
लामो समयदेखि हाम्रो वैदेशिक लगानी सुस्ताए पनि पर्यटन क्षेत्र भने उदाएकै देखिन्छ । यही भाद्रको जेनजी आन्दोलनपछि पनि पर्यटकहरूको आगमन बढेकैले हाम्रो पर्यटन क्षेत्रका आशाहरू ताजा नै छन् भन्नु पर्छ । यद्यपि, आन्दोलनमा ठूला होटलहरू पनि परे र ऐतिहासिक सिंहदरबार पनि जल्न पुग्यो । धेरै पर्यटक आउने काठमाडौं एयरपोर्टबाटै हो । यसको पुरानो नाम गौचर मैदान हो, जहाँ गाई–वस्तुहरू चराउँथ्यौँ हामी; अहिलेको नेतृत्व काठमाडौं पसिसकेको थिएन । सन् १९४९ मा यो हवाइ मैदानमा परिणत भयो ।
लोकतन्त्रको आगमनसँगै कहिले यो सुन तस्करीको केन्द्र बन्यो र धेरै वर्षअघिदेखि यो विप्रेषणको स्रोत–मान्छे निर्यात गर्ने केन्द्र बनेको छ । भूटानी शरणार्थी भन्दै मानव तस्करमा पनि प्रयोग भएको भनिन्छ यसलाई । घर–गोठ खाली गराएर दैनिक हजारौँ युवा निर्यात गर्ने स्थल त बनेकै हो । भैरहवा विमानस्थल र नयाँ बनेको पोखरा विमानस्थलले पनि खासै काम नपाएको र लोकतान्त्रिक भ्यूटावरहरूले पनि देशमा रोजगारी सिर्जना गर्न सकेका छैनन्, बरु तेल–भिसा लगायतमा वृद्ध–वृद्धाहरूसमेत विदेश सयर गर्ने विमानस्थलहरू तय भएका छन् हाम्रा ।
औद्योगिक विकासमा छिमेकी चीन र भारत अग्रपंक्तिमा रहेका छन्, हामी विप्रेषणको विकासमा पाइला चाल्दैछौँ । विश्व अर्थतन्त्र खस्किएको छ, नजिकको भारत उक्सिएको छ यसमा, त्यसको प्रभावले हामीले समुन्नत नेपाल तय गर्न सकेका छैनौँ । चालु सन् २०२५ विदा हुनै लाग्दा ११ महिनामा १० लाख ६० हजार पर्यटकहरू यहाँ आएका छन् । त्यसो त मुख्य सिजन अहिले नै हो– आउने, रमणीय क्षेत्र हेर्ने, वर्षा नहुने तर प्रदूषणको मार खेप्नु पर्ने अवस्था छ । गत सेप्टेम्बर एक महिनामै ७८ हजार बढीको आगमन, अगष्टमा ८८ हजारको संख्या देखिनु, नोबेम्बरमा त एकै महिनामा १ लाख १६ हजार पर्यटकहरूको आगमनले हामीलाई बढी हौस्याएको छ ।
यतिबेला नै विश्व अर्थतन्त्रमा ह्रास आएको संयुक्त राष्ट्रसंघको विकास सम्मेलनले जनाएको छ आफ्नै प्रतिवेदनमा । यो वर्षका लागि आर्थिक वृद्धि दर २.६ प्रतिशत र अर्को वर्ष पनि यही रेसियोमा रहने बताइएको छ, जुन गत वर्षको भन्दा ०.३ प्रतिशतले कम हो । विश्व अर्थतन्त्रको यो खस्किएको आँकडा प्रस्तुत गर्दा भारतमा यसको वृद्धि दर अधिक छ । रसियाका राष्ट्रपति पुटिनले यसै हप्ता भारतको भ्रमण गर्दै रहेका र भारतले इन्धन रसियाबाटै खरिद गरिरहँदा अमेरिका स्तब्ध भई भारतमाथिको वस्तु आयातमा ५० प्रतिशत भन्सार दर वृद्धि गर्दा भारतले त्यसबाट पर्ने नकारात्मक असर घटाउने सफल रणनीति तय गरेको छ, छुट्टै बजेटरी फन्डको विकास गरेर । मोदी–पुटिनको अहिलेको अर्थपूर्ण भ्रमणले अमेरिकाले लिने रणनीतिबाट हामी र अन्य विकासोन्मुख देशहरूलाई थप असर पर्न सक्नेछ । हाम्रा पर्यटकहरू धेरै भारतीय नै हुन्, भारत–चीन हाम्रो अभिन्न मित्र दुवैतर्फका पर्यटकहरूको आगमनले हाम्रो समृद्धिको यात्रामा थप बल पुग्नेछ ।
आइकाओ भन्छ– नेपालको हवाइ यात्रा सुरक्षित हुनुपर्छ । १० वर्ष बढी भयो आइकाओले समय दिएको, अल्टिमेटम नै थियो । सन् २०१३ देखि नै उसले भनेको हो– हवाइ उडानको विश्वव्यापी मान्यता, मापदण्ड र तिनको सुरक्षा । ई.यू.ले त युरोप उडान निषेध नै गरेको छ; कालो सूचीबाट हटेको छैन । हाम्रो सुरक्षा चासो कम रह्यो– उडानमा अनियमितता, सुरक्षा प्रणाली भरपर्दो नभएको । यसमा निजी कम्पनी पनि दोषी रहे, नियमन गर्ने निकाय–हवाइ उड्डयन प्राधीकरण नै गम्भीर बनेन । पहिले यो हवाइ विभागको नाममा थियो; अब स्वतन्त्र भनिएको प्राधिकरण बनेको पनि दशकौँ भइसक्यो, तर नियमन गतिलो रहेन । मूल नेतृत्व त आफैँ हेलिकप्टर लिएर सुरक्षाकर्मी तिर लोगेको छ; उडानसम्बन्धी कमजोर नीति र उडानको योग्यतामै प्रश्न खडा भइरहेको छ । कालो सूचीबाट हट्ला भन्ने अनुमान थियो, तर हटेन ।
सानो देश सिंगापुरको अन्तर्राष्ट्रिय चाँगी विमानस्थल र यहाँका गगनचुम्बी महलहरूले विश्वकै मन खिचेको छ । बैंकक त्यस्तै छ– एसियाको ढोका भनिन्थ्यो पहिले, अहिले संसारकै बनेको र त्यहाँको विमानस्थलको नाम नै स्वर्णभूमि छ भनौँ, त्यसले सुन फलाउँछ । होटलहरू रामागार्डेन वैदिक नामले रहेका छन् कति धेरै । हामी भएको विश्वकै एक मात्र वैदिक भूमिको नाम लोकतन्त्रले रद्द गरेको । यहाँ आउने पर्यटकहरू शान्तिको सास फेर्न आउने हुन्, विकासको चरमचुलीबाट अध्यात्मको खोजी गर्न आउने हुन् । यहाँको धर्म, संस्कृति, रहन–सहन, जात्रा–मात्रा, माटो, कन्दरा, छहरा भनौँ आम प्रकृति हेर्न आउने हुन्, जुन अन्यत्र पाइँदैन । तर आफ्ना मौलिक शान्तिका पथप्रदर्शक बुद्धलाई नै हामीले राम्ररी स्थापित गर्न सकेका छैनौँ ।
उता छिमेकी हङकङ शहर र न्यूयोर्कको म्यानह्याटनभन्दा कम छैन सिंगापुर । इजरायल अहिले आक्रमणमा परे पनि कृषिमा कति अब्बल छ । अमेरिकामा चारै साँझ विमान उडिरहन्छन् । तर कीर्तिमानी आरोही अक्सिजन बिना नै १० पटकसम्म सगरमाथा आरोहण गर्ने सोलुका हिममानव आङरिता शेर्पालगायत पर्यटन मन्त्रीकै हवाइ दुर्घटनाबाट मृत्यु हुने देश हो हाम्रो । हवाइ दुर्घटना सबै बताउँदा आँग जिरिङ्ग हुन्छ यहाँ । यति भनौँ महाभूकम्पभन्दा कम छैन यो ।
प्राकृतिक र मानव–निर्मित घटना बढेका छन्, यसमा नेतृत्वको चासो नै गएन । सत्ता टिकाउ, आफू बिकाउ भइरहँदा ३५ वर्षमा ३० प्रधानमन्त्री इतिहास रच्ने र हरेक दिन नौला कुरा देखाउने लोकतन्त्रले सबैलाई लज्जित बनायो । अहिलेको नेतृत्वलाई नितान्त नयाँ भनिए पनि यससँग दीर्घकालीन निर्णय लिने अधिकार छैन भनिँदैछ । केवल चुनाव मात्रै गर्ने हो भने भाद्रको आन्दोलनको के अर्थ छ त ? नेपाललाई प्रकृतिले नै घुम्न आउने देशको रूपमा रचना गरिदिएको छ । तर, त्यो वास्तविकतालाई हामीले आत्मसात् गर्न सकेका छैनौ । जसबाट हामीले लाभ लिन सकिरहेका छैनौँ ।