अचानक देखियो शुभानीको पेटमा फुस्रो दाग । सरुवा रोगको विगविगी बढिरहेका बेला शुभानीको पेटको दाग निकै चर्चाको विषय बन्यो गाउँघरमा । हुनत विगत ४ महिनादेखि सुरु भएको रहेछ, बाहिर देखिएको थिएन । दिनदिनै बढ्न थालेपछि कपडाले पनि नछोपिनेगरी बाहिर फैलियो ।
त्यसो त शुभानीले निकै लुकाउन खोजी– समाजमा सरुवा रोग लागेकालाई छिछि दूरदूर गर्ने भएकाले होला । ज्यान पातलो भए पनि ज्यानभन्दा निकै ठूला लुगा लगाई– दाग लुकोस् भनेर । अहँ, झन्झन् बढ्न पो थाल्यो ।
समयक्रमसँगै दाग बढ्दै, फैलँदै र छिप्पिँदै गयो । हुन सक्थ्यो, समयमै उपचार गराएको भए निको हुन्थ्यो । उपचार गराउन चाहिन वा जानिन । या त हुन सक्छ, उपचार गराउँदा दागबारे सबैले थाहा पाउँछन् भन्ने डर भयो उसमा । दाग बढिरह्यो ।
दाग सुरु भएको ९ महिना पूरा भएको छ । शुभानी केही दिनदेखि बाहिर निस्केकी छैन । गाउँघरमा हल्ला छ– शुभानी निकै सिकिस्त छे । तर, कोही पनि शुभानीको छेउ जान सकेको छैन (चाहेको छैन), कारण, दाग सर्न सक्छ । गाउँमा दाग निकै डरलाग्दो सरुवा रोगका रूपमा भित्रिएको छ ।
मानवीय नाताले(?) गाउँका भद्र भलाद्मी मानिएका प्रधानाध्यापक र गाविस अध्यक्षको अग्रसरतामा शुभानीलाई उपचारार्थ शहर लगियो, अस्पताल । डाक्टर र नर्सको निकै ठूलो मिहिनेतले दाग निचोरियो । निकै कष्ट भएको थाहा हुन्थ्यो शुभानीको चिच्याहट सुन्दा ।
‘बिरामी भेट्न सक्नुहुन्छ’, डाक्टरले अनुमति दिएपछि प्रधानाध्यापक र अध्यक्ष बिरामी कक्षमा प्रवेश गरे । शुभानी मुस्कुराई– दुवैलाई सँगै देखेर । दाग शुभानीको पेटबाट झिकिसकिएको थियो । शुभानीसँगै राखिएको दाग देखेर झस्किए दुवै भद्र भलाद्मी । दुवैले दागमा एकअर्काको प्रतिबिम्ब देखिरहेका थिए ।