२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

नयाँ नेतृत्वको प्रसव पीडामा नेपाली कांग्रेस

shivam cement
बसन्तकुमार उपाध्याय
२०८२ मंसिर २२ गते १३:१८
Shares
नयाँ नेतृत्वको प्रसव पीडामा नेपाली कांग्रेस

नेपालको राजनीतिमा सबैभन्दा प्रभावशाली भनेका विद्यार्थी र युवा पंक्ति रहँदै आएको स्मरण गर्नै पर्छ । राणा शासनविरुद्ध प्रजातान्त्रिक आन्दोलन, पञ्चायतलाई चुनौति दिने युवा सहभागिता र लोकतान्त्रिक गणतन्त्रको आन्दोलन सबैमा युवा वर्गको सहभागिता परिणाममुखी थियो । त्यसैगरी जेन जेड त झन पुस्ताले नै त्यसको दसीप्रमाण दिन्छ । थप भनिरहनु परेन यहाँ ।

भदौ २३ र २४ को जेन जेड पुस्ताको विद्रोहपछि नेपालका अधिकांश राजनीतिक दलहरूमा नेतृत्वलाई लिएर खरो रूपमा प्रश्न उठेको अवस्था छ । साथै पुराना दलहरूलाई चुनौति दिन भन्दै थुप्रै समूहले दल दर्ता समेत गराएका छन् । निर्वाचन आयोगमा दल दर्ता त भएका छन्, तर साँचो अर्थमा लोकतन्त्रमा जनमतबाट मात्रै राजनीतिक दलहरूले मान्यता पाएको विश्वास हुन्छ ।

विघटित संसद्का मुख्य केही दलहरू जेन जेड पुस्ताले खोजेको परिवर्तनको सुरुवात आफ्नै दलभित्र समेत खोजेको देखिन्छ । धेरै दलहरू आन्तरिक रूपमा अधिवेशनको तयारीमा छन् । कतिपय दलहरूमा नेतृत्व परिवर्तनको उभार छ भने कतिपय दलहरू नयाँ समीकरण र पार्टी जोड अनि टुटफुटको श्रृखंलाबाट गुज्रिरहेका समेत देखिन्छन् ।

लमो रस्साकस्सीपछि नेपाली कांग्रेस महाधिवेशन गर्ने निर्णयमा सर्वसम्मत तयार भएको छ । नेकपा एमाले पनि अधिवेशनको चरणमा छ । तोकिएको समय अगावै एमाले महाधिवेशनमा अघि बढेको छ । माओवादलाई स्थगित गर्दै पुष्पकमल दाहाल, पुरानो नाम छाडेर माधव नेपाल नेतृत्वको एक घटक, त्यसैगरी पूर्व माओवादीहरू डा. बाबुराम भट्टराई, जनार्दन शर्मा लगायतकाहरू समेत नयाँ दलको स्वरूप सहित अघि बढ्ने प्रयासमा छन् । उता पूर्व क्षेत्रमा हर्क साम्पाङको नेतृत्वमा श्रम संस्कृति पार्टीले परम्परागत दलहरूका मतदाताहरूलाई आफूतर्फ आकर्षित गर्ने प्रयास गरिरहेका छन् । मधेश केन्द्रित दलहरू अनेकन टुटफुटका अवस्थाबाट संक्रमित छन् । क्षेत्रीय दलको अवधारणासहित कतिपय नयाँ राजनीतिक दलहरू समीकरणका प्रयास गरिरहेको दृश्य देखिन्छन् ।

२०७९ मा अनपेक्षित परिणामसहित संसद्मा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील पार्टीको सहकार्य अघि बढेको अवस्था छ । हुन त रास्वपा परित्याग गर्नेहरूको तांती पनि कम छैन ।

जेन जेड आन्दोलको आइकन रहेका बालेन्द्र शाह, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलगायतकाहरूको आगामी राजनीतिक सहयात्राका विषयमा पनि खुबै चर्चा छ । साथसाथै कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुनुपर्ने विषयमा समेत चर्चा बढेको छ । तर तत्काललाई यो सम्भावना देखिँदैन । अर्कातर्फ कन्जरभेटिभ राजनीतिक शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी र राजा वा राजतन्त्र समर्थक समूहहरू समेत आगामी फागुन २१ को चुनावलाई लिएर रणनीतिक रूपमा अघि बढ्ने प्रयास गरिरहेको अवस्था छ । यी र यस्ता राजनीतिक गतिविधिमाथि सुक्ष्म रूपमा नागरिकले निर्वाचन लक्षित चासो देखाउन थालेका छन् । जो कि स्वाभाविक विषय हो ।

विघट‍ित संसद्को सबैभन्दा ठुलो दल कांग्रेस यतिबेला नेतृत्व परिवर्तनको प्रसव पीडाबाट गुज्रँदै छ । लामो विवादपछि महाधिवेशन गर्ने निर्णयमा पुगेको कांग्रेस अहिले केन्द्रीय समितिको म्याद थप गरेर प्राणवायु लिइरहेको अवस्थामा छ । कांग्रेसभित्र नेतृत्व परिवर्तनको आवश्यकता र कांग्रेसको विधानको व्यवस्थाले अहिले यो विषय सहज रूपमा अघि बढ्ने अवस्थामा पुगेको देखिन्छ । तर नयाँ नेतृत्व कस्तो ? यो प्रश्नले केवल अनुहारहरूलाई मात्रै इंगित गरेको झैं देखिन्छ । न कि नीति र कुनै कार्यक्रमलाई ।

आफ्नो पुस्तक प्रभावशाली कांग्रेस : चिन्तन, मनन र बहसका लागि भन्दै दिवंगत कांग्रेस नेता नवीन्द्रराज जोशीले लेखेका छन्- ‘नेतृत्व वैचारिक रूपमा स्पष्ट र संगठनकर्ता, मूल्यमान्यतामा आधरित, बुद्धिमतापूर्ण राष्ट्रिय विकासको दिर्घकालीन सोच भएको र जनताले भरोसा गर्ने  व्यक्तित्व हुन आवश्यक छ ।’ यदि यही आधारलाई एकैछिन आधार मान्ने हो भने अबको कांग्रेसका लागि उपयुक्त पात्र खोज्न अत्यन्तै मुस्किल पर्ने अवस्था देखाउँछ । तर कांग्रेसमा नेतृत्वका खातिर तयारीमा रहेका पात्रहरूको नाम कांग्रेसजनहरूमा पुगिसकेको छ । त्यसकारण तल्लो तहदेखि नै खेमा विभाजनसहित महाधिवेशनको रापताप चर्कंदै गइरहेको छ ।

कांग्रेसभित्र यतिबेला न त संस्थापन पक्ष एकजुट भएर कोही एक पात्रका नाममा सहमति बनाएर नेतृत्वका लागि प्रतिस्पर्धामा जान सक्ने अवस्थामा छ । न त इतर पक्षमा त्यस्तो सर्वसम्मत अनुहार देखिन्छ । पछिल्लो अवस्थामा कांग्रेसभित्र नयाँ ध्रुवीकरणका अभ्यास पनि भइरहेका छन् । हुन त चौधौं महाधिवेशनका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइराला र उही खेमामा रहेर पनि आफ्नो लोकप्रियताका कारण अघि बढिरहेका महामन्त्री गगन थापा सभापतिका आकांक्षी स्पष्ट खुलिसकेका छन् । त्यसैगरी संस्थापन पक्षमा स्वाभाविक रूपमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित आधा दर्जन पदाधिकारी र पूर्व पदाधिकारी सभापतिका आकांक्षी छन् ।

आसन्न १५औं महाधिवेशनलाई लिएर कांग्रेसभित्र नयाँ समूह निर्माणको अभ्यास पनि अघि बढेको अवस्था छ । त्यससँगै नयाँ समीकरणको होमवर्क समेत भइरहेको जानकारहरू बताउँछन् ।

नेपाली कांग्रेसमा अबको नेतृत्व गर्ने पात्रले विगतका कमी कम्जोरीबाट सिकेर भविष्यको गोरेटो बनाउन विधि, प्रक्रिया र जनताको आवश्यकतालाई समन्वय गर्नसक्ने क्षमता प्रदर्शन गर्न सक्नुपर्ने चुनौति छ। साथै कांग्रेसको नयाँ नेतृत्वले बदलिँदो विश्व, नागरिकको अपेक्षा अनि कार्यकर्ताको आशालाई सम्बोधन गर्न सैद्धान्तिक रूपमा स्पष्टता देखाउन सक्नुपर्छ । र, त्यसलाई कार्यान्वयनमा लैजाने वैचारिक र नैतिक मार्ग खुलस्त भएर भन्न सक्नुपर्छ ।

अबको कांग्रेसको नेतृत्व विश्व राजनीतिमा छिटो छिटो भइरहेका बदलाव र भूराजनीतिक प्रभावका विषयमा यहाँको संवेदनशीलतालाई सुझबुझपूर्ण ढगंले अघि बढाउन सक्ने क्षमता राख्न सक्ने हुनपर्छ । कांग्रेस नयाँ नेतृत्वलाई अर्को चुनौति भनेको कार्यकतालाई अनुशासित बनाउने र प्रशिक्षित गर्न सक्नुपर्ने समेत छ ।

वैचारिक द्वन्द्वको साटो केवल नेतृत्वमा पुग्ने उत्कण्ठाले बनेका समूहहरूलाई कांग्रेसले निरुत्साहित गर्ने नीति लिन सकिरहेको छैन । नयाँ नेतृत्व फेरि पनि संस्थापन बन्ने र अर्को खेमा इतर बनिरहनुपर्ने अवस्थालाई अन्त्य गर्न सक्नुपर्छ । त्यतिमात्रै नभएर कांग्रेसमा दलभित्र विधान, विधि र प्रक्रियालाई अक्षरसः पालना गराउने परीपाटीको विकास गर्ने नेतृत्वको आवश्यकता रहेको देखिन्छ । स्वाभिमानी र एकताबद्ध भएर अघि बढ्ने माहोलको सिर्जना गर्न सक्ने व्यक्ति अबको नेतृत्वमा स्थापित हुनुपर्ने आवश्यकता छ ।

देशको पुरानो राजनीतिक दल कांग्रेस, जो व्यवस्था परिवर्तनको मियो भएर पनि लोकतान्त्रिक पद्धतिलाई आफ्नै दलभित्र कार्यान्वयन गर्न नसक्नु यो दलको चरित्रमा उठेको गम्भीर प्रश्न हो । जो आफ्नै विधानभित्र चल्न असफल भइरहन्छ ।

सभापति शेरबहादुर देउवाको कार्यकाललाई बिदाइ गरिरहेको कांग्रेस यतिबेला तीव्र ध्रुवीकरणबाट नयाँ नेतृत्व जन्माउने प्रसव पीडाबाट गुज्रिरहेको छ । अब अघिल्लो पुस्तालाई बिदाइ गर्ने परिवेशमा पुगेको कांग्रेसले पुस्ताण्तरण भन्दा पनि उच्च लोकतान्त्रिक चरित्र प्रदर्शन गर्नैपर्छ ।

नेपाली कांग्रेसको आसन्न १५औं महाधिवेशनको पूर्व सन्ध्यामा भइरहेका ध्रुवीकरणका बाछिटाले आगामी नेतृत्व कस्तो आउला भन्ने केही संकेत गरेको भएपनि चुनावी प्रक्रियालाई पर्खनै पर्ने देखिन्छ ।

ताजा खबर

सम्बन्धित खबर