
अहिलेको विश्वलाई बुझ्न तीन विषय असाध्यै महत्वपूर्ण छन्– आप्रवासन, आतंकवाद र युद्ध । यिनै तीन शीर्षकले राष्ट्रको सुरक्षा, पहिचान, मानवता र भविष्यका सम्भावनाहरूलाई परीक्षणमा राख्छन् । इतिहासविद्हरू यी विषयहरूलाई भावनाले होइन, तथ्य, मनोविज्ञान र वैश्विक शासनको दृष्टि बिन्दुबाट हेर्छन् । आप्रवासन केवल सीमा पार गर्ने शारीरिक यात्रा मात्र होइन, संस्कृतिको मिश्रण, पहिचानको पुनर्संरचना र राष्ट्र–राजनीतिक तनावहरूको केन्द्र हो । आतंकवाद आधुनिक विश्वको सबैभन्दा गलत बुझिने मुद्दा हो– यसको शक्ति हिंसामा होइन, डर फैलाउने क्षमतामा छ । त्यस्तै, युद्धको भविष्य परम्परागत सेनाको भिडन्तमा होइन, प्रविधि, साइबर घुसपैठ र एआई–आधारित शक्ति–सन्तुलनमा निर्धारण हुँदै छ ।
यी तीन विषयले देखाउँछन्– २१ औँ शताब्दीमा मानवता ‘राष्ट्रिय सीमाभन्दा ठूलो’ समस्यासँग जुधिरहेको छ । जसबारे इतिहासविद् तथा दार्शनिक युवल नोह हरारी बारम्बार भन्छन्– वैश्विक मुद्दाको समाधान राष्ट्रिय सोचबाट सम्भव छैन । पाठकीय दृष्टिले, यी अध्यायहरूले हामीलाई भावनाको चस्मा हटाएर विश्वलाई डेटा, इतिहास र व्यवहारिक तर्क मार्फत विश्लेषण गर्न सिकाउँछन् । हरारीका अनुसार आप्रवासनको मूल समस्याभन्दा ठूलो समस्या आप्रवासनबारे फैलिएको भ्रम हो । मानिसले डर मान्ने कुरा वास्तविक तथ्य होइन, संस्कृति, धर्म, रोजगारी र सुरक्षा बिग्रने कल्पना हो । तर इतिहास बताउँछ, समाजहरू सधैँ मिश्रणबाटै विकसित भएका छन् ।
मूल समस्या सांस्कृतिक ‘शुद्धता’ होइन, समेकनको व्यवस्थापन हो । उदाहरणका लागि नागरिकले आप्रवासीलाई समान मानव मर्यादाको साथ व्यवहार गर्नुपर्छ । तर आप्रवासीले पनि देशको संवैधानिक मूल्य, मानवअधिकार, लैङ्गिक समानता जस्ता आधारहरूसँग सम्झौता गर्न पाइँदैन । दुवै पक्षले सीमित मात्रामा परिवर्तन स्विकार्दा मात्र स्थिरता सम्भव हुन्छ । इतिहासविद् हरारीले अर्को महत्वपूर्ण कुरा जोड्छन्– आप्रवासन समाधान हो, संकट होइन ।
वृद्ध जनसंख्या, श्रम अभाव र सिर्जनात्मक ऊर्जा आवश्यक परिरहेको समयमा आप्रवासी समाजलाई समृद्ध बनाउने स्रोत हुन् । तर समस्या भावनामा आधारित राष्ट्रवादले आप्रवासनलाई ‘अस्तित्वगत खतरा’ जस्तो देखाइदिन्छ । यहीँ हरारीको चेतावनी छ– डरले नअडिएको नीति नै स्वस्थ नीति हो । पाठकीय रूपमा, यो अध्यायले हामीलाई प्रचार र राजनीतिक चासोभन्दा माथि उठेर ‘मानवता र व्यवहारिकताको बिच सन्तुलन’ खोज्न सिकाउँछ । हरारीको दाबी अत्यन्त शक्तिशाली छ– आतंकवादको लक्ष्य हत्या होइन, मनोवैज्ञानिक आतंक हो । यही कारणले सानो समूहले पनि राज्यभन्दा ठूलो प्रभाव पार्न सक्छ । आतंकवादी युद्ध जित्दैनन्, तर डर फैलाएर राज्यलाई अत्यधिक प्रतिक्रिया दिन बाध्य पार्छन् । त्यसपछि जनताले स्वतः ‘सुरक्षा–केन्द्रित राजनीति’ रोज्छन्, जसले प्रजातन्त्र कमजोर बनाउँछ । अर्थात् आतंकवादको वास्तविक सफलता ‘धेरै मानिस मर्नु’ होइन, ‘राष्ट्रको राजनीतिक दिशा मोडिनु’ हो । यी पाठ पढ्दा, यो अध्यायले बुझाउँछ कि आतंकवाद ‘असमान शक्ति प्रयोग’ होइन, ‘असमान मानसिकता’को खेल हो । डर जित्न नसकिएसम्म आतंकवादले कुनै पनि समाजलाई बन्धक बनाएर राख्न सक्छ ।
२१औँ शताब्दीको युद्ध अब बन्दुक–तोपको भिडन्तमा मात्र सीमित रहेन, युद्धको मैदान बदलिँदै छ । साइबर–युद्ध, डाटा–युद्ध, ड्रोन–युद्ध र एआई–आधारित रणनीति नै अब निर्णायक बनिरहेका छन् । अर्थात् भविष्यको युद्ध ‘रगत’ भन्दा बढी ‘डाटा’ बाट जितिन्छ । युद्ध अब भावनाले होइन, एल्गोरिदमले चलाउनेछन् । एआईले जोखिम गणना गर्छ, डाटा विश्लेषण गर्छ, निर्णयको गति बढाउँछ । तर यही नयाँ मोडेल मानव सभ्यता लागि खतरनाक पनि छ, यदि एआई स्वायत्त हतियारले गल्ती ग¥यो भने युद्ध कसले रोक्ने ? कसले जिम्मा लिने ? यो अध्यायले हामीलाई भविष्यको युद्ध केवल सैनिक–रणनीति होइन, टेक्नोलोजी नैतिकता, शक्ति–सन्तुलन र मानव नियन्त्रण बिचको संघर्ष हो भन्ने गहिरो चेतना दिन्छ ।
आप्रवासन, आतंकवाद र युद्ध, यी तीन पाठले २१औँ शताब्दीको विश्व राजनीति कता जाँदै छ भन्ने चित्र अत्यन्त स्पष्ट बनाउँछन् । विश्लेषण हेर्दा बुझ्न सकिन्छ, समस्या राष्ट्र, धर्म वा संस्कृतिबिचको टकराब होइन; समस्या डर, गलत सूचना र सीमित राजनीतिक सोच हो । आप्रवासनले मानवताको साझा भविष्य देखाउँछ, आतंकवादले कमजोरी होइन, आफूभित्रको भय प्रस्ट पार्छ र युद्धको भविष्य प्रविधिको हातमा सर्दै छ ।