२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

नयाँ विचारको खोजी

shivam cement
युवराज न्यौपाने
२०८२ मंसिर २९ गते ०६:०५
Shares
नयाँ विचारको खोजी

नेपालमा राजनीतिक दलहरूको संख्या बढ्दै गएको छ तर विचारहरूको गहिराइ घट्दै गएको देखिन्छ । हरेक आन्दोलनपछि नयाँ दल जन्मिन्छ, नयाँ नेतृत्व देखापर्छ तर उनीहरूको वैचारिक बाटो अस्पष्ट रहन्छ । आन्दोलनको तापले राजनीतिक अवसरहरू त जन्माउँछ तर त्यही तापमा पकाउनुपर्ने विचारको भट्टी चिसो रहन्छ । यही कारण, आन्दोलनहरू निरन्तर हुन्छन् तर तिनले उत्पन्न गर्नुपर्ने दीर्घकालीन परिवर्तन दुर्लभ रहन्छ ।

विचार निर्माण केवल सोच्नु वा बहस गर्नु होइन– यो एक व्यवस्थित प्रक्रिया हो, जसले अमूर्त सोचलाई मूर्त योजनामा परिणत गर्छ । विचार निर्माण अनुसन्धान, आलोचनात्मक सोच र सामूहिक अन्तत्र्रिmयाको संयोजन हो । एलेक्स एफ ओस्बोर्नले विचार निर्माणलाई ‘दिमागको प्रयोगद्वारा नयाँ संयोजन पत्ता लगाउने कला’ भनेका छन् । ग्राहम वालेसले यसलाई ‘अवचेतन चिन्तनबाट उत्पन्न हुने सिर्जनात्मक जागरण’ मानेका छन् । यही सिर्जनशील प्रक्रियाबिना कुनै आन्दोलन टिकाउ विचारमा परिणत हुन सक्दैन ।

नेपालको जेनजी आन्दोलनले पनि नयाँ सोचको खोज गरेकै हो तर त्यसको संस्थागत रूपान्तरण हुन सकेन । आन्दोलनका सहभागी विभिन्न वैचारिक धारमा विभाजित भए, जसले नयाँ विचार निर्माणको सम्भावनालाई कमजोर पा¥यो । केवल कार्यक्रम र नाराले विचार निर्माण हुँदैन, त्यसका लागि अनुसन्धान, संवाद र दीर्घकालीन सोचको ढाँचा चाहिन्छ ।

विचार निर्माण सैद्धान्तिक रूपमा सिर्जनात्मकता, संज्ञानात्मक प्रक्रिया, सामाजिक अन्तरक्रिया र व्यावहारिक उद्देश्यको मेल हो । एडगर एच सीनले समूहगत सोच र ज्ञान संयोजनको महत्व बताए भने थेओडोर लेभिटले यसलाई नवप्रवर्तनको आर्थिक आधारका रूपमा व्याख्या गरे । उनीहरूका अनुसार विचार निर्माण कुनै एक व्यक्ति वा क्षणको परिणाम होइन, यो सामूहिक चिन्तन, अवचेतन मनको ऊर्जा र सामाजिक आवश्यकताको सम्मिश्रण हो ।

सन् २०२५ का नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोकिर, अघियोन र हाउइटले नयाँ विचार निर्माणलाई ‘कन्स्ट्रक्टिभ डिस्ट्रक्सन’ अर्थात् सिर्जनात्मक विनाशको रूपमा व्याख्या गरेका छन् । यसको अर्थ हो– पुराना सोच, प्रणाली र संरचनालाई तोड्दै नयाँ, प्रभावकारी रूप सिर्जना गर्नु । यही प्रक्रिया अर्थतन्त्रमा उत्पादनशीलता बढाउने, प्रविधिमा नवप्रवर्तन ल्याउने र समाजमा गतिशीलता सिर्जना गर्ने मुख्य शक्ति हो ।

तर नेपालको सन्दर्भमा विचार निर्माण प्रायः परम्परागत संरचनामा अड्किन्छ । हाम्रो सामाजिक चेतनामा अझै पनि मिथक र संकथन हावी छन् । राशिफल, देवीदेवतामाथि निर्भरता, वंशाणुगत पहिचान र धार्मिक आडमा बनाइएका सामाजिक विभाजनले आलोचनात्मक सोचलाई दबाउँछन् । यो मनोवृत्तिले नयाँ विचारको अंकुरण हुनै नदिने वातावरण बनाएको छ ।

इतिहासले देखाउँछ– विज्ञान र तर्कमा आधारित विचार निर्माणले नै सभ्यतालाई अघि बढायो । बेलायतमा सन् १२१५ मा जारी म्याग्ना कार्टाले नागरिक अधिकार र कानुनी सर्वोच्चताको अवधारणा जन्मायो । त्यसले पुनर्जागरण र औद्योगिक क्रान्तिको बाटो खोल्यो, जसले पश्चिमी समाजलाई उत्पादन, शिक्षा र शासनमा नवीन धरातलमा पु¥यायो । यसैक्रममा सुकरात, प्लेटो र एरिस्टोटलले आलोचनात्मक प्रश्न र तर्कलाई विचार निर्माणको माध्यम बनाएका थिए ।

पूर्वीय दर्शनमा पनि वैज्ञानिक सोचका जरा गहिरा छन् । गौतम बुद्धले ईसापूर्व ५ सयतिर मानव केन्द्रित, तर्कमा आधारित दर्शन प्रस्तुत गरे, जसले मिथकभन्दा चेतनालाई प्राथमिकता दियो । त्यही चेतनाको प्रभावले पछि अशोक, अम्बेडकर र गान्धीजस्ता व्यक्तित्वमा सामाजिक रूपान्तरणको चेत जगायो ।

विश्वस्तरमा विचारका दुई मुख्य ध्रुव पुँजीवाद र समाजवादले पनि समाजको संरचना निर्धारण गरे । एडम स्मिथदेखि फ्रिडम्यानसम्मको पुँजीवादी विचारले स्वतन्त्र बजारको वकालत ग¥यो भने माक्र्स, लेनिन र स्टालिनले समाजवादमार्फत वर्गहीन समाजको कल्पना गरे । समयक्रममा यी विचार अगाडि आए पनि सन् १९९० पछि एन्थोनी गिडेन्सले ‘द थर्ड वे’ प्रस्तुत गर्दै यी दुई ध्रुवबीचको सन्तुलन खोजे । अहिले त कोरोना महामारीपछि तिनीहरूबीचको भिन्नता झन् मेटिँदै गएको छ– राज्यहरू समाजवादी नीतिहरू अँगाल्दै पुँजीवादी अर्थतन्त्र चलाइरहेका छन् । यही अन्तर्घुलनलाई २०१८ को रक्षात्मक उदारवाद अध्ययनले ‘समान पहुँच र सामूहिक उत्तरदायित्व’का रूपमा परिभाषित गरेको छ ।

सिंगापुरको उदाहरणले देखाउँछ– सुदृढ विचारले राष्ट्रको पुनर्निर्माण सम्भव हुन्छ । ली कुआन युले व्यावहारिक र अनुशासित विचार निर्माणमार्फत संशाधनविहीन देशलाई विश्वका समृद्धतम् राष्ट्रहरूमा उभ्याए । त्यसैगरी, फिनल्यान्ड र स्विडेनले समाजवाद र पुँजीवादबीच सन्तुलित ‘सामाजिक पुँजीवाद’ अपनाएर नागरिक समानता र नवप्रवर्तनलाई जोड दिएका छन् । यी उदाहरणहरूले देखाउँछन्– विचार निर्माण सैद्धान्तिक बहस मात्र होइन, राष्ट्र निर्माणको कार्यनीति हो ।

नेपालमा पनि शंखधर साख्वादेखि बिपी कोइराला, पुष्पलाल र मदन भण्डारीसम्मका विचारहरूले आफ्ना युगमा नयाँ चेतना जगाएका थिए । तर ती विचारहरू संस्थागत अभ्यासमा रूपान्तरण हुन सकेनन् । यसको प्रमुख कारण हो– शिक्षा र अनुसन्धानमा आलोचनात्मक स्पेसको अभाव । हाम्रो शिक्षाले विद्यार्थीलाई प्रश्न गर्न होइन, मान्न सिकाउँछ । फलस्वरूप, आलोचनात्मक चेत विकसित हुन पाउँदैन, जसले विभेद र असहिष्णुताको पुनरुत्पादन गरिरहेको छ ।

आजको नेपालमा नयाँ विचार निर्माणको माग पुनः उठिरहेको छ । जेनजी आन्दोलनले नयाँ पुस्तामा राजनीतिक चेतना त जगायो तर त्यस चेतनालाई ठोस वैचारिक दिशामा लैजाने नेतृत्वीय प्रतिबद्धता देखिँदैन । सामाजिक सञ्जालमा बहस त छ तर त्यो प्रायः पुराना विचारहरूको पुनरावृत्ति हो, नयाँ खोज होइन । यसले कतै आन्दोलनबाट आएको ऊर्जा ‘कन्स्ट्रक्टिभ डिस्ट्रक्सन’ नभई केवल ‘डिस्ट्रक्सन’ मात्रमा परिणत त हुने होइन भन्ने चिन्ता बढाएको छ ।

अब आवश्यक छ– आलोचनात्मक सोचलाई संस्थागत गर्ने र अनुसन्धानलाई नीति निर्माणको मूलमा राख्ने । विचार निर्माण तब मात्र सम्भव हुन्छ जब समाजले प्रश्न गर्ने साहस गर्छ, असहमतिका आवाजलाई सहने संस्कार विकास गर्छ र विज्ञान, तर्क तथा मानवीय मूल्यलाई केन्द्रमा राख्छ । विचार निर्माणको अभावले आन्दोलनहरूलाई अस्थायी बनाउँछ, विचारयुक्त आन्दोलनले भने इतिहास रच्न सक्छ । त्यसैले, आजको युगमा नयाँ दल होइन, नयाँ सोचको आवश्यकता छ । पुराना ढाँचालाई तोड्ने मात्र होइन, नयाँ मूल्य निर्माण गर्ने सिर्जनात्मक विनाश– त्यो नै आजको नेपालको वास्तविक वैचारिक आह्वान हो ।

ताजा खबर

सम्बन्धित खबर