
एमालेका अध्यक्ष केपी शर्मा ओली ११ औँ महाधिवेशन निकट अवस्थामा विचलित देखिए । फेरि पनि विद्या भण्डारीलाई धामी र झाँक्रीझैँ आफ्ना विरुद्ध जेहाद छाडेर लागेको निर्लज्ज तरिकाले बताए । यसको प्रतिवाद उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ओलीलाई नाजवाफ पार्ने गरी दिइन् । सारमा उनले ओलीलाई स्त्रीद्वेषी बताइन् । अष्टका अनुसार एउटी आमालाई तथानाम गाली गर्नेले कुनै महिलालाई सम्मान गर्दैन । अष्टका कुराबाट ओलीले महिला अस्मितामाथि दिन दहाडै आक्रमण गरेकामा तीव्र आक्रोश प्रकट हुन्थ्यो । शाक्यले ओली अब सुध्रिँदैनन् त्यसैले ओलीलाई उधार्नु वा महाधिवेशनमा पराजित गरी धुलो चटाउनु अपरिहार्य रहेको समेत टिप्पणी गरिन् । नभन्दै ओली आफ्नू भएको र बाँकी बचेको आफ्नो उचाइ धुलोमा मिलाउन आतुर देखिन्छन् । यो ओलीको राजनीति होइन पुँजीवादी र सामन्तवादी भन्दा पनि निक्कै तल ओर्लिएर ओली राजनैतिक रङ्गमञ्चमा तमासा देखाइरहेका छन् । टिक्स, ट्याक्टिस, ट्रिक्सका भरमा राजनीति गरेको स्वाङ गरिरहेका छन् ।
कम्युनिस्ट, एमाले र जबजका नाममा राजनीतिक चरित्रको चीरहरण गरिरहेका छन् । उनलाई उनैले आफू खुसी र अझ मनपरी तरिकाले बनाएको नीति, विधि मात्र मान्छन् । योभन्दा राजनीतिका नाममा भद्दा मजाक केही नै हुन्न ।
कम्युनिस्ट हुनु असल मान्छे हुनु हो भन्ने सुनेको र जननेता मदन भण्डारी जस्ता केही उदाहरणीय नाम र काम देखेको तर अहिले पार्टी अध्यक्षकै गैर माक्र्सवादी तथा जबजका ठिक विपरीतका चरम अशोभनीय बोली वचन र व्यवहार देख्दा पंक्तिकार जस्ता धेरैलाई देख्नेलाई लाज लाग्ने अवस्था सिर्जना भयो । तर नग्न अवस्थामा चौबाटामा बिस्ट्याउनेलाई कत्ति पनि लाज र सरम देखिएन । अझ अचम्मको कुरा त के छ भने जननेता मदन भण्डारीलाई चार वटी जोईको पोइ र साझा सहकारी लुट्ने डाकाभन्दा धेरैको मन कुँडिएको छ । हुन त एक समय नोकर शाही जनवादमा अभ्यस्त हुँदा मै पनि आंशिक रूपमा ओलीलाई महान् ठान्थेँ । त्यसैले र उनका बारेमा गर्नै पर्ने आलोचनात्मक लेख लेख्न सकिन र अहिले पछुतो लागेको छ ।
तर अब ओली अर्धनग्न वादशाहमा अवतरित भए पछि जनताको रगत र पसिनाबाट सहिदहरूको महान् त्याग र बलिदानबाट निर्मित पार्टीको मूल आधार जोगाउन लागि परेको छु । अझ भाइ फुटे गँवार लुटे भनेझैँ यस्ता आन्तरिक विभाजन र विग्रहकारी गतिविधिले देशको अस्तित्व नै धरमर हुने हो कि भन्ने भय रहेको छ । एमाले र नेपाली कांग्रेस जस्ता मुलुकका प्रमुख पार्टी आन्तरिक रूपमा एक ढिक्का हुन् र विखण्डित नहुन् भावनाले लेखन कर्मका साथ उद्बोधन गर्ने काममा लागिरहेको छु । जसले सत्य असत्य छुट्याउन सक्छ त्यसैले कपडछान न्याय गर्न सक्छ । जसले सात पत्र मुनिको सूचना थाहा पाउँछ, उसैले गलत सूचनालाई खण्डित गर्न सक्छ । जो सित इमानदारिता र उच्च विवेक छ उसैले राजहाँसको झैँ दूधको दूध र पानीको पानी छुट्याउन सक्छ र समाजमा न्याय स्थापना गरिछाड्छ ।
मदनले २०५० साल जेठ ३ गते पोखरामा जीवनको अन्तिम प्रशिक्षणात्मक सम्बोधन गरे । त्यसमा उनले विश्व कम्युनिस्ट आन्दोलनमा प्रमाणित गल्तीलाई हामीले दोहो¥याउन किमार्थ हुन्न भने । पार्टी, संगठन, नेता, कार्यकर्ता र संगठकलाई टुल्स÷औजार बनाउनु हुन्न भन्ने कुरामा जोड दिए । अर्थात् पार्टी र संगठनलाई अमुक प्रमुख नेताले आफ्ना नितान्तः निजी स्वार्थ सिद्ध गर्न काँटा चम्चा बनाउनु हुन्न, यसो गरियो भने अहिलेकै अवस्था पार्टीमा आउँछ ।
तर ओली भने पार्टीलाई आफ्नो निजी कम्पनी जस्तै बनाए । असत्य अन्यायको प्रतिरोध अनिवार्य मात्रै होइन अपरिहार्य हुन्छ र यसको प्रतिवाद यही मंसिर २७ गतेदेखि हुने पार्टी महाधिवेशनका बहुसङ्ख्यक प्रतिनिधिले गर्नेछन् । प्रथम महिला राष्ट्रपति तथा पूर्व एमाले उपाध्यक्ष विद्या भण्डारीको आफैले नवीकृत सदस्यता खोस्ने ओलीको निकृष्ट कामको जवाफ प्रतिनिधिले दिनेछन् । विद्याका छाया र छविदेखि ओली अत्यन्त त्रसित भएकाले उनले विद्यालाई रोकेको स्पष्ट हुन्छ । महाधिवेशनमा आफू विद्यासित प्रतिस्पर्धा गर्न नसक्ने अवस्था ओलीले देखे र षडयन्त्रपूर्वक अध्यक्ष हुने धाँधली सोच उनमा पलाएको हो ।
निरङ्कुश चरित्रका ओलीलाई वरिष्ठ नेता ईश्वर पोखरेलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणासँगै ओली तीन ठाउँमा भाँच्चिए । कम्प्रेहेन्सिभ डेमोक्रेसी ओलीको सिद्धान्त हो । उनी जबजलाई क्रमशः विस्थापित गर्ने कपटपूर्ण सोचमा छन् । तर जबजका रक्षकहरू जीवित छन् भन्ने सशक्त आवाज अधिवेशनमा स्पष्ट हुँदै गएको छ । ओली महाधिवेशन प्रतिनिधि मनोनयन गर्न पनि हच्किएका थिए । ओली अहिले आफ्नै छायादेखि तर्सिन थालेको देखिन्छ । उनलाई आफ्नै वरिपरि घुम्ने झुन्डले नै भित्री रूपमा साथ दिँदैनन् कि भन्ने पनि पिर छ । गर्जिने बादलले पानी पार्दैन । अहिले एमाले पार्टी ओलिटिक्सले धराशायी बन्न खोज्दै छ । भए भरका विकृत र विकृतिग्रस्त चरम विसंगत चरित्रले घेरिएर बसेका ओली स्टालिन बन्न आतुर देखिन्छन् । आफू सीतै जबज सहित समग्र जनप्रिय आन्दोलनलाई मटियामेट पार्न उनी उद्यत छन् तर मदन भण्डारी फाउन्डेसन ओली टिक्सको पोलिटिक्सलाई ठेगान लगाउने किल्ला रहेको छ । यही कुरा बुझेका ओली फाउन्डेसनलाई तथानाम आरोप लगाउन थालेका छन् ।
ओली जबजका मूल्य मान्यता विरुद्ध देखा पर्दै छन् । जबजले राम्रो काम राम्रै तरिकाले सम्पन्न गर्नुपर्छ भन्छ । यसले योग्य र योग्यतम मध्येबाट पार्टीको नेतृत्व चयन गर्नुपर्छ भन्छ, तर ओली एक्लो वीर बन्न चाहन्छन् । जबज र मदनले पार्टी सिद्धान्त, कार्यक्रम कार्यदिशा कार्यनीति आदि विषयमा आम कार्यकर्तालाई पारङ्गत बनाउनु पर्छ भन्छ । यसैले मदनले पाँचौँ महाधिवेशनमा देशका विभिन्न क्षेत्रमा मिनी महाधिवेशन गराए तर ओली भुस्कल विद्यार्थी मात्र भेला गर्न चाहन्छन् । जबजले सिद्धान्त मात्र होइन, व्यवहारले समेत जनताको मन जितेर नेतृत्व गर्ने कुरामा जोड दिन्छ तर ओली आश, त्रासमा पारेर अध्यक्ष हत्याउन चाहन्छन् । विद्या भण्डारीले राष्ट्रपति हुँदा सदस्यता त्यागेको होइन, स्थगन गरेको उनको पत्रबाट अवगत हुन्छ । विद्याको सक्रिय राजनीतिमा प्रवेश गर्ने बारे ओली नै पहिलेदेखि सहमत थिए । यसलाई ओलीले नै विभिन्न अवसरमा आफैँले पुष्टि पनि गरेका छन् तर अहिले आखिरीमा आएर त्यसका विरुद्ध ओलीले फलाको गरिरहेको देख्दा तमाम एमालेजन तीन छक्क परेका छन् ।
र, विगत असार १४ गते ओलीले जननेता मदन भण्डारीमाथि जुन तथानाम आरोप लगाए, त्यसबाट तमाम एमालेजन भित्रभित्रै जलेका छन्, तर बाहिर बाहिर मुखर हुन नसके पनि तिनको आवाज मतपेटिकाबाट प्रतिध्वनित हुनेछ । ओलीले महिला अस्मितमाथि धावा बोलेको पीडा पनि मतदानका बेला गुन्जिनेछ । किनकि यो राणा, शाह र लालफिताशाहको शासन होइन ।
ओली आफ्नै वरपर अहोरात्र भन्किरहने हरिया झिँगाले औँसा पारेको देख्दैनन् । ओलीलाई घेरेर बसेका अधिकांश माथिल्लो तहका नेता भनिएकाहरू पार्टीमा र जनतामा कुनै पनि र कत्ति पनि प्रभाव नभएकाहरू छन् । भक्ति र भजन गर्नेहरू कर्म गर्दैनन् । माक्र्सवाद र जबजले अन्तर्विरोधबारे सुस्पष्ट धारणा राखेको छ । मित्रवत् अन्तविरोधलाई शत्रुवत् देख्ने रतन्धो रोगबाट ओली ग्रसित छन् । ‘अज्ञमानक जब जागे तब सबेरा’ भनेझैँ यही महाधिवेशनमा मतदान गर्नुभन्दा अघि नै भ्रमित नेता र कार्यकर्ताले ओलीलाई राम्ररी चिन्नेछन् । चिनेपछि तिनले ओली पथ परित्याग गर्नेछन् । नोकर शाही जनवादमा अभ्यस्त हुँदा आफैँले पनि बेलैमा सबै विकृति बोल्न र घोल्न सकिएन । एक समय अर्ध दास बनेको यो लेखकझैँ छन् भने तिनले बेलैमा विचार गर्नुपर्छ । निःस्वार्थ र निःशर्त पार्टी नीति सिद्धान्त र आन्दोलन जोगाउने मनहरू सबै खालका आश त्रास र बतासका कुप्रभावमा पर्दैनन् । र, तिनीहरू नोकर शाही जनवादका विरुद्ध उभ्भिन्छन्, जसरी दीपक निरौलालगायत काठमाडौँली, पाटने र भक्तपुरे तमाम नेता कार्यकर्ता उभिन थालेका छन् । जान्ने बुझ्नै र सूचनाको सात पत्र मुनिका गुह्य कुरा बुझ्नेहरू नै अघि बढ्नुपर्छ ।
जनता लामो समय धैर्य गर्ने अवस्थामा छैनन् । महाधिवेशनमा नै कमरेड महाराज प्रवृत्तिलाई ठेगान नलगाई हुन्न । फलाम तातेको बेला घन बर्साउनुपर्छ । त्यसैले आम, तमाम नेता र कार्यकर्ता प्रतिनिधि मिलेर ओलिटिक्सलाई किनारा लगाउनै पर्छ । शरीरभित्रको बिस तत्वलाई बेलैमा ठेगान लगाइएन भने जीव र जीवन तत्व क्षतिग्रस्त हुन्छ र पार्टी थला पर्छ । पहिले पनि पार्टी अध्यक्ष र प्रधानमन्त्री छाड्नु प¥यो भने कुर्सीको खुट्टा नै भाँचिदिन्छु भन्ने ओली दुर्नियत थाहा भएकै हो । एमाले काठमाडौंलगायत अरू जिल्ला पार्टी र प्रदेशका नेताले ओलीका गुह्य र गोप्य कर्तुत अवलोकन गरेका छन् । इटहरीको यो लेखक अहिले महाधिवेशन निकट काठमाडौँमा ओलिटिक्सको विकृत पोलिटिक्सबारे राम्रै जनकार भएको हुँदा तमाम एमाले जन र जनतालाई यस लेख मार्फत सुसूचित गरिएको हो । ।
(लेखक, एमाले पूर्व केन्द्रीय सदस्य हुन् ।)