२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

राजनीतिक परिवर्तन र समाजिक दायित्व

shivam cement
डा. कृष्ण बेलबासे
२०८२ मंसिर १९ गते ०७:५३
Shares
राजनीतिक परिवर्तन र समाजिक दायित्व

कृष्ण बेलबासे
विगत ३५ वर्षदेखि नेपालको राजनीतिक परिवर्तन र प्रजातान्त्रिक शासन व्यवस्थाका नाममा भएका विभिन्न गतिविधि र तिनका परिणाम मूल्यांकन गर्दा, आज समय आएको छ कि हामीले आफ्नो पुराना क्रियाकलापहरूको जिम्मेवारी लिँदै सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्छ । यो आलेख पढ्ने धेरै व्यक्तिहरू अब यसलाई कारबाहीका रूपमा व्याख्या गर्नेछन् किनकि यसले आफ्ना गल्ती स्वीकार गरेको छ । यदि यसका लागि सजाय दिइनु छ भने म आफूले पञ्चायती शासनकालका चारपटक र कांग्रेशी शासनकालमा एकपटक जेलमा थुनिएको र शारीरिक र मानसिक यातना भोगेको कुरा प्रकट गर्न चाहन्छु ।

परिवर्तन सकारात्मक दिशामा भएको खण्डमा प्रगति भनिन्छ तर यदि परिवर्तन नकारात्मक दिशामा जान्छ भने त्यसलाई अधोगति वा विनाश मानिन्छ । दुःखको कुरा, ठुलो बलिदानी भए पनि नेपालमा २०४६÷४७ र २०६३÷६४ का परिवर्तनहरूले देशलाई सकारात्मक दिशा दिन सकेनन् । यसको मुख्य कारण राजनीतिक नेतृत्वको असक्षमता र अनैतिकता थियो । यसका परिणामस्वरूप, आजको दिनमा नेपालमा सक्षम, नैतिक, इमानदार र प्रतिबद्ध नेतृत्वको संख्या निकै कम छ । राजनीति अब स्वार्थका लागि होइन, जनहित र राष्ट्रिय सुरक्षाका लागि केन्द्रित हुनुपर्छ । राजनीतिक दलका कार्यकर्ता, समर्थक र मिडिया समूहहरूले झुटो प्रचार फैलाएर देशको राजनीतिक सिद्धान्त र आदर्शलाई विकृत बनाएका छन् ।

नेपालको समाजमा पश्चिमी प्रभावका कारण नकारात्मक परिवर्तन आएका छन्, जसले हाम्रो चिन्तनशैली, व्यवहार र जीवनशैलीमा गहिरो असर पारेको छ । पहिलेका सामाजिक मूल्यहरू ‘त्याग’मा आधारित थिए जबकि अहिलेका मूल्यहरू ‘भोग’ र ‘आर्जन’मा केन्द्रित भएका छन् । यी कारणहरूले परिवर्तन कहिले र कुन दिशातर्फ जाने हो भन्ने थाहा छैन ।

तीन महिनाअघि जेनजी आन्दोलनका नाममा एक सशक्त आन्दोलन भएको थियो, जसले स्वार्थपूर्ण राजनीति र शासनमा संलग्न नेतालाई सत्ताबाट बाहिर ल्याएको छ । यसले देखायो कि राजनीतिक दल र नेताहरू अझै पनि स्वार्थ र मोर्चाबन्दीमा जुटेका छन् । जेनजी आन्दोलनका युवाहरूको भूमिका पनि यहाँ विचारणीय छ । यस आन्दोलनका कारण धेरै युवाहरूले आफ्नो जीवन गुमाए, केही घाइते भए र अन्यका घर र व्यवसायमा तोडफोड र आगजनीका घटना भए । यद्यपि, यी सबै कार्य केवल जेनजी आन्दोलनकर्ताको जिम्मेवारी मान्न उचित हुँदैन । भ्रष्टाचारी र स्वार्थीविरुद्ध उभिएको आन्दोलन जब विध्वंशको रूप लिन्छ, तब त्यो देशको भविष्यका लागि घातक बन्न जान्छ ।

त्यसैले, यस प्रकारको विध्वंश कार्यलाई उचित ठान्न सकिन्न । यद्यपि आन्दोलनका नेता र सहभागीहरूले नैतिक जिम्मेवारी लिनुपर्ने देखिन्छ । यदि भ्रष्टाचारीको सम्पत्ति नष्ट गर्नुभन्दा, त्यसलाई कानूनी दायरामा ल्याएर जफत गरिँदा राष्ट्रको सम्पत्ति सुरक्षित राख्न सकिन्थ्यो । यसले भ्रष्टाचारका विरुद्ध डर र अनिश्चितता सिर्जना गर्न सक्थ्यो । तर यस्तो नगरेपछि ती भ्रष्टाचारीहरूको सहानुभूति र समर्थन प्राप्त हुन थाल्छ ।

अब प्रश्न उठ्छ, के वर्तमान सरकारले जेनजी आन्दोलनका मागहरू पूरा गर्न सक्छ ? र देशका ज्वलन्त समस्या, जस्तै– भ्रष्ट राजनीति र कमजोर नेतृत्वका समाधान के हो ? अहिलेको सरकार गठनको वैधानिकता र यसको कार्यक्षमता विवादास्पद छ । तथापि यसबारे धेरै बहस भइरहेको छ । एक कुरा भने पक्का छ– नेतृत्वको प्राथमिक उद्देश्य भनेको अरूको जीवनस्तर उन्नत पार्नु हो न कि व्यक्तिगत स्वार्थ पूरा गर्नु । यदि नेतृत्वले यो कुरा बुझ्न सक्छ भने मात्रै देशमा स्थिरता र प्रगति सम्भव हुनेछ ।

नेतृत्वको पुनः परीक्षणको आवश्यकता यथार्थ हो । हाम्रो राजनीतिक परिपाटीले नेतृत्वको पुनः परीक्षणको आवश्यकता प्रस्तुत गरेको छ । नेतृत्वमा रहेका अधिकांश व्यक्ति आफैंलाई आदर्शवान् देखाउन प्रयास गर्छन् तर उनीहरू सत्तामा पुग्दा भ्रष्टाचार र जनविरोधी गतिविधिमा संलग्न हुन्छन् । यसैले, नेतृत्व पुनः प्रशिक्षण र मूल्य मान्यताको आवश्यकता छ ।

आजको दिनमा, नेपालमा राजनीतिक दलहरू पश्चिमी प्रभाव र निजी स्वार्थका कारण विकृत भएका छन् । यद्यपि चुनाव प्रक्रियाले सरकार गठन गरेको भए पनि यसले केवल विदेशी दबाब र स्वार्थहरूको पूर्तिका लागि काम गर्न सक्छ । राष्ट्रिय सुरक्षाको पक्षमा कोही पनि देखिँदैन । प्रत्येक व्यक्तिको मुख्य उद्देश्य अब निजी स्वार्थ र विदेशी दलालीमा परियोस् भन्ने देखिन्छ । त्यसैले, युवाहरूको मानसिकता बदल्न आवश्यक छ । उनीहरूले देशको अस्तित्व रक्षा, सामाजिक सद्भाव कायम राख्ने र जनताको अवस्थाको सुधारका लागि कदम चाल्नुपर्छ । यदि युवाहरूले देशका वास्तविक समस्या ध्यानमा राखेर कदम चाल्ने हो भने, उनीहरूको योगदानले राष्ट्रको भविष्यलाई उज्जवल बनाउन सक्छ ।

अन्ततः पुरानो पुस्ताका व्यक्तिहरूको अनुभव र ज्ञानबाट युवाहरूले सिक्नुपर्छ । देशको भविष्यलाई सुरक्षित बनाउन, भ्रम, स्वार्थ र उक्साहटबाट मुक्त भएर देशको समृद्धिका लागि काम गर्न आवश्यक छ । यसो नगरेमा, हामी पुराना पुस्ताले भोगेका कष्ट र दुःखका अनुभव नयाँ पुस्ताले झेल्नुपर्नेहुन्छ ।
 

ताजा खबर

सम्बन्धित खबर