२०८१ चैत १९ गते मङ्गलवार / Apr 01 , 2025 , Tuesday
२०८१ चैत १९ गते मङ्गलवार
Ads

दादाको नयाँ जीवन

draupadi film
मध्यान्ह
२०८१ चैत १६ गते ०९:३२
दादाको नयाँ जीवन

ईश्वरा श्रेष्ठ

जीवनका हरेक यात्राहरू अप्रत्याशित मोडहरूले घेरिएका हुँदा रहेछन् । मेरो दादाको जीवनले पनि यस्तै अतिकठिन मोड पार गरायो, जसले गर्दा मुटुको भल्भ परिवर्तन गर्नुपर्ने एकदम जटिल शल्यक्रियावाट उहाँलाई जीवनको दोस्रो मौका पाउने अवसर दियो ।

काठमाडौंस्थित मेडिसिटी अस्पतालको अत्यन्तै कुशल चिकित्सक, समर्पित नर्स र हाम्रो परिवारको अटुट साथले उहाँले मृत्युको मुखबाट फर्केर नयाँ जीवन पाउने मौका पाउनुभयो । यो अवस्था उहाँको संघर्ष, दुःख, हाम्रो आशा, विसास र मेडिसिटी अस्पतालका सबै व्यक्तित्वहरूको विसास र साथका कारण भएको हो ।

दादाले मेरा लागि गर्नुभएको त्याग र साथ, सहयोग कसरी बयान गरौं म ? भन्ने शब्द छैन । भन्नु नै पर्दा, एउटा परिवारको सदस्य मात्र नभएर परिवारकै बलियो खम्बा हुनुहुन्छ उहाँ । उहाँको कार्य र सरल जीवनशैली, सकारात्मक दृष्टिकोण र सबैलाई सहयोग गर्ने भावनाले मलाई सधैं प्रभावित पारिरहन्छ ।

समयको खेल हो । केही महिनाअघि उहाँलाई सास फेर्न गाह्रो हुने, छाती दुख्ने र कमजोरी महसुस हुने समस्या देखियो । सुरुमा उहाँले परिवारले पिर लिन्छ भन्ने लागेछ र यसलाई लुकाउने प्रयास गर्नुभयो । तर, अचानक बेहोस हुनुभयो र एम्बुलेन्स बोलाएर अस्पताल पुर्‍यायौं ।

हतारहतार विभिन्न परीक्षणपछि डाक्टरहरूले दादाको मुटुका २ वटै भल्भमा गम्भीर समस्या भएको पत्ता लगाए । उहाँको मुटुको भल्भ साँघुरो भएको थियो, जसले गर्दा सास फेर्न र रगत प्रवाहमा बाधा पुगिरहेको थियो । डाक्टरहरूले तुरुन्तै शल्यक्रिया गर्नुपर्ने बताउनुभयो । हामी सबैलाई यो खबरले आकाशले किचेजस्तो र धर्ती नै फाटेजस्तै स्तब्ध बनायो ।

साँच्चै मुटुको शल्यक्रियाको नाम सुन्दा नै आफ्नै मुटुले काम नगर्ला जस्तो हुन्थ्यो र धेरै डर लाग्थ्यो तर दादाको जीवन बचाउनु हाम्रो हरप्रयास र पहिलो काम थियो । हामीले मेडिसिटी अस्पतालको कार्डियोथोरासिक विभागका बारेमा सुनेका थियौं । सबैको सल्लाहमा त्यहाँका डाक्टरहरू मुटुको शल्यक्रियामा विशेषज्ञ भएका कारण र अस्पतालमा अत्याधुनिक उपकरणहरू रहेका हुँदा हामीले दादालाई मेडिसिटी अस्पतालमा भर्ना गर्ने निर्णय गर्‍यौं ।

त्यसैअन्तर्गत मेडिसिटी अस्पतालमा दादाको उपचार सुरु भयो । डाक्टरहरूले विभिन्न परीक्षण गरेर शल्यक्रियाको योजना बनाका थिए । उहाँलाई शल्यक्रियाका बारेमा विस्तृत जानकारी दिइयो । उहाँको मनमा रहेको डरलाई कम गर्न प्रयास गरियो । दादाले पनि डाक्टरहरूमाथि विश्वास देखाउनुभयो र शल्यक्रियाका लागि तयार हुनुभयो ।

शल्यक्रियाको दिन मलगायत परिवारका सदस्यहरू अस्पतालको प्रतीक्षा कक्षमा चिन्तित भएर बसेका थियौं । हामी सबैले दादाको सफल शल्यक्रियाका लागि प्रार्थना गरिरहेका थियौं । शल्यक्रिया ६  घण्टासम्म चल्यो । हामीले प्रत्येक मिनेट डर र चिन्तामा बितायौं । समय बित्दै गर्दा छिनछिनमा सोध्न जाँदै रुँदै फर्कियौं । अन्ततः, डाक्टरहरूले शल्यक्रिया सफल भएको घोषणा गरेर हामीलाई भेट्न दिनुभयो ।

हामी सबैले ठूलो सास फेर्‍यौं । आँखाभरी आँसु झार्‍यौं । दादालाई आईसीयूमा राखियो, जहाँ उहाँलाई निरन्तर निगरानी गरियो । आईसीयूमा दादाको अवस्था नाजुक थियो तर डाक्टर र नर्सहरूको अनेक  प्रयासले गर्दा उहाँको अवस्था बिस्तारै सुधार हुँदै आयो । आईसीयूमा दादालाई श्वासप्रश्वासमा सहयोग गर्न भेन्टिलेटरको प्रयोग गरिएको थियो । उहाँलाई विभिन्न औषधिहरू दिइएको थियो र उहाँको मुटुको कार्यलाई निगरानी गर्न विभिन्न उपकरणहरू प्रयोग गरिएको थियो ।

आईसीयूमा कार्यरत नर्सहरूले उहाँको व्यक्तिगत हेरचाह गरे । उनीहरूले उहाँलाई आरामदायी बनाउन र उहाँको मनमा सकारात्मक भावना जगाउन हरसम्भव प्रयास गरे । दादाको उपचारमा संलग्न डाक्टरहरूले हामीलाई उहाँको अवस्थाका बारेमा नियमित रूपमा जानकारी दिन्थे । उनीहरूले हामीलाई उहाँको प्रगति देखाउँथे र हामीलाई हौसला दिन्थे । उनीहरूको सकारात्मक दृष्टिकोण र व्यावसायिकताले हाम्रो मनमा आशा जगाएको थियो ।

केही दिनपछि, डाक्टरहरूले दादालाई आईसीयूबाट साधारण वार्डमा सार्ने निर्णय गरे । उहाँको स्वास्थ्यमा सुधार भएको थियो र उहाँ आफैं सास फेर्न सक्ने हुनुभएको थियो । उहाँको मुटुको कार्य पनि सामान्य हुँदै गइरहेको थियो । साधारण वार्डमा दादालाई फिजियोथेरापी र अन्य आवश्यक उपचारहरू गरियो । उहाँलाई हिँड्न र आफ्ना दैनिक क्रियाकलापहरू गर्न सहयोग गरियो । उहाँको स्वास्थ्यमा दिन प्रतिदिन सुधार हुँदै गयो । उहाँ पहिलाको भन्दा पनि बलियो र स्वस्थ हुनुभएको छ ।

मेडिसिटी अस्पतालको वातावरण सकारात्मक थियो । त्यहाँका डाक्टर, नर्स र कर्मचारीहरू सबै सहयोगी थिए । उनीहरूले हामीलाई सधैं हौसला दिए र दादाको उपचारमा सहयोग गरे । केही हप्तापछि, डाक्टरहरूले दादालाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय गरेपश्चात् उहाँ पूर्ण रूपमा निको हुनुभएको थियो । उहाँले पुनर्जन्म पाउनुभयो, फेरि खुसी र उत्साह फर्किएको थियो । साथै, डिस्चार्ज भएपछि दादाको जीवनमा ठूलो परिवर्तन आयो । उहाँले आफ्नो जीवनलाई नयाँ दृष्टिकोणबाट हेर्न थाल्नुभयो ।

उहाँले आफ्नो स्वास्थ्यलाई ख्याल गर्न थाल्नुभयो । समय–समयमा नियमित रूपमा व्यायाम गर्न थाल्नुभयो र स्वस्थ खाना मजाले खान थाल्नुभयो । हाम्रो परिवारमा दादाको यो अवस्थाबाट हामीले शिक्षा पायौं जीवन एक अनमोल उपहार रहेछ, जसलाई हामीले ख्यालठट्टा गर्नु हुन्न । यसलाई सदुपयोग गर्नुपर्छ । साथै, हामीले आफ्नो स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्छ । दादाको यो पुनर्जन्मको अवस्था मेडिसिटी अस्पतालका महान चिकित्सक र समर्पित नर्सहरूको प्रयासको परिणामका कारणले सम्भव भएको हो । अस्पताल परिवारप्रति सधैं आभारी रहने छौं । नयाँं जीवनको शुभकामना दादा ।
 

ADV

सम्बन्धित खबर

Advertise