२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

संक्रमणकाल र निकास

shivam cement
नारायण शर्मा
२०८२ पुष ११ गते ०६:००
Shares
संक्रमणकाल र निकास

अहिले नेपालको राजनीतिक अवस्था सामान्य संक्रमणकाल मात्र नभई गहिरिँदो संकटको चरणमा प्रवेश गरिसकेको छ । संसद विघटन र चुनाव, पार्टी विभाजन र पुनर्गठनजस्ता घटनाहरू सतहमा फरक–फरक देखिए पनि भित्री रूपमा एउटै शक्ति, एउटै प्रवृत्ति र एउटै सत्ता केन्द्रित मानसिकताबिचको संघर्षका अभिव्यक्ति हुन् । यी घटनाहरूले देशलाई निरन्तर अस्थिरता, अन्योल र भयतर्फ धकेलिरहेका छन् । अवस्था यस्तो बन्दै गएको छ कि यो संकट स्वयं अर्को अझ ठूलो संकटतर्फ उन्मुख भइरहेको देखिन्छ । त्यसैले वर्तमान समयलाई साधारण राजनीतिक उतारचढावको रूपमा होइन, राष्ट्रिय भविष्यसँग प्रत्यक्ष जोडिएको अत्यन्त संवेदनशील र निर्णायक कालखण्डका रूपमा बुझ्न आवश्यक छ ।

यो अवस्था महिलाको प्रसव पीडासँग तुलना गर्न सकिन्छ । प्रसवकाल अत्यन्त पीडादायी हुन्छ, तर त्यसैबाट नयाँ जीवन जन्मिन्छ । सही उपचार, सावधानी र जिम्मेवारी अपनाइएमा स्वस्थ शिशुको जन्म सम्भव हुन्छ, तर लापरवाही र अज्ञानताले आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्न सक्छ । नेपाल अहिले ठीक यही मोडमा उभिएको छ । यो कालले नयाँ सम्भावनाको ढोका खोल्न सक्छ, तर गलत निर्णय, स्वार्थी व्यवहार र अवसरवादले देशलाई दीर्घकालीन पतनतर्फ पनि लैजान सक्छ ।

अर्को शब्दमा भन्नुपर्दा यो अन्तरिम काल हो । अन्तरिम काल भनेको पुरानो व्यवस्था, पुराना व्यक्ति, पुराना मूल्य र कार्यशैलीबाट जनता पूर्ण रूपमा दिक्क भइसकेको अवस्था हो । जनताले परिवर्तन चाहेका छन्, नयाँ विकल्प खोजिरहेका छन्, तर त्यो विकल्प अझै सामूहिक सहमतिका रूपमा स्थापित भइसकेको छैन । यही कारणले समाज असमञ्जस, तनाव र अनिश्चितताबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा देश अग्रगमनतर्फ जान्छ कि पश्चगमनतर्फ, क्रान्ति सशक्त बन्छ कि प्रतिक्रान्तिले टाउको उठाउँछ, न्याय स्थापित हुन्छ कि अन्याय संस्थागत हुन्छ, शान्ति स्थायी हुन्छ कि द्वन्द्व पुनः जन्मिन्छ भन्ने प्रश्नहरू खुला रहन्छन् ।

नेपालको पछिल्लो संक्रमणकाल अस्वाभाविक रूपमा लामो र पीडादायी बन्दै जानुको मूल कारण जनता र नेतृत्वबीचको चेतनाको गहिरो अन्तर हो । जनताको चेतना अपेक्षाकृत अग्रगामी, परिवर्तनमुखी र न्यायप्रेमी हुँदै गएको छ, तर नेतृत्वको ठूलो हिस्सा अझै पनि पुरानै सत्तामोह, स्वार्थ र प्रतिक्रान्तिकारी मानसिकतामा अल्झिएको देखिन्छ । शोषित र उत्पीडित वर्गहरूमा संघर्ष गर्ने चाहना, साहस र बलिदानको भावना देखिए पनि शासक वर्गमा सम्झौतावादी, आत्मसमर्पणवादी र अवसरवादी प्रवृत्ति हाबी भएको छ । यी दुई शक्तिबीचको अन्तर्विरोधलाई गुणात्मक रूपमा समाधान गर्न नसक्नु नै संकट लम्बिनुको प्रमुख कारण हो ।

यसका साथै, नेतृत्व तहमा देखिएको वैचारिक विचलन, नैतिक पतन र व्यवहारिक भ्रष्टाचारले अवस्थालाई झन् जटिल बनाएको छ । अन्यायपूर्ण निर्णय, अविवेकी कदम, सत्ताको दुरुपयोग, व्यक्तिगत स्वार्थका लागि जनविश्वासको घात, दलाली र गद्दारीपूर्ण व्यवहारले राजनीतिक प्रणालीप्रति जनताको आस्था कमजोर बनाएको छ । जनता मात्र होइन, परिवर्तनका पक्षधर कार्यकर्ता र समर्थकहरू समेत भ्रमित र निराश बन्दै गएका छन् । जब नेतृत्व आफैं सिद्धान्त र व्यवहारबीचको दूरी घटाउन असफल हुन्छ, तब परिवर्तनको यात्राले सही दिशा लिन सक्दैन ।

आजको नेपालमा देखिएको संकट केवल राजनीतिक मात्र होइन । यसको असर सामाजिक, आर्थिक र सांस्कृतिक सबै क्षेत्रमा फैलिएको छ । भ्रष्टाचार, दण्डहीनता, असमानता र अन्याय सामान्य जस्तै बनेका छन् । राष्ट्रिय स्वाभिमान र आत्मनिर्णयको प्रश्न कमजोर बन्दै गएको छ । यस्तो अवस्थामा संक्रमणकाल टुंगिनु पर्नेमा उल्टै अझ गहिरो र विकराल बन्दै जानु स्वाभाविक देखिन्छ । यसको जिम्मेवारी बाह्य शक्तिभन्दा बढी आन्तरिक नेतृत्व, नीति र चरित्रसँग जोडिएको छ ।

तर यही संकटभित्र सम्भावनाको बीउ पनि लुकेको हुन्छ । इतिहासले देखाएको छ कि गहिरो अन्धकारकै बीचबाट नयाँ उज्यालो जन्मिन्छ । प्रश्न हो– के नेपाली समाजले यो पीडादायी प्रसवलाई सचेत, जिम्मेवार र दूरदर्शी ढंगले पार गर्न सक्ला ? के नेतृत्वले आत्मालोचना गर्दै जनताको पक्षमा उभिन सक्छ ? यदि पुराना विकृति, गलत प्रवृत्ति र स्वार्थी चरित्रलाई सच्याइएन भने यो महासंकटकाल देशका लागि विनाशकारी बन्न सक्छ । तर यदि यही समयलाई आत्मपरिवर्तन, वैचारिक स्पष्टता र सामूहिक प्रतिबद्धताको अवसर बनाइयो भने नेपाल नयाँ युगतर्फ अघि बढ्न सक्छ । आजको संघर्ष केवल सत्ता वा पार्टीको होइन, देशको भविष्य तय गर्ने ऐतिहासिक संघर्ष हो ।

ताजा खबर

सम्बन्धित खबर