
जताततै एकताको कुरा, एउटै चिन्हमा तीन÷चार पार्टीले चुनाव लड्ने कुराले सामाजिक सञ्जाल तरंगित छ । गजब छ । तर सबै कुराको सार एउटै छ– त्यो हो ‘बस मानिस, झण्डा, नेता हुने अभिनेता र चिन्ह भए पुग्छ ।’ विचार र विचारलाई लागू गर्ने योजना कतै चाहिँदैन । के राजनीति अतृप्त आत्माहरूको भिड हो ? नेपालमा आज यही अवस्था देखिन्छ । किन राजनीति आज यस्तो अभिशप्त भयो ? पश्चिमी उदारवाद त्यसै पनि नासिँदै थियो, स्वयं पश्चिममा । तर दक्षिण एसियामा त त्यसको चिरहरण नै भयो । किन ?
पंक्तिकारले २०७२ मा संविधान बन्दै गर्दा, त्यस क्रममा, दर्जनौँ अन्तर्वार्ता र लेखबाट उठाएको कुरा हो– बेलायतबाट भारत र भारतबाट नेपालले अनुदानमा पाएको वर्तमान संसदीय व्यवस्था ‘दलतन्त्र’ हो, जहाँ अल्पमतले बहुमतमाथि शासन गर्छ र यो कुलीनहरूको सुरक्षित घरमा गरीबले बुझेर वा नबुझी वा थोरै रकममा दुईमध्ये एक कुलीन छानेर आफूलाई भरिया बनाइ रहने कागजमा पाँच वर्षका लागि छाप लगाउँछ । आज छिचिमिरा जस्ता ‘हावामा उडेका मानिस’ यही लोकतन्त्र नामको यही मायावी दलतन्त्रमा एकता गर्दै छन् र फुट्दै पनि छन् । यो भ्रमले हरेकलाई ग्रस्त बनाएको छ ।
युरोपमा धार्मिक कट्टरवाद र निरंकुश राजतन्त्रका विरुद्ध ‘नागरिक स्वतन्त्रता’का पक्षधर कुलीनहरूले उदारवादको दर्शन अगाडि सार्दा, दलहरूको परिकल्पना गरे र उस्तै सोच भएका एउटा दलमा संगठित भए । एउटा सामाजिक सम्झौता गरे– त्यो हो बहुमत प्राप्त गर्नेले सरकार चलाउने र अल्पमतले विपक्षका रूपमा विरोधी बेञ्चमा बस्ने । यो उनीहरूको उदारवादको न्यूनतम मापदण्ड थियो । तर बेलायती उपनिवेशले ल्याइदिएको भारतको लोकतन्त्रमा ८९ प्रतिशत भोट अरूमा बाँडिएर ११ प्रतिशत अल्पमत ल्याउने बहुमत त बन्यो नै, त्यसमा पनि नेपाल आइपुग्दा त दुई ठूला दलले नै गठबन्धन बनाए । यो दलतन्त्र आज देशको लोकतन्त्र बनेको छ । यसले हिजो गरेको भ्रष्टाचार र पदको दोहन गरेर लुटेको मोजका लागि ‘आज अनेक छिचिमिरा’ कम्युनिस्टका नाममा, जातका नाममा, राजाका नाममा, भूगोलका नाममा मात्र होइन, संसदका सिटमा पुग्न मात्र पनि एकता गर्दै छन् । यो अवस्था भनेको ‘नागरिकको राज्यमा स्वामित्वको अन्त्य र लोकतन्त्रका नाममा निरंकुशतन्त्रको उदयको ब्याड हो ।’
यो अशिष्ट राजनीति अराजकता हो र ‘राजनीति नागरिकको सुख र समृद्धिको संयन्त्र हो’ भन्ने मान्यताको पतन हो । यो राजनीतिमा दर्शन, विचार र कार्यक्रम हुन्छ भन्ने बोध र चेतनाको पतन हो । यो राज्यमा नागरिक मालिक हो र जनतै देश हो भन्ने राजनीतिक मान्यताको पतन हो । यो ‘राजनीति कुसंस्कार र अनैतिकताको भण्डार हो’ भन्ने मान्यताको संस्थापन हो । र, अहिले भइरहेका विचारहीन एकता यिनै विकृतिका परिचायक हुन् ।
आजको विषम राजनीतिक अराजकता, जेनजी आन्दोलनपछि देखिएको सामाजिक र राजनीतिक भाँडभैलो र आर्थिक विसर्जनको अवस्थामा ‘विकृत संसदीय खेल’ होइन, चाहिएको सोच र गन्तव्य त (क) देशभक्त नागरिकहरू र समाजको आमूल रूपान्तरणका पक्षधरहरूको एकताबाट सामाजिक समता निर्माण र देशको भू–राजनीतिलाई जो–सुकैको प्रभुत्वबाट जोगाउनु हो, (ख) त्यो एकताबाटै देशको समतावादी समृद्धिको व्यापक अभियान सुरु गर्नु हो । त्यसर्थ आज राजनीतिका फोहोर बजारमा देखिएका स्थापित मालिक र कथित विकल्पलाई एउटा बिम्बबाट हेर्दा देखिने रूप हेरौँ– केही पहिला देखि शिकार गर्दै मोटाएका शिकारीहरू फोहोर दलदलमा खसे र गन्हाउँदै सडकमा घरतिर हिँडे । उनीहरूलाई गिज्याउँदै राम्रा सुट र टाइ लगाएका अर्को थरी शिकारी पनि त्यही बाटोमा हिँडे । उनीहरू कोही गन्हाउँदै र कोही बास्ना छर्दै हिँडिरहेका छन् । उनीहरूको गन्तव्य एउटै हो– सत्ताको सफलता र मोज । नागरिकले खोजेको त ‘दिशान्तर’ हो, जहाँ प्रत्येक मानिसले आफ्नो स्वतन्त्रता, सहभागिता र शासकको उत्तरदायित्वको माहौलमा आफूलाई देशको मालिक महसुस गरोस् ।
आज नेपाल हिलो लागेका मानिस र आयातित लुगा लगाउनेको राम्रो भन्ने प्रतिस्पर्धाको राजनीतिमा निर्वाचन आयोगमा नाम लेखाउने खेलको तमासा बनेको छ । नागरिकले खोजेको उसको सर्वोच्चता वा नागरिक सर्वोच्चता हो । उसले खोजेको एकता हो परिवर्तनका लागि । उसले खोजेको देशको सुरक्षा हो, कुनै झुठो नाम होइन । विचारले नामको प्रतिनिधित्व गर्छ, नामले विचारको होइन ।