
काठमाडौं : मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूबीच छलफल सुरु भएको छ ।
प्रदेश प्रमुख सुरेन्द्रलाल लाभले संविधानको धारा १६८ को (२) अनुसार नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि छलफल सुरु गरेका हुन् ।
मुख्यमन्त्रीका लागि कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले दाबी गर्दै आएका छन् । केहीबेर अघि सुरु भएको सात दलको सहमतिले नै अन्तिम नाम तय हुनेछ ।
यसअघि पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जितेन्द्र सोनल मुख्यमन्त्री बनेका थिए । उनले राजीनामा दिएपछि नेकपा (एमाले)का सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भए ।
तर त्यो नियुक्ति गैरसंवैधानिक भएको भन्दै सात दल सर्वोच्च पुगेका थिए । सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि यादवले मत नलिएर राजीनामा दिएका थिए । जारी छलफलमा कांग्रेसले ठूलो दल भएको हैसियतले नेतृत्व आफ्नो हुनुपर्ने तर्क गर्दै आएको छ ।
यद्यपि सात दलभित्र सभामुख, मुख्यमन्त्री, आयोग तथा मन्त्रिपरिषद्को बाँडफाँडको हिस्सा समेटेर ‘प्याकेज’मा सहमति बनेपछि मात्रै नयाँ मुख्यमन्त्री टुंगो लाग्ने बताइएको छ ।