२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

सिकाइ र भोगाइको एउटा डायरी !

himalayanlife
विदुर दाहाल
२०८२ पुष ५ गते ०६:०५
Shares
सिकाइ र भोगाइको एउटा डायरी !

२०३९/४० सालतिर हुनुपर्छ, वैतेश्वर माध्यमिक विद्यालय, नाम्दु, दोलखामा विद्यार्थी टन्नै थिए । कक्षा कोठाले थेग्न नसक्ने थिए । तर पर्याप्त विद्यालय भवन र कक्षा कोठा थिएनन् । साना कक्षाहरूलाई रुखको फेद र बारीका पाटामा राखेर पढाइन्थ्यो । त्यो क्रम २÷३ वर्ष नै चल्यो । अहिलेका जस्ता सुविधा सम्पन्न भवन त्यस बेला कल्पना पनि थिएन । 

केही साथीहरू कालो पाटी अँगारले वा ब्याट्रीको कालो पोतेर कापीको सट्टा प्रयोग गर्थे । बेलुका घर पुग्दा त शरीरभरि त्यसको कालो लागेको हुन्थ्यो । मैले भने कापीमै लेखेँ । कालो पाटी प्रयोग गरिनँ । 

हिउँदका कक्षाहरू बारीको पाटोमा घाम ताप्दै पढ्न पाइन्थ्यो । रमाइलै हुन्थ्यो । दुई महिना वर्षायामको बिदा नै हुन्थ्यो । 

एक कान्लामाथिको बारीको पाटामा कक्षा दुई र कान्लामुनि कक्षा एकका विद्यार्थी पढ्थे । टोलका मिल्ने साथी रमेश कक्षा दुईमा पढ्ने रहेछन् । मलाई एक र दुई कक्षाको विभेद थाहा थिएन । किनकि स्कुलका सुरुवाती दिन थिए ती । घरमा पनि कसैलाई थाहा थिएन । आमाले ‘स्कुल जा’ भन्नुहुन्थ्यो । निरक्षर मेरी आमालाई स्कुल गए पुग्थ्यो । 

टोलको साथीसँगै बस्न गएँ । खासमा मलाई क, ख, क, का र अ, आ राम्रैसँग पढ्न÷लेख्न आउँदैनथ्यो । ए, बि, सी, डी कक्षा ३ मा पुगेपछि मात्र पढेको हो मैले । 

ठ्याक्कै कति दिन वा महिना कक्षा दुईमा पढेँ याद छैन । एक जना दाह्रीवाल सरले पढाएको याद छ । एक दिन मलाई महेन्द्र माला किताबका केही हरफ पढ्न लगाउनुभयो । जानिनँ । खासमा भर्खर मात्र स्कुल गएको थिएँ । कहाँ बस्नु पर्ने हो, मलाई थाहा थिएन । दुई कक्षाको किताब पढ्न जान्ने कुरै थिएन । कान तान्दै माथिल्लो बारीको पाटोबाट तल्लो बारीको पाटामा झारिदिनुभयो अर्थात् दुई कक्षाबाट एक कक्षामा झरेँ म । त्यस्तो गर्ने सर को हुन् अहिले अनुमान लगाउन सक्छु, तर यकिन गर्न सक्दिनँ । अहिले महसुस गर्छु, गल्ती मेरै थियो– दुई कक्षामा बस्नू । सरले तल्लो कक्षामा झारेर आफ्नो दायित्व पूरा गर्नु भएको थियो । मात्र प्रक्रिया गलत थियो, अरू जायज थिए । त्यस्तो लाग्छ अहिले मलाई । 

तल्लो पाटोमा झरेपछि अरूले खिस्याए । अनि मात्र सानो कक्षामा झरेछु भन्ने भयो । धेरै नै चित्त दुख्यो । दिनभर रोएँ म । केही दिन स्कुल गइन । आमाले रमेशबाट सबै कुरा थाहा पाउनु भएछ । स्कुल जान्न मात्र भने । अरू कुरा भन्नु भएन । आमाले कर गरेपछि स्कुल फेरि गएँ । बेस्सरी लाज लाग्यो । साथीहरूले दुईबाट कक्षा एकमा झरेको विद्यार्थी भनेर गिल्ला गरे । त्यो पचाउन समय लाग्यो मलाई । बाल मनोविज्ञानमा एउटा खालको असर परेको रहेछ । अहिले याद आउँछ । 

पछिल्लो पटक स्कुल गएपछि साथीहरूले फेरि माथिल्लो पाटामा गएर बस्नू भन्ने सल्लाह दिए । ‘सरले थाहा पाउनुहुन्न, केही हुँदैन, कक्षा दुईमै जा’ भन्थे । केही साथीहरू ‘हामीसँगै एक कक्षामा पढ्नू’ भन्थे । 

२०४८ सालको एस.एल.सी. ब्याच हो म । सायद ५ वर्षको थिएँ होला । तल्लो कक्षामा झर्नु परेकाले अत्यन्त नरमाइलो माने मैले । दिनभर रोएको अझै याद छ । ५ वर्षमा भोगेको त्यो नमिठो पीडा अहिले पनि झल्को आउँछ । अलि बढी संवेदनशील मान्छे रहेछु कि म ! त्यस्तो लाग्छ । बितेको घटनाले पछिल्ला दिनमा मेरो पढाइलाई प्रत्यक्ष प्रभाव पा¥यो । नकारात्मक उत्प्रेरणाबाट सिक्दै गएँ म । 

अन्ततः तल्लो बारीको पाटामै पढ्न थालेँ म । तल्लो बारीको पाटोमा झरेका दिनदेखि पढ्न अर्कै खालको ऊर्जा आयो । कक्षा १० सम्म पढ्दा फस्र्ट र सेकेन्डभन्दा कहिल्यै तल झरिनँ । एक हिसाबले अरूलाई देखाउनु थियो–राम्रो पढ्नुपर्छ भन्ने इख (नकारात्मक उत्प्रेरणा) जाग्यो । सकारात्मक उत्प्रेरणाबाट सिक्नु पर्नेमा नकारात्मकबाट सिकेँ । सिकाइ नकारात्मक उत्प्रेरणाबाट पनि हुन्छ भन्ने दलिल पेश गर्न चाहन्छु म । 

अर्को पनि उदाहरण छ । अर्का एक जना सर हुनुहुन्थ्यो । उहाँले औलाका बिचमा कलम राखेर चेप्नुहुन्थ्यो । गृहकार्य नगर्ने वा सोधेको नमिलाउनेले त्यस्तो सजाय पाउँथे । यो खालको सजाय मैले चाहिँ कहिल्यै भोग्नु परेन । एउटै सजाय भारी भयो मलाई । अहिलेसम्म त्यो सम्झना आइरहन्छ । पढ्न अहिले पनि त्यसले प्रेरित गर्छ । प्राप्त प्रमाणपत्रमा स्टार लागेन । फस्र्ट र सेकेन्ड डिभिजनभन्दा तल झर्नु परेन । ठिकै रहेछ कि त्यो सजाय मलाई ?

कुनै बेला तल्लो पाटोमा झार्ने गुरुसँग खुब रिस उठेको थियो । स्कुलभर बोलिनँ । सायद त्यो कुरा गुरुलाई थाहा नहुन सक्छ । मेरो लागि मात्र त्यो अविस्मरणीय थियो । सायद माथिल्लो पाटोको दुई कक्षामा नै पढ्न पाएको भए पढाइमा यो खालको प्रगति गर्थे कि गर्थिन् ? अनिश्चित छ । 

जिन्दगीले धेरै कुरा सिकाउँछ । खाली त्यो ठिक समयमा पर्छ कि पर्दैन भन्ने मात्र सवाल हो । जे हुन्छ, राम्रोका लागि हुन्छ भन्ने कुरा विश्वास लाग्यो, अलि पछि । सुरुमा बोल्न मन नलागेका सरलाई अहिले भेटेर सबै कुरा गरौँ जस्तो लाग्छ । नमिठो मान्नु होला कि भन्ने पनि डर लाग्छ । कक्षा दुईबाट एकमा झारिनु मेरो लागि ‘टर्निङ पोइन्ट’ रहेछ । धन्यवाद सर । एक मनले त्यसो भन्यो ! हुन त म नै बुद्धु हो नि ! एक कक्षा नपढी दुई कक्षामा पढ्न खोज्ने ! 

सिकाइको यो नियम सबैमा एउटै लागू नहुन सक्छन् । जिन्दगीको सिकाइ डायरी फरक फरक हुन सक्छन् । त्यो मात्र सत्य हो । 

ताजा खबर

सम्बन्धित खबर