-अनुरोध शर्मा
नेपाली साहित्यमा परिष्कृत सिर्जना गरिरहेका सर्जक हुन् रूपक अलंकार । साहित्य लेखनसँगै साहित्यिक अभियान र प्राध्यापनमा समेत संलग्न रूपक संस्कृतमा (वेदमा) आचार्य तथा नेपाली साहित्यमा स्नातकोत्तर हुन् ।
रूपक अखबारी लेखन र साहित्य समालोचनामा पनि सक्रिय छन् । बेलाबखत आइरहने पुस्तक समीक्षा वा टिप्पणीहरूमा पनि उनलाई पढ्न सकिन्छ ।
रूपक लामो समयदेखि नेपाली गजल परिष्कार अभियानमा पनि संलग्न छन् । गजलप्रधान संस्था अनाममण्डलीका अध्यक्षसमेत हुन् रूपक ।
‘देशको पुर्पुरो’ नामक गजलकृति ल्याएका रूपकले दोस्रो कृतिका रूपमा ‘विश्रान्त’ महाकाव्य बजारमा ल्याएका छन् । छन्द साधनामा विशेष रुचि राख्ने उनले यस महाकाव्यमा देशको १० वर्षे सशस्त्र द्वन्द्वको चित्र उतार्ने कोसिस गरेका छन् ।
‘विश्रान्त’ संरचना र आयामका दृष्टिले महाकाव्य बनेको छ । १३ वटा सर्गमा बद्ध ‘विश्रान्त’ मध्यम आयामको महाकाव्य हो । विगतमा देशमा चलेको हिंसात्मक सशस्त्र द्वन्द्वलाई विषय बनाएको यस महाकाव्यमा त्यही सन्दर्भका अनेक परिवेश र परिघटना प्रस्तुत गरिएको छ ।
द्वन्द्वको भुंग्रो कसरी हुर्हुराएर फैलियो अनि उक्त द्वन्द्वले के कस्ता वितण्डा मच्चायो ? गाउँले मनोविज्ञान र सामाजिक परिवेश कस्तो रह्यो ? मानिसहरू कसरी र केका लागि द्वन्द्वमा उत्साहित बने ? केकेसम्म भोगे, गरे र अन्त्यमा त्यसबाट के उपलब्धि हासिल गरे वा सकेनन् ? भन्ने विषयलाई काव्यात्मक ढंगले प्रस्तुत गरेका छन् कविले यस कृतिमा ।
एउटा सामान्य ग्रामीण परिवार र परिवेशका पात्रहरूलाई कथाका मूल पात्र बनाएर अघि बढेको महाकाव्य फैलिँदैफैलिँदै जान्छ र द्वन्द्वको अप्रत्यासित अवसानसम्म पुग्छ ।
अप्रत्यासित यस अर्थमा कि द्वन्द्वको लक्ष्य र उद्देश्य पूरा नभई द्वन्द्व सम्झौतामा पुगेर टुंगिन्छ । सम्झौतामा टुंगिएको द्वन्द्वपछिको हरेक अवस्था सम्झौता र मिलिभगतबाटै चल्छ ।
विराट अपेक्षाबाट सुरु भएको द्वन्द्व अन्ततः झिनो आशामा गएर बिलाउँछ । केही सीमित व्यक्तिहरू सदैव शक्ति र सत्तामा रहेर मस्ती गर्ने तर द्वन्द्वका मूल सारथिहरू भने सडक र पेटीमा बस्ने बाध्यता बन्छ ।
यही र यस्तै अवस्थालाई महाकवि अलंकारले ‘विश्रान्त’मा देखाएका छन् । महाकाव्यमा ‘चेतना’ पात्रलाई ‘विवेक’ र ‘साहस’का रूपमा प्रस्तुत गरेका छन् । तथापि, चेतनाको अप्रत्यासित अवसानले महाकवि शून्यवादतिर उन्मुख बन्छन् । चेतनाको अवसान क्रान्तिका सन्दर्भमा शून्यवादको प्रस्थान हो ।
यसर्थ, त्यति साहसी, प्रस्ट र निर्भीक अनि लक्ष्य–प्रस्ट चेतनालाई अर्को कथाको पात्रमा निरन्तरताका लागि भए पनि बचाइराख्नु उपयुक्त हुन्थ्यो कि भन्ने पाठकलाई लाग्न सक्छ ।
तथापि, रूपक अन्त्यमा आएर ‘टाउको लुकाउन’ प्रयासरत छन् । ‘प्रगतिवादी’को प्रहारबाट बच्ने उपायका रूपमा महाकाव्यको बिसौनीमा उनले क्रान्तिको अर्को अध्याय बाँकी नै रहेको सन्देश भने दिएका छन् । निराशा, कुण्ठा, अविकास, अराजकताका बी(चमा पनि हालसम्मका सकारात्मक उपलब्धिहरूको रक्षा गर्दै अझ सुन्दर भविष्यको कामना गरेका छन् उनले ।
भन्छन्–
हिजो लडेको उपयुक्त लागी
अझै हिँडेको नि म हैन भागी
छु चेतनाको स्मृतिले बिमार
परन्तु स्विकार्दिनँ आज हार । (पृ. २१५)
जब सहयात्री चेतनाको अवसान हुन्छ, तब बिक्षिप्तझैं बनेको म पात्र शोकलाई शक्तिमा बदल्ने प्रयास गर्छ । अनि, चेतनाको अवसानलाई पुनः क्रान्तिका लागि होमिन बाध्य पार्ने परिघटनाका रूपमा लिन्छ । र, भन्छ–
हो क्रान्तिको रूप बदल्नुपर्छ
विध्वंशका आकृति भुल्नुपर्छ
यी सिर्जनाका बिरुवा उमारी
ढकाउँदै जान्छु म खेत–बारी । (पृ. २१६)
यसरी महाकाव्यको नाम ‘विश्रान्त’ दिएर क्रान्ति ‘अविश्रान्त’ बगिरहने सन्देश दिन रूपक सफल छन् ।
महाकाव्यमा एक दर्जनभन्दा बढी पिंगल छन्दको प्रयोग गरिएको छ । छोटा आयामका छन्दमा बढी खेलेका छन् कविले । प्रचलित छन्दहरूकै बाहुल्य कृतिमा देखिन्छ । छन्दोबद्ध महाकाव्यका रूपमा ‘विश्रान्त’ आएको छ ।
नेपाली महाकाव्य परम्परामा एउटा गतिलो इँट बनेर आएको ‘विश्रान्त’ले नेपाली छन्दकविता परम्परामा पनि उल्लेख्य योगदान दिन सक्छ । अत्यन्त सरल र स्वाभाविक शैलीमा लेखिएको यो महाकाव्य जुनकुनै उमेर समूह र स्तरका पाठकका लागिसमेत चाखयोग्य हुन सक्छ ।
शिखा बुक्सले प्रकाशन गरेको ‘विश्रान्त’को मूल्य ३७५ रुपैयाँ छ ।