२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

जेनजी विद्रोहबाट सिक्न नसकेको पाठ

shivam cement
ईश्वर बुढाथोकी
२०८२ पुष ११ गते ०६:०५
Shares
जेनजी विद्रोहबाट सिक्न नसकेको पाठ

जेनजी विद्रोह कुनै आकस्मिक घटना थिएन । यो वर्षौँसम्म सञ्चित निराशा, आक्रोश र असन्तोषको विस्फोट थियो । भ्रष्टाचार, बेथिति, जबाफदेहिताको अभाव र पुस्तौँदेखि सत्तामा जकडिएर बसेको राजनीतिक नेतृत्वप्रति युवापुस्ताको स्पष्ट अस्वीकार नै यसको कारण हो । यो विद्रोहले दल र नेताहरूलाई सच्चिन, रूपान्तरण हुन र पुस्तान्तरण स्वीकार गर्न चेतावनी दिएको थियो । तर आन्दोलनको तापक्रम घट्दै जाँदा राजनीतिक दलहरू फेरि पुरानै चाल, पुरानै गति र पुरानै मानसिकतामा फर्किन थालेका छन् । यसले जेनजी विद्रोहको मर्मलाई गम्भीर रूपमा अपमान गरेको छ ।

तत्कालीन प्रधानमन्त्रीले आन्दोलनमा घुसपैठ भएको दाबी गरे पनि विद्रोह किन भयो भन्ने प्रश्नबाट भाग्न सकिँदैन । भदौ २३ र २४ का घटनाले राज्य संयन्त्र, राजनीतिक नेतृत्व र सुरक्षा निकायको असफलता नाङ्गो बनाइदियो । पहिलो दिनको हिंसात्मक दमन र दोस्रो दिनको अराजक विध्वंस दुवै अस्वीकार्य छन् । यी घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही अनिवार्य छ । तर त्योभन्दा ठूलो प्रश्न भनेको यस्तो विद्रोह जन्मिनुपर्ने अवस्था किन आयो भन्ने हो । यसको उत्तर खोज्नुभन्दा नेताहरू फेरि सत्ता व्यवस्थापन र आन्तरिक शक्ति सन्तुलनमै व्यस्त देखिनु देशका लागि दुर्भाग्यपूर्ण संकेत हो ।

नेपाली कांग्रेसभित्र विद्रोहपछिको आत्मालोचना सतहीमै सीमित देखिन्छ । केही नेताले सुधार र पुस्तान्तरणको कुरा गरे पनि व्यवहारमा नेतृत्व हस्तान्तरणको कुनै स्पष्ट संकेत देखिँदैन । सभापतिले कार्यवाहक तोक्नु औपचारिक प्रक्रिया भए पनि वास्तविक सत्ता उही केन्द्रमा सीमित छ । महाधिवेशनको मिति तोके पनि कार्यकर्तालाई अन्योलमा राख्ने प्रवृत्तिले पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाइरहेको छ । नेतृत्वले चुनावी प्रक्रियालाई आफू अनुकूल प्रयोग गर्ने संकेत गर्दा पार्टीको भविष्यप्रति गम्भीर प्रश्न उठेको छ । विगतमा समयमै निर्णय लिन नसक्दा कांग्रेसले भोगेको क्षतिको उदाहरण प्रशस्त छन्, तर त्यसबाट सिक्ने तत्परता देखिँदैन ।

एमालेमा औपचारिक रूपमा महाधिवेशन सम्पन्न भए पनि नेतृत्व परिवर्तन होइन, नेतृत्व पुनरावृत्ति मात्र भएको छ । एक व्यक्ति केन्द्रित पार्टी संरचनाले वैकल्पिक नेतृत्वलाई उमार्न नदिएको इतिहास दोहोरिएको छ । विगतमा नेतृत्वमा दाबी गर्नेहरू क्रमशः बाहिरिन बाध्य भएको उदाहरणले पार्टीभित्रको असहिष्णु राजनीतिक संस्कृतिलाई देखाउँछ । जेनजी विद्रोहअघि नै एमालेभित्र चलिरहेको आन्तरिक द्वन्द्व, पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा ल्याउने बहसजस्ता विषयले पार्टी अझै शक्ति संघर्षमै अल्झिएको प्रमाणित गर्छ । युवापुस्ताको अपेक्षा नीति, विचार र व्यवहारमा नयाँपन हो, तर त्यहाँ पुरानै शैलीको निरन्तरता देखिन्छ ।

नाम फेरिएको नेपाली कम्युनिस्ट पार्टी झन् जटिल अवस्थामा छ । सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया र गणतन्त्र स्थापनाको नेतृत्व गरेको पार्टी आज आफ्नै पहिचान गुमाउँदै गएको देखिन्छ । विभिन्न वाम दलबिच एकताको नाममा बनेका संरचनाहरू व्यवहारमा केही नेताको शक्ति जोगाउने माध्यम मात्र बनेका छन् । शीर्ष नेतृत्व सर्वेसर्वा बन्ने प्रतिस्पर्धामा सहयोद्धाहरूलाई पाखा लगाइएको गुनासो बढ्दो छ । भ्रष्टाचारको आरोप खेपिरहेका नेताहरू नै उच्च पदमा रहिरहनुले नैतिकताको प्रश्न उठाएको छ । यस्तो अवस्थामा युवापुस्ताले माओवादीबाट नयाँ राजनीतिक आशा गर्नु कठिन हुँदै गएको छ ।

परम्परागत दलहरूलाई विकल्प दिने भन्दै उदाएका नयाँ दलहरू पनि अहिले उस्तै समस्यामा फसेका छन् । भ्रष्टाचारविरुद्धको नारा बोकेर उदाएको दल स्वयं सहकारी घोटाला र कानुनी विवादमा फसेपछि त्यसको नैतिक आधार कमजोर बनेको छ । कानुनले स्वतः निलम्बनको व्यवस्था गरे पनि व्यवहारमा नेतृत्व हस्तान्तरण प्रभावकारी देखिँदैन । यसले ‘हामी फरक छौँ’ भन्ने दाबीलाई खोक्रो बनाइदिएको छ । स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित मेयरहरू पनि आलोचनाबाट मुक्त छैनन् । लोकप्रियताका भरमा आएका नेताहरू संस्थागत राजनीति र दीर्घकालीन सोचमा चुकेको उदाहरण देखिन थालेका छन् ।

यी सबै परिदृश्यको साझा सूत्र भनेको नेतृत्वमा पुस्तान्तरण र रूपान्तरणको अभाव हो । पुरानै नेतृत्व वरिपरि घुमिरहने दलहरूमा विधि, प्रक्रिया र पद्धतिको अभ्यास कमजोर हुँदै जान्छ । जुन पुस्ता र नेतृत्वले दशकौँसम्म अवसर पाउँदा पनि अपेक्षित परिणाम दिन सकेन, त्यही नेतृत्वबाट अब चमत्कार हुन्छ भन्ने विश्वास गर्न सकिँदैन । विगतका आन्दोलन र परिवर्तनपछि पनि यही पुस्ताले सत्ताको चास्नी छोड्न नसक्दा आजको असन्तोष जन्मिएको हो ।

इतिहास हेर्दा, नेपालमा परिवर्तनका निर्णायक घडीहरूमा अपेक्षाकृत नयाँ पुस्ताले जिम्मेवारी पाएको उदाहरण भेटिन्छ । २००७ सालको परिवर्तनपछि अन्तरिम सरकारमा युवा नेताहरूको उल्लेख्य उपस्थिति थियो । विश्वेश्वरप्रसाद कोइराला जस्ता नेताले कम उमेरमै गम्भीर जिम्मेवारी वहन गरे र त्यसले राजनीतिक गतिशीलता दिएको थियो । २०४६ सालपछि पनि नयाँ अनुहारहरू सरकारमा आएका थिए । तर समय बित्दै जाँदा तिनै नेताहरू सत्तामा स्थायी हुन थाले र नयाँ पुस्ताका लागि ढोका साँघुरो बन्दै गयो ।

आज शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालजस्ता नेताबाट जनताले के अपेक्षा गर्ने भन्ने प्रश्न स्वाभाविक छ । २०७९ सालको चुनावमै ‘नो नट अगेन’ को सन्देश स्पष्ट थियो । जेनजी विद्रोहका बेला धेरै नेता सार्वजनिक रूपमा नदेखिनु, सुरक्षा खोज्नु र मौन बस्नु जनताले बिर्सन सक्ने विषय होइन । जनताको मत पाउनु र जनताको विश्वास जित्नु फरक कुरा हो भन्ने तथ्य त्यहीँ प्रमाणित भइसकेको छ ।

काम गर्न नसक्ने पुस्ताले ठाउँ ओगटिरहँदा असन्तुष्टि बढ्नु स्वाभाविक हो । आफू असफल भएर पनि नयाँलाई छेकिरहने प्रवृत्तिले न त भ्रष्टाचारको जरा उखेलिन्छ, न त बेथिति अन्त्य हुन्छ । भ्रष्टाचार सत्ताको निरन्तरता र सत्तामा सीमित समूहको पकडसँग गहिरो रूपमा जोडिएको छ । जबसम्म दलहरू विधि, प्रक्रिया र पद्धतिमा चल्दैनन्, तबसम्म सुशासन केवल नारामै सीमित रहन्छ । जेनजी विद्रोहले दिएको सन्देश स्पष्ट छ– अब पुरानै गतिमा देश चल्दैन । नेतृत्वले आत्मालोचना गर्दै सम्मानजनक अवकाशको बाटो खोल्नुपर्छ र नयाँ तथा ऊर्जावान् पुस्तालाई अवसर दिनुपर्छ । त्यो जोखिम जस्तो देखिए पनि दीर्घकालीन रूपमा यही बाटो देशको निकास हो । अन्यथा, असन्तोषको आगो फेरि बल्नेछ, र त्यसको जिम्मेवारी इतिहासले यही नेतृत्वमाथि थोपर्नेछ ।

ताजा खबर

सम्बन्धित खबर