
हस्तिनापुरका आजीवन रक्षक भीष्म, जसका लागि प्रतिज्ञा, धर्म, मूल्य र कर्तव्य जीवनको मेरुदण्ड थियो । अन्तिम घडीमा राज्यको समृद्धिको कामना गर्दै एक असल शासकले माग्न सक्ने महान् बरदान मागेका थिए– हस्तिनापुरमा घाम–पानीको कहिल्यै कमी नहोस्, नदी–झरनाहरू कहिल्यै नसुकी चलिरहोस्, बोटबिरुवाले वर्षैभर फल दिइरहोस्, राज्य सधैँ समृद्ध, स्थिर र आत्मनिर्भर रहोस् । तर इतिहास साक्षी छ– धर्मको रक्षा गर्ने प्रतिज्ञामा बाँधिएका भीष्म द्रौपदीको अपमान रोक्न सकेनन् । ज्ञान–तपसी द्रोणाचार्य नुनको सोझो गर्ने नाममा दुर्योधनको अत्याचारसँग उभिए । त्यस क्षण हस्तिनापुरको भविष्य अन्धकारमा धकेलियो । मौनता र गलत पक्षको रक्षा सम्पूर्ण महाभारत विनाशको मूल कारण बन्यो ।
आज यही गल्तीका छाया नेपाली कांग्रेसमा पनि उभिइरहेको देखिन्छ । गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, प्रकाशशरण महत– यी नेताहरूको बाबुहरू पार्टीका निर्णायक केन्द्रमा थिएनन् । तर बीपी कोइरालाका पुत्र शशांक, गणेशमान सिंहका पुत्र प्रकाशमान, महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र– यी तीन नेताहरूमा भने पार्टीका महापुरुषहरूको विरासतको छाया गहिरो बसेको छ । यही कारणले रूढिवादी भाषामा ‘पितृ दोष’, आधुनिक भाषामा ‘विरासतको बोझ’– यी नेताहरूले आफ्नो घरानाको गौरव जोगाउन नसकेको आरोप उनीहरूकै जमातले लगाइरहेछन् ।
बीपी कोइराला मात्र होइनन्, उहाँका पिता कृष्णप्रसाद कोइरालाले फाटेको दौरा–सुरुवाल राणा प्रधानमन्त्रीलाई उपहार पठाएर इतिहास मोडिदिने चातुर्य देखाएको इतिहास छ । तर आज त्यही घरानाका शशांक कोइराला विकृत टिममा उभिन बाध्य हुनु कांग्रेस नेतृत्वको गम्भीर संकट हो । त्यही छिमेकी नेतृत्व गणेशमान सिंह, जो आफैँ प्रधानमन्त्री बन्न योग्य थिए तर पार्टी र आन्दोलनलाई प्राथमिकता दिएका नेता, उहाँकै छोरा प्रकाशमान सिंह देउवासँग सम्झौता गरेर आफ्नी श्रीमतीलाई मेयर बनाउनु परिरहेको छ । निधि परिवारमा पनि पद नचाहने महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधि पदकै शक्ति पछाडि लाग्नु नैतिक मूल्यको क्रमशः क्षयलाई प्रष्ट पार्छ ।
भीष्मको मौनता आज कांग्रेसको निष्क्रिय नेतृत्वमा झल्किन्छ । द्रौपदीको चीरहरण रोक्न नसकेको भीष्मजस्तै आज कांग्रेसका निर्णायक नेताहरू गलत निर्णय, भ्रष्ट्राचार, गुटबन्दी र पतन रोक्न नसकेर मौन दर्शक बनेर बसेका छन् । द्रोणाचार्यले दुर्योधनको नुन खाएर अधर्मको पक्ष लिएजस्तै आज कांग्रेसभित्र पनि ‘दबाब’, ‘गुट’ र ‘स्वार्थको नुन’अनुसार चल्ने द्रोणाचार्यहरूको कमी छैन । महाभारतमा द्रौपदी अपमानित भइन् र आज कांग्रेसमा दशकौं समर्पित कार्यकर्ताहरू गुटबन्दीको खेलमा अपमानित भइरहेका छन्, उनका त्याग र श्रमका मूल्य शून्य बनाइँदै छ ।
आदरणीय अध्यक्ष शेरबहादुर देउवा ज्यु– फेरि तपाईंकै अरु पानाहरु कोरिन खोज्दैछ । यदि फेरि प्रधानमन्त्री बन्ने इच्छा छ भने स्पष्ट भन्नुस्– कसको सहारा ? एमाले कि माओवादी ? यो डिजिटल युग हो– २४ घण्टामै सत्ता गठन–विघटन हुन्छ, तर काँग्रेस नेतृत्वको निर्णयहीनता महिनौँसम्म रोइरहन्छ । पहिले पनि तपाईंलाई अक्षम प्रधानमन्त्रीको उपमा दिइयो, अब इतिहासले फेरि अन्तिम प्रश्न सोधिरहेको छ– ‘देशको इतिहासमा राम्रो उपमा कमाएर जान चाहनुहुन्छ कि काँग्रेस इतिहासकै सबैभन्दा कमजोर नेतृत्वको दाग बोक्दै विदा हुन चाहनुहुन्छ ?’ उत्तर अब तपाईंको हातमा छ ।
हस्तिनापुरले भीष्मको बरदान पाउन सकेन, कांग्रेस पनि पाउने कि गुमाउने ? भीष्मले हस्तिनापुरका लागि मागेका थिए– घाम–पानीको कमी नहोस्, पानी कहिल्यै नसुक्योस्, बोटबिरुवाले फल दिइरहोस्, राज्य समृद्ध रहोस् । तर सभामा भएको अन्याय रोक्न नसक्दा त्यो बरदान हस्तिनापुरले पाएन, साम्राज्य ढल्यो । आज नेपाल आमाले पनि आफ्ना छोराछोरीलाई चेताउँदै छिन्, ‘सत्यको पक्षमा उभ, धर्म नछाड, गुटको अन्धकारमा नहराऊ, नत्र कांग्रेस पनि हस्तिनापुरजस्तै इतिहासको मात्र एउटा अध्याय बन्न सक्छ ।’ युग फेरिँदैछ– तर नेतृत्व फेरिन सक्ने कि नसक्ने यही कांग्रेसको निर्णायक प्रश्न हो ।