
पहिला तपाईंको चेत जाँच्न
ऊ कालो बनेर आयो,
तपाईंहरूलाई लाग्यो
दुनियाँ कालैले चलाउँछन्,
कालैले राज गर्छन्
तपाईं उसका पछि लाग्नुभयो,
तर कालो निस्पट्ट निस्तेज निस्क्यो
तपाईंको सुझबुझ भन्दा गहिरो,
तपाईं रिसाउनुभयो
तपाईंको मन जल्यो
त्यसपछि फेरि ऊ गोरो बनेर आयो,
तपाईं त्यसका पछि पनि लाग्नुभयो
गोरो हेर्नमा मात्र सुकिलो,
भित्र झन् घिनलाग्दो निस्कियो,
तपाईंको अपेक्षा भन्दा फोहोर
तपाईं यति रिसाउनुभयो
यसरी रिसाउनुभयो
तपाईंले आफैंले आफ्नो घरै जलाउनुभयो ।
अब उसले तपाईंका नसा–नाडी छामी सक्यो,
तपाईंका लोभ–लालच पहिचानी सक्यो,
तपाईंका डर र लाचारी चिनीसक्यो
तपाईं हार्दै नहारी हारिसक्नुभयो,
उसले जित्दै नजिति जिती सक्यो ।
उसले सर्लक्कै तपाईंलाई आफ्नो कठपुतली बनाइसक्यो,
यसरी
अब तपाईंको मुख छ– कुरा उसका हुन्
तपाईंको दिमाग छ– विचार उसकै हुन्
तपाईंका पाखुरा छन्– पौरख उसको हो
तपाईंको देश छ– तर गौरव उसको हो ।
अब बाँकी रहेको,
केवल तपाईंको– एक बुढी औँलो हो
एक भोट हो
तपाईंको राजीखुसीमा,
यो पालि ऊ, त्यो पनि लिन आएको छ ।
काला गए गोरा आउँछन् भन्नुहुन्थ्यो,
गोरा पनि आए र गए
यस पालि ऊ फेरि कालै भएर आएको छ ।
अब के भनेर चित्त बुझाउनुहुन्छ ?
यो पनि पहिलेको झैं कपट निस्कने छ
त्यसपछि तपाईं के जलाउनुहुनेछ ?
शायद– चेतना ?
तर ! तपाईं त चेतनाशून्य हुनुहुन्छ ।
अब सोच्नुस्–
तपाईंसँग जलाउन के बाँकी रहने छ ?