२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

कायरा : परिभाषा तोड्ने किशोरीको कथा

shivam cement
रत्नप्रसाद अनामणि श्रेष्ठ
२०८२ माघ १० गते ०६:१५
Shares
कायरा : परिभाषा तोड्ने किशोरीको कथा

प्रारम्भिक बालविकासको क्षेत्रमा दुई दशक लामो अनुभव सँगालेकी सविता खनाल बालविकाससम्बन्धी महत्वपूर्ण शैक्षिक सामग्री निर्माणमा स्थापित नाम हो । समाजशास्त्रमा स्नातकोत्तर खनालले बालबालिकासम्बन्धी थुप्रै पाठ्यपुस्तक तथा हाते पुस्तिकाहरू लेखेकी छन् । विशेषतः बाल–मनोविज्ञान, नैतिक शिक्षा र ‘युनिभर्सल गुडनेस–५’ (यूजी–५)को प्रवर्धनमा उनका सिर्जनाहरूले बालबालिकामा सकारात्मक व्यवहारिक परिवर्तन ल्याउन प्रेरणा दिएका छन् । उनका लेखहरू देशका प्रतिष्ठित सञ्चारमाध्यममा निरन्तर प्रकाशित हुँदै आएका छन् । हालै उनको उपन्यास ‘कायरा’ बजारमा आएको छ ।

पकेट बुक साइजमा प्रकाशित उपन्यास कायराले विद्यालय तहमा चाहिने लैंगिक शिक्षा र मानसिक परामर्शलाई उच्च प्राथमिकताका साथ उठाएको छ । लेखिकाले यस उपन्यासलाई ‘केटीको परिभाषामा नअटाएकी केटीको कथा’ भनेकी छन् । यस अर्थमा, कायरा समाजले निर्माण गरेको परिभाषाभन्दा फरक भावना बोकेकी किशोरीको कथाका रूपमा प्रस्तुत उपन्यास हो । उपन्यासकी मुख्य पात्र कायरा समाजले अपेक्षा गरेको ढाँचाभन्दा भिन्न केटीका रूपमा उपस्थित छिन् ।

अल्केमी पब्लिकेसन्स, काठमाडौंले प्रकाशन गरेको यो उपन्यास जम्मा ८८ पृष्ठको भए पनि यसले बृहत् कथ्य समेट्ने प्रयास गरेको देखिन्छ ।

नेपाली साहित्यलाई मुख्यतः चार विधामा विभाजन गरिएको छ– कविता, आख्यान, नाटक र निबन्ध । कविता फुटकर कविता, खण्डकाव्य र महाकाव्यमा विभाजित छन् भने नाटकमा एकांकी र पूर्णांकी पर्दछन् । निबन्धअन्तर्गत प्रबन्ध, निबन्ध, नियात्रा, संस्मरण र जीवनी पर्दछन् । यसैगरी आख्यान विधाअन्तर्गत कथा, उपन्यास र लघुकथा पर्दछन् । आख्यान विधाभित्र पर्ने उपन्यास नेपाली साहित्यको पछिल्लो तर सशक्त विधा हो ।

नेपाली साहित्यमा उपन्यासको विकास र विस्तार तीव्र रूपमा भएको पाइन्छ । उपन्यासलाई विभिन्न विद्वान्, विचारक र समालोचकहरूले आ–आफ्नै मान्यता र शैलीमा परिभाषित गरेका छन् । ती सबै परिभाषालाई समेट्दा उपन्यास भनेको जीवनका समग्र पक्षहरूको कलात्मक चित्रण गरिएको, अनेकौं परिच्छेदमा विभाजित आख्यानात्मक कृति हो । व्यक्तिको जीवन, पात्र, परिवेश, घटना र चरित्रलाई कलात्मक ढंगले आख्यानीकरण गर्दै प्रस्तुत गर्नु नै उपन्यास हो । यही सिद्धान्तका आधारमा उपन्यास कायराको चर्चा गर्न सकिन्छ ।

कायरा एउटा सुन्दर र उद्देश्यप्रति सचेत उपन्यास हो । यस उपन्यासले समाजको यथार्थलाई कलात्मक रूपमा व्याख्या गर्दै समकालीन सामाजिक कथालाई प्रस्तुत गरेको छ । उपन्यासमा आवश्यक तत्वहरू– कथावस्तु, पात्र, परिवेश, उद्देश्य, दृष्टिबिन्दु र शैलीप्रति उपन्यासकार सचेत देखिन्छिन् ।

उपन्यासलाई विभिन्न शीर्षकसहित भागहरूमा विभाजन गरिएको छ । पहिलो भाग ‘कक्षामा रक्सी’मा मुख्य पात्र कायराले साथीहरूको लहैलहैमा आफू पढ्ने विद्यालयमा एक बोतल बियर झोलामा बोकेर लगेको प्रसंग छ । शिक्षकले थाहा पाएपछि कारबाहीका लागि प्रधानाध्यापकको कक्षमा पुर्‍याइएको घटना यस भागमा वर्णित छ । दोस्रो भाग ‘रेस्टिकेट’मा उक्त घटनाका कारण चार जना छात्रालाई एक हप्ताका लागि निलम्बन गरिएको प्रसंग आउँछ ।

तेस्रो भाग ‘किशोरी मन’मा कायराकी आमा (जो स्वयं प्रधानाध्यापक तथा मनोवैज्ञानिक परामर्शदाता हुन)ले छोरीको किशोरी मनोविज्ञान बुझ्ने प्रयास गरेकी छन् । चौथो भाग ‘नयाँ स्कुल’ मा कायरालाई नयाँ विद्यालयमा भर्ना गर्ने निर्णय लिइएको छ । पाँचौं भाग ‘केटा जस्ती’ मा नयाँ विद्यालयमा पनि कायरालाई उही ‘केटा जस्ती’ भनिएको प्रसंग छ ।

छैटौं भाग ‘आफू जस्तो आफैं’मा कायराले जे आफूमा छ त्यसैलाई स्वीकार गर्ने चाह र भावना राखेको कुरा व्यक्त भएको छ । सातौं भाग ‘एसईई परीक्षा’मा समकालीन परिवेशमा नारी सशक्तीकरणको अर्थबारे कायराले नेपाली विषयमा सशक्त निबन्ध लेखेको प्रसंग छ । उपन्यासकारले यस उपन्यासमा आफूलाई मन परेको विद्यार्थीलाई धेरै नम्बर दिने र मन नपरेको विद्यार्थीलाई कम नम्बर दिने शिक्षकहरूको मानसिकतालाई पनि प्रश्न गरेकी छिन् ।

आठौं भाग ‘फुर्सद र नतिजा’मा कायरा जिपिए ४.० सहित विद्यालयकै उत्कृष्ट छात्रा बनेको उल्लेख छ । नवौं भाग ‘अर्को मोड’ मा मुख्य पात्रले कलेज जीवन र किशोर–किशोरीमा लैंगिक पहिचानसम्बन्धी केस स्टडी प्रस्तुत गरेको कुरा उल्लेख छ । दशौं भाग ‘नयाँ बिहान’ मा कायरा अमेरिकन युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट स्नातक तथा स्नातकोत्तर अध्ययन गरी मनोचिकित्सा र समलैंगिक मानसिक स्वास्थ्यलाई गहिरो गरी बुझ्न खोजेको प्रसंग आउँछ ।

एघारौं भाग ‘साथीसँग विदाइ’ र बाह्रौं भाग ‘पुनरागमन’मा कायरा सात वर्ष सात महिना सत्र दिनको विदेश बसाइपछि ‘एक डिग्री, एक दृष्टि र एक उद्देश्य’ बोकेर स्वदेश फर्किएको कथ्य छ । तेह्रौं भाग ‘पुरानै स्कुल’, चौधौं भाग ‘आशासँगै उत्साह’ र पन्ध्रौं भाग ‘परिभाषा पर्खाल तोड्दै’ उपन्यासका मुख्य मोडहरू हुन् । यी सबै पक्षको गहिरो अनुभूति गर्न उपन्यास स्वयं पढ्नैपर्छ ।

यस उपन्यासले नेपाली समाजमा खासै बहस नभएको लिंगको परिभाषा सम्बन्धित मान्यताका चौतर्फी आयामलाई गहिरो ढंगले उठाएको छ । मजबुत मानसिक स्वास्थ्य, समानतामा आधारित लैंगिक पहिचान, विभेदको अन्त्यसँगै सहानुभूतिको आलोकमा फूल्ने जीवनको परिभाषा तथा समावेशी समाज निर्माणको सन्देशलाई उपन्यासकारले ध्यान दिइएको देखिन्छ ।

मलाई उपन्यासकारको भाषा एकदम सटिक लाग्यो । एक ठाँउमा उपन्यासकारको वर्णन छ – ‘उहाँले मनमनै भन्नुभयो– ‘मानिसलाई मानिसले सिकाउन नसकेका कैयन शिक्षाहरू समय र परिस्थितिले सिकाउन् भन्थे, हो रहेछ ।’ ईश्वरप्रति यसरी आस्था जागेको देखेर भित्रैदेखि खुशी लागे पनि छोरीलाई असहज नहोस् भनेर उहाँले त्यो दृश्य नदेखेजस्तै गर्नुभयो ।’

(सविता खनाल, कायरा, पृ.२५)

यद्यपि यस उपन्यासमा उपन्यासकारले परिवेशको विस्तृत वर्णन, सशक्त संवाद र चरित्र विकासमा कम मेहनत गरेको देखिन्छ । यसतर्फ उपन्यासकारले सोच्नु पर्छ ।

यसका बाबजुद पनि कायरा उद्देश्यप्रति सचेत, सार्थक र एकै बसाइँमा पढ्न सकिने उपन्यास हो । काल्पनिक कायराको चित्र अंकित आवरणले उपन्यासको मूल भाव बोकेको छ । कायरा उपन्यासको भाषाशैली सरल छ र उपन्यास बोधगम्य छ । नेपाली सन्दर्भमा कम उठेको विषयवस्तु प्रस्तुत गरेर उपन्यासकारले प्रशंसायोग्य काम गरेकी छिन् । यो उपन्यास सबै अभिभावक, विद्यार्थी, शिक्षकहरूले एकपटक पढ्नैपर्छ । अझ लैंगिक समानता खोज्नेहरूलाई त यो उपन्यास सिफारिस नै छ । र, अन्तिम भन्न सकिन्छ कायरा उपन्यास एक संग्रहणीय कृति हो ।

सम्बन्धित खबर