
काठमाडौं : मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएपछि मधेश प्रदेशमा संविधानको धारा १६८ को (२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।
सर्वोच्च अदालतले विश्वासको मत लिन आदेश दिए अनुसार बोलाइएको प्रदेशसभा बैठकमा बहुमत नपुग्ने सुनिश्चित भएपछि यादवले रोष्टममै राजीनामा घोषणा गरेका थिए । उनले मन्तव्य राखिरहेकै बेला विपक्षी सात दलका सांसदहरू बैठक बहिष्कार गर्दै बाहिरिएका थिए ।
सत्ता साझेदारको मात्र समर्थनले विश्वासको मत नपुग्ने ठहर गर्दै उनले पद खाली गरेका हुन् । यसअघि धारा १६८(३) अनुसार ठूलो दलका नेता भन्दै गरिएको उनको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै सात दलका ७४ सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए ।
यादवको राजीनामासँगै अब प्रदेश प्रमुखले दलहरूको बहुमतीय समर्थनसहित धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।