
नेपाली माटो अहिले मौन छ । यद्यपि, यसले इतिहासका प्रत्येक मोडमा आफ्नो भाषा, रीतिरिवाज, संस्कार र संस्कृति बोल्दै आएको छ । कहिले चित्कार, कहिले आँसु, कहिले विद्रोहका पाइला अघि बढाउँदै, कहिले बलिदानको रगतले भीज्दै, नेपाली माटो सधैँ केही न केही भोगिरहेको छ ।
यही माटोले २००७ सालमा राणाशासन उखेलेको थियो भने २०१७ सालपछि पञ्चायती शासन भोग्यो । २०४६ सालमा बहुदलीय प्रजातन्त्र ल्यायो, जनतामा हर्ष फैलियो । तर २०५२ सालमा जनयुद्ध सुरु भई देश फेरि द्वन्द्वतिर मोडियो । २०६२÷०६३ मा राजतन्त्र समाप्त भई नेपाल गणतन्त्रमा प्रवेश ग¥यो । आज फेरि यही माटो नयाँ पुस्ताले खोजिरहेको नयाँ परिवर्तनको यात्रामा, ‘जेनजी’को नाममा, इतिहासको अर्को अध्यायको साक्षी बन्न बाध्य छ । तर, प्रत्येक चरणमा उठ्ने एउटा प्रश्न भने अझै पनि अनुत्तरित छ–अन्ततः नेपाली माटोले चाहेको र खोजेको कुरा के हो ?
भूगोलका हिसाबले नेपाल हिमाल, पहाड, तराईका फाँट, हरिया जंगल, नदी, खोला, तालतलैया, झरना, थुम्का–टार र बेशी–पहाडले बनेको राष्ट्र हो । खानी, जडिबुटी, जनावर, उर्वर जमिन र विविध प्राकृतिक सम्पदाले भरिपूर्ण यो नेपाल कतामा कमी थियो र किन प्रत्येक दशक उथल–पुथलमा फसिरहन्छ ? यो विषयमा बुद्धिजीवी र राजनीतिक दलका नेताहरू बसि छलफल गर्न ढिला गर्नु हुँदैन । संसारकै अग्लो शिखर होस् वा प्राकृतिक सम्भावना– सबै भएका देशमा राजनीतिक द्वन्द्व किन निरन्तर उब्जिरहन्छ ? बदलिँदो विश्व परिवेशमा नेपाली माटोले वास्तवमा के खोजिरहेको छ ? यही विषयमा केही चर्चा गरौँ ।
२००७ सालको क्रान्तिले १०४ वर्ष लामो राणाहरूको निरंकुशतालाई अन्त्य ग¥यो । बोल्ने, लेख्ने स्वतन्त्रता नभएको, सारा राज्यशक्ति राणाको हातमा सीमित परेको अवस्थामा नेपाली माटोले स्वतन्त्रता खोज्दै थकित भएको थियो । भारतीय दूतावासमा सरण लिन बाध्य बनेका राजा त्रिभुवन शाह, भारत र राजनीतिक दलहरूको संयुक्त प्रयत्नपछि मात्र राणाशासन ढल्यो र देशले प्रजातन्त्रको पहिलो मिठास चाख्यो ।
तर, प्रजातन्त्र प्राप्तिपछि २००७ सालदेखि २०१७ सालसम्मको दशक भने राजनीतिक अस्थिरतामै बित्यो । स्वतन्त्रता आइसके पनि दल, राजतन्त्र र राणाहरूबिचको अहंकार, पारस्परिक खिचातानी र भारतको बदलिँदो स्वार्थले देश उभिन सकेन । भारतले नेपाललाई भुटानी मोडेलतर्फ लैजान खोजेको भनाइ, रक्षा तथा परराष्ट्र मन्त्रालय आफ्नो मातहत राखिएको घटना, जवारलाल नेहरू र इन्दिरा गान्धीको कूटनीति–सबैले नेपाली माटोलाई थप चुनौती दिए ।
२०१५ मा आम निर्वाचन घोषणा भई २०१६ मा भएको चुनावमा नेपाली कांग्रेस बहुमतमा आयो । तर कांग्रेसभित्रकै कलह, निरन्तर सरकार ढल्ने र बन्ने संस्कार र प्रतिपक्ष कम्युनिस्टको सीमित प्रतिनिधित्व–यी सबैले प्रजातन्त्रलाई मजबुत बन्न दिएनन् । २००७ देखि २०१७ सम्मको समय राजनीतिक अस्थिरताको दशकका रूपमा परिचित रह्यो ।
यस पृष्ठभूमिमा दलहरूको अकर्मण्यता र भारतको बढ्दो प्रभाव देखेर राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरे । दल प्रतिबन्धित भए, तर असंलग्न परराष्ट्र नीति, पञ्चवर्षीय योजना, शिक्षा–स्वास्थ्य सुधार, सडक निर्माण र उद्योग स्थापनाले कुनै हदसम्म राष्ट्रिय स्वाभिमान टिकाइ राख्यो । यही अनुभवपछि २०४६ मा नेपाली माटोले पुनः बहुदलीय प्रजातन्त्र रोज्यो । सञ्चारमाध्यम स्वतन्त्र भए, निजी सञ्चार बढे, विदेशी लगानी बढ्यो, विकासका संकेतहरू देखिन थाले ।
तर राजनीतिक स्वतन्त्रताको प्रयोगसँगै हरेक दलले विभिन्न भातृ संगठन र कर्मचारी युनियन विस्तार गर्दै राज्यका हरेक क्षेत्रलाई भागबन्डाको अखडा बनाए । न्यायालयसम्म राजनीतिक भर्ती केन्द्रजस्तो बन्न थालेपछि न्यायको ध्वंस, भ्रष्टाचारको वृद्धि र सुशासनको विघटन जस्तै भयो । तर नेपाली माटोले यो चाहेको थिएन– यसले त न्याय, पारदर्शिता, विधिको शासन, समान अवसर, शिक्षा, स्वास्थ्य र रोजगारी मागेको थियो ।
२०५२ पछि माओवादी जनयुद्धले मुलुक फेरि रक्तरंजित बनायो । कयौँले ज्यान गुमाए, घाइते भए, अपाङ्ग बने, अझै बेपत्ता छन् । जनयुद्धको उच्च बिन्दुमा माओवादी र ७ दलबिच सहमति भयो । मुलुक जनआन्दोलनमय भए । २०६२÷०६३ को आन्दोलनपछि लोकतन्त्र तथा गणतन्त्र आयो । तर समयक्रममा विदेशी स्वार्थको खेल बढ्दै गयो । विभिन्न फाउण्डेसन, एनजिओ–आइएनजिओ, एमसीसी र बिआरआई जस्ता परियोजनामा दलहरूको निर्भरता र कमजोरी देखियो । संविधान २०७२ जारी भयो, तर दलहरूले आफ्नै स्वार्थमा त्यसको दुरुपयोग गर्दै गए ।
केपी शर्मा ओलीको कार्यकालमा सडक, सुरुङ्ग मार्ग, खेलकुद संरचना, क्रिकेट मैदान विकास, तेल–ग्यास सम्भावना अनुसन्धान जस्ता पहल भए । तर, युवाको विदेश पलायन रोकिएन । दुईतिहाइको सरकारसम्म टिक्न नसक्ने हाम्रो राजनीतिक चरित्रले स्थिरता कहिल्यै जम्न दिएन ।
विश्व राजनीतिमा पनि नेपालप्रति चासो बढ्दै गयो । विभिन्न फाउण्डेसनमार्फत विदेशी प्रभाव र एजेण्टहरूको सक्रियता बढ्यो । एमसीसी पारित गराउने प्रक्रियालाई लिएर दलहरूको निर्बलता झनै प्रष्ट देखियो । यही पृष्ठभूमिमा जेनजी आन्दोलन भड्कियो, जसमा धेरैको दाबीअनुसार भित्री नेटवर्कमा विभिन्न विदेशी फाउण्डेसनसँग नजिक तवका स्थानीय पात्रहरू पनि सक्रिय थिए ।
नेता–दलबीच कटुता, भ्रष्टाचारको चरम सीमा, बेरोजगारी, युवा पलायन, विदेशी हस्तक्षेपको बढ्दो जोखिम, यी सबैले नयाँ पुस्तालाई सडकमा ल्याएको हो । जेनजी आन्दोलनमा ७६ जनाको ज्यान जानेजस्तो दुःखद घटना भयो, थुप्रै घाइतेहरू भए । आन्दोलनबाट उठाइएका केही आकांक्षाहरू आज पनि अन्योलमै छन् ।
अन्ततः नेपाली माटोले खोजेको कुरा के हो ? यसको उत्तर धेरै जटिल लागे पनि सार भने स्पष्ट छ–माटोले सुशासन, पारदर्शिता, समानता, भ्रष्टाचारको अन्त्य, असल नेतृत्व, रोजगारी, औद्योगीकरण, शिक्षा र स्वास्थ्यमा पहुँच, प्राकृतिक स्रोत–साधनको सदुपयोग र सर्वसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको पहिचान खोजिरहेको छ । युवालाई विदेश धपाउन होइन, उनीहरूको सपनाले देश हरियो बनाउन खोजिरहेको छ ।
माटो भन्छ– मलाई विदेशी बुठ नबजारिदेऊ । मलाई रगतले होइन, पसिनाले सिंच । मलाई उजाड मरुभूमि होइन, युवाको आशाले हरियाली बनाऊ । मलाई विदेशी बजारको उपनिवेश होइन, स्वतन्त्र, सार्वभौम राष्ट्र हुन देऊ । आज नेताहरूले यो आवाज सुन्न जरुरी छ, किनकि माटोले खोजिरहेको छ–सुशासन, समानता, भ्रष्टाचारमुक्त शासन, असल नेतृत्व र स्वतन्त्र नेपाल । र, यो यात्रामा दलहरू अनिवार्य रूपमा सुधारिनुपर्छ, सच्चिनुपर्छ । यही हो माटोको माग, माटोको आवाज ।