२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

कथा : नफुलेको वसन्त

shivam cement
समर शर्मा
२०८२ पुष ५ गते ०६:०५
Shares
कथा : नफुलेको वसन्त

वसन्त सुरु हुँदै थियो तर सहरको आकाश अझै पनि जाडोको कुहिरोले ढाकिएको थियो । नदी किनारको पुरानो सहर– भित्रभित्रै चिसो, बाहिरबाहिरै चम्किलो । फागुनको पहिलो हप्ता भएकाले सडकमा अनोठो चहलपहल थियो । पसलका सिसा, झ्यालमा रंगीचंगी कार्ड, साना बत्ती र फूलका गुच्छा सजाइएका थिए । मानिसहरू हतारमा थिए, कसैको हातमा उपहार, कसैको आँखामा अपेक्षा ।

म त्यो दिन पुस्तकालयबाट फर्कंदै थिएँ । काम सकेर घर फर्कने मेरो बाटो सधैंजस्तै नीरश हुन्थ्यो । तर त्यो दिन केही फरक थियो । पुलनजिकै एउटा सानो फूलको ठेला देखें । ठेला पछाडि उभिएका थिए, करिब ६० वर्ष नाघेका जस्ता देखिने पुरुष । कपाल सेतै फुलेको, आँखामा अनौठो शान्ति, अनुहारमा थकान ।

म प्रायः त्यही बाटो हिँड्थें तर उनलाई पहिलोपटक देखेजस्तो लाग्यो ।

‘छोरी, यो फूल लैजाऊ ।’

उनले मलाई देख्नासाथ भने । उनको हातमा थियो– सेतो लिली । गुलाब होइन, लिली । सफा, सरल, सुगन्ध कम तर गहिरो ।

म अडिएँ । मन अलमलियो । यस्तो दिनमा अपरिचित वृद्धबाट फूल ? मनभित्र कता–कता असजिलो भाव आयो । म मुस्कुराएँ तर हात अघि बढेन ।

‘मलाई चाहिँदैन,’ म शिष्ट तर चिसो स्वरमा बोलें ।

उनको अनुहारमा क्षणभरको झस्काइ आयो तर तुरुन्तै हरायो । ‘किन ? आज त दिन नै यही हो ।’

‘यस्ता कुरा मन पर्दैन,’ म झर्किँदै अगाडि बढ्न खोजें ।

उनले पछाडि बोलाएनन् । जब म दुई–तीन कदम अघि बढें, पछाडि फर्केर हेर्दा उनी अझै उभिएका थिए, फूल त्यही हातमा । तर त्यो फूल अब उज्यालो देखिँदैनथ्यो– जस्तो कि मेरो अस्वीकारले त्यसको चमक पनि खस्यो ।

त्यसपछि दिनहरू बित्दै गए । तर त्यो दृश्य भने मनबाट हटेन । खासगरी रात परेपछि– मनले अनावश्यक अर्थ खोज्न थाल्थ्यो । ‘किन फूल दिए ?’ ‘के उद्देश्य थियो ?’ समाजले सिकाएका सावधानीका पाठहरू मनभित्र घुमिरहन्थे । म आफैंलाई सही ठान्थें ।

केही दिनपछि म पुनः त्यही बाटो हुँदै हिँड्दै थिए । ठेला त्यही थियो । वृद्ध पनि । यस पटक उनले केही भनेनन् । केवल टाउको हल्लाएर मुस्कुराए । त्यो मुस्कानमा आग्रह थिएन, न त कुनै दाबी । बस्, स्वीकार ।

त्यस दिन म रोकिएँ । ‘तपाईं यहाँ सधैं बस्नुहुन्छ ?’

‘हो,’ उनले भने, ‘घर एक्लो छ । यहाँ मान्छे हेर्दा दिन बित्छ ।’

त्यसपछि कुराकानी सुरु भयो । उनले आफू पूर्व शिक्षक भएको बताए । श्रीमती धेरै वर्षअघि बितेकी रहिछन् । छोरा विदेश, छोरी टाढाको सहर । फूल बेचेर कमाइ हुन्थ्यो भन्ने होइन, समय बेच्न यहाँ बसेका रहेछन् ।

‘फूल बेच्नु मेरो पेसा होइन,’ उनले हाँस्दै भने, ‘यो त सम्झना हो । मेरी श्रीमतीलाई लिली मन पथ्र्यो ।’

त्यो सुन्दा मन अलिकति नरम भयो । मैले सोचें– सायद मैले हतारमा निर्णय गरेछु ।

अर्को दिन, उनले फेरि मलाई एउटा लिली दिए । यस पटक मैले अस्वीकार गरिनँ । तर हातले लिएको फूल मनले लिएको थिएन । मनभित्र अझै डर, शंका, असजिलोपन बाँकी थियो ।
घर पुगेर फूललाई टेबलमा राखें । पानी हालिनँ । मनभित्रको द्वन्द्वले त्यसलाई पनि बेवास्ता गरायो ।

राति झ्यालबाट बाहिर हेर्दा सडक सुनसान थियो । तर मनभित्र आवाजहरू कोलाहल मच्चाइरहेका थिए– पूर्वाग्रह, सिकाइ, डर । ‘के सबै सद्भाव शुद्ध हुन्छ ?’ भन्ने प्रश्नले निद्रा हरायो ।

भोलिपल्ट बिहान फूल ओइलिन थालेको थियो । पात झुकिसकेका थिए । मैले त्यसलाई देखेर एकाएक अपराध बोध महसुस गरें– फूलप्रति होइन, आफूप्रति ।

त्यसै दिन साँझ म हतारिँदै पुलतिर गएँ । ठेला खाली थियो । न फूल, न वृद्ध ।

छेउको चिया पसलमा सोध्दा थाहा भयो– उहाँ अघिल्लो रात अचानक बिरामी पर्नु भएको रहेछ । अस्पताल लैजाँदै गर्दा बाटोमै बित्नुभयो ।

मेरो शरीर सुनियो । मनभित्र केही भाँचियो ।

म घर फर्किएँ । टेबलमा लिली झरेको थियो । तर बिचमा एउटा कोपिला अझै नफुलेको थियो । मैले त्यो फूल समातेर धेरै बेर हेरें । त्यो कोपिला, जस्तो कि समयले नदिएको अवसर ।

त्यो दिन मैले फूललाई पानीमा राखें । तर, अब ढिला भइसकेको थियो ।

कोपिला फक्रिन पाएन । र, मैले बुझें– सबै प्रेम फुल्न पाउँदैनन् तर त्यसलाई नफुल्न दिनु हाम्रो रोजाइ पनि हुन सक्छ ।

सम्बन्धित खबर