२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

मुटुलाई फलाम बनाउने विद्या

shivam cement
अर्चना थापा
२०८२ मंसिर २७ गते ०६:१५
Shares
मुटुलाई फलाम बनाउने विद्या

उसका बुबालाई सबैले गाउँमा गोविन्द वैद्यको नामबाट चिन्थे । उनले मिर्जापुरका प्रख्यात गुनिया वैद्यको घरमा बसेर सेवा गर्दै त्रिदोष प्रणाली आयुर्वेदिक उपचार विद्या सिकेका थिए । रक्त, पित्त, कफ र वात सँगै रोगीको नाडी पढ्ने र आफै औषधी बनाउन सक्ने भएपछि आफू बुबा स्वदेश फर्के । उनको आफ्नो भन्ने कोही थिएन । एउटा गाउँमा घरजम गरेर बसे । उनको नाम टाढा टाढाका गाउँमा समेत चिनिने भयो । काल ज्वरोले उनकी श्रीमती लगेपछि उनी आफ्नी काखे छोरी वेदीलाई ढाकरमा बोकाएर टाढाका गाउँहरूमा उपचार गर्न पुग्थे ।

परदेशमा गुनिया वैद्यको चाकर बनेर वर्षौँ हन्डर खाएर सिकेको विद्याले उनको जीविका राम्रै चलाएको थियो । उनले गोठालाहरूको झुप्रो भएको ऐँसेलु खर्कको डाँडोमा जग्गा किनेर त्यहाँ टिमुर, धुपी, अमला, असुरो, चिराइतो र औषधीको लागी चाहिने वनस्पतिहरू रोपेका थिए । कुनै बोटका फल, कुनैका पात, बोक्रा तथा जरा औषधी बनाउन चाहिन्थ्यो । बिस्तारै उनकी छोरी वेदीले बुबासित जडीबुटीका रङ, रूप, गन्ध, गुण र दोषका साथै बिरामीको नाडी छाम्ने विद्या सिक्दै गइन् । “गोविन्देकी छोरीको हातमा बाबा वैद्यनाथको बास छ” केहीले वेदीलाई वैद्य मान्न थालेका थिए ।

तर केहीले त वेदीको पिठ्युँ पछाडि कुरा पनि काट्थे, “आइमाई धेर बाठी हुँदा अनिष्ट हुन्छ । था’ छ के, वेदीले त बोक्सी विद्या जानेकी छ रे ?” वेदीले टुनामुना गरेर बिगार गर्छे कि भन्ने डरले गाउँले अगाडि केही भन्न सक्दैन थिए ।

वेदी वैद्यनीको रूपमा चिनिँदै गएकी उनले झाडा बान्ताले निस्लोट भएको काखे बालखालाई ज्वानो र अरू जडीबुटीको धुलोसँग मह मिसाएर दिँदा चट्ट निको हुन्थ्यो । गर्मीयाममा खटिरा निस्केको जीउमा उनले सुन्तलाको बोक्राको धुलो र बेसारको मिश्रण लेपन गरेर निको पार्थिन् । पित्त ज्वरोले ढलेका बिरामीलाई अमला र बुटीको चूर्ण दिएर निको पार्थिन् । नाथ्रो फुटेका र पिनासले गलाएकालाई जङ्गली तुलसाको पातको रसमा अरू बुटीको धुलो मिलाएर दिँदा निको हुन्थ्यो । सुख्खा खोकी लागेको र छातीमा कफ जमेको तथा आउँ र पखालाले लस्त पारेका बिरामीलाई मात्रा जोखेर दिएको असुरोले निको पाथ्र्यो । पेटको दुखाइले फत्र्याक फत्र्याक भएकालाई घोडताप्रे र ज्वानोको धुलोको मिश्रणले निको पार्थिन् । स्वास्थ्य चौकी नभएको गाउँमा उनै वैद्यनी आमैकै औषधीको भर थियो । उनी भन्थिन्, “यस्य देशस्य यो जन्तुः तस्यौषधं हितम्” अर्थात् जो व्यक्ति जहाँ जन्मन्छ उसको लागि त्यही ठाउँको हावापानी र माटोमा उब्जिएका अन्न र औषधी हितकारी हुन्छ ।

उनले बेला कुबेला गाउँमा पस्ने यमराजलाई कायल बनाएकी थिइन् । कोठाको भित्ते ¥याकमा जडीबुटीका बट्टाहरू लहरै मिलाएर राखिएका हुन्थे । बिहानदेखि उनी जडीबुटी खोज्ने, केलाउने, धुने, काटेर घाममा सुकाउने, चूर्ण बनाउँदै बेग्ला बेग्लै बट्टामा राख्ने गर्थिन् । काफल, घोडताप्रे, जटामसी, गुर्जो, हर्रो, त्रिफला र थप जडीबुटी खोज्न आमै वनजङ्गल चहार्थिन् । उत्तिसका रूखमा पलाउने झार खोज्न, घँगारुको बुट्यानमा फलेका झारपात टिप्न र रूखका बोक्रा र हाँगामा पलाउने झ्याउ टिप्न उनी हँसिया र बोरा लिएर जङ्गलभित्र हराउँथिन् ।
उनी अग्ला रूखमा सजिलै चढ्थिन् । उनलाई जङ्गल संरक्षण गर्ने कर्मचारीले कहिले चेतावनी दिएजस्तो गर्थे भने कहिले नदेखेजस्तो गर्थे किनकि उनीहरू आफू बिरामी हुँदा आमैको ओखतीको भर थियो ।

धानलाई किराबाट कसरी जोगाउने, मकैका सूली र परालका टौवालाई किराबाट कसरी जोगाउने, घरमा तिहुन नहुँदा भान्साको जोहो कसरी गर्ने, मुसीको कपालमा जुम्रा पर्दा के गर्ने, रक्सी खाएर स्वास्नी ठटाउनेलाई कस्तो ओखती दिने आदि इत्यादि तरिका उनैलाई थाहा थियो । उनले बिरामीको नाडी छामेर व्यथा भेट्टाउन जानेकी थिइन् । बादलपारिका कुरा, पाताल मुनिका कुरा र आँखाले देख्ने र नदेख्ने जम्मै कुरा उनले जानेकी थिइन् । 

उनी सुस्केरा हालेर भन्थिन्, “रूख बिरुवालाई हुर्किन पहारिलो ठाउँ चाहिन्छ । लोग्ने स्वास्नीको नाता भनेको पनि त्यस्तै हो । न्यानो नपाउँदा ओइलिएर जान्छ ।”

उनले एक्लैले घर थामेकी थिइन् । सायद उनले आफ्नो मुटुलाई फलाम बनाउने विद्या जानेकी थिइन् ।

रिसाएको बेला आमैले आफ्नो लोग्नेलाई “मुसीका चमेरा बा” भने तापनि बाको वास्तविक नाम बटुकृष्ण भियो । उनी फुक्काफाल मस्त मान्छे ! न आजको चिन्ता, न भोलिको आशा ! उनी दुई जनाको मात्र कुरा सुन्थे– एउटा आफ्नो मनको र दोस्रो, आफ्नो गुरु बाबाजी मराजको । जब बाको मनले भन्थ्यो “हिँड” उनी सबै छाडेर खुरुक्क हिँड्थे । जब बाको मनले घर फर्किन भन्थ्यो उनी खुरुक्क घर फर्किन्थे ।

बा महिनौँ बाबाजीसित हिँड्थे । घर फर्किँदा शिवबूटीले लट्ठिएका आँखामा आँसु टिलपिलाउँदै उनी आमैको अघि किरिया खान्थे । सुध्रिने बाचा गर्थे, “सत्य धरोधर्म, म अब आश्रम जान्न । घरै बस्छु । जति धर्मकर्म गर्नु थ्यो, गरिसकेँ । अब पुगो । अब कहिले जान्न ।” तर उनको मनमौजी चाला र आमैसित गर्ने बाचाबिच तालमेल कहिले मिलेन । बालाई बाबाजीको मोहनीले तानेपछि उनी आफ्नो बाचा हार्थे र घरबाट हराउँथे ।

बाले सुनेअनुसार हिमाञ्चलको एउटा सभ्रान्त परिवारमा जन्मेका सिद्ध कुमारले आफ्नो घर परिवार, मोहमाया सबै त्यागेर हिँडेपछि बाबाजी महाराज नाम पाएका थिए । शिवरात्रिको बेला नेपाल पसेका उनलाई नेपाल मन प¥यो र यतै बस्ने निर्णय गरे । एक ठाउँमा धेरै दिन नटिक्ने बाबा नेपाल सरकार नपुगेका कुना कन्दरासम्म पुगेका थिए रे ! उनी कहिले भोकै हिँड्थे । कहिले रूखमुनि बस्थे । उनले घाम, पानी तथा हुरीबतासलाई समभावले स्विकार्थे । दुधपोखरी, सोलुखुम्बुका भक्तालुहरूले उनको लागि आश्रम बनाए । एक ठाउँमा नटिक्ने बाबाजीको त्यो आश्रम भक्तजन भेट्ने ठाउँ बन्न पुग्यो । साँझपख भक्तहरू आश्रममा जम्थे । धुनी लगाउँथे । अध्यात्मका कुरा र शिवबुटीमा रमाउँथे । 

आमैका लागि उनला लोग्ने छोरीका ‘चमेरा बा’ थिए । बाका लागि बाबाजी नै परमेश्वर थिए । उनी जब छरपस्ट कपाल, झुस्स दारी र ह्वास्स गनाउने शिव बुटीको गन्धमा लुटपुटिएर घर पस्थे अनि लाग्थ्यो, आमैले अगुल्टोले हान्छिन्, “त्यै अघोरीसित घरजम गरे हुन्छ नि । किन ह्याँ आउनु पर्‍यो ?”

आमै भरभराउँदो आगो हुन्थिन् ।

“आमै, बालाई नकराउनुस् न...।” त्यतिबेला उसलाई बाको औधी माया लाग्थ्यो ।

“तिम्रो कस्सम ! यो पालि नफर्किने गरी आ’को छु । कतै जान्न । तिम्रो मासु खाने... धरोधर्म...।” टाउको निहुराएर पिर्कामा बसेका बा मूलाको चानाको पिरो झोलसित मकैको च्याँख्ला मुछ्दै कस्सम खान्थे ।

एक छिनमा आमैको अनुहार धपक्क बल्थ्यो । बाको कसममा इमान छैन भन्ने बुझे पनि सायद आमैलाई लाग्दो हो, “गाउँलेले घरज्वाइँ भन्दै खिसी गर्छन् अनि त मुसीका बा घर बस्दैनन्.. ”, आमैको मन बातिर अलिकति ढल्किन्थ्यो होला तर केही हप्तापछि बा फेरि चमेरा बा भई हराउँथे ।

बिहान दुबोमाथि टुपुक्क बसेका मोती दानाजस्ता शीतका थोपा देखेर उसले आमैलाई सोधेकी थिई, “आमै, यो बिलाउने मोती काँबाट आउँछन् ?” आमैले सुस्केरा हालेर भनेकी थिइन्, “मेरी आमाले माथिबाट मेरा दुःख देख्दै छिन् । यी उनका आँखाबाट बगेका आँसुका दाना हुन् ।”

“पानी पकाएर बाक्लो हुँदैन, लोग्ने फकाएर आफ्नो हुँदैन,” भन्दै आमा चुप लाग्थिन् ।

आमैको सम्झनाले उसलाई अर्को एउटा घटना सम्झायो...

कार्तिकको महिना थियो । आमै आँगनमा सुकाएका दाउराका मुढा चिर्दै थिइन् । बा बिराला चालामा आएर पछाडि उभिँदा आमै नराम्ररी झस्केकी थिइन् । “राति मात्र घरको बाटो चिन्ने मुसीका चमेरा बा आज कताबाट उज्यालोमा झुल्किए ? ...हँ.. के भयो ?” आमैले आफैसँग गुनासो पोखेकी थिइन् ।

बाले भित्तामा छाता ठड्याए र आँगनमा थचक्क बसे । बुद्धि बङ्गाराको दुखाइले बालाई दुखाएको रहेछ । दाहिने गाला सुन्निएर आरुबखडा बनेको थियो । आमैको मन दुखाइरहने बालाई जब बङ्गाराको दुखाइ असह्य भयो अनि आमैकै शरणमा आउनुपरेको रहेछ ।  

बाको समस्या सुनेर आमै बारीमा पुगिन् । लटरम्म फलेका टिम्मुरको बोटबाट पाकेर राता भएका गेडाहरू लौरोले झारिन् । भुईँमा झरेका टिम्मुर पखालेर जडीबुटी कुट्ने खलमा थ्याच्च... थ्याच्च थिच्दै लेदो बनाइन् । त्यो लेदोलाई बाको बङ्गारामा राख्दा बल्ल बालाई दुख्न कम भएको थियो । बङ्गाराको दुखाइले बालाई केही दिन घरमा थाम्यो । आमै बिहान मनतातो पानीमा एक चम्चा फिटकीरी, मरीच र कागतीको रस निचरेर बालाई कुल्ला गर्न दिन्थिन् । गिलो जाउलो खान दिएर पछि फिटकीरीको धुलो राखेको कपास दुखेको बङ्गाराले च्याप्न लगाउँथिन् ।
दुखाइ हराएपछि बा पनि हराए ।

बा बेपत्ता भएको दुई दिनपछि बल्ल थाहा भयो, आमैले वर्षभरि मह काढेर जोगाएको र बोयर खसी बेचेर जम्मा गरेको रकम पनि बाको साथ लागेर हिँडेछ । दिनरात नभनी हाड घोटेर जम्मा गरेको पैसा बासितै हराउँदा आमैले गुनासो गरिनन् । रित्ता आँखाले रित्तो थैली छामेर मात्र बसिन् । दोस्रो दिन बिहानै भालेको डाँकसँग दैलो उघारिन् । पानी ओसारिन् । आँगन बढारिन् । उनले गाई र बाख्रालाई अघाउँञ्जेल घाँस दिइन् । खेताला खोज्न गइन् । बिरामी हेरिन् । कुलोमा पानी मिलाइन् । उनले आफ्ना गुनासाहरूलाई कामका भारीमुनि लुकाउन जानेकी थिइन् ।

बिहानदेखि बेलुकासम्म आमैका हातखुट्टा मसिन चलेजस्तै चलिरहन्थे । साउन भदौमा मकैबारीभित्र उखुम हुन्थ्यो । आमै हाँडीमा धानको भुस राखेर त्यसमाथि आगाको कोइला राखी किरा धपाउने जुक्ति गर्थिन् । जाडोमा अगेनाको छेउमा सुत्नुपर्दा आगोले पोल्ने डरले आमै रातभरि राम्ररी सुत्न सक्दिन्थिन् । के आमैले आफ्नो मन फलामको बनाएकी थिइन् ?

उसलाई आमै र बाको याद आउन थाल्यो । आमैले आफ्नो सिप र ज्ञानले गृहस्थी थामेकी थिइन् । उनलाई न मुसीका चमेरा बासित कुनै आशा थियो, न लोग्ने टाढिन्छ भन्ने डर थियो । उनलाई मुसीका चमेरा बासित न कुनै अपेक्षा थियो, न गुनासो थियो । बरु आमैलाई जङ्गलका रुख बिरुवा र लेक–बेसीका झारपात र जडीबुटीको आशा थियो । के ऊ आमै जस्ती हुन सक्छे ?

अग्निगर्भाबाट

सम्बन्धित खबर