–देवीराम पाठक
हजारौँ चोट सहेर बस्ने बानी परेछ
दुखाइलाई थाम्ने, कला मनले सिकेछ ।।
अन्यायको आगोले भतभती, मन पोलिरहे पनि
शान्त रहनु नै नियति बनेछ ।।
गद्दारीसँगको संगतले इमानदार भएर पनि
आज बेइमानी कहलिनु पर्ने, दिन आएछ ।।
सत्य बोल्दा आफै दोषी बन्नु पर्ने
यो दुनियाँको नियम नै विडम्बना रहेछ ।।
पर्खन्छु समयको चक्र घुम्नेछ एक दिन
हिसाब हुनेछ, न्यायिक निर्णय आउनेछ ।।
तिम्रा झुटका पर्दाहरू हट्नेछन्, उदाउनेछ, सविता
पहाड एकाएक ढल्नेछन्, सत्य लम्कनेछ, ।।
तिम्रा ती कुटिल चालहरू शिथिल हुनेछन्,
ओइलाउने छन्, ती कपटी मुस्कानहरू ।।
बिस्तारै हराउँदै जानेछन् विकल्पहरू
खुसी हुनेछन् मृत आत्मा, सविता उदाउनेछ ।।
देख्ने छांै त्यो दिन सत्यको विजय हुनेछ
कुना कन्दरामा इमानका गीत गुन्जिने छन् ।।
विगतमा आँसुले सिञ्चित ती सपनाहरू
भविष्यमा न्यायको उज्यालो ले फक्रिनेछन् ।।