२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

खाद्य संकट, भोकमरी र विप्रेषण

shivam cement
अच्युतप्रसाद पौडेल 'चिन्तन'
२०८२ पुष ८ गते ०६:०५
Shares
खाद्य संकट, भोकमरी र विप्रेषण

समग्रमा यसपालि धानको उत्पादन घट्ने निश्चित भएको छ । बेमौसमी अत्यधिक वर्षा र बाढी, पहिरो अनि मनसुनको अन्त्यमा पनि सोही समस्याले विगतको तुलनामा धान, चामलको कमी हुने र अझ भन्नु पर्दा यसको क्षेत्रफल नै घटेको छ अहिले । धान चामल मात्रै होइन दैनिक उपभोग्य अन्य वस्तुहरूको पनि आयात बढेको छ । जग्गा कित्ताकाट भइरहने, खण्डीकरण गर्दै घडेरीमा जाने र अव्यवस्थित सहरीकरणले बिगारेको सौन्दर्य पनि देशमा टीठ लाग्दो नै छ । घर जग्गाको कारोबारबाट देशले बढी राजस्व असुल्नु परेकाले पनि कृषि उब्जनीमा ह्रास आएकै हो । लामो समयदेखि भोकमरी समस्या समाधानका लागि भने देश विप्रेषण तिर उन्मुख छ ।

यहाँ विप्रेषणकै कारण भोकमरी सूचकमा सुधार आएको कुरा सार्वजनिक भइसकेको छ । संसारमा सबैभन्दा धेरै भोकमरीको समस्या पपुवान्यूगिनीमा देखिन्छ र संसारमा कम भोकमरी भने उत्तरी छिमेकी चीनमा रहेको छ । गत वर्षको अध्ययनमा पपुवान्यूगिनीको सूचकांक ३१ छ, चीनको सबैभन्दा कम ५ रहेको छ । नेपाल गम्भीर समस्याबाट मध्यम स्तरमा उक्लेको छ । वेल्ट हंगर हिल्फ र लिवर्डले सार्वजनिक गरेको विश्वको भोकमरी सूचक सन् २०२५ को प्रतिवेदनले नेपाल मध्यम भोकमरीको सूचकमा रहेको देखाएको छ । 

केही वर्षयता लोकतन्त्रको आगमनसँगै नेपालीहरू बेरोजगार भई विदेश होमिने र विप्रेषणबाट देशको अर्थतन्त्र चल्ने गरेको देखिएको छ । चालु आर्थिक वर्षको ४ महिनामा ७ खर्ब बढी रेमिटेन्स आएको छ, असोज एकै महिनामा २ खर्बको बाढी आएको हो भर्खरै । यस अर्थमा नाना, छाना र खानाका लागि नेपालीहरू विदेश त्यसमा पनि बढी खाडी, मलेसियाहरूमा जाने गरेको अवस्था छ र विप्रेषणकै कारण भोकमरी सूचक घटेको तथ्यांक पनि बाहिर आएको छ । 

समय नजिकिँदै छ । सन् २०३० सम्म भोकमरीको अन्त्य र दिगो विकासको लक्ष्य हो । विश्वमै संकट छ, युद्ध, जलवायुको संकट, प्राकृतिक विपत्तिहरू धेरै छन्, यस्ता विपत्तिमा हामी पनि बढी नै छौँ । अतीतका युद्धहरू, भूकम्प, कोरोनाहरू र हालैको जेनजी विद्रोहपछि सबैतिर असर परेको देखिन्छ र अनायासै देश चुनावतिर धकेलिनु पर्दा कृषि उपजतिर पनि यसले चोट पु¥याउने नै हुन्छ । बसाइ सराइको तीव्रता, अव्यवस्थित सहरीकरण, कमजोर खाद्य पोषण, सुरक्षाको चुनौती धेरै छन् । पाँच वर्ष मुनिका बालकहरूको पुड्कोपना गत वर्षको तथ्यांकमा २४.८ प्रतिशत हुँदा यो वर्ष २६ प्रतिशत छ, बाल मृत्युदर २.६ प्रतिशत छ, कुपोषणकै कारण ख्याउटेपना ७ प्रतिशतको छ, अल्प पोषण, कम क्यालोरीको खपत जनसंख्या ५.३ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ । 

नेपालमा पुड्कोपनाको दर १.२ ले वृद्धि र ४ जना बच्चामा १ जना कुपोषणमा रहेको देखिएको छ । हालसम्म हाम्रो देश कृषि प्रधान नै हो । तर पनि विश्वव्यापी भोकमरी सूचकांक १०७ देशमध्ये नेपाल ७६औँ स्थानमा थियो यसअघि । विश्वव्यापी भोकमरी सूचकांकले संयुक्त राष्ट्र संघका विभिन्न एजेन्सीद्वारा उपलब्ध तथ्यांकका आधारमा १३२ देशको तथ्यांक मूल्यांकन गर्दै सार्वजनिक गरेको सन् २०२० को प्रतिवेदन अनुसार सन् २००० मा यसको सूचकांक ३७ः४ थियो भने सन् २०२० मा यो घटेर १९ः५ मा परेको थियो । ५ वर्ष मुनिका कम उचाइका बालबालिका सन् २००० मा ५८ प्रतिशत थिए भने सन् २०२० मा यो घटेर ३७ प्रतिशतमा झरेको थियो । 

संयुक्त राष्ट्र संघले सन् २०१५ मै नेपालमा दिगो विकासको लक्ष्य प्राप्ति हुने र कुपोषण र भोकमरीको अन्त्य हुने बताएको हो, तर भएन, विगतको अध्ययन र विश्लेषणअनुसार दिगो विकासको लक्ष्यका लागि अब सन् २०३० तोकिएको छ र संसारमा यति बेलाभन्दा अघि भोकमरीको अन्त्य नहुने भएको छ, जोखिम बढ्दै आएकाले त्यो समयमा पनि यकिन देखिँदैन । सन् २००० को तुलनामा त अहिले विश्वव्यापी भोकमरी सूचकांकमा सुधार आएको हो, हालको सूचक १८२ः२ छ । विश्वमा ५० भन्दा बढी देशको भोकमरी दर उच्च छ । संसारमा १४ करोड ४ लाख बालबालिका कुपोषणका कारण सामान्य भन्दा कम उचाइका छन् भने ४ करोड ७ लाख कुपोषणको सिकार भइसकेका छन् । सन् २०१८ मा ५३ लाख बालबालिका ५ वर्षको उमेर पार नगर्दै बिते । 

नेपालमा ५ वर्ष कम उमेरका बालबालिकाको मृत्यु दर सन् २००० मा ५८ प्रतिशत रहेको र सन् २०२० मा यो ५ प्रतिशतको हाराहारीमा रह्यो । कोरोनाका कारण संसारमा १ लाख ३० हजार बालबालिकाले ज्यान गुमाए भने नेपालमा विगतको द्वन्द्व, लामो गरिबी, असमानता, जलवायु परिवर्तन र विश्वव्यापी कोरोनाले भोकमरीको समस्या थपिँदै आएको थियो । अफ्रिकी देशमा सलहका कारण उत्पादनमा कमी आउँदा भोकमरी थपियो र संसारमा थप ७ लाख बालबालिकाहरू भोकमरीको सिकार बने, त्यस्तै न्यून र मध्यम आय भएका देशमा ६ करोड ७ लाख बालबालिकाहरू कुपोषणको सिकार हुने संयुक्त राष्ट्र संघको अनुमान रहेको थियो, त्यतिबेला नै ।

अतीतदेखि नै सरकारले माछा, मासु, अण्डामा आत्मनिर्भरताको घोषणा गरेको हो, तर यिनै बस्तु विदेशबाटै आएका छन् । हाम्रो समस्या भनेको खाद्य संकट नै हो, अरू पनि धेरै छन् देशमा समस्या । समस्याको विन्दुमा नेतृत्व पुग्न सकेन, ऊ त राजनीतिमा व्यस्त रह्यो, अहिले भागेको छ र तैपनि हुंकार गर्दै छ, देश बोक्नै सकेन नेतृत्वले, आफन्तलाई सुविधा थप गरिरह्यो र त अर्बौँको खाद्यान्न विदेशबाटै आएको छ । कृषिका केही औजार आए तर भूमि भने बस्तीमा परिणत भए, काम गर्ने विदेशतिर गए, चक्र उल्टो चलेको छ र त देशमा जन्मँदै १ लाखको ऋणमा बच्चा जन्मने भएको छ अब र पूर्ति गर्न खाडी जाँदै छ उमेर कलिलैमा । देशको वार्षिक बजेट दोब्बर सार्वजनिक ऋण हुन लाग्यो । औद्योगिक स्थलहरू उद्घाटन मात्र हुन्छन् । रोगी, वृद्ध, असहाय, सुत्केरी, गर्भवतीको पीडा सबैतिर छ भने नेताजीहरूको सुविधा नेपालीले धान्न नसकेको अवस्था छ । करको वृद्धि, नेताको ओइरो र तिनको सुविधा, विदेशमा गराइने उपचार, नेता धनी, जनता गरिब अचम्मको श्रृंखला छ यहाँ । कृषिबाटै रोजगारी सिर्जना, सामाजिक सुरक्षाको योजना कल्पनामा सीमित छ । 

बजेटले कृषि क्रान्ति गर्ने कल्पना गर्छ, तर रासायनिक मलको अभाव सधैँ उस्तै छ । काम गर्ने हात खाडीमा हुँदा बूढाबूढी खेत बारीमा जान सक्दैनन्, ज्याला दर तीव्र छ, श्रम शक्तिको अभावबाट खाद्यान्नको मूल बालीको उत्पादनमा क्षेत्रफल नै घटेको छ । यस्तोमा मुलुक कता जाला, प्रश्न छ । धानको उत्पादन घट्दा अर्को बाली गहुँ र मकै उत्पादनको क्षेत्रफल केही बढेको देखिए पनि समग्रमा खाद्यान्न बालीको क्षेत्रफल ०.९ प्रतिशतले घटेको छ । तेलहन बालीको क्षेत्रफल पनि घटेको छ । नेपालमा नेतृत्वलाई चुनावकै धन्दा  छ । कसरी सत्तामा जाने र दोहन गर्ने मात्रै चिन्ता छ ।  देशको गम्भीर अवस्थामा हेलिको तुइनबाट उम्कन खोज्छ, सुनको सुरु देखाउँछ । गरिब नेपालीका आँखाहरू रसाउँछन् यो देख्दा ।

ताजा खबर

सम्बन्धित खबर