२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुन्छ : ओली (अन्तर्वार्ता)

shivam cement
२०८२ मंसिर २३ गते २१:५९
Shares
महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुन्छ : ओली (अन्तर्वार्ता)

देशमा लोकतन्त्र छ, तर नेताहरूलाई स्थान हद गरिएको छ । बहुदलीय व्यवस्था छ तर दलविहीनको सरकार छ । यही विशेष परिस्थितिका बीच नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशन हुँदैछ । यो महाधिवेशनले दिने सन्देश के हुन्छ ?

अहिले लोकतान्त्रिक प्रणाली घाइते छ । एक ढंगले भन्ने हो भने त्यो मासिएको पनि छैन, तर क्रियाशील पनि रहेको अवस्था छैन । बहुदलीय व्यवस्था छ, दलविरोधी सरकार छ । बहुदल विरोधी सरकार छ । लोकतन्त्र विरोधी सरकार छ । संविधान विरोधी सरकार छ । संविधानभन्दा बाहिरबाट बनेको सरकार छ, र एउटा अत्यन्तै अप्रिय, अलोकतान्त्रिक, असंवैधानिक, अमानवीय, असामाजिक क्रियाकलाप, तोडफोड, आगजनी र लुटपाटका घटनाहरूको श्रृंखलाबाट त्यसलाई दुरुपयोग गरेर, त्यस परिस्थितिको अनुचित दोहन गरेर, आम नागरिकमा एउटा भयको वातावरण सिर्जना गरेर र त्यो भयलाई दोहन गरेर अत्यन्तै कृत्रिम सरकार आश्चर्यजनक ढंगले जडान गरिएको छ ।

अहिलेको अवस्था यो हो, संविधान मिचिएको छ । संविधान जीवित छ भनिन्छ तर संविधान मिचिएको छ । अदालत मानिँदैन । अदालत आफैंले नोटिसमा लिएर अदालतलाई अस्वीकार गरेको कुरामा कदम चाल्नुपर्ने परिस्थिति छ, तर अदालत आफैं शर्माएको हो कि जस्तो लाग्छ । यति साह्रो हदमा के कारबाहीको कुरा गर्ने होला भनेर आफंै असहज मानेको हो कि जस्तो लाग्छ ।

यस्तो अवस्थामा सरकार प्रतिशोध, पूर्वाग्रह र आवेश, उत्तेजनामा काम गरिरहेको छ, ऊ प्रतिगमनलाई कायम राख्ने कुरामा, लोकतन्त्रतर्फ, बहुदलीय व्यवस्थातर्फ, दलीय व्यवस्थातर्फ जान नदिने कुरातर्फ बढी संकल्पित देखिन्छ ।

यतिबेला यस परिस्थिति र अवस्थाबाट देशलाई लोकतान्त्रिक प्रणालीतर्फ, खुल्लस्त रूपमा, संविधानको कार्यान्वयनतर्फ खुल्लस्त रूपमा, दलीय प्रणालीतर्फ दलहरूको भूमिका र गतिविधिलाई महत्त्व दिनेतर्फ फर्काउनु पर्नेछ । जनता भित्रभित्रै आतंकित छन् । त्यो आतंक, भय, त्रासबाट जनतालाई मुक्त गर्नुपर्नेछ ।

भक्तपुर तीनकुने सल्लाघारीमा उद्घाटन हुने ११औं महाधिवेशलाई निक्कै महत्त्व दिएको देखिन्छ । के यो नारायणी किनारामा भएको १०औं महाधिवेशनमा भन्दा बढी जनसागर आउने हो ?

तयारीका हिसाबले उस्तै हो । तर हामीले विश्वास लिएका छौं । यसमा जनसहभागिताको हिसाबले अझ बढी होला, र अहिले भय र त्रासको जुन वातावरण छ, त्यतिबेला त्यस्तो थिएन । त्यतिबेला संविधान थिचिएको, मिचिएको अवस्था थिएन । लोकतन्त्र मिचिएको थिएन र असंवैधानिक ढंगले अनधिकृत सिफारिसमा संसद्, प्रतिनिधिसभा विघटन भएको पनि थिएन । त्यो परिस्थिति अलि फरक परिस्थिति थियो र त्यसका अभिभारा अलिक सजिला थिए । अहिलेको अभिभारा मुलुकलाई पछाडि फर्काइएको छ, पछाडि फर्काइएको ठाउँबाट फेरि अगाडि बढाउनु पर्नेछ ।

त्यसकारण त्यतिबेला त्यस प्रकारका संघर्ष र प्रतिक्रियावादी शक्तिहरूबाट व्यवधान हुने चुनौतीहरू थिएनन् । अहिले व्यवधानका चुनौतीहरू छन् । त्यतिबेला अहिले जस्तो व्यापक रूपमा घेराबन्दी थिएन । यद्यपि घेराबन्दी त थियो नै । आफ्नै पार्टीभित्रबाट नै दुईतिहाइको कम्युनिस्ट आन्दोलन ध्वस्त पार्नेको जन्म त भएकै थियो । ती त खेलाइएकै थिए, ती तत्वहरू त ।

११औं महाधिवेशनको उद्घाटन समारोहबाटै नयाँ सन्देश दिन खोज्नु भएको हो ? 

उद्घाटन समारोह अत्यन्त भव्य हुनेछ । उद्घाटनस्थल विशाल मैदान छ । त्यो विशाल मैदानमा नअटेर पोखिनेछ, र दशौं महाधिवेशनमा जस्तै कतिपय व्यक्तिहरू आई नपुग्ने खतरा छ र कतिपय बीचमा रोक्किने खतरा पनि उत्तिकै छ । यो जब जनसहभागिता ज्यादै व्यापक हुन्छ, त्यसमा अलिकति अस्तव्यस्तता जस्तो कुरा स्वाभाविक हो । सबैभन्दा ठूलो सहभागिता उपस्थिति सायद काठमाडौं उपत्यकाले देखेको यही हुनेछ । अलिकति यो दुर्गम ठाउँमा परेको जस्तो छ । अलिकति उल्टो, कोल्टो परेको ठाउँ परेको छ । काठमाडौंमा एमालेको महाधिवेशन गर्नलाई हामीले कुनै ठाउँ पाएनौं । हामीलाई ठूलो ठाउँ नै चाहियो र छान्न पर्ने अवस्था भयो । काठमाडौंमा अलिकति राम्रो सभा गर्नुपर्‍यो भने, जनसभा गर्नुपर्‍यो भने त्यस्तो ठाउँ मासिएको छ । त्यस्तो ठाउँ कहिँ पनि छैन । अब एउटा टुँडिखेल छ । त्यसमा अलिकति आर्मीले लिएको छ । अरू ठाउँहरू पोलिटिकल पार्टीहरूले प्रयोग नगर्ने भनिएको छ । त्यसकारण पोलिटिकल पार्टीहरूले त्यसलाई प्रयोग गर्दाखेरि त्यो अब अरू विभिन्न समुदायका सम्प्रदायका संघसंस्थाहरूलाई अरू प्रयोजनका लागि दिने गरिएको छ । पोलिटिकल पार्टीलाई त्यो अहिलेसम्म दिने गरिएको छैन । त्यो त्यसै गरेर कायम रहनु पनि जायज छ । अब खुल्ला मैदान भएपछि सामान्यतया सभाहरू गर्न सकिन्छ । तर हामीले गर्न खोजेको सभा त्यो त्योभन्दा चार गुणा ठूलो ठाउँ पनि सानै हुन्छ । त्यसकारण अहिलेको ठाउँ अलिकति उपयुक्त ठाउँ हो । यो ठाउँ पनि साँगुरो हुनेछ, सानो हुनेछ । त्यस प्रकारको जनसहभागिता हुन्छ । र यसमा जनता अत्यन्त उल्लासका साथ, झाँकीहरूका साथ, बाजागाजा नृत्यहरूका साथ त्यस ढंगले स्वतःस्फूर्त रूपमा जनपरिचालन यसमा हुनेछ ।

अघिल्लो महाधिवेशन र यो महाधिवेशनसम्म आइपुग्दा यो बीचमा भएका परिवर्तनहरूलाई एमालेले कसरी विश्लेषण गरेको छ ?

भदौ २३ २४ को प्रतिगामी परिवर्तन, आगजनी, तोड्फोड, लुटपाट सुरु भयो नै । तोडफोडकारीहरू योजनाबद्ध  थिए । किन त्यहाँ गैँटी, बेल्चा, जम्पल आदि इत्यादि बोकेरै मान्छेहरू त्यो फलाम काट्ने चीजहरू, सिसा काट्ने चीजहरू, ती सबै फोर्ने चीजहरू ती सबै लिएरै आएका थिए ? भनेपछि त्यो जेन्जीको शान्तिपूर्ण प्रदर्शन भनिएको थियो । त्यसलाई अपहरण अरू अपराधी तत्वहरूले गरिसक्या थिए । त्यसैकारण जेन्जीको प्रदर्शनमा पूर्वनियोजित थियो नै । 

जेन्जीको प्रदर्शनमा संसद् भवन त्यो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तोड्फोड गर्ने त माग थिएन । रुचि पनि थिएन । विषय पनि थिएन । सोच पनि थिएन । त्यो त अरूनै तत्वहरू थिए त ! अनि जेन्जी भनेका त्यो युनिफर्म लगाएर आएका, ब्याग बोकेर आएका ती विद्यार्थीहरू त्यो तोडफोड गर्ने दिमागमै सोचेर आएका होइनन् । तर त्यस आन्दोलनलाई अपहरण गरियो अरूबाट । अहिले पनि उनीहरू यो आन्दोलन अर्कातिर गयो, तोड्मोड भयो, अर्काथरी तत्वहरू मिसिए, आगजनी गरे, लुटपाट गरे भन्ने के विद्यार्थीहरूले लुटपाट गरेका हुन् त देशभरि ? देशभरि आगो लागेको विद्यार्थीहरूले हो ? के हाम्रा विद्यार्थीहरू त्यस्तो आपराधिक भइसके त ? यो हुँदै होइन । त्यस्तो आपराधिक मानसिकता हाम्रो युवा पुस्ताको छँदै छैन । त्यो होइन । जेनजीले गरेकै होइनन् । त्यसो भएर यो बेग्लै आपराधिक, नेपालको हित नचाहने तत्वहरूले योजनाबद्ध ढंगले कुनै बहानामा घुसपैठ गर्ने र त्यसलाई बढाएर, त्यसलाई उत्तेजित बनाएर, उत्तेजनामा परिणत गरेर त्यस उत्तेजनामा विभिन्न खालका तत्व र शक्तिहरू उनीहरूलाई सामेल गरेर र आफू त्यसभित्र पसेर त्यसलाई दुरुपयोग गरे । लुट्न दिएपछि त लुटेराहरू त आउने भए नि त । लुटेरा खालका तत्वहरू अनि तोड्फोड गर्ने लुट्ने । तोड्फोड किन गरेको भन्दा लुट्नलाई । त्यो खालका तत्वहरू त सामेल हुने भइगए लुट्न पाइन्छ भनेपछि । 

यो ध्रुवीकरण हुनका पछाडि चाहिँ एमाले आफैं जिम्मेवार छ भनेर टिप्पणी गर्ने गरिन्छ । तपाईं आफैं के भन्नुहुन्छ ?

मूल जिम्मेवार त ध्रुवीकरणका लागि एमाले हुनै भइगयो । एमाले देशको पक्षमा उभिन्छ, अरूहरूले हमला गर्नै पर्‍यो, ध्रुवीकरण त भइहाल्छ । अनि एमाले दृढताका साथ उभिएर एमाले भित्र बसेर गड्बड गर्न नसकेपछि बाहिर त जानै पर्‍यो । ती तत्वहरू बाहिर निस्किन्छन् । जसका मान्छे हुन् उनीहरू उतैतिर लाग्छन् । अनि त ध्रुवीकरण भइगयो किन एमालेले त आफ्नो अडान छोड्दैन, आफ्नो दृष्टिकोण छोड्दैन र एमाले स्पष्ट छ । एमाले बिगार्न सकिँदैन यहाँभित्र बसेपछि अब बरू एक्सपोज भइसक्यो भनेपछि त्यहाँभित्र बसेरै त काम गर्न त गाह्रो हुन्छ, भनेर ती बाहिर उछिट्टिएर जान्छन् । 

अब यो कस्तो हुन्छ भने चामल केलाउने भनेको भुस उडाउने हो, कनिका छुट्टाउने हो । तर हामीले चामल केलाउने कोसिसै गर्नुपरेको छैन । नाङ्लामा हाल्ने बित्तिकै भुस आफै उड्छ । यो अचम्मको कुरा छ । महाधिवेशन आयो भनेपछि भुसहरू आफैं उड्न थाल्छ ।

भनेपछि पार्टीभित्र अझै पनि केही मानिसहरू ‘काज’मा छन् भन्ने लाग्छ यहाँलाई ?

त्यो त देखिएकै छ । पहिलेदेखि नै देख्या छ । हुने गर्छ । र यो धेरै अस्वभाविक पनि होइन । जब शक्तिहरू छन् भने ती खेल्छन् ।

पछिल्लो पटक नेकपा (एमाले)ले लिएको नीतिले जनतालाई एक खालको अन्यौल सिर्जना गरेको जस्तो देखिन्छ । संसद् पुनर्स्थापना भनिराख्या छ । संसद् पुनर्स्थापना भएर फेरि राजनीतिक कोर्स एउटा गतिमा अगाडि बढ्छ कि बढ्दैन भन्ने एउटा चिन्ता छ । यदि त्यसो भएन भने फेरि चुनावमै जुन घोषित फागुन २१ भन्या छ, त्यो पनि हुन नसक्ने, संसद् पुनर्स्थापना पनि हुन नसक्ने भयो भने त्यसपछि मुलुक अन्धकार सुरुङमा जान्छ कि भन्ने डरमा जनतामा देखिन्छ । यसमा अध्यक्ष ज्युको के भनाइ छ ?

पहिलो कुरा असंवैधानिक ढंगले जे कामहरू भए ती सच्याइनु पर्छ । संविधान जुन ढंगले मिचिएको छ, त्यसलाई लयमा फर्काउनु पर्छ । त्यो भनेको अनधिकृत ढंगले संसद् विघटनको सिफारिस भयो । अनधिकृत हकदैया नभएका व्यक्तिहरूबाट असंवैधानिक सिफारिस भयो र असंवैधानिक तबरबाट संसद विघटन गरियो । त्यसलाई फर्काउनुपर्छ । हामी समस्या समाधानका बाधक होइनौं । समस्या समाधानका लागि अत्यन्तै उदारपनाका साथ, लचकताका साथ अगाडि बढ्न तयार छौं भनेर भनिराख्या छौं । संविधान संशोधन गरौं । एकछिनलाई कुनै संविधानको धारा निलम्बन गरेर पोलिटिकल पार्टीहरूभन्दा बाहिरकै मान्छे ल्याएर नै प्रधानमन्त्री बनाउनुपर्छ चुनावसम्मका लागि भने पनि त्यो व्यवस्था संविधानमै गरौं भन्ने हो । संविधान बाहिर गएर होइन । संविधानबाटै गरौँ । त्यो व्यवस्था खास अवधिसम्मका लागि गरौं । सधैंका लागि हुँदैन । खास अवधिसम्मका लागि गरौं । र एउटा कुरा के भने हामीले भनेको कुरामा संविधान संशोधन भइसकेपछि संसद् पुनर्स्थापना भइसकेपछि फेरि राजनीतिक पार्टीहरूले संसद्को प्रयोग गरेर आफ्नै कुरा गर्छन् भन्ने जुन परेको छ । म त्यसको जवाफमा भनिराख्या छु, त्यस्तो हुँदैन । म एउटा प्रमुख पार्टीमध्येकै पार्टी अध्यक्षको हिसाबले बोलिराख्या छु । संसदीय दलको नेताको हिसाबले बोलिराख्या छु, भने हामी एकछिनको धोका दिने राजनीति गर्दैनौं । तसर्थ हामी एउटा सर्वपक्षीय, सर्वदलीय मात्रै भन्दिनँ म । सर्वपक्षीय सहमतिका साथ अगाडि बढ्न तयार छौं । हाम्रो भनाइ लोकतान्त्रिक प्रणाली र संवैधानिक प्रक्रिया, लोकतान्त्रिक प्रणाली र संवैधानिक प्रक्रियाअन्तर्गत नै जुनसुकै पनि कदम चालिनुपर्छ, त्यसका निम्ति संसद् पुनर्स्थापना, संविधान संशोधन, के संशोधन गर्ने भन्ने तय गरौं न त । अहिले संविधान संशोधन भनेर जुन एउटा प्रक्रिया हो या आवश्यकता हो अथवा नेपाली कांग्रेस र एमालेले संयुक्त सरकार बनाउँदा दोस्रो बुँदामा संविधान संशोधन गर्ने सहमति गरेका थिएऔं । अहिले भनेको त्यही पुरानो सहमति अन्तर्गतको संविधान संशोधन गरौं भनेको होइन । अहिलेको परिस्थितिलाई सम्बोधन गर्नका लागि संविधान संशोधन अहिले गरौँ अनि बाँकी संविधान संशोधन पछि गरौंला ।

हजुरदले माथि उल्लेख गरेका प्रस्तावबारे अन्य राजनीतिक दलहरूसँग छलफल भएको छ कि छैन ?

अवश्य नै भइराख्या छ ।

यो महाधिवेशन एकताको महाधिवेशन बन्छ कि बन्दैन भन्ने पनि एक खालको आशंका गर्ने जमात पनि ठूलै छ नि ?

त्यसका दुईवटा परिभाषा छन् । एकताको महाधिवेशन भनेको के हो भनेर बुझ्नु पर्दछ । पार्टीमा र अन्यत्र पनि गठन पुनर्गठन, हस्तान्तरण पुस्तान्तरण आदिका कुरा उठ्या छन् । यो सधैं भइराख्या कुरा हो । यो अहिले नयाँ कुरा होइन । पुष्पलालले स्थापना गर्नुभएको पार्टी थियो । त्यसपछि कति त्यसका प्रमुख नेताहरू भए, हस्तान्तरण भएको छैन ? अनि ००६ सालदेखि एउटै नेतृत्व अहिलेसम्म आएको आइ छ र ? नेपाली कांग्रेसमा पनि कति नेताहरू भए, कति परिवर्तन भए, हुँदै आएको छ । अहिलेको अवस्थामा आइपुग्या छ । परिवर्तन भएको छैन र ? अनि यो कोकोहलोमा गएर परिवर्तन हुने होइन । अर्को कुरा अघि एउटा पपुलिस्ट पोलिटिक्सको कुरा गर्नुभएको थियो । जेनजीलाई सुम्पनु पर्छ, नेतृत्व जेनजीलाई सुम्पनुपर्छ जस्ता हावा कुराहरूका पछाडि एमाले लाग्दैन । कुनै चीजका लागि त्यसको आ–आफ्नो प्रक्रिया हुन्छ, आफ्ना मापदण्ड हुन्छन्, आफ्ना स्तर हुन्छन् । ती प्राप्त गरेको हुनुपर्छ । नागरिकता प्राप्त गर्न कति वर्ष उमेर पुग्या हुनुपर्छ त्यहीँ जस्तै हो । मतदान अधिकार प्राप्त गर्न कति वर्ष पुग्या हुनुपर्छ त्यहीँ जस्तै हो ।

सांसद् हुन कति वर्ष पुगेको हुनुपर्छ त्यहीँ जस्तै हो । राष्ट्रिय सभाको सदस्य हुन कति वर्ष उमेर पुग्या हुनुपर्छ त्यहीँ जस्तै हो । हुनुपर्‍यो नि ! राष्ट्रिय सभा सदस्यमा जेनजी हुने चलन छैन । संविधानले मान्दैन । राष्ट्रिय सभालाई ३५ वर्ष पुगेको मान्छे हुनुपर्छ भन्ने व्यवस्था छ । राष्ट्रपतिमा त्यस्तो भन्छ, या कति वर्ष पुग्या ? प्रतिनिधिसभामा मन्त्री हुनलाई कति वर्ष पूरा भएको भन्ला, अर्को चीज भन्ला । राष्ट्रपति हुन यति वर्ष पूरा भएको हुनुपर्छ भन्ला । यस्ता कुराहरू हुन्छन् । प्रोफेसर हुन यति वर्ष लेक्चरर भएर, यति वर्ष रिडर भएर अनि प्रोफेसर हुने भन्ने बनाएको हुन्छ । त्यसमा यो–यो विषयमा यस्तो डिग्री हासिल गरेकाले त्यस विषयको प्रोफेसर प्राप्त गर्ने भन्ने हुन्छ । त्यसकारण कुनै पनि चीजका मापदण्ड हुन्छन्, प्रक्रिया हुन्छन् । यति वर्ष पुगेपछि छोड्ने भन्ने हुन्छ । त्यसका आवश्यकता हेरेर त्यसको काम के हो ? खेलाडीले कहिले छोड्छ, धावकले कहिले छोड्छ, कुस्तीबाजले कहिले छोड्छ, मुख्यबाजले कहिले छोड्छ ? एउटा कथाबाचकले कहिले छोड्छ, प्रोफेसरले कहिले छोड्छ भन्ने उमेर फरक–फरक हुन्छ । किन भने कुस्तीबाज हुन, मुख्यबाज हुन र प्रोफेसर हुन एउटै कुरा होइन । त्यसकारण प्रोफेसरले अलि पछि नै छोड्छ । डाक्टरले अलि पछि छोड्छ । मुख्यबाजले, कुस्तीबाजले पहिले नै छोड्छ । त्यो कामको प्रकृति हेरेर रिटायर कहिले हुने, प्रवेश कहिले गर्ने भन्ने कुरा हुन्छ ।

तसर्थ यो हामी कुनै बहकाउमा छैनौं । अनुभवी, दक्ष, लिडर भनेको लिडर हो । लिडर छान्ने भनेको लिडर छानिने हो । त्यो हावामा कुनै कुरा गर्ने त होइन नि !

पार्टीका वरिष्ठ नेताहरूले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिसकेको देखिन्छन् । यो सन्दर्भलाई कसरी नियाल्नु भएको छ ?

त्यो त डेमोक्रेटिक एक्सरसाइज हो नि ! पाइयो नि त्यो त । जो प्रतिनिधि छ, प्रतिनिधि भएपछि विधानले व्यवस्था गरे अनुसार जुनसुकै तहको पनि उम्मेदवारी दिन पाइन्छ ।

मूल नेतृत्वमै उम्मेदवारी घोषणा भएको छ । यसमा तपाईंको पनि उम्मेदवारी स्वतः हो ?

पाइन्छ, पाइने कुरा हो । तर यतिबेला देशको अवस्था यस्तो छ, र वास्तवमा देशमा अनेक असहजता अप्ठ्याराहरू पार लगाएर आएको सक्रिय नेतृत्व भइराखेको, जटिल अवस्थामा अस्वभाविक ढंगले नेतृत्वको विवाद उठाउनु, यो उम्मेदवारी दिने मात्र कुरा होइन नि ! पहिलेदेखि ओलीबिनाको एमाले नारा जो विरोधीहरूले लगाइराख्या थिए, त्यो नारा बोकेर एमालेभित्र त्यो नाराको झन्डा बाहिरबाट फुत्त एमालेको रिङभित्र छिराउनु र त्यो उठाएर कुद्नु भनेको चाहिँ अलि अस्वभाविक हो । त्यति मात्र हो । अधिकार छ, त्यो उठाउन पाइन्छ । तर यो स्वाभाविक होइन । यस्तो बेलामा त्यसरी होइन, एकताबद्ध भएर जानुपर्थ्यो । तर मैले अघि नै भनेँ, एकता भनेको के ? एकताबद्ध बनाएर लानु भनेको के ?

तपाईंहरूलाई भन्छु म, एमालेको यो महाधिवेशन एकताको महाधिवेशन हुनेछ । यो महाधिवेशन आफैंमा एउटा सानोतिनो पुनर्गठनको महाधिवेशन हुनेछ । यो पुस्तान्तरणको, हस्तान्तरणको महाधिवेशन हुनेछ । र यो महाधिवेशन केही मानिसहरू बाहिरिने, केही मानिसहरू प्रवेश गर्ने हुनेछ । नत्र भने त संगठन त एउटा जेनेरेसनसम्म अडिएर बस्छ, तिनै मान्छे बस्छन् । ती सकिँदाखेरि त्यो संगठन सिद्धिन्छ । त्यस्तो त हुने होइन नि त ! यो त गतिशील हुन्छ नि संगठन भनेको । त्यसकारण एकताको महाधिवेशन भनेको उही मान्छे रहने, त्यहीँ–त्यहीँ ठाउँमा रहने, अरू आउन नपाउने, भइरहेकाले छोड्न नपर्ने, त्यस्तो हुँदैन ।

भइरहेकाले छोड्नुपर्छ, नयाँलाई आउन दिनुपर्छ । केही हट्छन्, केही आउँछन् । अब त्यसो भए हट्दा सबै हट्नुपर्ने नहट्दा सबै नहट्नुपर्ने । अनि आउँदा सबै आउनुपर्ने नआउँदा कोही पनि आउन नहुने भन्ने त हुँदैन नि त । हुन्छ र ? त्यसो भएर केही हट्छन्, केही आउँछन् । त्यसलाई एकताको महाधिवेशन भन्ने सन्दर्भमा कुनै गलत प्रभाव पारेको हुँदैन । खाली हामी नीतिहरूमा एकताबद्ध भएर चलाउने, पार्टीलाई एकताल एक सुरमा अगाडि बढाउने, त्यो खालको पार्टी नेतृत्व निर्माण हुन्छ कि हुँदैन र पार्टीलाई त्यसै अनुसार गतिशील गराउन सक्षम नेतृत्व निर्माण हुन्छ कि हुँदैन भन्ने कुरा हो । यो महाधिवेशन एकताको महाधिवेशन हुनेछ । हस्तान्तरण, पुस्तान्तरण सबै हुन्छ ।

नेतृत्व चयन सर्वसम्मत हुन्छ कि चुनाव हुन्छ ? भन्ने पनि एक खालको चासो छ नि ?

सबै पदमा सर्वसम्मत त सबै सर्वसम्मत त हुनै हुँदैन नि ! हुनै सक्दैन । सर्वसम्मत त तपाईंको भावनालाई दबाएर मैले आफूले मात्रै गर्न पाए भने सर्वसम्मत हुन्छ । या मेरो भावना दबाएर तपाईंले आफ्नो मात्रै गर्न पाउनुभयो भने सर्वसम्मत हुन्छ । तपाईं पनि अगाडि बढ्न पाउने फेयरली म पनि अगाडि बढ्न पाउने हो भने प्रतिस्पर्धा त भइहाल्छ नि ! खाली प्रतिस्पर्धाको मनसाय के हो ? कस्तो परिस्थितिमा कस्तो प्रतिस्पर्धा, प्रतिस्पर्धाका नाउँमा कस्ता व्यक्तिले के गर्दैछ भन्ने कुरा महत्वपूर्ण कुरा हो । 

नेतृत्वको निरन्तरता हुने कुरा एकदम ठीक छ । तर केपी शर्मा ओलीले कार्यशैली बदल्नुपर्छ भन्ने टिप्पणीहरू सुनिने गरिन्छ । आफ्‌नो कार्यशैली याद गर्नु भएकोछ ?

होइन मलाई बताइदिए भयो, के चेन्ज गर्नुपर्‍यो ? जस्तो म कसैलाई रफ बोलेर, गाली गरेर, हप्कीदप्की गरेर, अपमान गरेर, होच्याएर चलेको छु र ? त्यस्तो गर्नु हुँदैन भन्ने हो कि ? मैले जिन्दगीमा कसैलाई अपमान गरेर बोलेको छैन । हप्कीदप्की कसैलाई गर्‍या छैन । राजनीतिक विश्लेषण गर्दा जे यथार्थ हो त्यो विश्लेषण भन्दा कसैको अपमान हुनु बेग्लै कुरा होला, अपमान भयो भन्ने ठान्नु । प्रतिगमनकारीहरूलाई प्रतिगमनकारी भन्दा यो पोलिटिकल भाषा हो । अपमान होइन । र आगजनीलाई आगजनी, लुटपाटलाई लुटपाट, तोड्फोडलाई तोडफोड् भन्दा कुनै अपमान होइन । अब जेनजी आन्दोलनलाई अपमान गर्‍यो भन्छन् । त्यो जेनजी आन्दोलन हो ? जेनजीले के यो आगजनी, तोड्फोड, लुटपाटको जिम्मा लिन्छन् ? के जेनजी लुटपाट गर्न गएका थिए ? भाटभटेनी लुट्ने जेनजी हुन् ? यो झुटो कुरामा ठग व्यापार किन गर्ने ? ठग व्यापार चल्दैन । यस्ता कुराहरूमा सही बोल्नुपर्छ । बाँकी आचरणको कुरामा, व्यवहारका कुरामा, कुनै कुरामा कुनै खानपिन आदि इत्यादि केही कुरामा अथवा कार्यशैलीमा कस्तो परिवर्तन भनेको ? कस्तो परिवर्तन ? त्यो कुरा कसैले बताइदिनुपर्यो, यस्तो परिवर्तन हुनुपर्यो भनेर ।

बैठकहरूमा यस्ता विषयमा छलफल हुँदैन ? किन सामाजिक सञ्जालमा मात्र यस्ता कुरा पोखिन्छन् ?

सामाजिक सञ्जालका मात्रै विषय हुन् यिनीहरू । बैठकमा त मैले मागिराख्या हुन्छु । आलोचना मागिराख्या हुन्छु । मेरो दिनचर्यादेखि मेरो किचेन ओपन हुन्छ । मेरो बेड ओपन हुन्छ । मान्छेले देख्या छ त सबै कुरा । त्यसो भएर कुनै कुरा लुक्या छैन । साथीहरूले रातभरि भेटिराख्या हुन्छन्, दिनभरि भेटिराख्या हुन्छन् । बिहान भेटिराख्या हुन्छन्, बेलुका भेटिराख्या हुन्छन्, रातभरि भेटिराख्या हुन्छन् घरमा ।

तपाईंसँग लामो यात्रा गर्नुभएका नेताहरूबाटै यस्ता कुराहरू आएका छन् । यो महाधिवेशन लागेको हो कि, साँच्चिकै उहाँहरुले आफ्नो कुरा भनिरहनु भएको हो ? अथवा समस्या सिर्जना गर्न खोज्या हो ? यसलाई कसरी मूल्याकंकन गर्नुहुन्छ अध्यक्षज्यू ?

कार्यशैलीमा सुधार हुनुपर्छ भन्ने कुरा आएको छ । विचार गलत बोक्यौँ, गलत विचार लियौं, ठीक विचार भएनन् भन्ने छैन । कुनै आचरणमा कमी आयो, नैतिकतामा कमजोरी छ, आदर्शपूर्ण व्यवहार आचरण छैन, यस्ता कुनै आरोपहरू आएका छैनन् । अब विरोधीहरुले लगाउने त अब नेपालको सातौं धनी भनेर भन्ने जस्ता हावादारी कुराहरू अथवा आग्रह, आवेश, उत्तेजनाका ‘केपी ओलीको घर बनाउने फोटो के रे त्यो नक्सा घरको नक्सा कसले स्केच गर्‍यो ? कसले तयार गर्‍यो ? त्यो इन्जिनियरलाई चाहिँ घृणा गर्नुपर्छ, त्यसलाई बदनाम गर्नुपर्छ, त्यसको चरित्रहत्या गर्नुपर्छ, त्यसलाई कारबाही गर्नुपर्छ’ भन्ने जस्ता मन्त्रीहरूका उत्तेजनाहरू, ती आगजनीवाला उत्तेजनाहरू हुन् । तोडफोड, लुटपाट गर्ने खालका उत्तेजनाहरू हुन् । ती उत्तेजनाको कुरा बेग्लै हो । नत्र भने, यस्ता कुनै आरोपहरू यथार्थ आरोपहरू केही छैनन् । काम गर्दैन, सक्रिय छैन भन्ने आरोप पनि छैन । निर्णय क्षमता छैन भन्ने आरोप पनि छैन । उचित समयमा निर्णय लिन सक्दैन भन्ने आरोप पनि छैन । नीति निर्माणमा प्रभावकारी भूमिका निभाउन सक्दैन भन्ने पनि आरोप छैन । राजनीतिमा चाहिने इमान, निष्ठा, त्यो भएन भन्ने पनि आउँदैनन् ।

अब आएर कार्यशैलीमा सुधार हुनुपर्‍यो । केमा सुधार हुनुपर्‍यो ? म सोध्छु । सोध्ने गरेको छु । मलाई आलोचना गर्नुहोस्, यथार्थ आलोचना, तथ्यमा आधारित आलोचना गर्नुहोस्, मैले माग गर्छु साथीहरूसँग । मैले सोध्दाखेरि केही पनि आउँदैन । बाहिर म देख्छु सामाजिक सञ्जालहरूमा यताउता । कार्यशैलीमा सुधार हुनुपर्‍यो । कहाँनेरि के कार्यशैली ? कार्यशैली भनैकै नबुझेर कार्यशैली भन्या हो कि ? बुझेर कार्यशैलीमा सुधार हुनुपर्‍यो भन्या हो ? के शैलीमा के सुधार हुनुपर्‍यो त ? यस सन्दर्भमा अमूर्त कुराहरु छन् । अर्थात आलोचना छैन । दुनियाँमा सायद म एउटा नेतृत्वमा बसेको व्यक्ति यति आलोचना गर्न सक्ने, आलोचनाको ठाउँ नै फेला नपरेको व्यक्ति त्यो भाग्यमानी व्यक्ति म एउटा पर्छु होला । अरू कुनै केही कुरामा लोभ गर्‍यो भन्ने आरोप पनि छैन । कतै केही आरोप छैन त ! यो एउटा यत्रो लामो समयको राजनीतिक जीवनमा यो एउटा धेरै ठूलो उपलब्धि हो भन्ने ठान्छु म । शौखिन भयो, ऐश आरामको जिन्दगी बितायो भन्ने पनि छैन । म बिहान खाजा खाने गर्दिनँ, दिउँसो खाजा खाने गर्दिनँ । दुई छाक खाना खान्छु । त्यो दुई छाक खाना कस्तो हुन्छ ? एक्लै बसेर प्रायः म खाना भ्याउँदिनँ । अरूसँगै बसेर खाने हो । त्यो पनि मान्छेले देख्या हुन्छ । दुई छाक खाना भन्दा पनि म प्रायः एक छाक खाना खान्छु । बेलुका साँझको खाना भ्याइएन पनि, अप्ठ्यारो हुन्छ । १२, १ बज्छ, बढी व्यस्त हुन्छु । त्यसले गर्दाखेरि खानाभन्दा बरु अलिकति फलफूल खायो, केही खायो, सिक्कियो । या एक फाँको चिउरा खायो, पानी खायो, सुत्यो । त्यसरी नै मैले चलाएको हुन्छु ।

अब कार्यशैलीमा सुधार भन्या हुन्छ । म कसैसँग दुर्व्यवहार गर्ने, कसैसँग झै–झगडा गर्ने, कसैलाई अपमान गर्ने, कसैलाई होच्याउने, कसैसँग रूखो व्यवहार गर्ने, त्यो गर्दिनँ । अहिले सम्म मैले संगत गरेका मान्छेहरूमा मलाई यसरी गाली गर्‍यो, यसरी हप्कायो, यसरी कडा शब्द बोल्यो, यस्तो अपशब्द बोल्यो, यस्तो कुनै आरोप जिन्दगीमा हुनै सक्दैन । मैले कुनै आलोचना गर्नुपर्दाखेरि पनि नरम शब्दमा र अत्यन्तै सम्यमित ढंगले मात्रै मैले कुनै कुरामा आलोचना गर्दा सुझावको हिसाबले यसो नगर यसो गर्दा राम्रो हुन्छ भन्ने मात्रै भन्ने हो । अब जहाँसम्म मान्छे असन्तुष्ट छन् भन्ने कुरा, ‘यू कान्ट फ्रिज एभ्रिवन’ भन्छ । तपाईं हरेकलाई खुशी पार्न सक्नुहुन्न । हरेक खुशी त आफ्नो स्वार्थ पूरा भयो भने मात्रै खुशी होला । ‘सन्तुष्टम परमम् सुखम’ भनेर कति मान्छेले ‘सन्तुष्ट नै परम सुख हो’ भनेर सन्तोष मानेर कति मान्छे हिँड्छन् ?

असन्तुष्टि प्रधान समय छ । अघि प्रदीप ज्ञवालीजीसँग कुरा गर्दै थियौं हामी । अनि मैले भने यो ग्रह नक्षत्रहरू, हाम्रो आकाश माथिका ग्रह नक्षत्रहरू, मान्छेलाई त दोष लाउन मिलेन । त्यसकारण ग्रह नक्षत्रलाई दोष लगाऊँ । यो असन्तुष्टि प्रधान बनाइदिने, सबैलाई असन्तुष्ट बनाइदिने, सबैलाई सबैलाई नाखुश बनाइदिने ग्रहदशा हाम्रो आकाश माथि छ । ती ग्रहदशाहरूको यस्तो योग परेको छ, जसले गर्दा यहाँ मान्छेलाई मान्छेका घर देखे पनि आगो लगाइदिउँ, लगाइदिउँ हुने, राम्रा पसल देखेपछि लुटौं, लुटौं हुने, राम्रा सिसा भएका घर देख्यो भने ढुंगा हानेर फोर्दिउँ फोर्दिउँ लाग्ने, कसैले राम्रो गर्‍यो भने त्यो राम्रोलाई नराम्रो भनौं, गाली गरौं गरौं लाग्ने, कसैले खेतमा लाउने कुलो बनाएको देख्यो भने त्यसलाई भत्काइदिउँ भत्काइदिउँ लाग्ने । यो खालको प्रवृत्ति हुने । यो ग्रहदशाकै खेल हो कि ? हाम्रै आकाशमाथि चाहिँ यस्ता ग्रहदशा फेरि अरूतिर नआउने, हाम्रैमा किन आउने ? अलि टेढामेढै भएका हुन् कि के हो ग्रहदशा भनेर हामीले अलिकति ठट्टा गरेका थियौं । त्यस्तै मानिसहरुमा असन्तुष्टि प्रधान, जेमा पनि असन्तुष्टि व्यक्त गर्न मन लाग्ने, अलिकति विरोध गरिहाल्नु पर्ने कसैको, प्रशंसा गर्न नसकिने ।

एक पटक नवौं र दशौं महाधिवेशनतिर फर्कौं । तपाईं अध्यक्षको प्रतिस्पर्धी हुनुहुन्थ्यो, बिजयी हुनुभयो । तर शारिरिक रूपमा हातमा एउटा सेतो टालो बाँधेर हिँड्नुपर्ने अवस्था थियो । प्रतिस्पर्धा गर्नुभएका माधव नेपाल एमालेमा हुनुहुन्न । दशौं महाधिवेशनमा सौराहलाई नै सम्झेर हेर्दा भीम रावललाई उपाध्यक्षमा प्रस्ताव गर्नुभएको थियो । तर तपाईंसँग प्रतिस्पर्धा गर्नुभयो । उहाँ पनि अहिले पार्टीमा हुनुहुन्न । ११औं महाधिवेशन पनि त्यही श्रृंखला फेरि दोहोरिने हो कि भन्ने एक खालको त्रास एमाले कार्यकर्ताहरूमा छ । यसलाई कसरी लिनु भएको छ ?

हातमा मात्रै होइन नि । म त त्यो मेनिन्जाइटिस भएर भर्खर विदेशबाट फर्केको थिएँ स्वास्थ्यको कुरा गर्दा । अर्को कुरा भन्नु पर्दा मैले अस्ति चार पाँच दिन अगाडि केही नेताहरूसँग भेटेको थिएँ ईश्वरजी लगायतसँग । उहाँहरूको भनाइ ‘मेरो त मिलेर जाऊँ भन्ने छँदै छ । तर मैले मिलेर जान दबाव दिनु पनि हुँदैन । यसकारण कि लड्ने त उहाँहरूको हक हो । कुनै पनि पोस्टमा लड्न पाइन्छ ।’ अब यो हाम्रो आन्दोलनभित्र आएको रोगबारेमा तपाईंले उठाएको प्रश्नको बारेमा कुरा चल्दा उहाँहरू ईश्वर पोखरेल लगायतले ‘पार्टी फुटाइन्न, बसिन्छ, पार्टीभित्रै बसिन्छ, जुन ठाउँमा भए पनि बसिन्छ’ भन्नुभएको छ । म त्यो कुरालाई विश्वास गर्छु । केपी ओली सर्वसम्मत, सर्वस्वीकार्य छैन भन्नका लागि उम्मेदवारी दिने हो । जित्ने सम्भावना छैन भन्ने सबैलाई थाहा छ जो अहिले उम्मेदवार हुन खोज्दै हुनुहुन्छ साथीहरू । जित्ने सम्भावना छैन । त्यो त एकदमै छर्लंगै थाहा छ नि । अहिले होइन पहिल्यैदेखि थाहा छ नि ! फेरि पनि उम्मेदवारै हुनका लागि किन यत्रो कसिनुभाछ त ? त्यसो भएर उम्मेदवारै भएर छोड्नका लागि यो मिडियामा यति तिक्तता बढ्ने गरिएका अभिव्यक्तिहरु किन दिनुहुन्छ त उहाँहरू ? अब उहाँहरूको सम्बन्धमा धेरै टिप्पणी गर्न चाहन्नँ । यसकारण कि उहाँहरू उम्मेदवार उठ्छु भन्दै हुनुहुन्छ भने उम्मेदवार उठ्न दिनु वाञ्छनीय हुन्छ । मेरो आग्रह हुन्छ फेरि पनि । यो परिस्थितिमा, यस अवस्थामा यी यथार्थहरुमा जुन यथार्थ हाम्रो अगाडि छन्, तिनीहरुमा उम्मेदवार भइरहनु वाञ्छनीय छैन । त्यो मैले भन्ने कुरा हो । अब उम्मेदवार मात्रै हुने हो भन्ने उहाँहरूलाई थाहा छ ।

–नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग महाधिवेशन प्रचार समितिका लागि प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले तयार पारेको अन्तर्वार्ता ।

ताजा खबर

सम्बन्धित खबर