२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

कविता : क्यालेन्डर

Nada
२०८२ वैशाख १३ गते ०६:००
Shares
कविता : क्यालेन्डर

-जुनू घिमिरे

ncell

पूरा वर्ष बाँचेर बिदा भएको 
भित्ताको क्यालेन्डर
जाँदाजाँदै के सम्झिँदै जान्छ होला ? 

क्यालेन्डर भित्रिएको दिन
उत्सुकता भरिएको मन
चञ्चल हात 
बेफिक्री आँखाले पत्र–पत्र खोतल्छन् 
जसरी खोतलिन्छन् नवदुलहा–दुलही
विवाहको पहिलो दिन ।

सायद भित्र्याउने उत्सुक हुन्छन् 
भित्रिने भन्दा
थोरै डर हुन्छ भित्रिनेलाई
कस्तो घरको भित्तामा पुगेर टाँसिने हुँ ?
जुन भित्तामा टाँसिएँ
त्यहाँ आत्मसम्मान पाइन्छ कि पाइन्नँ ?
खुसीका केही बुँद
आफ्नो भागमा पर्छन् कि पर्दैनन्
त्यो भन्दा पनि ठूलो त्रास बोक्छ मनले
जुन घरमा भित्रिएँ, त्यो घरमा 
समयको सूत्रभित्र
मान्छे हिँडाउन सक्छु कि सक्दिनँ ? 

कति अप्ठ्यारो छ
सधैं भित्तामा झुन्डिने क्यालेन्डरलाई पनि 
जति अप्ठ्यारो छ नारीलाई
जो जन्माउन जन्मिन्छन्
र, बचाउँछन् समय र सृष्टि । 

घडी, पला, बार, गते र महिना हुँदै
एक वर्ष बूढो हुन तयार हुन्छ क्यालेन्डर
जसरी
चुपचाप बूढो हुन तयार हुन्छन् बा
के नै पाउने अभिलाषा राख्छन् र
समयका साक्षीहरूले ? 

धेरै कुरा दिएर उप्किन्छ क्यालेन्डर
पाउने आशामा उसले कर्म गरेको होइन
ऊ त बस्
जिम्मेवारी निभाइरहन्छ 
तर, हाम्रा लागि बूढो भएको क्यालेन्डरलाई
वर्ष पूरा गरेर जाँदै गर्दा कसले सोध्छौं–
‘तिमीले मबाट के लिएर गयौ ?’
प्mगत् हामी लिन जानेका मान्छेले 
ब–आमालाई चाहिएका बेला
हात दिन नजानेझैं
क्यालेन्डरलाई माया दिन जानेनौं ।

ताजा खबर

सम्बन्धित खबर