२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

कानुनी राजको खोजी

shivam cement
नवराज न्यौपाने
२०८२ पुष १० गते ०६:००
Shares
कानुनी राजको खोजी

आजको समाजमा बहस, विमर्श र निर्णय प्रक्रियामा देखिँदै आएको एक गम्भीर समस्या भनेको रवाफ, उत्तेजना र कमजोर हुँदै गएको नैतिकता हो । रवाफ र जवाफ उस्तै भयो भने त्यहाँ संवादको सट्टा टकरावको संकेत देखिन्छ । जवाफ विवेकबाट होइन, उत्तेजनाबाट निर्देशित हुन थाल्यो भने सत्य ओझेलमा पर्छ र निष्कर्ष न्यायपूर्ण हुँदैन । दुर्भाग्यवश, हाम्रो समाज यस्तै दिशातर्फ उन्मुख हुँदै गएको अनुभूति सर्वत्र छ, जुन कानुनी राजका लागि गम्भीर चुनौती हो ।

हामी प्रायः कानुनी राजको कुरा गर्वका साथ गर्छौं । भाषण, सभा, सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा कानुनी राज लोकतन्त्रको आधारस्तम्भ भएको दाबी गरिन्छ । तर व्यवहारमा हेर्दा कानुनभन्दा भावनालाई, तर्कभन्दा उग्र बोलीलाई र सत्यभन्दा भीडको तालीलाई प्राथमिकता दिने प्रवृत्ति बलियो बन्दै गएको छ । जब निर्णय लोकप्रियताको आधारमा हुन थाल्छ, तब कानुनको मूल्य घट्छ । यस्तो प्रवृत्ति स्वयं कानुनी राजको मर्मविपरीत हो ।

कानुनी राजको मूल अर्थ सबै नागरिक कानुनअगाडि समान हुनु हो । कोही शक्तिशाली, प्रभावशाली वा लोकप्रिय हुँदैमा उसलाई कानुनभन्दा माथि राख्न मिल्दैन । तर आजको वास्तविकतामा प्रभावशाली व्यक्तिका लागि कानुन लचिलो र सामान्य नागरिकका लागि कठोर देखिने अवस्था बढ्दै गएको छ । यही दोहोरो मापदण्डले राज्यप्रति नागरिकको विश्वास कमजोर बनाइरहेको छ । नागरिकले कानुनलाई न्यायको औजार होइन, दमनको माध्यमका रूपमा हेर्न थाले भने कानुनी राज खोक्रो नारामा सीमित हुन्छ ।

आज सार्वजनिक बहसको स्तर पनि चिन्ताजनक बन्दै गएको छ । फरक विचार राख्नेहरूलाई सुन्ने संस्कार कमजोर हुँदै गएको छ । असहमति राख्नु लोकतन्त्रको आत्मा हो, तर हाम्रो समाजमा असहमतिको उत्तर तर्क होइन, आक्रोश र दबाब बन्न थालेको छ । जब विचारको प्रतिस्पर्धा उत्तेजनाको भीडले प्रतिस्थापन गर्छ, तब सत्यभन्दा आवाज ठूलो हुनेहरूको जित हुन्छ । यस्तो अवस्थामा कानुनी राज मात्र होइन, लोकतान्त्रिक संस्कार नै संकटमा पर्छ ।

यस सन्दर्भमा नैतिकताको प्रश्न अझ गम्भीर देखिन्छ । हामीले विद्यालय तहदेखि नैतिक शिक्षा त पढ्यौं, तर व्यवहारमा ती मूल्यहरू क्रमशः हराउँदै गएका छन् । स्वार्थ, लोभ र क्षणिक फाइदाले सत्य, इमानदारी र उत्तरदायित्वलाई पछाडि धकेलेको छ । जब नैतिकता कमजोर हुन्छ, तब कानुनको कार्यान्वयन पनि कमजोर हुन्छ । किनभने नैतिकता बिना कानुन केवल कागजी नियमको संग्रह मात्र बन्छ, जसको पालना डरले गरिन्छ, आस्थाले होइन ।

आजको समाजलाई कानुनप्रतिको चेतना र बुझाइ अत्यन्त आवश्यक छ । कानुन के हो, किन आवश्यक छ र यसको पालना नगर्दा समाजमा कस्तो असर पर्छ भन्नेबारे नागरिक सचेत हुनु अनिवार्य छ । उत्तेजनामा बहकिनु भन्दा विवेक प्रयोग गर्ने, लोकप्रिय नाराको पछि लाग्नु भन्दा सत्यको पक्ष लिन सक्ने चेतनशील समाज नै कानुनी राजको बलियो आधार हो । कानुनप्रतिको सम्मान केवल अदालत र प्रहरीबाट होइन, नागरिकको व्यवहारबाट देखिनुपर्छ ।

सार्वजनिक जीवनमा देखिने रवाफ र आडम्बरले होइन, जिम्मेवार जवाफ र उत्तरदायित्वले समाज अघि बढ्छ । उत्तेजनाले क्षणिक प्रभाव पार्न सक्छ, तर दीर्घकालीन समाधान विवेकपूर्ण तर्कले मात्र सम्भव हुन्छ । यदि हामीले आजै कानुनी राज, नैतिकता र सामाजिक चेतनाबीच सन्तुलन कायम गर्न सकेनौं भने कानुनी राज भाषण, लेख र नारामा मात्र सीमित रहनेछ । न्यायपूर्ण, सभ्य र विश्वासयोग्य समाज निर्माणका लागि अब गम्भीर आत्ममन्थन अपरिहार्य भइसकेको छ ।

ताजा खबर

सम्बन्धित खबर