२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

म खुलेर जिउन चाहन्छु

shivam cement
अन्जु न्यौपाने
२०८२ मंसिर २१ गते १३:०६
Shares
म खुलेर जिउन चाहन्छु

मलाई एउटा धुन असाध्यै अप्रिय लाग्छ । आजसम्म सुनेकामध्ये नै सबैभन्दा दिक्कलाग्दो । र, यो धुन दिनको सुरुवातमै सुन्नुपर्छ । बिहान आँखा नै यही धुनले खुलाइदिन्छ । यो धुन हो– अलार्मको ।  

हरेक बिहान लाग्छ, यो अलार्म कति छिटो बजेको ! 

समय अलिक ढिलो चलिदिए पनि त केही आराम पाइन्थ्यो । तर न अलार्मले ‘तँ धेरै थाकेको छस्, एकछिन अझै आराम गर्’ भनेर दया देखाउँछ र आफ्नो धुन बजाउन छाड्छ, न समय रोकिन्छ । 

हुन त समय परिवर्तनशील छ, अरु जम्मै भौतिक कुरा परिवर्तनशील छन् र मन पनि । परिवर्तन भइरहने चिजलाई बाँध्न खोज्नु त मूर्खता नै हुन जाला, तर यसको पछिपछि दौडिएको दौडियै गर्नुपर्छ भन्ने त होइन नि । समयकै डोरीले आफूलाई सधैं बाँधिरहनु त कति बाध्यात्मक अवस्था ! उही समयमा हरेक दिन उही दैनिकी बिताइरहँदा कहिलेकाहीँ आफू चेतन–मानव नभएर रोबोर्ट पो भइएछ कि भन्ने अनुभव हुन्छ । कम्प्युटरबाट समय र काम सेटिङ गरेर राखेको रोबोर्टजस्तो !

रोबोर्टलाई त यसमा केही फरक पर्दैन तर मान्छेमा त भाव पनि हुन्छ नि । सधैं शरीर मात्रै चलाइराख्दा आफ्नो भावलाई सम्बोधन गर्नै पाइँदैन । आफूलाई सम्बोधन नभएको कारण जम्मा भएका विविध भावहरूले आपसमा लडेर असन्तुष्टि व्यक्त गरिरहँदा जीवन नै बेकारजस्तो लाग्छ । भित्रैदेखि उकुसमुकुस भएर आउँछ । त्यो छट्पटीलाई सम्हालेर काम गर्दाको पीडा बिदेसिएका नेपालीलाई जति अरु कसलाई थाहा होला ! 

यहाँ उठ्न मन नलागे पनि उठ्नैपर्छ किनभने जीवन यहाँ भावनाले होइन, जिम्मेवारीले चल्छ । भावनालाई सम्बोधन गर्ने वातावरण नै छैन ।

नेपालमा बसेर बिदेसिएका नेपालीले राम्रा–राम्रा तस्बिर सामाजिक सञ्जालमा हालेको देख्दा, कार चलाएर यात्रा गरिरहेको देख्दा, विदेशको भौतिक उन्नति देख्दा र बिदेसिएकाहरूले आफ्नो परिवारलाई बेलाबेलामा पैसा पठाइरहेको देख्दा नेपालमा रहेका साथीभाइलाई पनि विदेश आऊँआऊँजस्तो लाग्छ । यो कुरा उनीहरूले हामी बिदेसिएकाहरूसँग गर्ने कुराकानीबाट स्पष्ट थाहा हुन्छ ।

धेरै नेपालीको, विशेष गरी स्कुलको पढाइ सक्दै गरेका र क्याम्पस पढिरहेका विद्यार्थीको त सपना नै विदेश जाने हुन्छ । विदेश गएर पढ्ने लक्ष्य पहिल्यैदेखि बनाइसकेका हुन्छन् । आफ्ना छोराछोरीलाई विदेश पठाउन पाए हुन्थ्यो भन्ने सपना उनीहरूका अभिभावकले पनि देखिरहेका हुन्छन् । 

विदेश गएपछि घुम्छु, टन्न कमाउँछु, पढ्छु, रमाइलो गर्छु आदि अनेक नयाँ–नयाँ स्वादको सपना देखेर अन्ततः उनीहरू विदेशिन्छन् । 

हो, परदेशमा नयाँ स्वाद त मिल्छ तर यहाँको जीवनको एउटा छुट्टै स्वाद हुन्छ – नमिठो भए पनि जीवनलाई चलाइराख्न बाध्य बनाउने तितो स्वाद । अनि यो तितो स्वाद बिदेसिएका प्रायः नेपालीले भोगिरहेका हुन्छन् ।  

विदेश आएपछि बुझिन्छ, बुढाबुढीहरूले किन भन्थे- “परदेश एउटा किताब हो, जसका हरेक पाना आँसुले भिजेका हुन्छन् ।” 

आज त्यो किताब म आफूले नै पल्टाइरहेकी छु । हरेक पानामा म आफूलाई भेट्छु – थाकेको, एक्लिएको तर जसरी–तसरी टिकिरहेको । निर्धारित समयसीमामा बाँधिएर दौडिरहेको । आफूभित्र सल्बलाइरहेका भावलाई दबाउँदा रोगीझैँ बनेको शरीरलाई बल गरेर घिसारिरहेको ।   

आँसुले भिजेका ती हरेक पाना पल्टाइरहँदा निस्सासिएको हृदयबाट एउटै पंक्ति बारम्बार दोहोरिरहन्छ- “म खुलेर बाँच्न चाहन्छु ।” 

लाग्छ, अहिल्यै दौडिन थालिहालुँ र कहिल्यै नरोकिऊँ । पखेटा हालेर उडिहालुँ र आकाश चुमुँ । कम्तीमा मैले आफ्नो हृदयमा जागेकामध्ये राम्रा कुरा त गर्न पाउनुपर्छ ।  

तर, हृदयबाट निस्केको त्यो आवाजको अन्तरचित्कार त्यतै कतै दबिन्छ र नमिठो भावमा परिणत हुन्छ । नदबदियोस् पनि किन, जति खुलेर बाँच्न चाहन्छु भने पनि परदेशमा हरेक बिहान त्यही एउटै अप्रिय धुनबाट सुरु हुन्छ– अलार्मको चर्को आवाज । 

अलार्म बजिसकेपछि, बाहिरको मौसम कस्तो छ भनेर सोध्ने हिम्मत हुँदैन । 

धेरै चिसो छ भन्ने त कोठामा बसेरै थाहा हुन्छ ।

जति चिसो होस्, शरीर थाकेको होस्, निद्रा नपुगेको होस्, हतार–हतार उठेर काममा जानैपर्छ । उन्मुक्त–भावले हँसिलो भएर काममा गएको दिन सायदै होला । अनुहार हाँसिरहेको छ भने पनि कता–कता त्यो हाँसोलाई थाकेको शरीरले गिज्याइरहेको हुन्छ । 

काममा जाँदै गर्दा त्यसको आनन्द लिन पाउनु त कता हो कता, आउने बाटो सधैं हतारमा काटिन्छ । अलार्मको आवाजले तर्साएर उठाएका सबै जना हतारमै देखिन्छन् । मानिसहरूका अनुहारमा न कुनै माया देखिन्छ, न कुनै अपनत्व । सबै जना भावविहीन मान्छेजस्ता, मानौं रोबोर्टहरू आफ्नो दैनिक–सेटिङअनुसार दौडिरहेका छन् । उनीहरूका आँखामा केवल ‘गन्तव्य’ मात्र देखिन्छ, ‘यात्रा’ होइन । बाटोभरि थकित शरीरहरू, बोझिल पाइला र चिसो हावाको चिरचिराहट– यी सबै मिलेर दिनचर्या तयार हुन्छ र अन्त्य पनि । 

रात पनि कहिल्यै सजिलो हुँदैन । थकानमिश्रित दिनभरको भागदौडले थकानमाथि थकान जम्मा हुँदै गइरहेको हुन्छ र शरीरले कति बेला ओछ्यान पाऊँ र डङ्ग्रङ्ङ लडुँजस्तो गरिरहेको हुन्छ । ओछ्यानमा लडेको शरीरले त केही विश्राम पाउँछ, मनले भने गहिरो बहस सुरु गर्छ । आफूले दिनभर सुन्न नपाएको भाव रात परेपछि एक–एक गरेर सबै व्यक्त गर्न थाल्छ ।

वाक्क लागेर कहिलेकाहीँ त मनले भन्छ-

“यदि म राति सुतेपछि बिहान उठ्नै परेन भने कति सजिलो हुन्थ्यो !”

भविष्यका धेरै प्रश्नहरू अगाडि तेर्स्याइदिन्छ-

“कति समय यहाँ बस्ने ?”
“कहिले घर फर्कने ?”
“फर्केर के गर्ने ?”
“सपना पूरा होला कि नहोला ?”

नेपालबाट परदेश आउँदा मान्छे एउटा देश मात्रै छाडेर आउँदैन- आफ्नो बाल्यकाल, संस्कार, सुवास, माया, आत्मीयता... सबै त्यहीँ छाडेर आउँछ । परदेशमा पुरानो स्वाद त केही पनि हुँदैन, सबै नयाँ नै नयाँ तर साह्रै तितो । मनले त्यही पुरानो मिठो स्वाद सम्झिन्छ र कहिलेकाहीँ त धुरुधुरु रुन्छ । 

जति रोक्न खोजे पनि हृदयमा तितो भएर जमेको भावअनुसार मन दौडिरहन्छ र आफैँसँग बहस गरिरहन्छ –

आखिर मान्छे सधैँ पैसा, पद, प्रतिष्ठाको पछाडि मात्रै किन दौडिरहन्छ ? हुन त उसले स्वतन्त्रता खोजेको हुँदो हो तर दौडिँदादौडिँदै स्वतन्त्रता सपनामा देखिने कुनै सुन्दर चराजस्तै बन्दो रहेछ । कल्पनामा त देखिन्छ तर कहिल्यै भेटिँदैन ।

बिहानदेखि रातिसम्म काम काम भन्यो, राति एकैछिन सुत्यो । अनि, फेरि उही दैनिकी । नेपालको तुलनामा केही बढी पैसा त कमाइन्छ तर त्यो पैसाले के गर्ने ? कति कुराहरू खान मन लागेको हुन्छ, खानै भ्याइन्नँ । कति लुगाहरू लाउन मन लागेको हुन्छ, लगाएर हिँड्ने समय नै हुँदैन । कति ठाउँहरू घुम्न मन लागेको हुन्छ, घुम्न जानै सकिँदैन । 

काम र पैसाको पछाडि दौडिँदै गर्दा भोलि खान्छु, लाउँछु या घुम्छु भनेर आफ्ना इच्छालाई भविष्यमा सार्दासार्दै समय धेरै बितिसकेको हुन्छ । एक–एक दिन गर्दै वर्षहरू नै बितिसक्छन् । बूढेसकाल लागिसकेको हुन्छ अनि आफ्नो इच्छालाई थाँती राख्दै मर्ने बेला पनि आइपुग्छ । 

मरेपछि दुई–चार जनाले काँध दिएर घाटसम्म लैजान्छन् र जलाइदिन्छन् । आफ्नो रीतिअनुसार तेह्र दिनको काजक्रिया गरिन्छ अनि सकियो । केही मान्छे केही समयका लागि रुन्छन् पनि, केहीलाई पीडा पनि हुन्छ तर बिस्तारै सबै जना फेरि आफ्नो–आफ्नो दुनियाँमा फर्किन्छन् । अहिले जीवित रहेका हामीलाई यदि सम्झिन चाहे भने हाम्रा छोरा–नातिले सम्म सम्झिएलान् तर त्यसपछि ? मैले मेरा हजुरबुबाको बुबाआमा, हजुरबुबा–हजुआमालाई बिर्सिएजस्तै त हो । एक–दुई पुस्तापछि त हाम्रो अस्तित्व नै रहँदैन ।  

के यसरी अतृप्त रहेर हराउनकै लागि हो त यो जिन्दगी ? सधैं यसरी नै जिउने हो त जीवन ? अहिले भइरहेको जीवनलाई नै राम्रोसँग जिउन सकिएन भने यो जीवनको के अर्थ ? सधैं पीडादायक रुपमा जिन्दगी जिउने कि बाँकी रहेको जीवनलाई खुलेर ? 

मानवजीवन छोटो समयका लागि न हो । यति छोटो समयमा पनि कति धेरै दौडधूप ? आखिर केका लागि खुसीको बलि दिइरहेका छौं हामी ? केका लागि हरेक अनुभव गर्ने कुरालाई, जीवनलाई स्वतन्त्र अनुभव गर्ने कुरालाई रोबोर्टजस्तो जीवनले थिचिरहेका छौं ? 

मर्ने बेलामा, अन्तिम सास फेर्ने बेलामा आफ्नो बितेको जीवनलाई लिएर पश्चात्ताप भयो भने जति नै कमाए पनि त्यो पैसाले के गर्ने र ? 

कम्तीमा मर्दै गर्दा लागोस् न कि मैले यो जीवनमा जति समय पाएँ, पूरै उपयोग गरें । मैले बाँच्नै सकिनँ या जानिनँ भन्नु नपरोस् न । 

मनमनै गर्व गर्न पाइयोस्– ओहो, मैले यो मानवजीवन यसरी बिताएँ । हरेक देश–विदेश सबै चिजको अनुभव गरें । 

यसरी मनले अनेक तर्क–वितर्क गर्छ र अबदेखि राम्रोसँग जिउने प्रण गर्छ । भन्छ- सधैं त भावअनुसार जिउन नपाइएला । आफ्नो भाव पूरा गर्न पनि काम त गर्नैपर्छ । तर कहिलेकाहीँ फुर्सद मिलाउन पनि त सकिन्छ । फुर्सद भएको समयमा त्यसको सदुपयोग गर्न पनि त सकिन्छ । अबदेखि म जति सक्छु, खुलेर जिउँछु । फुर्सद मिलेको बेला या मिलाएर पनि खान मन लागेको खान्छु, साथीभाइसँग रमाउँछु, लाउन मन लागेको लाउँछु, घुम्न मन लागेको ठाउँमा घुम्छु र अरु पनि जीवनलाई जीवन्त बनाउने जति पनि कुराहरू छन्, ती आफूले सकेजति पूरा गर्छु ।  

आफ्नो तर्कमा अलिकति सन्तुष्ट भएपछि लखतरान भएर पल्टिरहेको शरीरसँगै मनले पनि सोच्दासोच्दा थाकेको महसुस गर्छ र निद्रामा परिणत हुन्छ । 

एकैछिन आराम गरेजस्तो लाग्छ तर फेरि उही अप्रिय धुन बजिहाल्छ- दैनिकी सुरु भइसकेको जनाउ दिने अलार्मको धुन । 

(हालः स्कटल्यान्ड)

ताजा खबर

सम्बन्धित खबर