-भारती न्यौपाने
अनन्त चिन्तन र स्तम्भित विचारको तापले
बरफ जस्तै पग्लिएर
जब म तिमीभित्र उभिएँ
जलाशय जस्तै तरल तिम्रो हृदयमा
एउटा पानीको घर बन्यो ।
जतनले वर्तनको आकारमा रहने
सृष्टिको प्रक्रियाबाट
निरन्तर कोसिस गरिरहँदा
अनेक रूपमा रूपान्तरित भए थोपाहरू
कहिले पवित्र कलस
त कहिले गन्धा नाली
कहिले आचमनीबाट झर्ने
पञ्चामृतको थोपोझैं
त कहिले सडक पखालिरहेको बेग
निरन्तर सल्बलाइरह्यो
हृदयमा उभिएको पानीको घर ।
पवित्र जलाशयबाट उठेका कैयौं
पानीका फोकाहरू जीवन नपाउँदै
पट्ट फुटेर पानीमै बिलाए ।
समयले खोजेको परिवर्तन
विचारका उध्र्वरेखाबाट उक्लिएर
कहिले तिमीबाट ममा
कहिले मबाट तिमीमा
अविचलित बदलिरहे ।
समयको रेखाबाट उठेका
जीवनझैं फोकाहरू
फुटेर पानीझैं बनिरहे
उभिएकाहरू स्थिर बनी उभिइरहे
पग्लिएर कोही नदी भई बगिरहे
कोही जमेरै बरफझैं बनिरहे ।
जीवनका गीतझैं
पानीका घरहरू
तरल हृदयमा ध्वनित भइरहे
कहिले तिमीभित्र त कहिले मभित्र
एउटा पानीको घर बनिरह्यो ।
प्रकृतिको काखमा एउटा जीवन
जन्म र मृत्युको चक्रमा
पानीको घर बनाइरह्यो
अनन्त चिन्तन
र स्तम्भित विचारको तापले
बरफ जस्तै पग्लिएर
जब म तिमीभित्र उभिएँ
जलाशय जस्तै तरल तिम्रो हृदयमा
एउटा पानीको घर बन्यो ।