा अपनत्व घट्दै गयो भने संस्कृति नै मासिने सम्भावना हुन्छ ।
अहिलेको विज्ञापनको जमानामा वस्तु उत्पादक तथा विक्रेताहरूले होलीलाई पनि विज्ञापनको अवसरका रूपमा उपयोग गर्न थालेका छन् । विभिन्न मिडियाको सहयोगमा ‘होली हंगामा’का नाउँमा आफ्ना वस्तु तथा उत्पादनहरूको विज्ञापन गर्ने सुनौलो अवसरका रूपमा होली पर्वलाई उपयोग गर्दा उच्छृंखलताले प्रश्रय पाएको छ ।
‘होली हंगामा’ भनिएका मनोरञ्जनात्मक कार्यक्रमहरूमा मौलिक नेपाली संस्कृतिभन्दा पृथक् र केही हदसम्म उच्छृंखल मनोरञ्जनात्मक कार्यक्रम संचालन गरेर दर्शकलाई आकर्षित र उत्तेजित पार्ने प्रयास हुने गरेको छ ।
व्यावसायिक विज्ञापनको लोभमा गरिने यस्ता कार्यक्रमहरूले नेपाली संस्कृतिको सम्बद्र्धनभन्दा विस्थापनलाई नै सहयोग पु¥याइरहेका देखिन्छ । त्यसैले, अब चापपर्व मनाउँदा सामाजिक दायित्वबोध गर्नुपर्ने आवश्यकता पनि बढेको छ ।
वर्तमान युवापुस्तामा संस्कृति र परम्परा निर्वाहको जिम्मेवारीबोधले प्रेरित भएर भन्दा पनि केवल रमाइलोका लागि मनपरी ढंगले होली खेल्ने परिपाटीको विकास भएको छ । यसले गर्दा होली पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वमै पनि आँच आएको छ । यसप्रति अग्रज पुस्ता चिन्तित छ ।
होली पर्वमा बढेको विकृतिले गर्दा सद्भावको पर्व होलीमा वैरभाव बढाउने क्रियाकलापले प्रधानता पाउन थालेको अग्रजहरूको अनुभव छ । यस्तो परिपाटीले होली पर्वको धार्मिक तथा सांस्कृतिक पक्ष ओझेल पर्दै जाने, होलीको मिथक नै मेटिने र मनोरञ्जनको माध्यमको रूपमा सीमित रहने सम्भावना बढ्दै गएकाले बेलैमा सचेतता अपनाउनु आवश्यक देखिएको छ ।
आफ्नो परम्परा र संस्कृतिको जगेर्ना हुने किसिमले होली पर्व मनाउन स्वयं युवापुस्ता नै सचेत र जागरुक हुनु आवश्यक छ किनभने संस्कृति संरक्षण र संवद्र्धनमा युवाको भूमिका र दायित्व अहं हुन्छ ।