
विचार जन्मिन्छ– मस्तिष्कको निःस्वार्थ कोख भित्र,
र रूप लिन्छ शब्दमा, स्वरमा, चित्रमा, गीतमा ।
त्यो विचार– तिम्रो पनि हो, मेरो पनि
तर अधिकार भने सर्जकको आत्मा हो ।
नेपालको माटोले धेरै सिर्जनाहरू जन्मायो ।
लोक गीत, लय, तस्बिर, कथा र काव्य
तर कति सिर्जनाहरू नाम विहीन भए
किनकि अधिकारको मूल्य बुझ्न सकेनौ ।
अब युग डिजिटल छ ।
जहाँ एक क्लिक मै विचार संसारभर फैलिन्छ
तर त्यहीँ चोरी र नक्कलीपनको आँधी चल्छ ।
त्यसैले आवश्यक छ– सिर्जनाको सुरक्षाको छाता
बौद्धिकताको ज्ञान, सचेतना र नीति–संरचना ।
पठन संस्कृतिले यही उज्यालो ल्याउँछ ।
जब हामी पढ्छौं, बुझ्छौँ, सम्मान गर्छौँ
र आफ्ना बालबालिकालाई सिकाउँछौँ
कि सिर्जनाको माया यसको अधिकारमा हुन्छ ।
हामी लेखौँ, सिर्जना गरौँ, साझा गरौँ ।
तर इमानका धागोमा बाँधेर ।
किनकि बौद्धिक सम्पत्ति केवल कानुन होइन
यो सिर्जनाको आत्मा हो, जसले उज्यालो भविष्य बुन्छ ।